अन्तिम घण्टीको पीर !

शिक्षक तथा विद्यार्थीमा टिफिनपछि जाँगर र हौसला कम हुने र कक्षाहरू बिथोलिनेगरेको देखिन्छ । कतिपय विद्यार्थी १ः०० बजेपछि काम÷बिकामले विद्यालय छाड्ने गर्छन् । यही कुरा शिक्षकहरूमा पनि लागू हुन्छ ।

प्रत्येक दिनको कुन घण्टीमा, कुन विषय, कुन शिक्षकले पढाउने भन्ने सम्बन्धमा हरेक विद्यालयमा समय–कार्र्यतालिका बनाइएको हुन्छ । शिक्षकहरूको सहयोगमा प्रधानाध्यापकले बनाउने त्यस्तो कार्यतालिकालाई दैनिक कक्षा तालिका पनि भनिन्छ । विषयगत पाठ्यभार फरक–फरक हुने भएको कारणले दैनिक कार्यतालिका निर्माणमा विशेष चनाखो हुनुपर्छ ।

अधिकांश विद्यालयमा अनिवार्य अंगे्रजी, गणित, विज्ञान जस्ता कठिन र महŒवपूर्ण मानिएका विषयलाई टिफिनअघिको घण्टीमा राख्ने र अन्य सजिलो र कम महŒवपूर्ण मानिने विषयहरूलाई टिफिनपछि राख्ने गरेको पाइन्छ । यस्तो हुनु स्वाभाविक पनि हो । तर वर्षैभरि यसरी एकैनासको स्थिर दैनिक कार्यतालिका बन्दा शिक्षक तथा विद्यार्थी दुवैलाई टिफिनपछिको शैक्षिक क्रियाकलापमा जाँगर र हौसला कम हुने गरेको र टिफिनपछि अध्यापन हुने विषयहरूका लागि वर्षभरि गर्नुपर्ने भनी तोकिएका क्रियाकलाप पूरा गर्न बाधा पुगेको देखिन्छ ।

विद्यार्थीहरूको सिक्ने तत्परता वा मानसिक स्फूर्ति— विद्यालय समयको मध्य वा अन्त्यमा भन्दा शुरू समयमा नै हुन्छ । विद्यालय जाँदा हाम्रा धेरैजसो विद्यार्थीको खाजा लैजाने बानी हुँदैन । त्यसैले पनि टिफिनपछिको समयमा भोक र अल्छ्याइँले पढाइमा उनीहरूको मन जान गाह्रो हुन्छ । कतिपय विद्यार्थी १ः०० बजेपछि काम÷बिकामले विद्यालय छाड्ने पनि गर्छन् । यो कुरा विद्यार्थीमा मात्र होइन, शिक्षकहरूमा पनि लागू हुन्छ ।

विद्यालय पनि समाजभित्रकै एउटा अंग हो र शिक्षक त्यही समाजको उपज । त्यसो भएकोले विद्यालय परिवारलाई पनि बेलाबखत वरिपरिको समाजले औपचारिकतावश वा हार्दिकताका साथ बिहे, ब्रतबन्ध, पुराणजस्ता सामाजिक संस्कारहरूमा निम्तो गर्ने गर्छन् । मान गरेको ठाउँमा अपमान गर्न पनि मिलेन । तर, त्यस्ता निम्ताहरूमा विद्यालय बन्द गरेरै जान पनि मिल्दैन । सधैंभरि वा सबै अवस्थामा ४ः०० बजे विद्यालय बन्द भएपछि नै जाने अवस्था पनि हुँदैन । त्यो स्थितिमा, मध्यमार्गी निकासका रूपमा १ः०० बजेपछिको समयलाई शिकार गरिन्छ । पटक–पटक यस्तो हुँदा अन्तिमतिरका घण्टीमा राखिएका विषयको अध्यापनमा नराम्ररी बाधा पुग्ने निश्चित छ ।

यसै सन्दर्भमा, पश्चिमाञ्चलतिरका एकजना पाका सरले बसको लामो दूरी यात्रा गर्ने क्रममा उनले भनेको एउटा प्रसंग सम्झ्ना भइरहन्छ ः
“२०३५÷३६ सालतिरको भदौ महीनाको धुम्मिएको कुनै एक दिन । टिफिनपछि एक पिरियड पढाएर निम्तो मान्न जाने सल्लाह अघिल्लो दिन नै भएको थियो । त्यसै अनुसार ‘लु आज सबैजना घरघर जाऊ’ भनेपछि विद्यार्थीहरू खुशीले उफ्रँदै घरतिर कुदे । पालेले झयालढोका लगाई नसक्दै हामी सबै सरहरू विद्यालयदेखि आधाघन्टा जति टाढाको घरमा ‘वरबधूहरूलाई आशीर्वाद दिनुपर्ने’ निम्तोमा जान हिंड्यौं । १५ मिनेटजति हिंडेपछि एकजना नौला मानिस विपरीत दिशाबाट आउँदै गरेको देखियो ।

उनले हामीलाई हाम्रो विद्यालयको नाम लिंदै त्यो कति टाढा पर्छ भनेर सोधे । हामीले उनको परिचय माग्यौं । उनी ‘प्राविनि’ रहेछन्, हाम्रै विद्यालय निरीक्षण गर्न आएका । परिचय पाउनासाथ हामी झ्स्कियौं । एकछिन मुखामुख गरेपछि तत्काल एकजना चतुर सरले सङ्केत गरेअनुसार हामी सबैले आआफ्नो घडी मिलायौं । अनि उहाँ सरले नै आफूहरू त्यही विद्यालयको शिक्षक भएको र विद्यालय छुट्टी गराएर आउँदा अहिले सवा चार भइसकेको कुरा बताउनुभयो । ‘प्राविनि’ छक्क पर्दै भर्खर सवा तीन भएको आफ्नो घडी हेर्न थाले । हामी सबैले एउटै स्वर गरेपछि उनले पनि आफ्नो ‘घडी सुतेछ’ भन्दै हाम्रै अनुसार समय मिलाए । अनि हामी सँगै बिहेको निम्तामा गयौं । त्यहाँ खाई–पिई गरेर पछि वास्तविक कुरो खोल्दा हामीलाई हाँसो रोक्न निकै गाह्रो परेको थियो ।”

