‘हाइड्रो हब’ दोलखा

माथिल्लो तामाकोशी स्वदेशी लगानीमा बनिरहेको अहिलेसम्मको देशकै सबैभन्दा ठूलो आयोजना हो । ४५६ मेगावाटको यो आयोजना सम्पन्न भएपछि दोलखासँगै नेपालकै जलविद्युत् क्षेत्रले नयाँ फड्को मार्ने धेरैको विश्वास छ ।

राजधानीबाट नजिक रहेको दोलखा जिल्ला जलस्रोतको भण्डारका रूपमा चिनिन्छ । दोलखामा ठूला र साना गरेर दुई दर्जन बढी विद्युत् आयोजना निर्माणाधीन छन् । यस जिल्लाको मुख्य जलस्रोतको भण्डार चाहिं तामाकोशी नदी नै हो । तिब्बती भूमिबाट बगेर आउने तामाकोशी सप्तकोशीमध्येको एउटा प्रमुख नदी हो । तामाकोशीबाट मात्र झ्ण्डै दुई हजार मेगावाट बिजुली निकाल्न सकिने प्रक्षेपण अध्येताहरूले गरेका छन् ।

तामाकोशी नदीमा हाल स्वदेशी लगानीको सबैभन्दा ठूलो माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण भइरहेको छ । दोलखाको लामाबगरमा निर्माण भइरहेको ४५६ मेगावाटको यो आयोजना एक वर्षभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ । ती बाहेक तामाकोशी–५, तामाकोशी–३ जस्ता ठूला आयोजनाहरू बनाउन लगानी जुटाउने काम सरकारी स्तरबाट चलिरहेको छ ।

माथिल्लो तामाकोशी भन्दा केही माथि लप्ची खोलामा अरू दुई वटा विद्युत् आयोजना निर्माण गर्ने योजना बनाइएको छ । तर त्यहाँ प्रवेश मार्गको अभावमा काम अघि बढ्न सकेको छैन । हाल माथिल्लो तामाकोशीको बाँध रहेको लामाबगर उपत्यकासम्म मात्र सडक पुगेको छ । लामाबगर यता सुरीदोभान आसपासमा विद्युत् प्राधिकरणले तामाकोशी–५ बनाउने तयारी गरिरहेको छ ।

तामाकोशी नदीकै नागदह क्षेत्रमा ८८० मेगावाटको तामाकोशी–३ आयोजना रहेको छ । शुरूमा नर्वेजियन कम्पनी एस.एन. पावरले अध्ययन गरेर तयार पारेको विस्तृत आयोजना प्रतिवेदनमा त्यस आयोजनाबाट ६५० मेगावाट बिजुली निकाल्न सकिने भनिएको थियो । तर नर्वेजियन कम्पनीले हात झ्किेपछि सरकारले टीबीआई होल्डिङ नामको कम्पनीलाई त्यसको थप अध्ययन गर्ने जिम्मा दियो । टीबीआई होल्डिङले ३०५ मेगावाट मात्र निकाल्ने गरी अध्ययन शुरू गरेको छ ।

तामाकोशी बाहेक दोलखाका अरू दर्जनौं खोला–नालामा पनि विद्युत् उत्पादन आयोजना संचालन भइरहेका छन् । उत्तरका खानी खोला, खारे खोला, घट्टे खोलामा धमाधम विद्युत् आयोजना निर्माण भइरहेका छन् । सिप्रिङ (१० मेगावाट) चर्नावती (५ मेगावाट) र जिरी खोलाबाट बिजुली नै निस्किसकेको छ ।

माथिल्लो तामाकोशी सबैको लगानी
माथिल्लो तामाकोशी स्वदेशी लगानीमा बनिरहेको अहिलेसम्मको देशकै सबैभन्दा ठूलो आयोजना हो । ४५६ मेगावाटको यो आयोजना सम्पन्न भएपछि दोलखासँगै नेपालकै जलविद्युत् क्षेत्रले नयाँ फड्को मार्ने धेरैको विश्वास छ । भूकम्प लगायतका विभिन्न कारणले गर्दा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शुरूको अनुमानित लागत रु.३५ अर्ब २९ करोड झ्ण्डै दोब्बरले बढेर रु.७० अर्बको हाराहारीमा पुग्ने संकेत देखिएको छ । तथापि, यो आयोजनामा थुप्रै नेपाली नागरिकको लगानी परेको छ । आयोजनाको कुल लागतमध्ये ३० प्रतिशत शेयर र ७० प्रतिशत ऋणबाट व्यहोरिंदैछ । आयोजनामा नेपाल सरकार, कर्मचारी सञ्चय कोष, विद्युत् प्राधिकरण, नागरिक लगानी कोष, बीमा संस्थान, नेपाल टेलिकम जस्ता देशका ठूला संस्थानहरूको ऋण लगानी छ भने कर्मचारी सञ्चय कोषमा रकम सञ्चित गर्ने नेपालका निजामती कर्मचारीहरू, सेना, प्रहरीसहित रकम सञ्चयकर्ताहरूको शेयर लगानी छ । यस्तै देशभरका सर्वसाधारण, दोलखावासी, नागरिक लगानी कोषका कर्मचारी, बीमा संस्थान, नेपाल टेलिकम, विद्युत् प्राधिकरणका कर्मचारीहरूको प्रत्यक्ष शेयर लगानी रहने कारण यो आयोजनाले करीब–करीब हरेक नेपालीलाई शेयरको हिस्सेदार बनाउने अधिकारीहरू बताउँछन् । आयोजना प्रभावित दोलखा जिल्लाका बासिन्दा तथा सर्वसाधारणका तर्फबाट आयोजनाको शेयरका निम्ति आवेदन फर्म भर्ने काम सम्पन्न पनि भइसकेको छ ।

