कविता लेखन

यो लेख शिक्षकले विद्यालय तहका कक्षामा एक पिरियड भित्र कविता लेख्न सिकाउने क्रियाकलापका बारेमा हो । यसबाट विद्यार्थीहरू रमाइलोसँग क्रियाकलापमा सहभागी हुने र उनीहरूको लेखन सीप बढ्ने अपेक्षा राखिएकोे छ ।

विषय परिचय
कविता लेख्न सिकाउने विधि अनेक छन् । तीमध्येमा भाषा पाठ्यक्रममा रहेका सामग्री वा विभिन्न पत्रपत्रिकामा प्रकाशित उपयुक्त किसिमका कुनै कविताका कुनै अनुच्छेदको अनुकरण गरेर अर्को शीर्षकमा कविता लेखन सिकाउने एउटा प्रारम्भिक विधि हो । यो क्रियाकलापले विद्यार्थीहरूमा सिर्जनात्मक लेखनका बारेमा आत्मविश्वास बढाउन मद्दत गर्छ । यस्तो सिकाइ क्रियाकलापबाट विद्यार्थीहरूमा कविताप्रति रुचि जाग्दछ र उनीहरूमा सिर्जनात्मक लेखन सीपको विकास पनि हुन्छ ।

कविता लेखन सीप क्रियाकलापको उद्देश्य
विद्यार्थीलाई कविता लेख्न हौस्याउनु, सिकाउनु तथा उनीहरूमा कवितावाचन सीपको विकास गर्नु यो क्रियाकलापको उद्देश्य हो ।
कक्षाकोठामा कविता लेखन क्रियाकलापको उद्देश्य
कक्षा कोठाभित्र एक कक्षा समय भित्र कविता लेखन क्रियाकलापले विद्यार्थीहरूलाई निम्नानुसारका लाभ हुन्छन्ः
क) कवितामा रुचि जाग्छ,
(ख) भाषाको सिर्जनात्मक प्रयोग गर्न सिक्छन्,
(ग) भाषा प्रयोगमा आत्मविश्वास बढ्छ,
कविता लेखन क्रियाकलाप विधि
(क) शिक्षकले कुनै एउटा कविता पढ्न लगाउने । कविता भाषा पाठ्यक्रमभित्रको भए सोही कविता पढ्न भन्ने र बाहिरी स्रोतबाट आफूले दिने कविता भए प्रत्येक विद्यार्थीले देख्न सक्ने गरी टाँस्ने वा प्रतिलिपि वितरण गर्ने ।
 (ख) शिक्षकले उक्त कविताका विशेषताका बारेमा विद्यार्थीलाई बताउने । गद्यका तुलनामा कवितामा भाषाको प्रयोग कसरी फरक हुन्छ, कवितामा शब्दहरू कसरी व्याकरणका नियम र क्रम नाघेर आउँछन् भन्ने कुरा उदाहरणसहित बताइदिने । शब्दहरू क्रमैसँग नआउने अर्थात् विचलन हुने, दोहोरिने र फरक फरक अर्थमा प्रयोग हुने कुराका उदाहरण दिने, जस्तैः ‘मलाई रमाइलो लाग्दछ’ को सट्टा ‘लाग्दछ मलाई रमाइलो’ । आफूले नमूनाका रूपमा दिएको कवितामा भएका यस्ता तत्व बारे विद्यार्थीलाई बताउने ।
(ग) विद्यार्थीलाई शब्दभण्डारको सिर्जनात्मक प्रयोग, नयाँ–नयाँ विम्ब, उपमा आदि अलंकारको प्रयोग गर्न प्रेरित गर्ने (उदाहरणका लागिः मीठो सपना, तीतो सम्झ्ना), (स्वादबिम्ब) पहेंलो याद, अँध्यारो भविष्य (दृश्य बिम्ब) चिसो सम्बन्ध, न्यानो माया (स्पर्श बिम्ब) दुर्गन्धित राजनीति, (गन्ध बिम्ब) तथा हिमाल झ्ैं अटल, इस्पात जस्तो छाती (उपमा अलंकार) शरीर नै मन्दिर, मानवतारूपी धर्म (रूपक अलंकार आदि) विशेषण; विशिष्ट व्यक्ति र अनुकरणात्मक शब्द (गुटुमुटु पर्नु, टुलुटुलु हेर्नु, मुसुमुसु हाँस्नु आदि) को प्रयोग ।
सावधानीः माथि उदाहरण दिइएका बिम्बहरू अरू कसैले प्रयोग गरिसकेका बिम्बहरू छन् । एक पटक अर्काले प्रयोग गरेको बिम्ब कहिल्यै पनि प्रयोग गर्न हुँदैन । नयाँ–नयाँ प्रतीक, बिम्ब, उपमा आदि सृजना गर्नुपर्छ भन्ने कुरा विद्यार्थीहरूलाई दोहो¥याई–तेह¥याई भन्ने ।
(घ) कविता लेखन निजी अनुभव जन्य काम भएकाले समूह गठन नगर्ने ।
(ङ) प्रारम्भिक अभ्यासमा विद्यार्थीलाई नमूनाका रूपमा दिएको कविता जस्तै ढाँचामा आधारित रहेर कविता लेख्न प्रेरित गर्नुपर्छ । तर यो सृजनशील लेखनको अभ्यास भएकाले उनीहरूले उपयोग गर्न खोजेको स्वतन्त्रता र मौलिक प्रयोगलाई सदैव प्रेरित गर्ने । विद्यार्थीले आफूले लेखेको कविताको  शीर्षक छान्न नसकेमा सहयोग गर्ने ।
(च) कविता लेखन कार्य समयमा अत्यन्त आवश्यक नपरी शिक्षक विद्यार्थी भएका ठाउँमा नजाने । कुनै विद्यार्थीले एकान्तमा बसेर लेख्न चाहेमा मिलेसम्मको एकान्त उपलब्ध गराउने ।
(छ) कविता लेखिसकेपछि प्रत्येक विद्यार्थी (समूहको प्रतिनिधित्व हुने गरी) लाई आफ्नो–आफ्नो कविता कक्षाकोठा अगाडि आई वाचन गर्न लगाउने ।
(ज) अन्त्यमा कक्षाका सबै विद्यार्थीलाई कुन कविता उत्कृष्ट छ भनी मत प्रकट गर्न लगाउने । हात उठाउन लगाउने, विद्यार्थीले उत्कृष्ट मानेको कविता क्रमानुसार छनोट गर्ने ।

