स्कूले जीवन र पढ्ने–पढाउने तरीकाः घोक, खूब घोक !

घोकन्ते विद्या

‘कण्ठस्थ घोकाइ नै विद्या आर्जन गर्ने उत्कृष्ट उपाय हो’ भन्ने हाम्रो पौराणिककालदेखि कायम रहेको मान्यता हो । हाम्रा पिताजी पनि आफ्ना समकालीन साथीहरूको बौद्धिक दक्षताको चर्चा गर्दा कसले कुन विषय कति कण्ठस्थ पारेको थियो भन्ने कुरालाई आधार बनाउने गर्नुहुन्थ्यो । उहाँका अभिन्न मित्र चुडाप्रसाद शर्मा (प्रजापरिषद्का संस्थापक तथा पूर्व परराष्ट्रमन्त्री) ले कति सय वटा अंग्रेजी निबन्ध कण्ठस्थ पारेका थिए भनेर पढे–लेखेका मानिसहरू भेट्यो कि उहाँको चर्चा गरिहाल्नुहुन्थ्यो । त्यसैगरी उहाँका अर्का मित्र नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री सूर्यप्रसाद उपाध्याय र अग्रज फिल्ड मार्शल केशरशमशेर राणालाई सबैभन्दा बढी किताब कण्ठ पार्ने विद्वान् भनेर परिचय दिने गर्नुहुन्थ्यो । त्यसो त पिताजी आफैंलाई पनि शेक्सपियरका नाटकका डाइलग र विलियम वोर्ड्सवोर्थका थुप्रै कविता कण्ठै आउँथे ।

मैले एसएलसी परीक्षा दिंदा थुप्रै दौंतरी मित्रहरूले अंग्रेजी शब्दको माने, स्पेलिङ्ग र व्याकरण मात्र नभएर धेरै निबन्ध समेत कण्ठ पारेका थिए । पिताजीले मलाई पनि आफैंले अंग्रेजीमा लेखेका ‘मेरो जीवनको उद्देश्य’ तथा ‘मलाई सबैभन्दा मनपर्ने पुस्तक’ शीर्षकका निबन्ध घोक्न लगाउनुभएको थियो । ती निबन्धमा मेरो जीवनको उद्देश्य ‘इन्जिनियर बन्नु’ उल्लेख गरिएको थियो भने सबैभन्दा बढी मन परेको पुस्तक महाकवि देवकोटाको ‘मुनामदन’ ! रमाइलो पक्ष वा वास्तविकता चाहिँ के थियो भने ममा कहिल्यै पनि इन्जिनियर बन्ने चाहना वा हिम्मत भएन । अनि जुन (मुनामदन) मलाई सबैभन्दा मन परेको पुस्तक भनेर त्यसका कारणहरू खोलेर निबन्धमा वर्णन गरिएको थियो, त्यो पुस्तकको अनुहार मैले बीएको परीक्षा सकेपछि मात्र देखेको र पढेको हुँ ।

जहाँसम्म घोक्ने प्रसङ्ग आउँछ, विद्यार्थी जीवनभरि नै त्यो मेरो क्षमताभन्दा धेरै परको विषय रह्यो । घोक्न पटक्कै मन नगर्ने हुनाले लेबोरेटरी स्कूलमा पढे पनि खास गरेर अंग्रेजी पढाउने सरहरू श्रीप्रसाद भट्टराई र ज्ञानप्रसाद सिंहको सबैभन्दा बढी लठ्ठीको मार खाने विद्यार्थी म नै पर्दथें । उहाँहरूले दिनुभएको अंग्रेजी व्याकरण र शब्दहरूको माने तथा स्पेलिङ्ग जस्ता पाठहरू कण्ठ पार्न मैले कहिल्यै पनि सकिनँ । गणित, अल्जेब्रा, ट्रिगनोमेट्री र डाइनामिक्स जस्ता विषयहरूको फर्मूला मात्र नभएर जोमेट्रीको थ्यौरी समेत पूरै घोकेर कण्ठ पार्ने मेरा थुप्रै समकक्षी थिए । त्यसो त अन्य विषयहरू, जस्तैः संस्कृत, भूगोल र विज्ञानसमेत कण्ठ पार्ने परिश्रमी मित्रहरूको पनि मेरो कक्षामा कमी थिएन । मलाई भने बाध्य भएर घोक्दा पनि घोकेको विषयको अर्थ कहिल्यै पनि थाहा हुँदैनथ्यो । म सकेसम्म बुझेर सम्झन कोशिश गर्दथें । शायद घोकाइमा कमजोर भएकै कारण कुनै पनि कक्षामा अब्बल दर्जाको विद्यार्थी बन्ने सौभाग्य मलाई जुटेन ! जहाँसम्म मेरो विश्वास थियो; घोकन्ते विद्यार्थी पाठ त घोक्दछन् तर उनीहरूमध्ये धेरै थोरैलाई मात्र आफूले घोकेको विषयको सार थाहा हुन्छ । तर के गर्नु उनीहरूले सधैं मलाई पछाडि छोडिदिने गर्दथे ।

