इतिहास फेर्ने विद्यार्थी !

उबेला त्यसरी पढाएको एउटा केटो अहिले देशको लागि सदनमा जान पाइला उठाइरहेको छ । आफू सक्षम छु र राज्यको निम्ति हकदार पनि छु भनी दाबी गर्न सक्ने भएको छ । सशक्तिकरणको एउटा सुन्दर उदाहरण हो, यो । एउटा शिक्षकले योभन्दा बढी के आशा गर्ने विद्यार्थीहरूबाट ? ! - (शिक्षक हुनुकोगर्व –२)

केही महीना अगाडि को कुरा हो । एउटा नौलो नम्बरबाट मलाई फोन आयो— “जोजोलपा... ! नमस्ते मिस !”

नम्बर नौलो थियो, स्वरबाट पनि चिनिनँ । ठम्याउन खोज्दा खोज्दै उतैबाट आवाज आयो— “म किशोर बोलेको मिस !”

“एऽऽ किशोर ! बल्ल चिनें ।”

किशोर नेपाली— मेरा एउटा विद्यार्थी, तर चार दशक अघिका ! छोटो भलाकुसारी पछि त्यसरी फोन गर्नु को कारण पनि बुझें— किशोर संसदीय निर्वाचनका लागि टिकट पाउन भिडिरहेका रहेछन् । मेरो पनि सिफारिश लागिहाल्छ कि भन्ने उनको मनसाय रहेछ ।

म त्यो हैसियतको छेउछाउमा पनि थिइनँ, तर पनि उनको भने म माथि पूर्ण विश्वास थियो— किनभने म उनको बच्चा बेलाकी शिक्षक ! उनीहरूलाई समाज बाट जातिपाति निर्मूल पार्नुपर्छ भन्ने कुरा सिकाउने सम्भवतः पहिलो व्यक्ति । एक किसिमले उनको राजनीतिक प्रशिक्षक पनि ।

उनको स्वर र उनका कुरा सुनेरै मैले बुझें, समय जस्तै उनी पनि फेरिएछन्— बलिया, सशक्त भएछन् । यो भनेको मैले पढाएको एउटा कलिलो विद्यार्थी पाको भएको मात्रै होइन, कुनै बेलाको एउटा शक्तिविहीन समुदायको निरीह बालक यतिबेला मूलधारको राजनीतिमा सक्रिय भएको पनि हो । त्यसैले उनको त्यो फोन मेरो निम्ति एउटा मदत मागिएको अनुरोध मात्र नभएर एउटा अत्यन्त सुन्दर उपहार भयो ।

म विगतमा फर्किएँ । सपनै सपनाले भरिएको आफ्नै किशोरावस्थामा फेरि पुगे जस्तै खुशी भएँ । मलाई वर्तमान मा बसेर आफ्नै किशोरावस्थाको पुरानो ‘ब्ल्याक एण्ड ह्वाइट’ फिल्म हेरे जस्तै भयो ।

राजधानीको मुटु, नयाँसडकको नजिकै, वसन्तपुर झेछेंबाट हिंडेर जाँदा १० मिनेटमा पुग्ने ठाउँमा दलित, ‘पोडे’ भनिने आफ्नो थर द्यौला वा नेपाली लेख्ने सफाइ मजदूरहरूको एउटा परम्परागत बस्ती थियो । २०३०/३१ सालमा मुलुकमा नयाँ शिक्षा योजना लागू भइसकेको थियो र ‘देश विकास को मूल फुटाउने’ नारा लाग्न थालेको थियो । तर राजधानीलाई नै सफा गर्ने जिम्मा लिएका सफाइ मजदूरहरूको त्यो बस्तीमा छोराछोरीलाई पढाउने इच्छा र जागरण भने आइसकेको थिएन । फोहोर थुपार्ने छुट्टै व्यवस्थापन नभएकाले उनीहरूले शहर सफा गरेर बटुलेको फोहोर आफ्नै बस्तीमा लगेर थन्क्याउनुपथ्र्यो । त्यसैले त्यो बस्ती आफैं अँध्यारो मात्र होइन दुर्गन्धले पनि छोपिएको हुन्थ्यो । धन्न त्यसबेलाको काठमाडौंबाट फोहोर कम निस्किन्थ्यो र सबैजसो फोहोर कुहिने खालको हुन्थ्यो ।