माथिल्लो तामाकोशी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको अधिकारीहरूको भनाइ छ । भूमिगत विद्युत् गृह लगभग सम्पन्न भएको छ । हाइड्रो र इलेक्ट्रोमेकानिकलका कामहरू चलिरहेको छ । तर उपकरण ढुवानीमा ढिलाइ भएका कारण निर्धारित कार्यतालिका केही पर सरेको छ ।

आयोजनाबाट उत्पादित बिजुली लैजानका लागि आयोजनास्थल लामाबगरको गोंगरदेखि खिम्तीको सब–स्टेशनसम्म ट्रान्समिसन लाइन बनाउने काम धमाधम चलिरहेको छ । १२७ वटा टावर निर्माणको काम सकिएर तार टाँग्ने काम अन्तिम चरणमा पुगेको छ । सबै काम सकेर २०७६ को कात्तिकसम्ममा यस आयोजनाबाट विद्युत् उत्पादन शुरू हुनसक्ने सम्बद्ध अधिकारीहरूको दाबी छ ।

माथिल्लो तामाकोशी आयोजनाले नै रोल्वालिङ खोला डाइभर्सन गरेर तामाकोशीको उत्पादन क्षमता बढाउने गृहकार्य पनि गरिरहेको छ । आयोजनाका प्रवक्ता गणेश न्यौपानेका अनुसार यसबाट थप २५ मेगावाट विद्युत्–शक्ति उत्पादन गर्न सकिनेछ ।

माथिल्लो तामाकोशीको टर्बाइन घुमाइसकेर विद्युत् गृहबाट बाहिर निस्केपछि उक्त पानीलाई कोशीमा झ्र्न नदिई विद्युत् प्राधिकरणले सुरीदोभानमा ८७ मेगावाटको तामाकोशी–५ निर्माणको तयारी पनि गरिरहेको छ ।

एउटै खोलामा कैयौं आयोजना
खारे र गौरीशकंरको सिमानाबाट बगेर आउने सिप्रिङ खोलामा १० मेगावाट बिजुली उत्पादन भइरहेको छ । दोलखा जिल्लाकै शहरेमा ६० मेगावाटको खिम्ती–१ जलविद्युत् आयोजना छ । २.४ मेगावाटको जिरी सिक्री हाइड्रोपावर पनि दुई वर्षदेखि उत्पादनमा छ । त्यस्तै द्रोणाचल हाइड्रो कम्पनीले पनि ०.५ मेगावाटको जिरी खोला आयोजना निर्माण सम्पन्न गरेको छ । ४० मेगावाटको खानी खोला–१, मार्बु र २४ मेगावाटको खारे खोला जलविद्युत् आयोजना निर्माणको तयारी अन्तिम अवस्थामा पुगेको बताइएको छ ।

त्यस्तै, खारे खोलामै ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत् आयोजना निर्माण भइरहेको छ । मार्बुमा ३० मेगावाटको खानी खोला हाइड्रोपावर निर्माणाधीन छ । त्यस्तै मार्बुमै ५ मेगावाटको घट्टे खोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । उत्तरी बजार सिंगटी नजिक २५ मेगावाटको सिंगटी खोला जलविद्युत् आयोजना पनि निर्माणको अन्तिम चरणमा छ । हाल निर्माणाधीन अवस्थामा रहेका आयोजनाहरूमा जिरी नगरपालिकाको ठूलो पातलमा ४८.८ मेगावाटको खिम्ती–२, साबिकको श्यामा र रामेछापको चुचुरेमा निर्माण भइरहेको १२ मेगावाटको उपल्लो खिम्ती, ७ मेगावाटको माथिल्लो खिम्ती–२ लगायत छन् ।

यी बाहेक दोलखामा अन्य दर्जनौं आयोजना अध्ययनको चरणमा छन् । अध्ययनको क्रममा रहेका आयोजनाहरूमा तामाकोशी–३ पछिको ठूलो जलाशययुक्त आयोजना– ठोसे खिम्ती हो । ५०० मेगावाट क्षमताको यो आयोजना दोलखाको श्यामा र रामेछापको ठोसेमा निर्माण हुनेछ । नेपाल विद्युत् प्राधिकरण आफंैले अध्ययन गरिरहेको यो आयोजनाको विस्तृत प्रतिवेदन छिट्टै तयार भइसक्ने प्राधिकरणका अधिकारीहरूले बताएका छन् ।

अन्य थुप्रै स–साना आयोजनाका लाइसेन्स लिइए पनि तिनको निर्माण भने शुरू भएको छैन । १ मेगावाटको गोपीखोला, १ मेगावाटकै कोट खोला र घट्टे खोला, २ मेगावाटको ह्वाङ खोला, ४.३ मेगावाटको पेगु खोला, ४.७ मेगावाटको अपर सागु खोला, २.१ मेगावाटको ओराङ खोला, ६२ मेगावाटको जुम खोला, ५ मेगावाटको साँघु खोला, १ मेगावाटको गुमु खोला, १८ मेगावाटको सागु खोला, २ मेगावाटको तिनखु खोला, ५ मेगावाटको झ्याकु खोला र ७ मेगावाटको अपर सुरी खोलाले आयोजना निर्माणको अनुमति लिएका छन् ।

(नीति फाउण्डेसन (नेपाल)को सहयोगमा)

commercial commercial commercial commercial