सिकाइः प्रकृतिबाट प्रकृतिसम्म !

सिकाइ प्रकृतिकै एक विशिष्ट प्रतिबिम्बन हो । हाम्रा बालबालिकालाई हरेक सिकाइका पूर्वाधारसँग परिचित गराउन सके अमूर्त धारणा निर्माण गर्दा हुने अन्योलबाट अवश्यै राहत मिल्नेछ ।

हा मीले जतिसुकै विशिष्ट ज्ञान प्राप्त गरे पनि सो ज्ञानको आधारभूत धरातल प्रकृति हो भन्न शङ्का गरिरहनुपर्दैन । मानिसको चेतनाले कुनै न कुनै किसिमले यही प्रकृतिसित क्रिया प्रतिक्रिया गरिरहने भएकाले हाम्रो सोचमा पनि यही प्रकृतिसित सम्बन्धित कुराभन्दा अन्यत्रका कुरा परावर्तित हुँदैनन् । भलै; त्यो सोचको वास्तविक धरातल खोज्न केही समय लागोस् ।

‘आवश्यकता नै आविष्कारकी जननी हुन्’ भन्ने सिद्धान्त नै सिकाइको आधारशिला हो । जङ्गली अवस्थाको मान्छे जङ्गलमा खाना खोज्न जाँदा ओडार वा पहराको कापको वासमा फर्किने बाटो भुलिएला भनेर रूखका हाँगा मर्काउँदै, कान्लाका ढिस्का भत्काउँदै चिनो राखेर फर्किनका लागि सजिलो बनाए । सामान्य जनावर कुकुरले पनि यहाँसम्म आएको हो भन्ने सङ्केतका लागि थोरै थोरै पिसाब तुक्र्याउँदै हिंड्छ । कुकुरले त्यो बेलादेखि अहिलेसम्म उसै गरी निर्वाह चलाएको छ । घाम, जून, ताराका आधारमा दिशा छुट्याउने मान्छे अहिले हातमा केही कुरा हेरेर (कम्पास वा अन्य साधन) दिशा पहिल्याउँछ । मान्छेले कम्पासदेखि राडारसम्म विकास गर्न सक्यो । कुकुर विचरो जहाँको त्यहीं छ । तर मान्छेले जेसुकै हेरेर दिशा छुट्याए पनि, यसको आधारभूत धरातल प्रकृति नै हो, तिनै घाम, जून, तारा नै हुन् ।

हाम्रो आधारभूत गणितको गणना शुरू हुन्छ हातका औंला गनाइबाट । प्र्रत्येक औंला मोडिने भित्रपट्टिका घेरा (तीनवटा) र औंलाका टुप्पा (एक) गरी जम्मा बीसको हिसाब एउटै हातमा । यति सीप भएपछि सामान्य घरव्यवहारमा चाहिने हिसाब आफ्नै हातमा आइपुग्छ ।

व्यावहारिक गणितको शुरूआत भेडा गोठालाबाट भएको मानिन्छ । ती गोठालाले आफ्ना भेडा बथानबाट हराए नहराएको पत्ता लगाउन प्रत्येक भेडाका लागि एक एकवटा छेस्का बनाएर गिन्तीको शुरूआत गरेका थिए । आज आकाशगङ्गाका तारा, ग्रह पिण्डहरू गन्ने, नाप्ने, जोख्ने गणितको आधारभूत स्रोत त्यही हो; अर्थात् भेडा गन्ने झ्जिा बनाउने सीप ।

