केटी के हो ? केटा के हो ?

बच्चा जब जन्मन्छ, कि त केटा हुन्छ, कि त केटी हुन्छे ।
केटी के हो त ?
कोही भन्छन् जसको लामो कपाल हुन्छ उनी केटी हुन् ।
कुलदीपको लामो कपाल छ तर ऊ त केटा हो ।
कोही भन्छन् जसले गहना लगाउँछ उनी केटी हुन् ।
मेघराजले घाँटीमा माला र कानमा मुन्द्री पनि लगाउँछ तर ऊ केटा हो ।
केटा के हो त ?
कोही भन्छन् जसले शर्ट, हाफ पाईन्ट लगाउँछ र रूखमा चढ्न सक्छ ऊ केटा हो ।
शान्ति हाफ पाईन्ट लगाउँछिन् र रूख पनि चढ्न सक्छिन् तर उनी केटी हुन् ।
कोही भन्छन् जो बलियो छ र गह्रौं भारी बोक्न सक्छ ऊ केटा हो ।
ललिता र नफीसा एकैपल्ट दुई गाग्री पानी वा दुई भारी दाउरा बोक्छन् तर उनीहरू केटी हुन् ।
केही व्यक्तिहरूको भनाइ छ जसले घरको काममा मदत गर्छिन् उनी केटी हुन् ।
जीतबहादुर खाना पकाउन, सफाइ गर्नमा मदत गर्दछ तर ऊ केटा हो ।
केही व्यक्तिहरूको भनाइ छ खेतमा काम गर्नेहरू केटा हुन् ।
विष्णुकुमारी र उनकी आमा खेतमा काम गर्छन् तर उनीहरू केटी र स्वास्नी मान्छे हुन् ।
केही व्यक्तिहरूको भनाइ छ जो हाट–बजारमा सामान बेच्दछ ऊ केटा हो ।

रेखा माछा बेच्न बजार जान्छिन् तर उनी केटी हुन् ।
केही व्यक्तिहरूको भनाइ छ जो कोमल हुन्छ, जसमा ममता हुन्छ, उनी केटी हुन् ।
कवीर कोमल छ र ममताले भरिएको छ, दिनभरि सानी बहिनीको हेरविचार गर्छ तर ऊ केटा हो ।
केही व्यक्तिहरूको भनाइ छ जसले समाजमा राम्रोसँग व्यवस्था मिलाउन सक्छ ऊ केटा हो ।
अरुणा डीएसपी हुन् र जिल्लाको शान्ति सुरक्षा तथा सुव्यवस्था मिलाउँछिन् तर उनी महिला हुन् ।

त्यसो भए,
केटा के हो ?
केटी के हो ?

केटा त्यसलाई भनिन्छ जसको लिङ्ग र अण्डग्रन्थी हुन्छ ।

केटी त्यसलाई भनिन्छ जसको योनी हुन्छ ।

प्रत्येक केटा ठूलो भएर पुरुष बन्दछ, प्रत्येक पुरुषको अण्डग्रन्थी र लिङ्ग हुन्छ ।

प्रत्येक केटी ठूली भएर स्त्री बन्दछिन् । प्रत्येक स्त्रीको योनी, पाठेघर र स्तन हुन्छ । महिलाको शरीरमा बच्चा बन्दछ, बढ्दछ, उनी बच्चालाई जन्मदिन्छिन् र दूध खुवाउँछिन् ।

शरीरका यी भिन्नता बाहेक केटा र केटीबीचमा अन्य भिन्नता पाइँदैन । शारीरिक बनावटमा पनि धेरैजसो समानता पाइन्छ । फरक धेरै कम छन् । लिङ्ग र सन्तान जन्माउने अंग बाहेक अरू अंगहरू समान छन् ।

यो शारीरिक वा जैविक बनावटलाई ‘प्राकृतिक लिङ्ग’ भनिन्छ । शरीरको बनावट अनुसार केटाको लिङ्ग पुरुष र केटीको लिङ्ग स्त्री हुन्छ ।

यो प्राकृतिक लिङ्ग भेद प्रकृतिले बनाएको हो र यस्तो विभेद प्रत्येक परिवार, समाज र मुलुकमा एउटै हुन्छ अथवा शारीरिक रूपले केटा र केटी जहाँ पनि केटा र केटी नै हुन्छन् ।

शारीरिक भिन्नता बाहेक केटाकेटीबीच जुन अन्य भिन्नताहरू पाइन्छ जस्तैः उनीहरूको लुगा लगाई, व्यवहार, शिक्षा र समाजको दृष्टिकोण यी सबै सामाजिक विभेदहरू हुन्, प्राकृतिक होइनन् । त्यसैले यस्तो भिन्नता प्रत्येक परिवार र समाजमा एकै किसिमको हुँदैन ।

जस्तो; हामीले देख्यौंं, कुनै केटीको कपाल लामो हुन सक्छ, कुनैको छोटो, कुनै परिवारमा केटाले घरको काम गर्छ, कुनैमा गर्दैन, कुनै महिलाले घरपरिवारमा नै काम गर्छिन्, कुनैले हाट–बजारमा सामान पनि बेच्दछिन् आदि ।

(महिला अभियन्ता एवं जेन्डर विज्ञ भसीनको ‘लड्का क्या है, लडकी क्या है ?’ पुस्तकबाट ।)

commercial commercial commercial commercial