त्यसबेलाको दरवार स्कूल–४

गतांकबाट क्रमशः

(५)

दरवार स्कूलका हरेक क्लासमा पढ्ने थोरै लडका हुँदा माष्टर साहेबहरूले लडकाको पाठ दिनहुँ सुन्दथे र घण्टी नबज्दासम्म पाठ घोकाउँदथे । स्कूलमा गुरुले दिएको पाठ लडकाले घरमा टुकी र लालटीन बालेर पनि घोक्दथे । थोरैका घरमा बिजुली बल्दथ्यो । पुस्तक पढाइको तरिका जस्तोसुकै रूखो र ठाडो भए पनि, पढ्ने इच्छा हुनेको लागि पढ्ने र पढेको कुरा आजन्म मनमा गढ्ने खालको पढाइ त्यहाँ हुन्थ्यो । जे पनि कण्ठै पढाउने र कण्ठ सुन्ने चलन थियो । पाठ रोजिन्दा गुरुले सुन्दथे ।

पढाइचोर (सकभर थोरै समय पढ्ने, पढाउन झ्र्कने, पढ्न पढाउन आलटाल गर्ने, झरा टार्ने, अनार्थक गयल हुने, पढाउन पर्ने जति विषय पूरा नपढ्ने र नपढाउने गुरु चेला) त्यसबखत बहुत कम थिए । दरवार स्कूलमा १९६०÷६५ सालतिर पढाउने बाबुराम पण्डितज्ञढ को बयान पछिसम्म चलेको थियो । फष्टबूक पढाउनमा मैले एम.ए. पास गरेका माष्टरलाई जित्दछु भनी श्री बाबुरामले गुड्डी हाँक्दथे भन्ने सुनिन्थ्यो । बाबुरामका खालका गुरु पछि थिएनन् ।

जाँचमा चोरेर पास हुने मनोवृत्ति पनि लडकामा कत्ति थिएन । न त चलन थियो— परीक्षा हलको वरिपरि पुलिस राखेर लडकाको जाँच लिने, परीक्षा स्थलमा बाहिरबाट (चिट) गोला पारेर प्रश्नका जवाफ फाल्ने र पुस्तकै बोकेर परीक्षा स्थलमा जाने । सवाल हातमा परेदेखि समय नसकिंदासम्म परीक्षार्थीहरू त्यसबखत यताउता कतै नहेरिकन त्यसको जवाफ लेखी रहन्थे र परीक्षामा बहुतै कम लडका फेल हुन्थे ।

मन दिएर किलासमा पढाउनुको सट्टा ट्युसनको लोभले लडकालाई आफ्ना घरमा पढाउन खोज्ने खालका गुरुहरू थिएनन् ।

आफूले पढाएको विषयमा धेरै लडका जबरजस्ती पास गरी नाम कमाउन खोज्ने र गुरु गुरु मिली, ‘मैले पढाएका विद्यार्थीलाई तैंले पास गर’ र ‘तैंले पढाएकालाई म पास गरीदिन्छु’ भनी बोलकबुल गर्ने चलन पनि त्यसबेला थिएन । न त सेमिष्टर सिस्टमको कल्पनासम्म भएको थियो ।

नाइन्थ क्लासदेखि सेभेन्थ क्लाससम्मको जाँच मौखिक हुन्थ्यो । नेपाली अंग्रेजीको डिक्टेशन र हिसाब पाटीमा गराइन्थ्यो । खास गरेर अंग्रेजी डिक्टेशनको जाँचमा लडका थर्कमान हुन्थे— आफूले कहिल्यै नसुनेका अंग्रेजी शब्दहरू माष्टर साहेबले अनौठो किसिमले जिब्रो तानेर उच्चारण गर्ने हुँदा । त्यसबखत नेपालका अंग्रेजी पढाउने धेरैजसो माष्टर साहेबहरू बंगाली थिए ।

बंगालीहरूको अंग्रेजी शब्द उच्चारण गर्ने तरीका अनौठो हुन्थ्यो— अंग्रेजहरूले सितिमिति नबुझने खालको । त्यही बानी नेपाली गुरुहरूमा पनि बसेको थियो । भिन्न गुरुहरूले त्यही अंग्रेजी शब्दलाई भिन्नै तरीकाले उच्चारण गर्दथे । (टि आइ एन वाई, लाई कुनै गुरुले ‘टिनी’ र कुनैले ‘टाइनी’ भन्न सिकाउँथे) ।

