‘मेरो कोही साथी छैन !’ विद्यालयलाई अपाङ्गमैत्री बनाउने चुनौती

“मेरो कोही साथी छैन । मलाई पनि साथी भैदिउन् जस्तो लाग्छ । तर सँगै बस्न घिन मान्छन्, कोही पनि सँगै बस्दैन ।” १२ वर्षीया उमा यादवको भनाइ हो । सरस्वती माध्यमिक विद्यालय, पिपरी बाँकेको कक्षा–४ की छात्रा उमा शारीरिक रूपमा अशक्त छिन् । विद्यालय आउजाउ गर्न ह्वीलचेयरको प्रयोग गर्छिन् । तर, कक्षाकोठा भित्र घसँ्रदै जानुपर्छ । ह्वीलचेयर लिएर शौचालय जान पनि मिल्दैन । विद्यालयमा मात्रै होइन, उनी आफ्नो घरमा पनि घस्रिएरै शौचालय जान्छिन् । घर अनि विद्यालयको शौचालय अपाङ्गमैत्री नहुँदा उमाले धेरै कष्ट खेप्नुपर्छ ।   

उमा सानैदेखि सरस्वती माविमा पढिरहेकी छिन् । शिक्षक सरला कोइरालाका अनुसार उमा पहिले हिंड्न सक्थिन्, पछि उनको घुँडामा घाउ आयो, हुँदाहुँदै नसा खुम्चिएर ढाडमा डल्लो प¥यो अनि उनी हिंड्नै नसक्ने भइन् । खुट्टा पनि मसिना भए । शिक्षक कोइराला भन्छिन्, “कक्षा–१ पढ्दै गर्दा हिंड्न नसक्ने भएपछि दुई–तीन वर्ष उमाको पढाइ छुट्यो । ह्वीलचेयर पाएपछि भने कक्षा–३ बाट फेरि पढ्न थालेकी हुन् । उनलाई शौचालय जान सबभन्दा बढी समस्या छ । शौचालय गएको देख्दा मन भड्किन्छ । घस्रँदै जान्छिन् । कपडा फोहोर भैहाल्छ । समयमै उपचार गरे सञ्चो हुन्थ्यो कि ? अहिलेसम्म उनको समस्या के हो भन्ने पनि थाहा छैन ।”

कक्षा–३ भित्रै ह्वीलचेयर लैजान मिल्यो । तर पढाइ हुने कोठामा ह्वीलचेयर लैजान मिल्दैन । कक्षाकोठा नजिकै पुगेपछि उनी ह्वीलचेयरबाट झ्रेर घस्रँदै कक्षामा जाने गर्छिन् । उमा पढाइमा निकै मिहिनेती रहेको अर्की शिक्षक माया ओली बताउँछिन् । अरू जस्तै गरी हिंड्ने रहर उमालाई छ । घसँ्रदा घस्रँदै घाउ भएको खुट्टा देखाउँदै उनले भनिन्, “म पनि अरू जस्तै हिंड्न सक्थें भने खेल्थें । मेरो पनि साथी हुन्थ्यो ।”

५०० जना विद्यार्थी रहेको यस विद्यालयका ६ वटा मध्ये तीन वटा अपाङ्गमैत्री छन् । पुराना भवनमा ह्वीलचेयर गुडाउने सुविधा छैन । शौचालय पनि अपाङ्गमैत्री छैन । प्रधानाध्यापक वेगबहादुर थापा पुरानो भवनमा पनि मर्मत गरेर ह्वीलचेयर लैजान मिल्ने बनाउने योजना रहेको बताउँछन् । अपाङ्गमैत्री शौचालय बनाउन वडा कार्यालयबाट रु.५ लाख पाइसकेको जानकारी पनि उनले दिएका छन् । प्रधानाध्यापक थापा भन्छन्, “पुराना संरचना जेजस्तो भए पनि, नयाँ संरचना सबैलाई सजिलो हुने गरी बनाएका छौं ।

करिश्मा चौधरी, बाँके

commercial commercial commercial commercial