आफ्ना बालबालिकालाई विभिन्न जङ्गली हिंस्रक जीवजन्तुबाट सतर्क गराउने सीपका लागि आफ्नो बासस्थान वा ओडारको भित्तामा चित्र कोर्ने प्रयास मानव इतिहासमा सिकाइको ठूलो फड्को थियो । यही चित्र लेखनलाई सरल र सङ्क्षेपीकृत गर्दै जाँदा लिपिको विकास भएको मानिन्छ । सुरक्षा सन्देशमूलक चित्र लेखनको त्यो प्राचीन परम्परा आज पनि नागपञ्चमीका दिन टाँसिने नागको चित्रले थामेकै छ । बौद्ध धर्मावलम्बीहरूको लुटा (विभिन्न मन्त्र लेखिएका कपडाका पताका) फहराउने पनि यस्तै सुरक्षा परम्पराबाट प्रेरित संस्कृति मानिन्छ ।

मान्छेको सबैभन्दा ठूलो गुरु प्रकृति हो । त्यसैले मान्छेले गरेको आविष्कार प्रकृतिभन्दा पर वा बाहिर हुन सक्दैन । उसले प्रयोग गर्ने साधन यही प्रकृतिबाट निर्माण गरेको छ । यहाँ बसेर ब्रह्माण्डको जोखतौल गर्ने मान्छेले बनाएका ती तराजु र ढक यही प्रकृति वा आफ्नो वातावरणमा आधारित छन् । विभिन्न मापन एकाइमा प्राकृतिक कुराको प्रयोग कस्तो छ भन्ने कुरा सम्बन्धी केही उदाहरण तल दिइको छ ।

तौलका लागि प्राकृतिक सामग्रीको प्रयोग— ८ चामल (दाना) को १ रत्ती वा लाल (राती गेडी वा लाल गेडी), ८ लाल वा राती गेडीको १ मासा वा राजमास वा राजमा, १२ मासाको १ तोला (व्यवहारमा १०० लालको १ तोला) ।
लम्बाइ नाप्ने प्रकृतिमा आधारित एकाइ— ३ जौ (जौका दाना लम्बाइ अनुसार राख्दा) को १ अङ्गुल, १० अङ्गुलको १ कुरेत (बूढी औंला र चोर औंला तन्काउँदाको नाप), १२ अङ्गुलको १ बित्ता (बूढी औंला र माझ्ी औंला तन्काउँदाको नाप), २ कुरेतको १ मुढी हात वा मुठीहात (हातलाई मुठी पारेर पसार्दाको लम्बाइ), २ बित्ताको १ हात, २ हातको १ गज ।