त्यसैले धेरैजसो लडकाहरू डिक्टेशनमै गुल्टन्थे— एक माष्टरले सिकाएको उच्चारण अर्कोसँग नमिल्ने हुँदा । जाँच वर्षको दुई बाजि हुन्थ्यो— हाफ एरली र आईनिवल (एन्न्युअल) । अर्ध–वार्षिक परीक्षामा पास भए तापनि वार्षिक परीक्षामा सबै विषयमा पूरै पुस्तकको जाँच दिन पर्दथ्यो । लडकाहरू जाँच दिनलाई कत्ति पछि हट्दैनथे— परीक्षा जतिसुकै कडा र पटक–पटक भए पनि । एक विषयमा मात्र फेल भए पनि विना ‘ट्रायल जाँच’ विद्यार्थीलाई क्लास चढाइँदैनथ्यो । हरेक पाठ्यपुस्तकहरू दोहो¥याई तेह¥याई पढाइन्थे । पाठ्यपुस्तक थोरै भएर त्यस किसिमले पढाइएको हैन । कारण हो गुरु चेला दुवैमा पढाउने र पढ्ने प्रबल इच्छा, क्लासमा विद्यार्थीको संख्या सीमित र गुरुहरूमा मनग्य लगनशीलता औ इमानदारी । नेपाली तेस्रो बाहेक अरू सबै पाठ्यपुस्तकहरू धेरैजसो अंग्रेजीमा र बाँकी हिन्दी भाषामा लेखिएका हुन्थे । त्यसैले सबै लडकाले दुई विदेशी भाषा अंग्रेजी र हिन्दी बेहोर्नु पर्दथ्यो, सानै उमेरदेखि ।

त्यसबखत स्कूलका पाठ्यपुस्तकहरू विरलै फेरिन्थे । सधैं उही पी.सी. सरकारको फष्ट बूक, भण्डारकारको व्याकरण, के.पी.वसुको अलजेब्रा, चक्रवर्तीको अर्थमेटिक, पी.सी. रेनको कम्पोजिसन, नेसफिल्ड अथवा ज्वालासिङ्गको ग्रामर, डडले स्टेम्पको भूगोल, भेनसेन्ट स्मीथको इतिहास दरबार स्कूलमा पढाइन्थे । शिक्षालयमा सालिन्दा पाठ्यपुस्तक फेराएर लडकालाई पुस्तक भिडाउने चलन त्यतिन्जेल बसिसकेको थिएन । कति विद्यार्थीले त २÷३ पुस्ता पुराना पुस्तक मागेर काम चलाउँदथे । तर पुराना पुस्तक बेच्ने चलन भने थिएन । आफूले पढिसकेका पुस्तक इष्टमित्रलाई खुशीसाथ सबैले उधारो दिन्थे । सालको पात झ्ैं सालसालै जस्तो पाठ्यपुस्तक पनि त्यसबेला फेरिंदैनथे ।

नेपालको इतिहास र भूगोल पढ्न, पढाउन पर्दैनथ्यो । ती पढाउने पुस्तक लेखिएका पनि थिएनन्— नेपालको कुरा त नेपालीलाई आफैं आफ आफ आउँदछ भनेर हो अथवा नेपालको वास्तविक इतिहास र भूगोल नेपालीले थाहा पाए भने सरकारको तखता उल्टन्छ भन्ने डरले हो ! त्यो त दैवै जानोस् । तर भारत र ब्रिटेनको इतिहास भने पूरापूर स्कूलमा पढाइन्थ्यो ।

विश्व भूगोल त दरवार स्कूलका लडकालाई कन्ठै हुन्थ्यो भने पनि हुन्छ । नेपालको इतिहास र भूगोल दुवै विद्यार्थीलाई नदारत थिए ।

मीनपचासको छुट्टी (मार्ग २० गतेदेखि माघ १० गतेसम्मलाई मीनपचास भनिन्छ, ती ५० दिनमा माछालाई पनि नेपालमा जाडो हुने हुँदा मीनपचास भनिएको हो । गुरु र विद्यार्थीलाई हिउँदमा २ महीना छुट्टी हुन्थ्यो र सबै शैक्षिक संस्थाहरू दुई महीना बन्द हुन्थे) हुनुअघि परीक्षाफल क्लास–क्लासपिच्छे– ठूलो शानसँग सुनाइन्थ्यो । अघि अघि सेतो, लामो दाह्री जुँगा भएका, छयाके, बनारसी गोल टोपी, लामो कालो अचकन र चुस्ता लगाएका अग्ला सरदार औ प्रिन्सिपल बटु कृष्ण मैत्रेय, त्यसपछि भरखर (१९८२ सालमा) भर्ना भएका मोटा, रातापिरा फूर्तिला, भरोसा लाग्दा, नयाँ हेडमाष्टर रुद्रराज पाँडे (उनीभन्दा अघि दरवार स्कूलका हेडमाष्टर थिए श्री शारदाप्रसाद मुकर्जी एक बंगाली) । अनि अरू हिन्दुस्थानी, नेपाली माष्टर र जाँचको नतीजा सुनी सकेका माथिल्ला क्लासका लडकाहरू ग्वारग्वारती जाँचको नतीजा सुन्न सुनाउन क्लासपिच्छे आउँदथे ।