यो घटना कति यथार्थ थियो र कति काल्पनिक, ती शिक्षकलाई थाहा थियो होला, तर नढाँटिकन भन्ने हो भने, प्रायः सबै विद्यालयहरूमा टिफिनपछिका घण्टीमा राखिने विषयहरूको पठनपाठनमा आज पनि त्यसैगरी बाधा पुग्ने गरेको छ । हाम्रो देशमा ठूलो हावा–हुरी, वर्षा र असिना पनि प्रायः १ः०० बजेपछि नै आउने गर्छ । त्यस्तो बेलामा पठनपाठन हुन नसकी ‘मौसमी बिदा’ दिनुपर्ने बाध्यता हुन्छ । अझ्, टहरा वा छानामुनि नै विद्यालय सञ्चालन भएको स्थितिमा त अलिकति मौसमी प्रतिकूलता हुनासाथ पठनपाठन रोक्नैपर्ने बाध्यता आइलाग्छ । यसको असर पनि अन्तिम घण्टीतिर पढाइ हुने विषयलाई नै पर्ने हो ।

एउटै विद्यालयमा विभिन्न तहका कक्षाहरू सञ्चालन हुँदा पनि अन्तिम घण्टीको पठनपाठनमा प्रभाव पर्ने रहेछ । कक्षा १–१२ सञ्चालन भएको विद्यालयकै कुरा गरौं । त्यस्तो विद्यालयमा कक्षा १–५ को पढाइ ३ः३० बजे नै समाप्त हुन्छ । अझ्, ५०० पूर्णाङ्क मात्र पढाइ हुने कक्षा ११–१२ को पढाइ २ः४० मै समाप्त हुन्छ । अनि पढाइ सकिएका कक्षाका विद्यार्थीहरूले बालस्वभाव अनुसार आफ्ना साथीभाइ तथा दाजुभाइ दिदीबहिनीलाई पर्खने क्रममा पढाइ भइरहेको कक्षाको झयालढोकातिर चियाएर उभिइदिने, बोलाइदिने वा इशारा नै गरिदिंदा पनि पूरै कक्षाको ध्यान त्यतातिर आकर्षित हुने गर्छ । त्यस्तो क्रियाकलापको नियन्त्रण स्वतस्फूर्त रूपमा अन्य शिक्षकहरूले गर्ने गरे हुने हो तर आफ्नै निर्धारित कक्षाको घण्टीमा जान समेत मन नगरी ढिलो जाने र घण्टी नसकिइकन अफिसमा हाजिर हुने सर भैदिए भने अर्काको घण्टीको कक्षा भइरहँदा बाहिरी वातावरण नियन्त्रण गरिदिने स्वयंसेवी काम उहाँबाट होला भन्ने अपेक्षा गर्न पनि सकिंदैन ।

विद्यालयको समान्य समय भनेको १०–४ हो । तर घण्टी सकिएपछि जति सक्यो छिटो विद्यालयबाट बिदा हुने चाहना सबै शिक्षकहरूको हुन्छ । घरपायक शिक्षकहरूको घरमा कुनै न कुनै काम सधैैं बितिरहने हुँदा त्यस्ता शिक्षक सकेसम्म १ः०० बजेपछिको घण्टी नै नभए हुन्थ्यो भन्ने चाहन्छन् । कुनै दिन अर्को शिक्षक नभएको मौका पारेर एउटा शिक्षकले पछि पढाइ हुने आफ्नो विषय पहिले नै पढाएर काम सकिदिंदा, त्यो शिक्षकको त कर्तव्य पूरा भएको मानिएला तर पल्लो कक्षामा अन्तिम घण्टी हुने शिक्षकलाई वल्लो कक्षाको हल्लाले पूरा समय बिताउन गाह्रो भइरहेको हुन्छ । कतिपय अवस्थामा केसम्म देखिन्छ भने ३ः३० बजेपछि आफ्नो घण्टी सिध्याएका ‘सरम्याम’हरू खुरुखुरु घरतिर लागिदिने र त्यो दृश्य देखेपछि शिक्षकले चाहेर पनि कुनै कक्षाका विद्यार्थीहरूलाई शिक्षण सिकाइ क्रियाकलापमा राम्ररी सहभागी गराउन सक्दैनन् ।

समस्याहरू जताततै हुन्छन्, तर समस्यासँगै समाधान पनि हुन्छन् । धेरै विद्यालयहरूमा देखिने अन्तिम घण्टीको पठनपाठनमा आउने समस्या समाधान गर्नका लागि दैनिक कार्यतालिका परिवर्तन गरिरहने र विद्यालयको समयलाई कडाइका साथ १०–४ कायम गर्ने मात्र हो भने पनि धेरै हुन्छ । अहिले त धेरै विद्यालयहरूमा विद्युतीय हाजिरी पनि लागू भइसकेको छ । भविष्यमा सबैतिर यस्तो व्यवस्था हुनसके झ्नै राम्रो ।

सरस्वती मावि खानीभञ्ज्याङ, ओखलढुंगा

commercial commercial commercial commercial