समय मापन एकाइ— हामी सर्वसाधारणलाई कुनै पनि यन्त्र विना समय परिवर्तनको जानकारी दिने एकाइ दिन (दिन र रात) हो । यो पृथ्वीका गतिका कारणले हुने गर्छ । (प्राचीन मान्यतामा भने सूर्यका गतिका कारणले भनिन्छ÷भनिन्थ्यो) । श्रीमद्भागवत महापुराणको तेस्रो स्कन्धको एघारौं अध्यायमा समय मापनको बारेमा चर्चा गरिएको छ । त्यसमा सूर्यलाई समयको अधिष्ठाता मात्रै मानिएको छैन सूर्यको प्रकाशको गतिका आधारमा समय सूचक एकाइ निर्धारण गरिएको छ । प्रकाशको गति कति हो भन्नेबारे भने स्पष्ट उल्लेख छैन । त्यसमा समयलाई परिभाषित गर्न पदार्थको सहारा मात्रै लिइएको छैन, पदार्थको सूक्ष्मतम अवस्थाको परिभाषासमेत गरिएको छ । यसले समयलाई वस्तु सापेक्ष गरी हेर्न दार्शनिक आधार दिएको छ । सो अनुसार पदार्थलाई टुक्र्याउन सकिने सबैभन्दा सानो अंशलाई परमाणु नाम दिइएको छ । दुई परमाणुको योगलाई अणु नाम दिइएको छ । तीन अणुको योगलाई तृसरेणु नाम दिइएको छ । यी अणुको योगले त्रिआयामिक (आयतनको) स्वरूप ग्रहण गर्ने भए पनि यसलाई यहाँ एक आयामिक (लम्बाइ) को रूपमा मात्र लिई यस लम्बाइलाई (तृसरेणु) पार गर्न सूर्यको प्रकाशलाई लाग्ने समयको ‘त्रुटि’ नामकरण गरिएको छ । कहींकहीं यही समय मानलाई ‘सृष्टिकाल’ पनि भनेको पाइन्छ । प्राचीनकालीन समय मापनमा एकाइका हिसाबले यो नै सबभन्दा सानो एकाइ हो । यसभन्दा ठूला समय एकाइहरू क्रमशः यी रहेका छन् । १०० त्रुटिको १ लव, ३ लवको १ निमेष, ३ निमेषको १ क्षण, ५ क्षणको १ काष्ठा वा १६ विपला, १५ काष्ठाको १ लघु वा ४ पला, १५ लघु वा ६० पलाको १ दण्ड, घडी वा नाडिका, २ घडीको १ मुहूर्त, ६ वा ७ मुहूर्तको १ प्रहर वा याम, ४ प्रहरको १ दिन वा रात, ८ प्रहरको १ अहोरात्र (दिन र रात), १५ अहोरात्रको १ पक्ष, २ पक्षको १ महीना वा पितृ अहोरात्र, २ महीनाको एक ऋतु, ६ महीनाको १ अयन (उत्तरायण–दक्षिणायण), २ अयनको १ संवत्सर वा मानव वर्ष वा दिव्य (देवताको) अहोरात्र, ३६० मानव वर्षको १ दिव्य वर्ष, ४,८०० दिव्य वर्ष (१७,२८,००० मानव वर्ष) को सत्ययुग, ३,६०० दिव्य वर्ष (१२,९६,००० मानव वर्ष) को त्रेतायुग, २,४०० दिव्य वर्ष (८,६४,००० मानव वर्ष) को द्वापरयुग, १,२०० दिव्य वर्ष (४,३२,००० मानव वर्ष) को कलियुग, चार युगको जोडको १ चतुर्युगी, ७१ चतुर्युगीको १ मन्वन्तर (मनुको आयु), १४ मन्वन्तरको ब्रह्माजीको १ दिन, ब्रह्माजीको सय वर्षको १ परार्ध, २ परार्धको नारायणको १ निमेष ।

पुरानो जमानामा सूर्यको, चन्द्रमाको, ताराको उदय अस्तले सामान्य समयको अनुमान गर्ने चलन थियो । ‘पाँच घडी रात छँदै कुखुराको भाले पहिलो चोटि बास्छ’ भन्ने मान्यताले पनि समय अनुमान गर्ने गरिन्थ्यो । ‘भालेको डाक’ भनेको बिहान सबेरै हो ।

पैसाको एकाइ— कौडी एक खालको समुद्री कीराको खपटो पैसाको एकाइ थियो । (मसँग कानो कौडी छैन । कौडी न सौडी बजार बजार दौडी— उखान ।) अहिले कागजी मुद्राको प्रत्याभूतिका लागि सुनको धितोको व्यवस्था गरिनुले पनि मुद्राको मानलाई प्रकृतिसित जोडेको भन्न सकिन्छ ।

