शिक्षक आफैं बनाउँदा रहेछन् पाठ्यक्रम !

थाइल्यान्डका शिक्षकमा ‘पाठ्यक्रम हामीले बनाउन सक्छौं र बनाउनुपर्छ, त्यसको सफल कार्यान्वयनका लागि आवश्यक तालीमका सही क्षेत्र निर्धारण हामीले गर्ने हो र तालीमबाट आफ्नो पेशागत विकास गरी प्रतिस्पर्धी बन्नुपर्छ’ भन्ने भावना शुरूदेखि नै रोपिएको हुने रहेछ ।

गत असारमा पेशागत विकासका सन्दर्भमा थाइल्यान्ड भ्रमण गर्ने अवसर मिल्यो । त्यहाँका विद्यालयमा स्थानीय पाठ्यक्रम विकास तथा प्रभावकारी कार्यान्वयन भएको तथ्य अग्रजहरूबाट सुनेको थिएँ । आफैंले केही विद्यालयको अध्ययन भ्रमण गर्न पाउँदा त्यसको प्रत्यक्ष अनुभव गर्ने अवसर जु¥यो । भ्रमणकालमा मेरो ध्यान स्थानीय पाठ्यक्रम कार्यान्वयनको अवस्था चित्रण गर्नेतर्फ नै केन्द्रित रह्यो ।

सुषुप्त तर उपलब्धिमुखी पाठ्यक्रम
थाइल्यान्डमा विद्यालय तथा समुदायको सम्बन्ध सुदृढ हुने, स्थानीय आवश्यकताका विषयवस्तुले स्थान पाउने, पाठ्यक्रमप्रति जनताको अपनŒव बढ्ने र न्यून मूल्यका स्थानीय सामग्रीको प्रयोग हुनेलगायतका विषय र वस्तुलाई स्थानीय पाठ्यक्रममा समेट्ने नीति अपनाइएको पाइयो । त्यहाँ स्थानीय पाठ्यक्रम बनाउँदा सूचनामूलक विषयवस्तु भन्दा उत्पादनलाई बढी जोड दिइएको छ, जस्तैः मकैका घोगाबाट उत्पादन हुने खोस्टाको प्रयोग गरी फूलको निर्माण, रङरोगन, प्रदर्शन र बजार व्यवस्थापन । स्थानीयस्तरमा पाइने बोटबिरुवाको पात संकलन, पातलाई उमाली रेसापञ्जर निर्माण, रङरोगन, प्रदर्शन र बजार व्यवस्थापन पनि गरेका छन् । स्थानीय संस्कृतिको स्रोत केन्द्र नै विद्यालय हो भन्ने भान पर्ने गरी त्यहाँका विद्यालयहरूमा प्रशस्त सांस्कृतिक कार्यक्रम हुने गर्छन् । त्यहाँ लेखेका संरचित पाठ्यक्रमभन्दा देखी एवं भोगी प्रभावकारी रूपमा कार्यान्वयनमा आएका विषयक्षेत्रपरक सुषुप्त विषयहरू स्थानीय पाठ्यक्रमको रूपमा कार्यान्वयन भएका छन् ।

सीपगत योग्यतालाई प्राथमिकता
थाइल्यान्डको विद्यालय शिक्षामा स्थानीय पाठ्यक्रमलाई तीस प्रतिशतसम्म भार छुट्याइएको छ । संघीयताको लामो अनुभव हासिल गरेको यस देशले स्थानीय पाठ्यक्रमलाई पनि संघीय शैक्षिक नीति तथा कार्यक्रमसँग मिलान गरेको छ । यसका लागि त्यहाँ राष्ट्रिय मापदण्ड तथा गुणस्तरमा एकरूपता ल्याउन अनिवार्य विषयक्षेत्र तोक्ने र यसको समन्वय केन्द्रस्तरबाट गर्ने गरिएको छ । सीपगत जनशक्ति उत्पादनका लागि प्रादेशिक स्तरलाई जिम्मेवार बनाइएको छ । यसका लागि प्रादेशिक विश्वविद्यालयको गुणस्तरीयता तथा प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिइएको छ । स्थानीय आवश्यकता र सीपका आधारमा सामग्री उत्पादन, स्थानीय बजार र सामग्रीको उपयोग तथा समुदाय परिचालनसँग सम्बन्धित भई स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयनमा विद्यालयलाई जिम्मेवार तुल्याइएको छ ।

यस्ता पाठ्यक्रमको कार्यान्वयनबाट विविध कारणले गर्दा थप शैक्षिक प्रगति गर्न नसक्ने विद्यार्थीहरू आफ्नो सीपगत योग्यताका आधारमा रोजगार वा स्वरोजगारतर्फ आकर्षित भई स्वावलम्बी नागरिक बन्ने गरेका छन् । यसले गर्दा परम्परागत तथा मौलिक ज्ञानसीपको संरक्षण तथा संवर्धन मात्र नभई  पर्यटकको प्रमुख रोजाइमा परेको यस देशमा स्थानीय सामग्री, संगीतलगायतका क्षेत्रबाट आकर्षक रूपमा आयआर्जन भएका दृष्टान्त पाइन्छन् ।

