विद्यार्थीका निम्ति पाइलटको म्युजियम !

काठमाडौंको शैक्षिक भ्रमणमा निस्कने नेपाली विद्यार्थीका निम्ति चिडियाखाना, नारायणहिटी तथा राष्ट्रिय संग्रहालयकै लहरमा अर्को गन्तव्य थपिएको छ– विमान संग्रहालय अर्थात् ‘एभिएसन म्युजियम’ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमपट्टि सिनामंगलमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (पहिलेको हवाई विभाग) को खाली जग्गामा क्याप्टेन अर्थात् पाइलट वेद उप्रेतीको निजी पहलमा स्थापित यो संग्रहालयको मुख्य उद्देश्य नै युवा विद्यार्थीमा हवाई उड्डयन र विमान सम्बन्धी रुचि तथा जानकारी प्रदान गर्नु रहेको छ । यसले माध्यमिक र उच्च माध्यमिक तहका विद्यार्थीलाई विशेष रूपमा लक्षित गरेको छ । ‘एभिएसन म्युजियम’ लाई आधारभूत रूपमै विद्यार्थीको सिकाइ र विज्ञानसँग जोडिएको छ ।

संग्रहालय जहाजको कक्षा
‘एभिएसन म्युजियम’ बनाइएको यो हवाई जहाज युरोपियन कम्पनी एयरबसले उत्पादन गरेको करीब २६ अर्ब रुपैयाँ पर्ने ए ३३०–३०० सिरिजको विमान हो । २०७१ फागुन १९ गते टर्कीको राजधानी इस्ताबुलबाट काठमाडौंका लागि उडेको यो विमान अवतरण गर्ने क्रममा २० गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छेउमै अगाडिको चक्का हिलोमा भासिएर दुर्घटनामा परेको थियो । दुर्घटनालगत्तै यो विमानलाई उड्न अयोग्य (डिजेवल एयरक्राफ्ट) घोषणा गरिएको थियो । तर दुर्घटनामा विमान बाहेक अरू धन–जनको क्षति भएको थिएन ।

सो दुर्घटनाग्रस्त विमान काठमाडौंमा मर्मत गर्दा कम्तीमा एक वर्ष समय र जहाजको मूल्य हाराहारीमा खर्च लाग्ने भएपछि टर्किस एयरले जर्मनमा रहेको बीमा कम्पनीबाट बीमा बापतको रकम लिई जहाजको स्वामित्व त्यागेको थियो । त्यससँगै टर्कीको नागरिक उड्डयन निकायले यसको रजिष्टे«शन नम्बर (टीसी–जेओसी) पनि रद्द (डिरजिष्ट्रेशन) गरेको थियो । यस्तो अवस्थाको जहाज कबाडीको रूपमा मात्र लिलाममा बिक्री हुने गर्छ ।

जर्मनको बीमा कम्पनीबाट यो विमान जहाज मर्मतसम्भार गर्ने ‘एमआरओ’ (मेन्टिनेन्स, रिपेयर, ओभरहल) कम्पनी टर्किस टेक्निकले खरीद ग¥यो । यो टर्किस एयरलाइन्सकै भगिनी प्राविधिक संस्था हो । तर टर्किस टेक्निकले बीमा कम्पनीको स्वामित्वबाट ‘जहाज कति मूल्यमा खरीद ग¥यो ?’ भन्ने चाहिं खुलाइएको छैन ।

बीमाबाट स्वामित्व लिएपछि टर्किस टेक्निकका १२ जना एरोनटिकल इन्जिनियर २०७३ भदौमा काठमाडौंमा आए । उनीहरूले दुई साता लगाई सो दुर्घटनाग्रस्त विमानका महँगा उपकरण, यन्त्र, नेभिगेटर, इन्जिन, सीट, ल्याण्डिङ गियर (पाङ्ग्रा) लगायतका अर्को जहाजमा काम लाग्ने जति सबै सामग्री झ्किेर इस्तानबुल लगे । यसरी रित्तो पारिएको विमानको संरचना (मेटल बडी) क्याप्टेन उप्रेतीले २०७३ कात्तिकमा खरीद गरेका हुन् ।

रित्तो विमानको सिंगो संरचनालाई विमानस्थलबाट १० वटा टुक्रा बनाई लरीमा राखेर सिनामंगल ल्याइएको थियो । दिउसो ढुवानी गर्दा ट्राफिक व्यवस्थापनमा असर पर्ने भएकाले राति १२ देखि ३ बजेको समयमा ओसारिएको थियो । विमान टुक्र्याउन र जोड्न टर्कीबाटै इन्जिनियर झ्किाइएका थिए ।