क्लास क्लासमा गई प्रिन्सिपलले योग्यता क्रमानुसार पास हुने १५÷२० लडकाहरूको नाम रजिष्टरबाट पढेर सुनाउँदथे ।

त्यसताका अधिराज्यभर एक माध्यमिक स्कूल र क्लासमा सीमित विद्यार्थी भएकोले यस्तो तरिकाले परीक्षाफल घोषणा गर्न सम्भव थियो । परीक्षामा पहिला, दोस्रा, तेस्रा र चौथा हुने लडकालाई शुरूमा नगदै पुरस्कार प्रदान हुन्थ्यो । पछि पछि पुस्तक दिइन थालियो । परीक्षाफलको उद्घोषणा एक किसिमको सानोतिनो समारोह जस्तै हुन्थ्यो ।

अघि दरवार स्कूल सेतो दरवारमा चल्दाका विद्यार्थी स्वर्गीय कर्णेल बाल नर्सिङ रायमाझ्ीको भनाइ अनुसार त “१९४२ सालतिर त दरवार स्कूलका विद्यार्थीहरूलाई दिनहुँ लिन पु¥याउन घरघरै पाले जान्थे । दिउँसो हरेक विद्यार्थीलाई सरकारतर्फबाट मनग्य स्वारी, जुल्फी; पेडा निःशुल्क ख्वाइन्थ्यो ।” त्यो सहुलियत त पछि थिएन, तर पनि लडका थोरै भएकाले अंग्रेजी पढ्नेको भाउ, मान र चाह निकै थियो ।

गुरु र विद्यार्थी मिली वार्षिक सरस्वतीको पूजा गर्दथे । हरेक लडकाबाट गुरुहरूले मोहर रुपैयाँ चन्दा उठाउँदथे, स्कूलका डाइरेक्टर जनरलदेखि लिएर सबै सम्बन्धित कर्मचारी भोजमा निम्तिन्थे, र लडकालाई बिहानदेखि बेलुकीसम्म पटक पटक मीठा, सोडा, मासु, रोटी, चिउरा, फुरन्दाना इत्यादि पेटभरि ख्वाइन्थ्यो । खाना पनि गुरुहरूकै घरमा तयार हुन्थ्यो; भाग गुरुहरूले नै लगाउँदथे र बाँडदथे । यो वार्षिक सरस्वतीको पूजा ठूलो ठाँटले हुन्थ्यो । अलि माथिल्ला क्लासका विद्यार्थीहरू मिलेर सरस्वतीथानमा आफैंले भोज गर्ने पनि चलन थियो । यस्तो थियो सम्बन्ध गुरुचेलामा । लडकाले गुरु र पुस्तक दुवैलाई भक्तिभावले ढोग्दथे ।

क्रमशः पढ्दै जाँदा दरवार स्कूलको सातौंबाट छैटौं श्रेणीमा प्रमोशन पाएका लडकाले एकाएक ठूलो भवसागरमा पुगेको जस्तो अनुभव गर्दथे । प्रथम, छैटौं क्लासदेखि सबै विषयमा लडकाले लिखित परीक्षा दिन पर्दथ्यो । दोस्रो, लडकाले पढ्नुपर्ने अंग्रेजी अलावा भूगोल, इतिहास, हिसाब, रचना, व्याकरण, ट्रान्सलेशन इत्यादि सबै पुस्तक केही अंग्रेजीमा र केही हिन्दी भाषामा लेखिएका हुन्थे । तेस्रो, हिन्दी पाठ्यपुस्तकबाट अंग्रेजीमा उल्था गर्न पर्ने हुँदा, लडकालाई दुइटा विदेशी भाषा (हिन्दी र अंग्रेजी) एकैचोटि जान्न पर्ने आवश्यकता थियो । चौथो, परीक्षामा सवाल पनि अंग्रेजीमा सोधिने र जवाफ पनि अंग्रेजीमा नै लेख्न पर्दथ्यो । पाँचौं, ईश्वरीदत्त रतौरी, अम्बर बाबू, बोस बाबू, नानी गोपालसेन र खन्दुरी जस्ता कोही कडा, कोही रिसाहा र कोही कोरा विदेशी गुरुहरूसँग त्यहाँ लडकाको प्रथम जम्काभेट हुन्थ्यो ।