शिक्षकका रूपमा शुरूमा त्यही अपहेलित बस्तीको स्कूल पुग्दाको क्षण म कहिल्यै बिर्सन्न । बस्तीसँगै जोडेको एउटा सानो फल्चामा ‘आजाद प्राइमरी स्कूल’ को साइनबोर्ड झुण्ड्याइएको थियो । एउटा सानो फलैंचामा एक देखि कक्षा ५ सम्मका विद्यार्थी सबै अटाइएको थियो । तर कसरी हो, त्यो ‘स्कूल’ ले ‘प्राइमरी स्कूल’ कै रूपमा सरकारी मान्यता भने पाएको थियो । त्यसबेला ‘प्राइमरी स्कूल’ को अर्थ हुन्थ्यो कक्षा १ देखि ३ सम्म कक्षा सञ्चालन हुनु, तिनलाई पढाउने तीन जनासम्म शिक्षक हुनु । तर ‘आजाद’ मा एकजना शिक्षक मात्र थिए र जो हेडमास्टर पनि थिए ।

एक डेढ वर्ष स्वयंसेवक भई आफू पढेको स्कूल र अरूतिर पनि पढाएको अनुभवसँगै एसएलसी पास गरिसकेपछि मैले ‘कतै’ पढाउनको निम्ति शिक्षकको नियुक्ति पत्र पाएकी थिएँ । नियुक्ति पत्र पाएपछि त्यो बस्तीमा पढाउन जान्छु भन्दा जिल्ला शिक्षा कार्यालयका एक जना भद्र कर्मचारीले मलाई भनेका थिए— “एकपल्ट हेरेर मात्र निर्णय गर्नु ...” मैले त्यहाँ कामगरुँला भनेर कसैले विश्वास गरेका नै थिएनन् ।

म काठमाडौंमै जन्मे–हुर्केकी मान्छेले पनि जीवनमै पहिलो चोटि देखेकी थिएँ, मध्य शहर बीचमा पनि एउटा डरलाग्दो अन्धकार  !त्यो बस्तीले नै त्यहाँ भोगिरहेको जीवन बाहिरबाटै झलक्क देखेपछि मलाई आफ्नो जीवनका सबै संघर्षहरू साना लाग्न थाले । अनेक तर्कना पछि , मैले त्यही रात नै निर्णय गरे— ‘त्यहाँ बत्ती बालिछोड्छु !’ भनेर । बाहिर काम गर्न नपठाउने आमाको इच्छा विपरीत मैले पहिलो पाइला चालें । हरेक दिन निस्कन्थें, लामो समय मैले आमालाई कहाँ काम गर्दैछु भन्ने कुरा नै थाहा दिन पनि सकिनँ ।

शुरूमा त्यो बस्तीको निम्ति पनि म अनौठै आगन्तुक थिएँ शायद । विस्तारै शुरूमा आफूलाई बिल्कुलै स्वागत न गरेको त्यो बस्तीसँग आत्मीयता बढ्दै गयो । अभिभावकहरूले पहिले पढ्न नपठाएका बच्चाबच्चीलाई पनि विस्तारै पढ्न पठाउन थाले । त्यो सानो ‘फल्चा’ मा ठाउँ पुग्न छोड्यो । फल्चा मुनि बाहिर भुईं बढारेर सुकुल ओछ्याएर पनि पढाउन थालें । र स्कूलमा आउन नसकेका ठूला किशोरकिशोरीहरूलाई छुट्टै घरघरमै गएर पनि पढाउन थालें । पछि अरू साथीहरूको सहयोग पनि जुट्न थाल्यो, पूर्णशोभा चित्रकार, सुमन श्रेष्ठ, सुरेन्द्र तुलाधर आदिले पनि त्यो अभियानमा साथ दिन थाले । मेरी दिदी पद्माको भने सधैंभरि नै नैतिक समर्थन र आत्मीय सहयोग भई नै रह्यो, नत्र घरैबाट निस्कन म सक्तिनथें ।

मेरा विद्यार्थीहरूलाई पढाइ बाहेक कोर्सको किताब बाहेकका सिकाउनु पर्ने अर्को एउटा ठूलो र अप्ठ्यारो विषय थियो—जातिपातिको घेरा नाघ्ने । त्यो बेलासम्म त्यो समुदायका कोही पनि पशुपति मन्दिर जान डराउँथे— आफैंलाई ‘अछूत’ ठानेर ।