शिक्षकलाई प्रश्न गर्न पाइँदैनथ्यो
सानो कक्षामा हुँदाको कुरा त छोडौं, दश कक्षा पुगेपछिका दुई प्रसंग यहाँ उल्लेख गर्दछु । विज्ञान विषय पढाउने सर लामखुट्टेले मलेरिया रोग सार्ने विषयमा लामो व्याख्यान दिंदै हुनुहुन्थ्यो । मैले हात उठाएर सोधें, “सर किन काठमाडौं उपत्यकामा लामखुट्टे थुप्रै हुन्छन् तर मलेरिया फैलिएको छैन ? अनि यदि लामखुट्टेले मलेरिया सार्दछ भने किन अन्य रोग चाहिं सार्दैन ?” मेरो सहज प्रश्नको जवाफ दिनुको सट्टा विज्ञान सर बुरुक्क उफ्रेर, “तँलाई भन्दा मलाई हजार गुणा बढी थाहा छ, बुझिस् !” भन्न पो थाल्नुभयो । उहाँले मेरो प्रश्नको उत्तर नै दिनुभएन ।

त्यसैगरी एकदिन भूगोल पढाउने सर, ‘पृथ्वी गोलो भएको प्रमाण’ को व्याख्या गर्दै हुनुहुन्थ्यो । त्यस क्रममा उहाँले समुद्रमा आउँदै गरेको जहाजको पहिले टुप्पो देखिने र जति–जति नजिक आउँदै गर्दछ त्यति त्यति तलका भागहरू देखिन थाल्नेदेखि लिएर समतल जमीनमा एक–एक माइलको दूरीमा तीन लठ्ठी गाडेर एक माइल परबाट हेर्‍यो भने बीचको लठ्ठी सबैभन्दा अग्लो देखिन्छ जस्ता पट्यारलाग्दा स्थापित दश–एघार वटा प्रमाणको विस्तृत वर्णन गर्नुभयो । त्यतिवेलासम्म रूसी र अमेरिकी स्याटलाइटले खिचेका तस्वीरले नै पृथ्वीको आकार गोलो भएको देखाइसकेका थिए । त्यस्ता तस्वीर छ्यासछ्यास्ती काठमाडौंमै पनि पाइन थालिसकेका थिए । मैले उहाँलाई प्रश्न गरें, “किन सर हामीले अब पनि यी सब पढिरहने ? जबकि फोटोमा समेत पृथ्वी गोलो भएको देखिन्छ ?” उहाँले एक सेकेण्ड पनि नसोची उत्तर दिनुभयो, “त्यस्तो उत्तर लेख्यो भने तिमीले पनि गोल नम्बर पाउँछौ ।”

अहिले पनि मलाई लेबोरेटरी स्कूलमा तीन कक्षादेखि दश कक्षासम्म पढ्दा पढाउने धेरैजसो सर र मिसहरू, जस्तैः तिलकराज शाही, चन्द्रकला किरण, लीला पाठक, हिरावाई वाइबा, सहाना प्रधान, गोपाल जोशी, शिवदास श्रेष्ठ, रमेश विकल, श्रीप्रसाद भट्टराई, गङ्गाप्रसाद श्रेष्ठ, सानुमान शाक्य, शारदा श्रेष्ठ, मुकुन्द शर्मा, सुवर्णमान श्रेष्ठ, हेमचन्द्र श्रेष्ठ आदि थुप्रै कुशल

