महेन्द्र नमूना मावि दार्चुला रोचक हाजिरी

‘सुन्दर सुदूरपश्चिम !’ आफैंमा सुन्दर नारा छ । तर धेरै नेपालीका लागि अहिले पनि सुन्दर सुदूरपश्चिम घुम्न जाने रोजाइमा पर्दैन; उनीहरू पोखरा, इलाम, चितवन, धनकुटा, पाल्पा, मुस्ताङतिर नै जान रुचाउँछन् । अधिकांश नेपालीलाई सुदूरपश्चिम सुन्दर भए पनि दुर्गम, अशिक्षित र अविकसित छ भन्ने लाग्छ ।

म पनि २०७३ साल मंसीरमा यस्तै सोच्दै दार्चुला पुगेको थिएँ । कैलालीको अत्तरियाबाट ३०५ किमी पक्की, तर साँघुरो सडक करीब १६ घण्टामा पार गरेर पुगिने दार्चुला नेपालको सबभन्दा पश्चिम उत्तरको जिल्ला हो । भारत र चीन दुवैको सिमाना छुने जिल्ला ताप्लेजुङ र दार्चुला मात्र हुन् ।

दुर्गम भइकन पनि दार्चुलाको शैक्षिक अवस्था भने मैले सोचेको भन्दा राम्रो भेटियो । जिल्लाको सदरमुकामस्थित श्री महेन्द्र नमूना मावि (माथि तस्वीर)मा पुग्दा त्यहाँको हाजिरी गर्ने तरीका नै चाखलाग्दो लाग्यो । यहाँ बिहान १० बज्नुअघि नै सबै कक्षाका विद्यार्थी आ–आफ्नो रोल नम्बर अनुसार प्रांगणमा लाइनमा उभिंदा रहेछन् । विद्यालयको घडीमा ठीक १० बजेपछि विद्यालयको बाहिरी गेट बन्द गरिन्छ । त्यहाँ विद्यार्थी तितर–वितर भएको र तोकिएको समयपछि पनि हस्याङ र फस्याङ गर्दै आइरहने चलन पटक्कै देखिंदैन । लाइनमा आफ्नो रोलनम्बर अनुसार विद्यार्थी उभिसकेपछि पहिले राष्ट्रिय गान गाइन्छ । राष्ट्रिय गान सकिएपछि प्रत्येक लाइन अगाडि शिक्षकहरू हाजिरी फाइल बोकेर उभिन्छन् । अनि राम्रो ध्वनिप्रणाली (साउण्ड सिस्टम) मा तीन पटक ‘रेडी रेडी रेडी’ भनेको सुनिन्छ । ‘रोलनम्बर एक’ भन्नासाथ प्रत्येक लाइनमा अगाडि बस्नेहरू एकैपटक जुरुक्कै उठ्छन् र पालो सकिएपछि बस्छन् । माइकबाट ‘रोल नम्बर दुई’ भन्दा रोल नम्बर दुई भएका विद्यार्थी उठ्छन् र पालो सकिनासाथ बसी हाल्छन् । हाजिरी गर्ने यो रोचक शैली हेर्दा सैनिक परेड जस्तो लाग्थ्यो ।

लाइनको अगाडि बसेका शिक्षकले आ–आफ्नो अगाडि उभिएका विद्यार्थीको हाजिरीमा टिक लगाउँदै जान्छन् । जहाँ विद्यार्थी उभिएको हँुदैन त्यहाँ विद्यार्थी विद्यालय नआएको बुझ्न्छि । यो हाजिरी विधिको विशेषताबारे प्राचार्य रामदत्त जोशी भन्नुहुन्छ, “यस्तो खुल्ला शैलीका कारण विद्यार्थी समयमै आउँछन् र दोस्रो फाइदा, विद्यार्थीले हरेक कुरामा ध्यान दिन सिक्छन् र तेस्रो फाइदा हो उनीहरू अनुशासित पनि हुन्छन् ।”

श्री महेन्द्र नमूना मावि नजिकका निजी विद्यालयको निम्ति राम्रो प्रतिस्पर्धी बनेको छ । निजी विद्यालयहरूमा भन्दा यसमा धेरै विद्यार्थी छन् । यो विद्यालयले पोशाक, खाजा, पानी, झेला जस्ता विद्यार्थीका अति आवश्यक सामग्रीको नियमित रूपमा अनुगमन गरी पालना गर्न लगाएको छ । फलतः कम आय भएका अभिभावकका सन्तानले पनि निकै सस्तोमा गुणस्तरीय शिक्षा प्राप्त गरिरहेका छन् । विद्यार्थीमा थप उत्साह पैदा गर्न र पढाइलाई प्रभावकारी बनाउनका लागि कम्प्युटर ल्याब, साइन्स ल्याब र पुस्तकालयको राम्रो व्यवस्थापन गरिएको छ । यो विद्यालय अंग्रेजी माध्यममा पढाइ हुने यस क्षेत्रको गतिलो विद्यालयको रूपमा स्थापित भएको छ । स्थानीय व्यक्तिहरूको भनाइमा यो विद्यालयका कारण अध्ययनका निम्ति पारि भारततर्फ जाने कैयन् विद्यार्थी पनि अहिले जान छाडेका छन् ।

जीवनप्रसाद राई

commercial commercial commercial commercial