सम्भवतः पहिलो व्यक्ति नै हुन सक्छु— त्यस बस्तीका विद्यार्थीहरूको भान्छामा पाकेको खानेकुरा खाइदिएर म उनीहरूको मनोबल उठाउन खोज्थें । तर सधैं एउटै प्रत्युत्तर आइरहन्थ्यो ‘अछूत हुनु भनेको त हाम्रै कर्मको भोग हो’ भन्ने । त्यसो होइन है भन्ने कुरा बुझाउनका लागि मैले सरल नेपालभाषामा ‘कर्मया भोग धैगु छु ?’ (कर्मको भोग भनेको के हो ?) शीर्षकको निबन्ध लेखेर नियमित रूपमा पढाउन नै थालेकी थिएँ । अर्थात् अनौपचारिक पाठ्यक्रम समेत बनाएकी थिएँ । त्यो बाहेक हामीले हस्तलिखित पत्रिका ‘च्वाफि’ (सडक सफा गर्ने झडु) विभिन्न अङ्कमा निकालेर पनि पढाउने र जागरुकता बढाउने काम गरेका थियौं । पछि महाकवि सिद्धिदास दिवसमा पुस्तिकाको रूपमा साथीहरूले त्यो निबन्ध छापेर पनि बाँडेका रहेछन्— लेखकको नाम ‘अज्ञात’ राखेर । २०३० साल देखि २०३४ सालसम्म शिक्षकका रूपमा काम गर्दा गर्दै आफ्नै जीवन संघर्षको ठूलो पाठशालामा प्रवेश गरेर मैले त्यो स्कूल छाडेकी थिएँ ।


समय हामीले चिताएभन्दा धेरै फेरिएको छ । राजनीतिक उथलपुथलको सिलसिलाले हामीलाई कहाँबाट कहाँ पुर्याइसकेको छ । वितेका ४० वर्षमा कैयौं प्रधानमन्त्रीहरू फेरिइसके । त्यतिबेला अकल्पनीय लाग्नेगणतन्त्र आएर शक्तिको सबभन्दा ठूलो स्रोत ‘राजदरबार’ समेत म्युजियममा परिणत भइसकेको छ । मेरै जीवनमा पनि ठूलै परिवर्तन भइसक्यो । कहाँ त्यो किशोरावस्थाको कुरा , अब त आफैं पनि जीवनको उत्तराद्र्धमा आइसकेकी छु ।


त्यो बस्ती आफैं पनि आनका तान फरक भइसकेको छ । उबेला त्यसरी पढाएको एउटा केटा अहिले देशको लागि राज्यको अंग बनेर सदनमा जान पाइला उठाइरहेको छ । आफू सक्षम छु र राज्यको निम्ति हकदार पनि छु भनी दाबी गर्न सक्ने भएको छ । सशक्तिकरणको एउटा सुन्दर उदाहरण हो यो । ‘किशोर’ अब किशोर पनि रहेनन्, उनी पनि पाका भइसके ।

म त्यो बस्ती र आजाद प्राइमरी स्कूललाई बरोबर सम्झ्रिहन्छु । त्यो मेरो सपनामा समेत आइरहने बस्ती हो । किशोरलाई विशेष सम्झन्थिें किनकि त्यो बस्तीबाट पहिलो चोटि एसएलसी पास गर्ने मेरा विद्यार्थी उनै हुन् । उनले एम.ए. सम्मकै पढाइ सकिसकेको कुरा थाहा पाउँदा मलाई ठूलैगर्व लागेको छ । उनले एलएलसी पास गर्दा म भावुक बनेर भनेको क्षण सम्झन्छु— अब इतिहास फेरिने भो भनेर !

आज फर्केर हेर्दा साँच्चै नै म खुशी छु । साथै अत्यन्तगर्व पनि लागेको छ, शिक्षक हुनुको ! जीवनमा अर्को एउटा ठूलो सपना पूरा भएको छ । आफ्नै जीवनकालमा यति ठूलो परिवर्तन देख्न पाएँ ! किशोर जस्तै उनका कतिपय अरू सहपाठीहरूले पनि आफ्नो परम्परागत कर्म छोडेर कोही पाँचतारे होटलको कूक त कोही स्कूलको हेडमास्टरको काम गरिरहेको कुरा सुन्न पाउनु निश्चय नै सन्तोषको कुरा हो । तीमध्येमा पनि किशोरमा देखि एको यो सशक्तिकरणप्रति म जतिको खुशी हुने मान्छे अरू को पो होला जस्तो समेत लाग्छ । एउटा शिक्षकले योभन्दा बढी के आशा गर्ने विद्यार्थीहरूबाट ? !

 

commercial commercial commercial commercial