अनलाइन कक्षाः एउटा उपयोगी विधि

दुई हप्ताअघिको एक बिहान...

‘आजदेखि अनलाइन क्लास बन्द रे ! अब के गर्ने होला बाबा ?’

एकाबिहानै छोरीको यो प्रश्नले झस्कायो । कक्षा-२ मा पढ्ने छोरीले दुई महीनायता चलेका ४५ मिनेट-एक घण्टे जूम कक्षाहरूलाई उत्सुकतापूर्वक नै पछ्याइरहेकी अनि त्यसमा शिक्षकहरूले दिने गरेका चित्रकला, रंगरोगन, कविता-वाचन, नृत्य भिडियो जस्ता अतिरिक्त क्रियाकलापमा सहभागी भएर हामी अभिभावकलाई करीब-करीब बेफुर्सदी नै बनाएकी थिई । उसको उत्सुकता ओइलाउन नदिन साबिक समयमा झैं उसका पुस्तक-पुस्तिकाको परिपूर्ति पनि गरिदिई नै रहेका थियौं । उसका चित्रकला भित्तामा टाँस्न, उसका भिडियो हरू क्यामेरा मा कैद गर्न अनि ती एसाइन्मेन्ट लाई ह्वाट्सयाप मार्फत उसका शिक्षकहरूमा सम्प्रेषण गर्न दैनिक एक-दुई घण्टा बिताइरहेका थियौं । अझ दुई हप्तायता बिहान ९ देखि १:३० सम्म नै चल्न थालेका चारवटा कक्षामा ऊ आफैं नै जूम लगइन-लगआउट गर्न समर्थ भइसकेकी थिई । शनैः शनैः हाम्रो परिवारले अनलाइन कक्षाहरूलाई ‘न्यू नर्मल’ नयाँ यथार्थ रूपमा स्वीकार गरी सकेको थियो । यसलाई कोरोनाकालको मौलिक उपहार नै मानेका थियौं हामीले ।

तर अकस्मात् यो बन्द हुने निर्णय (?) हुन पुग्यो त्यो दिन (त्यो निर्णय केही दिनमै फिर्ता भयो, अनलाइन कक्षा चालु नै छ अहिले) । ओहो ! मनोचिकित्सक उसको बाबा म ! कोरोनाकालको तनाव मत्थर पार्ने, अझ बालबालिकामा लुप्त अवस्थामा रहन सक्ने यो तनावमय समयको मानसिक आघातका लक्षणहरूको एक सशक्त मनोवैज्ञानिक उपचार पद्धति ‘दैनिक क्रियाकलापलाई रूटिन मय रूपमा सुचारु तुल्याउन’ सजिलो माध्यमका रूपमा रहेको अनलाइन कक्षा बन्द हुन पुग्दाको तिनको दैनिकीमा आउने रिक्तता पुर्न अब कसरी सफल बन्न सकिएला त ? नजानिंदो तनाव संचार हुनपुग्यो मेरो मनमस्तिष्कमा ।

केही हप्ताअघि एकजना ३३ वर्षे महिलाले मलाई सोधेकी थिइन्–

मेरो ६ वर्षे छोरीले के-के सोधेर हैरानै पार्छेः ‘हामी किन घरभित्रै बसिरहेको ? अब मैले साथीहरूसँग कहिल्यै खेल्न जान पाउँदिन ?’

के उत्तर दिने होला त्यसलाई डाक्टरसाब ?

स्कूल खुलिसकेपछि साना बालबालिकालाई भौतिक दूरी, सरसफाइ आदिका बारेमा सुसूचित गरिरहन अनि तिनमा रहेका तनाव अनि त्रासद अवस्थाको सामना कसरी गर्ने होला ?

एउटा अन्तरक्रियाको क्रममा प्राइभेट स्कूलका एक प्रधानाध्यापकले सोधिरहेका थिए ।

कोरोनाकाल त्यसै तनावमय छ, बालमनोविज्ञानका बारेमा अभ्यस्त हुन नसक्दा अचेल अभिभावकहरू मात्र नभई शिक्षक वर्ग पनि बेग्लै तनावमा छन् ।


झर्केर उत्तर दिने या ‘तँलाई किन चाहियो अहिले ?’ भनेर पन्छिने–पन्छाउने गर्दा बाल मस्तिष्कमा अझै तनाव थपिन सक्दछ । ‘कोरोना भनेको के हो ? बन्दाबन्दी किन लगाइएको हो ? भौतिक दूरी कसरी कायम राख्ने ? हात किन र कसरी धुने ?’ यी सबै कुरामा बालबालिका प्रष्टीकरण खोजिरहेका हुन्छन्, त्यसको उत्तर समुचित रूपमा दिइएमा त्यसैले नै तनाव शान्त गर्न मद्दत गर्दछ ।

हो, बालबालिका विगत ६-७ महीनायताको बदलिंदो सामाजिक परिवेश, मिडिया मा छाइरहेका संक्रमण, मृत्यु आदिका सनसनी मच्चाउने तस्वीर, बन्दाबन्दीले ल्याएको पारिवारिक रिक्तता–तिक्तता अनि आर्थिक मन्दी, बन्देजपूर्ण अवस्था आदिका कारण प्रत्यक्ष या अप्रत्यक्ष रूपमा मनोवैज्ञानिक उद्वेलनका शिकार भएका छन् । त्यस्तो समयमा तिनको तनाव व्यवस्थापनमा अभिभावक, परिवारका सदस्य अनि शिक्षक वर्गको अलिकति पनि कमजोरी रहन गएमा यसले नराम्रो असर पनि पैदा गर्न सक्छ ।