शिक्षकहरूसँग शिक्षा पाउने अवसर पाएको सम्झना हुन्छ । उहाँहरूमध्ये कतिले त शिक्षण पेशा छोडेर साहित्यकार, प्रशासक, न्यायाधीश र राजनीतिक नेता हुने बाटो रोज्नुभयो । प्रायः सबै जसो सर–मिसहरूले हामीलाई ‘नबुझे प्रश्न गर’ भनेर बारम्बार कक्षामा भन्ने पनि गर्नुहुन्थ्यो । तर उहाँहरूमध्ये धेरै थोरैले मात्र आफूले पढाएको कुरासँग बाझिने प्रश्न गरेको रुचाएको मलाई याद छ । बरु प्रश्न गर्ने विद्यार्थीलाई भन्दा प्रश्न नगर्नेलाई मन पराएको, त्यस्ता विद्यार्थीलाई प्रोत्साहन गरेको देखिन्थ्यो । सबैभन्दा राम्रो विद्यार्थी भनेको त्यो हुने गर्दथ्यो जसले दिएको पाठ घोकेर कक्षामा सुनाउन सक्दथ्यो । प्रश्नकर्ता या त मूर्ख ठानिन्थ्यो या कक्षामा ‘डिस्टर्व गर्ने’ । त्यसै कारणले गर्दा सकेसम्म हामी विद्यार्थी शिक्षकलाई प्रश्न गर्ने हिम्मत गर्न सक्दैनथ्यौं । अपवाद चाहिं, स्कूलमा कडा स्वभाव देखाउने तर विद्यार्थीलाई सदा मैत्री व्यवहार गर्ने राजेन्द्र कुमार रनगोङ्ग हुनुहुन्थ्यो । उहाँ कक्षा भित्र मात्रै होइन कक्षा बाहिर भेट हुँदा सोधेका प्रश्नको जवाफ पनि नझर्की दिने गर्नुहुन्थ्यो ।

वास्तविकता
समस्त विश्वले हाल अपनाएको शिक्षा प्रणाली पश्चिमा ढाँचामा आधारित छ । यो प्रणालीको प्रमुख लक्ष्य विद्यार्थीलाई आलोचनात्मक अध्ययन गराएर पढेको विषयका बारेमा गहिराइमा पुग्ने उपाय र पद्धति सिकाउन केन्द्रित हुन्छ । त्यसनिम्ति सानो कक्षादेखि नै विद्यार्थीलाई प्रश्न गर्न प्रेरित गरिन्छ । कुनै पनि विषयलाई आलोचनात्मक शैलीमा प्रश्न गर्ने प्रथाको सुरुआत ग्रीसका प्रसिद्ध दार्शनिक सोक्रेटिसबाट भएको मानिन्छ । त्यसो त गौतम बुद्धले ग्रीसमा सोक्रेटिसको उदय हुनुभन्दा शताब्दी अघि नै हाम्रो समाजमा पनि स्थापित मान्यतालाई विना प्रश्न स्वीकार्नुहुँदैन भन्ने शिक्षा दिएका हुन् । फरक त्यत्ति हो पश्चिमा सभ्यताले शिक्षाको उद्देश्यलाई आलोचनात्मक अध्ययन गर्ने क्षमता अभिवृद्धि उन्मुख तुल्यायो भने हामीले गौतम बुद्धले दिनुभएका सूत्रहरूलाई समेत घोकेर कण्ठ पार्नुलाई नै शिक्षा आर्जनको द्योतक मान्यौं । शायद यही कारणले गर्दा होला गणित र थुप्रै वैज्ञानिक आविष्कारहरू भएको सभ्यता भनेर विश्वलाई परिचय दिने हामी पूर्वेलीहरूभन्दा तिनै विषय (विज्ञान र प्रविधि) मा पश्चिमा राष्ट्रहरू हामीभन्दा धेरै अघि बढेका ।

शिक्षक  मासिक

२०७२ पुस अंकमा प्रकाशित ।

commercial commercial commercial commercial