विमानको संरचनाका ती दश टुक्रालाई हालको स्थानमा ल्याएर पुनः जोडेर विमानलाई पूर्ववत् स्वरुपमा ल्याइएको हो । बाहिरी संरचना दुरुस्त पारिसकेपछि त्यसभित्र संग्रहालय खडा गरिएको हो । सो संग्रहालय यही २०७४ कात्तिक १८ गतेदेखि संचालनमा ल्याइएको छ । यो संग्रहालयको लागतबारे क्याप्टेन उप्रेती भन्छन्, “सम्झैता अनुसार, ‘मेटल बडी’ को खरीद रकमबारे खुलाउन मिल्दैन, तर पूरै प्रोजेक्टको कुल लागत रु.७ करोड हाराहारी पुग्यो ।”

यसमा नागरिक उड्डयन प्राधिकरणको सहकार्य भनिए पनि उसको प्रत्यक्ष लगानी छैन । संग्रहालयका निम्ति प्राधिकरणले १० वर्षका लागि वेद उप्रेती ट्रष्टलाई करीब १६ रोपनी (८ हजार वर्गमिटर) जग्गा भाडामा उपलब्ध गराएको छ । म्युजियमको संस्थापक तथा संचालक संस्था वेद उप्रेती ट्रष्टले प्रति वर्गमिटर ६०० रुपैयाँका दरले प्राधिकरणलाई मासिक भाडा तिर्नेछ ।

के छ म्युजियममा ?
२०८ फिट लामो अनि करीब ५५ फिट अग्लो जेट विमान खुल्ला आकाशमुनि राखिएको छ । यसभित्र सात वटा कक्ष छन्– ककपिट भएको माथिल्लो तलामा पाँच वटा र मुन्तिरको कार्गो कम्पार्टमेन्टमा दुइटा ।

अधिकतम ४४४ यात्रु सीट क्षमताको यो विमानभित्रका सातमध्ये पहिलो कक्षलाई ‘वेलकम हल’ भनिएको छ । यो जहाजमा बिजनेश श्रेणीका यात्रु बस्ने ठाउँ भएकाले यहाँ ५५ वटा कुुुर्सी राखिएका छन् ।

यहाँ क्याप्टेन उप्रेतीले म्युजियम बनाउने सोच कसरी बनाए र विमानका टुक्राहरू कसरी जोडिए जस्ता विषय समेटिएको वृत्तचित्र देखाइन्छ ।

दोस्रो कक्षलाई ‘एयरफोर्स हल’ भनिएको छ । यहाँ विश्वभर लडाइँमा प्रयोग भएका र हुने सैन्य या लडाकू विमानका विभिन्न मोडल राखिएका छन् । तेस्रो कक्षको नाम ‘एयरलाइन्स हल’ राखिएको छ । यहाँ विश्वभर उडानमा रहेका कमर्सियल जेट विमानका मोडल राखिएका छन् । चौथो कक्षको नाम ‘नेपाल एभिएसन हल’ राखिएको छ । यसमा नेपालमा सन् १९६२ यता उडेका साना मोडलका जहाजहरू हेर्न पाइन्छ । यहाँ मोडलबाहेक ५५ वटा तस्वीरमार्फत पनि नेपाली हवाई उड्डयनको इतिहास र अवस्थाबारे डिजिटल डिस्प्लेमा देखाइन्छ । पाँचौं कक्षमा नेपाली इन्जिनियर र विद्यार्थीले बनाएका मोडल जहाज छन् । यी प्रत्येक हलमा क्याप्टेन उप्रेतीले आकाश र पानीमुनिबाट समेत खिचेका ८६ वटा तस्वीर पनि राखिएका छन् । यी सबै कक्षमा पस्न दुइटा ढोका छन् भने निस्किने एउटा ।

विमान मर्मत गर्ने इन्जिनियर र उडाउने पाइलटको अभाव विश्वभर बढ्दै गएको छ । अबको १० वर्षभित्र ४ लाख ८० हजार नयाँ प्राविधिक र ३ लाख ५० हजार पाइलटको विश्वभर अभाव देखिने ‘आईकाओ’ ले अनुमान गरेको छ ।

तल्लो तलामा दुइटा कक्ष छन् । यी दुवैमा पस्ने र निस्किने एक÷एक वटा द्वार छन् । ‘हुम्ला’ नाम राखिएको कक्ष ककपिट स्रोत व्यवस्थापन, एयरहोस्टेस तालीम, हवाई उडान सुरक्षाबारे प्रशिक्षण र सेमिनारका निम्ति छुट्याइएको छ । यहाँ एभिएसनबारे बनाइएका वृत्तचित्र पनि देखाइन्छ । अर्को कक्षमा ट्रष्टको कार्यालय रहेको छ । संग्रहालय अवलोकन गर्न आउनेहरूका लागि दुइटा शौचालय पनि जहाजभित्रै छन् । क्याफे चाहिं भुइँमा छ । पछाडिको ल्याण्डिङ गियर अर्थात् पांग्रासँगै कुर्सीमा बसेर कफी पिउन पाइन्छ । यो संग्रहालयको अवलोकनमा डेढ घन्टा समय लाग्ने गर्छ ।