स्कूलमा माष्टर साहेबहरूले पाठ नघोक्ने र नसुनाउने लडका पिट्ने चलन त थियो थियो । थप, टोपीबाट कपाल बाहिर लर्कायो, अलि छाँट्टिएर लुगा लगायो, ठूलो स्वरले क्लासमा कुरा ग¥यो, झ्गडा ग¥यो, चुरोट खायो र पढाइमा ध्यान दिएन भने पनि लडका मुक्याइन्थे । लवेदा सुरुवाल, भोटो सुरुवाल, कमिज सुरुवाल जे लगाए पनि, कोट र टोपी लगाएको छैन भने विद्यार्थीले क्लासमा पाइला हाल्न पाउँदैनथे । रिसाहा गुरुको कमी थिएन । माष्टरले अर्थ न बर्थसँग कुटे पनि लडकाहरूको चुक्क बोल्ने हुती थिएन । रत्तिभर मात्र अनुशासन भङ्ग भयो भने मेजै पुग्ने गरी सजाय हुन्थ्यो । अनाहकमा गुरुले पिटे भनेर लडकाले चुक्क बोल्दैनथे, विरोध गर्ने कुरा त परै जाओस् ।

सिक्स्थ क्लासको अर्को पनि विशेषता थियो । पशुपतिनाथको मन्दिरका ढेडु बाँदर जस्ता चार–पाँच वर्षदेखि फेल भएका लडकाहरू त्यस क्लासमा निकै हुन्थे । यिनीहरूलाई ‘कुरिज’ भन्ने चलन थियो— धेरै पटक फेल भई उही क्लासमा राखिएकोले । प्रायः राणाजी, बाबू साहेब र उनका नातेदारहरू हुन्थे यस्ता कुरिज । उमेर छिपिइसकेका ती कुरिज जति क्लासको पछाडिका बेन्चमा बसी, आपसमा गुलबकाबली र लैला–मजनूका कथा भन्ने सुन्ने गर्दथे— लैला–मजनूको कथामा रस मान्ने उनीहरूको उमेर पुगिसकेकाले । उनीहरू माष्टरको पढाइमा कुनै ध्यान पनि दिंदैनथे, उनीहरूको डर पनि मान्दैनथे र गुरुले उनीहरूसँग कहिल्यै पाठ पनि सोध्दैनथे— ती कुरिजहरूले पढ्लान्, पास गर्लान् र जस पाइएला भन्ने कम आशा हुँदा ।

ती कुरिजको आदत हुन्थ्यो अरू लडकासँग सुपारी र पैसा मागेर चुरोट खाने र तङ्ग गर्ने । (त्यसताका एक पैसाको पाँच–सात कुडका नीलकण्ठे सुपारी र चार–पाँच फुली ल्वाँग फोस्सामा पाइने हुँदा एक कुडका सुपारी माग्ने र जे माल किने पनि फोस्सा दिने र माग्ने चलन व्यापक थियो— आजकल डिस्काउण्ट मागे झ्ैं । सुपारी किन्दा ल्वाँग फोस्सामा पाए झ्ैं तरकारी किन्दा अदुवा, घीउ किन्दा चाकु, मासु किन्दा आन्द्राभुँडी कलेजो फोक्सो पसलेले फोस्सामा दिन्थे । लालटिनीमार र गोरखमार चुरोट पैसाको दुई खिली पाइन्थ्यो । अलि भलादमीहरूले दुई पैसा खिल्ली जाने कैंचीमार चुरोट खान्थे) ।

उमेर पुग्नासाथ धेरैजसो यस्ता कुरिजको निमित्त लप्टनी, खरदारी जागीर सुरक्षित रहने हुँदा अरू (दुनियादार) हरू लाई जस्तो जीवन निर्वाहको लागि पढ्नपर्ने उनीहरूलाई प्रयोजन पनि थिएन । थोरैजसो धनीका छोराले मात्र चाहनाले र सोखले अंग्रेजी पढ्दथे । नेपालका धेरैजसो भारदारका छोरा भतिजाहरू पछिसम्म पनि लेखपढमा पछाडि पर्नाको मूल कारण पनि यही हो— उमेर पुगेपछि स्वतः जागीर उनीहरूकहाँ लडेर आउने हुँदा । (क्रमशः)

(त्यसबखतको नेपाल भाग–१ बाट)

commercial commercial commercial commercial