तनावका लक्षण बालबालिकामा भावनात्मक, शारीरिक अनि व्यवहारजन्य समस्याका रूपमा आउन सक्दछन् । ‘ज्यादै रोईकराई गर्ने, रिसाउने, सरसामान फुटाउने, ओछ्यानमा पिसाब गर्ने, ज्यादै नै डराउने’ जस्ता भावनात्मक अनि व्यवहारजन्य लक्षण त छँदै नै छन्, कोही कोही ‘पेट दुख्ने, टाउको दुख्ने, रिंगटा लाग्ने’ जस्ता समस्या पनि लिएर आउन सक्दछन् । त्यस्तै ‘निद्रामा गडबडी, भोक नलाग्ने, अरुचि हुने’ जस्ता समस्या पनि बाल मनोवैज्ञानिक तनावका लक्षण हुन सक्दछन् ।

यी समस्याको मनोवैज्ञानिक उपचार के त ?

सर्वप्रथम त बालबालिकालाई आफ्ना जिज्ञासा शान्त गर्ने समय प्रदान गर्नुपर्दछ; यसमा बाबुआमा, अभिभावक अनि शिक्षकवर्गकै पहिलो हात रहन्छ । तिनका प्रश्नलाई धैर्यपूर्वक सुन्नुपर्दछ र उमेर सुहाउँदो उत्तर दिन बाबुआमाहरू नै प्रायशः सक्षम अनि तत्पर रहनुपर्दछ । झर्केर उत्तर दिने या ‘तँलाई किन चाहियो अहिले ?’ भनेर पन्छिने-पन्छाउने गर्दा बाल मस्तिष्कमा अझै तनाव थपिन सक्दछ । ‘कोरोना भनेको के हो ? बन्दाबन्दी किन लगाइएको हो ? भौतिक दूरी कसरी कायम राख्ने ? हात किन र कसरी धुने ?’ यी सबै कुरामा बालबालिका प्रष्टीकरण खोजिरहेका हुन्छन्, त्यसको उत्तर समुचित रूपमा दिइएमा त्यसैले नै तनाव शान्त गर्न मद्दत गर्दछ ।

तिनका प्रश्न-जिज्ञासालाई सहज रूपमा लिएर प्रोत्साहित गर्नुपर्दछ । अझै खुलस्त कुराकानी गर्ने वातावरण मिलाउनुपर्दछ । पारिवारिक सरसल्लाह, कामको बाँडफाँड, खाना खाने समयमा हुने छलफलमा तिनलाई पनि सहभागी गराउनुपर्दछ । सँगै टीभी हेर्ने अनि बाहिरका खबरहरूलाई तौलिएर सम्प्रेषण गर्ने अनि विश्लेषण गर्ने–गराउने आदि कार्यले पनि मिडियाको अनावश्यक अनि हानिकारक प्रभावहरूबाट तिनलाई जोगाउन सकिन्छ । मोबाइल आदि उपकरण र सामाजिक संजालहरूको प्रयोगमा नियन्त्रण गरी स्क्रिन–टाइम को कुप्रभावबाट पनि तिनलाई बचाउनुपर्दछ । नाचगान, कथा श्रवण, घरायसी पूजापाठ, भजनकीर्तन आदिमा बालबालिकालाई सहभागी गराउनुपर्दछ । दैनिकीलाई एउटा निश्चित तर लचिलो तालिकामय बनाएर त्यसमा परिवारका सबै सदस्य ढालिनुपर्दछ ।

यी सब कार्यमा अहिले चलेका अनलाइन कक्षाहरू केही न केही मात्रामा प्रभावकारी नै छन् । मेरो छोरीका शिक्षकले राम्रो मिहिनेत गरेर कोरोनाका बारेमा यथोचित ज्ञान, सरसफाइको महत्व अनि कोर्स का किताब सँगसँगै अतिरिक्त क्रियाकलापमा उसलाई प्रोत्साहित गरेका छन् । अतः सबै पक्षलाई सहमतिमा ल्याएर कसैलाई पनि धेरै मर्का नपर्ने गरी अनलाइन कक्षाको नियमित संचालनको व्यवस्था गर्नुपर्ने आवश्यकता देख्दछु लामो समयसम्म नै । सार्वजनिक विद्यालयहरूमा पनि राम्रो तयारी अनि आवश्यक शिक्षक–तालिम दिएर अनलाइन पठनपाठन शुरूआत गर्नुको विकल्प छैन । ‘एक वर्ष नपढेर के हुन्छ र ?’ भन्ने जस्ता तर्कहरूको पछि लाग्नुहुँदैन । बालबालिकाको मानसिक स्वास्थ्यका लागि अनि दैनिकीमा नियमितताका लागि पनि यो अभ्यास जरूरी छ, किनकि कोरोना प्रकोप चाँडै नै मत्थर हुने सम्भावना देखिएको छैन ।

कोरोनाकालको विश्वव्यापी तनावका कारण मनोवैज्ञानिक समस्याबाट बालबालिका, अभिभावक, शिक्षकवर्ग कोही पनि अछुतो रहन सक्दैनन् । मनोवैज्ञानिक समस्याका लक्षणले ज्यादै नै प्रभाव पारेमा मनोपरामर्श अनि विशेषज्ञद्वारा उपचार नै जरूरी हुन सक्दछ । अतः अप्ठ्यारो नमानी विशेषज्ञसँग परामर्श–सल्लाह लिनका लागि सार्वजनिक आह्वान पनि गर्न चाहन्छु ।

मानसिक रोग विशेषज्ञ, धुलिखेल अस्पताल, काठमाडौं विश्वविद्यालय अस्पताल

commercial commercial commercial commercial