विमानकै छेउमा रसुवामा दुर्घटनामा परेको फिस्टेल एयरको इक्वेरियल हेलिकप्टर पनि राखिएको छ । त्यससँगै सेल्फी कर्नर छ । यी सबैको उद्देश्य विद्यार्थीमा उड्डयन सम्बन्धी चेतना र रुचि जगाउने रहेको छ ।

बिहान १० देखि ५ बजेसम्म खुल्ला रहने संग्रहालय अवलोकन गर्न आन्तरिक पर्यटकले रु.२५०, विद्यार्थीले रु.१२५ र विदेशीले रु.५०० शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । कक्षा नौदेखि १२ सम्मका नेपाली विद्यार्थीलाई भने विद्यालयको सिफारिशपत्रका आधारमा निःशुल्क अवलोकन गर्न पाउने सुविधा पनि दिइएको छ ।

अन्तर्राष्ट्रिय उड्डयन संगठन (आईकाओ) ले विश्वभर संचालन गर्दै आएको ‘आगामी पुस्ताका नागरिक उड्डयनकर्मी कार्यक्रम’ (एनग्याप) अन्तर्गत यो संग्रहालय संचालन गरिएकाले माध्यमिक र उच्च माध्यमिक तहका विद्यार्थीलाई शुल्कमा विशेष छूट दिइएको हो ।

किन विद्यार्थीलाई प्राथमिकता ?
आईकाओले विश्वभर संचालन गर्दै आएको ‘आगामी पुस्ताका नागरिक उड्डयनकर्मी कार्यक्रम’ (एनग्याप) को मुख्य उद्देश्य विद्यार्थीलाई उड्डयनमा रुचि जगाउने हो । यस सम्बन्धमा थप स्पष्ट पार्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजीव गौतम भन्छन्, “विश्वभर हवाई क्षेत्रमा दक्ष जनशक्तिको अभाव भइरहेकाले ‘आईकाओ’ ले जारी गरेको आगामी पुस्तालक्षित कार्यक्रमको मोडल अनुरूप यो संग्रहालय संचालन गरिएको हो ।” उनका अनुसार, नेपाली हवाई उद्योगमा पनि क्याप्टेन÷प्रशिक्षक पाइलटलगायत हवाई क्षेत्रमा काम गर्ने प्राविधिकको अभाव बढ्दै गइरहेको छ । यसै कारण पनि प्राधिकरणले ट्रष्टलाई जग्गा उपलब्ध गराएर सहयोग गरेको हो । यसको लक्ष्य आगामी दिनमा नेपाली हवाई प्राविधिक बढून् भन्ने हो ।

अहिले विश्वभर व्यावसायिक उडानमा करीब १७ हजार ठूला विमान रहेको अनुमान छ । अबको २० वर्षपछि २५ हजार विमान थपिने प्रक्षेपण गरिएको छ । तर, थपिंदै गरेका विमान मर्मत गर्ने इन्जिनियर र उडाउने पाइलटको भने अभाव विश्वभर बढ्दै गएको छ । अबको १० वर्षभित्र ४ लाख ८० हजार नयाँ प्राविधिक र ३ लाख ५० हजार पाइलटको विश्वभर अभाव देखिने ‘आईकाओ’ ले अनुमान गरेको छ ।

प्राधिकरणका महानिर्देशक गौतमका अनुसार, यो अभावलाई कसरी पूरा गर्ने भन्ने विषयलाई ध्यानमा राखेर ‘आईकाओ’ ले एनग्याप कार्यक्रम विश्वभर लागू गरेको छ । यसको उद्देश्य माध्यमिक र उच्च मावि तहमा अध्ययन गरिरहेका विद्यार्थीलाई उड्डयनसँग सम्बन्धित क्षेत्रमा दक्ष जनशक्ति बनाउन आकर्षण गर्ने रहेको छ । महानिर्देशक गौतम भन्छन्, “पहिले पहिले धेरै विद्यार्थी ‘आफ्नो भविष्यको उद्देश्य कि डाक्टर कि पाइलट बन्ने’ भन्ने गर्थे, तर अहिले पाइलट बन्ने क्रेज घटेको देखियो । त्यसैले प्राधिकरणले वेद उप्रेती ट्रष्टसँग सहकार्य गरेर एभिएसन म्युजियम चलाउने निर्णय गरेको हो ।”

(यो फिचरको उत्पादन र प्रकाशनका निम्ति हामीले आइसेट–नेपालको सहयोग लिएका छौं । सं.)

commercial commercial commercial commercial