पश्चिमा मुलुकमा कुनै जमानामा स्तरीय नाप तौलको रूपमा स्थापित फुट, पौन्ड र सेकेन्ड पद्धति पनि माथि जस्तै गरेर प्रकृतिसित जोडिएको देखिन्छ । सरदर मान्छेको पैतालाको नापलाई फुटको एकाइ मानियो भने ६९१२ गहुँका दाना बराबर एक पौन्ड मानियो । दक्षिणएशियातिर चामल पाइने हुनाले चामलका दाना गने । यूरोपतिर गहुँ पाइने हुनाले गहुँका दाना गने ।
यसरी पुराना जमानामा नाप, तौल, आयतन, समय, गिन्ती आदिका विभिन्न एकाइहरू ठाउँ र समयअनुसार फरक फरक तरिकाले प्रयोग भएका थिए भन्ने थुप्रै प्रमाण पाउन सकिन्छ । आजभोलि सबै ठाउँमा एकै खालका स्तरीय एकाइको प्रयोग हुन थालेको छ । विश्वको सबै ठाउँमा मान्यता पाएका एकाइहरू लम्बाइमा मिटर, आयतनमा लीटर, तौलमा किलोग्राम, समयमा सेकेन्ड हुन् । मिटर, किलोग्राम र सेकेन्डलाई स्तरीय अन्तर्राष्ट्रिय एकाइ (Standard Internationl unit- SI Unit) पनि भनिन्छ । यिनी एकाइहरू पनि प्रकृतिकै कुरालाई आधार मानी यसरी निर्धारण गरिएको छ— एक मिटर भनेको उत्तरी ध्रुवबाट भूमध्य रेखामा लम्ब हुने गरी आएको मध्यान्न रेखा (मेरिडियन लाइन) को एक करोड भागको एक भाग भनिएको छ । लामो दूरी मापन गर्न अहिले प्रकाश सेकेण्ड एकाइ प्रयोग गर्ने गरिन्छ । एक सेकेण्डमा सूर्यको प्र्रकाशले पार गर्ने दूरीलाई एक प्रकाश सेकेण्ड भनिन्छ । यो दूरी झ्ण्डै तीनलाख किलोमिटर हुन्छ ।

यसरी नै एक औसत सौर्य दिन अर्थात् एक औसत दिनको ८६४०० भागको एक भाग भनी सेकेन्ड अर्थात् समयको एकाइ निर्धारण गरिएको छ ।

यसबाट के देखिन्छ भने हामीले यी एकाइलाई विभिन्न यन्त्रमा वस्तुमा काछेर (Equating) वा रूपान्तरण (Deriving) गरेर सानादेखि ठूला कार्यव्यवहार सञ्चालन गरिरहेका छौं । कुनै दुर्घटनावश ती वस्तु वा यन्त्रहरू नासिए वा बेकम्मा भए पनि ती एकाइको पुनस्र्थापन गर्न हामीलाई गाह्रो पर्ने छैन । किनकि स्थिर प्रकृतिकै आधारशिलामा ती वस्तु वा यन्त्रहरू बनेको कुरा माथिबाट स्पष्ट भएको छ ।

यी विविध सन्दर्भहरूले के देखाउँछ भने सिकाइका विभिन्न आयामहरू मान्छेको जीवनलाई सरल र सहज बनाउनको लागि विकास भएको हो । यसको उद्भव सर्वसाधारण व्यक्तिबाट साह्रै सामान्य प्रकृतिबाट भएको कुरा माथिका विभिन्न कुराहरूबाट स्पष्ट हुन सकिन्छ । पछि आवश्यकताअनुसार छोटो, छिटो र छरितो गर्नका लागि सिकाइका आयामहरू जटिल बन्दै गए । बालबालिकाहरूलाई शिक्षण गर्दा सिकाइका विषयवस्तुको विकासको प्रारम्भिक अवस्थाका बारेमा जानकारी गराएमा उनीहरूलाई हामी सामान्यबाट विशिष्टतिर गइरहेका छौं भन्ने अनुभूति हुन्छ । यसरी पढाइ तथा सिकाइ केका लागि भन्ने खुल्दुलीबाट ती सिकारु बालबालिकालाई मुक्त गराउन सकिन्छ ।

माथिका सबै कुराले के निचोडमा पुग्न सघाउँछ भने सिकाइ प्रकृतिकै एक विशिष्ट प्रतिबिम्बन हो । हाम्रा बालबालिकालाई हरेक सिकाइका पूर्वाधारसँग परिचित गराउन सके अमूर्त धारणा निर्माण गर्दा हुने अन्योलबाट अवश्यै राहत मिल्नेछ ।

commercial commercial commercial commercial