कविता लेखनका लागि सामग्री
विद्यार्थीलाई शिक्षकले खाली पाना उपलब्ध गराउने वा विद्यार्थीलाई आफ्नो कपीमा लेखन कार्य गराउन पनि सकिन्छ ।

कविता लेखन समय व्यवस्थापन
एक कक्षा समय ४५ मिनेट भित्र यो क्रियाकलाप सम्पन्न गर्न समयको व्यवस्थापन यसरी गर्न सकिन्छः
(क) क्रियाकलापको जानकारी                                २ मिनेट
(ख) नमूना कविताका विशेषताका बारेमा जानकारी       ३ मिनेट
(ग) कविता लेखन                                               १५ मिनेट
(घ) कविता वाचनका लागि                                     २० मिनेट
(ङ) उत्कृष्ट कविताको चयन                                    २ मिनेट
(च) शिक्षकबाट कविताको मूल्याङ्कन                          ३ मिनेट
                                                      -----------------------------                                           
                                                                      ४५ मिनेट
मूल्याङ्कन
विद्यार्थीले उत्कृष्ट भनेर छानेको कविता र आफूलाई उत्कृष्ट लागेको कविता फरक परेमा आफ्नो मूल्याङ्कनका बारेमा विद्यार्थीलाई बताइदिनुपर्दछ । यो आधारभूत अभ्यास भएकाले यसमा शिक्षकले भाषा र शब्दको रचनात्मक र मौलिक प्रयोगलाई नै मूल्याङ्कनको प्रमुख आधार बनाउन उचित हुन्छ । अन्त्यमा सहभागी सबैलाई स्याबासी, प्रेरणा र धन्यवाद दिनुपर्छ ।

निष्कर्ष
यो एउटा प्रयोगपरक एवं विद्यार्थीकेन्द्रित क्रियाकलाप हो । यस क्रियाकलापले विद्यार्थीमा कविता प्रति रुचि जाग्छ र उनीहरू भाषाको सिर्जनात्मक प्रयोग गरेर भाव सम्प्रेषण गर्न प्रेरित हुन्छन् ।

सहप्राध्यापक, महेन्द्र रत्न क्याम्पस, ताहाचल

commercial commercial commercial commercial