लगानी तथा स्रोत व्यवस्थापनको आधार
थाइल्यान्डका विद्यालयमा लगानीमा विविधता छ । त्यहाँ केही विद्यालय केन्द्र सरकारको लगानीमा, केही चाहिं केन्द्र, प्रादेशिक तथा स्थानीय सरकारको संयुक्त लगानीमा, अनि केही विद्यालय निजी क्षेत्र र प्रादेशिक वा स्थानीय सरकारको संयुक्त लगानीमा र केही विद्यालय निजी क्षेत्रको लगानीमा संचालित छन् । उल्लिखित मध्ये अन्तर्राष्ट्रिय विद्यालय बाहेकमा लगानीको एउटा आधार स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन बन्ने गरेको छ । जसले स्थानीय पाठ्यक्रमको विकास तथा कार्यान्वयन सफलतापूर्वक गरी स्थानीय समुदायको परिचालन समेत उल्लेख्य रूपमा गरेको छ, त्यस्तो विद्यालयमा लगानी गर्न केन्द्र, प्रादेशिक र स्थानीय सरकारका साथै निजी क्षेत्र पनि उत्साहित भएर आउने गरेको पाइएको छ । यस हिसाबले त्यहाँ स्थानीय पाठ्यक्रम नै स्रोत संकलन र व्यवस्थापनको एउटा प्रमुख आधार बन्न पुगेको अवस्था सहज रूपमा देख्न सकिन्छ ।

शिक्षकको दक्षता विकास
थाइल्यान्डमा स्थानीय पाठ्यक्रम निर्माण तथा सफल कार्यान्वयनले गर्दा सबै विषयमा पाठ्यक्रमका आधारमा शिक्षण सिकाइ गर्नुपर्छ भन्ने सकारात्मक सोच विकास भएको पाइन्छ । नेपालमा प्रायः शिक्षकले ‘पाठ्यक्रम विज्ञले बनाउँछन्, हामीले कार्यान्वयन मात्र गर्ने हो’ भन्ने बुझ्ेका हुन्छन् । परिणामतः हाम्रा शिक्षकहरू सापेक्षतः फुर्सदिला छन् । यसले गर्दा उनीहरूले समाजसेवा, राजनीतिलगायतका अन्य क्षेत्रमा आफूलाई व्यस्त बनाएका छन् । तर थाइल्यान्डका शिक्षकमा ‘पाठ्यक्रम हामीले बनाउन सक्छौं र बनाउनुपर्छ, त्यसको सफल कार्यान्वयनका लागि आवश्यक तालीमका सही क्षेत्र निर्धारण हामीले गर्ने हो र तालीमबाट आफ्नो पेशागत विकास गरी प्रतिस्पर्धी बन्नुपर्छ’ भन्ने भावना शुरूदेखि नै रोपिएको हुने रहेछ । थाइल्यान्डका शिक्षकले स्थानीय पाठ्यक्रम विकास र कार्यान्वयनमार्फत सिकाइका निम्ति भिन्न र सही परिवेश सिर्जना गरेका छन् ।

उनीहरूले ७० प्रतिशत अनुभव, २० प्रतिशत समुदाय र १० प्रतिशत कक्षाकोठामा आधारित सिकाइ सहजीकरण प्रक्रिया अवलम्बन गरेका छन् । यस प्रक्रियाले स्थानीय परिवेश र परियोजनामा आधारित सिकाइलाई मुखरित गरिरहेको छ । परिणामतः विद्यार्थी परियोजनामुखी सिकाइमा तल्लीन देखिन्छन् । यसर्थ त्यहाँको स्थानीय पाठ्यक्रमको अभ्यासले शिक्षकको क्षमता र दक्षता अभिवृद्धि गराई शैक्षिक विकेन्द्रीकरणलाई प्रवर्धन गरेको छ ।

भावी दिशा
नेपालमा पनि स्थानीय पाठ्यक्रमको विकास तथा कार्यान्वयन भइरहेको छ । विविधतायुक्त यस देशमा केन्द्रबाट निर्माण गरी कार्यान्वयन गरिने पाठ्यक्रमले समग्र राष्ट्रको प्रतिनिधित्व गर्न सम्भव छैन भन्ने मान्यताका साथ स्थानीय तहका लागि उपयोगी पेशा, व्यवसाय, धर्म, परम्परा, संस्कृति, रीतिरिवाज, स्थानीय सम्पदा, वातावरण संरक्षण, खेतीपाती, स्थानीय प्रविधि, चाडपर्व, सामाजिक व्यवहार आदि विषयवस्तुमा आधारित भई पाठ्यक्रम विकास र कार्यान्वयनमा विशेष जोड दिनु जरूरी भएको छ ।

अहिलेसम्म हाम्रा स्थानीय पाठ्यक्रमहरू संरचित र तथ्य, तथ्यांक एवं सूचनापरक मात्र रहेका छन् । यस्ता पाठ्यक्रम लगानी, उत्पादन तथा समुदाय परिचालनभन्दा कक्षाकोठामा आधारित शिक्षण सिकाइको अर्को एउटा आधार मात्र बन्ने गरेका छन् ।

यस्ता पाठ्यक्रमले परम्परागत रूपमा प्रचलित स्थानीय ज्ञान तथा सीपको उजागर गर्न सक्दैनन् । साथै विद्यालयमा आधारित पाठ्यक्रम निर्माण र कार्यान्वयनमा आदानप्रदान संस्कृतिको विकास तथा सबै पक्षको अर्थपूर्ण सहभागिता गर्नेतर्फ अग्रसर हुन सकिएको अवस्था पनि छैन । यसर्थ मौजुदा अवस्थामा थाइल्यान्डको अभ्यासलाई हामीले विशेष रूपमा अध्ययन तथा विश्लेषण गर्नु जरूरी देखिन्छ । यसले हामीलाई भिन्न र प्रभावकारी सोचको मार्गप्रशस्त गर्न सक्दछ ।

(घिमिरे पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत हुन् ।)

commercial commercial commercial commercial