पठन अभ्यासको थालनीका लागि डिकोडेबल पाठ

बालबालिकाले सबै अक्षर र मात्रा चिनुञ्जेलसम्म पर्खिंदा पठन अभ्यास गराउन ढिलो भइसक्छ। तसर्थ, उनीहरूले आधाउधी अक्षर र मात्रा चिन्ने बित्तिाकै तिनै अक्षर र मात्राबाट बनेका शब्द, वाक्य र सरल कथाहरू पढ्न लगाउनुपर्छ। त्यसनिम्ति डिकोडेबल पाठको अवधारणा सहयोगी हुन्छ।

संसारमा चल्तीमा रहेका सबैजसो भाषाका आ–आफ्नै निश्चित वर्ण छन् । भाषाका तिनै वर्णको चिनारीबाट साना नानीहरूको पढाइको शुरूआत हुन्छ । वर्णको चिनारी राम्ररी भइसकेपछि मात्र उनीहरूले शब्द र वाक्य पढ्ने क्षमता विकास गर्न सक्छन् । पढाइ राम्रो र सीपयुक्त हुनसकेमा यसले लेखाइलाई पनि सहज बनाउन मद्दत गर्छ ।

सीपयुक्त पढाइ भनेको स्पष्ट बुझ्निे गरी उपयुक्त गतिका साथ पढ्ने क्षमता हो । यसमा शुद्धता, गति र अभिव्यक्तिको तालमेल मिलेको हुनुपर्छ । सीपयुक्त पढाइ अर्थात् पठन प्रवाह (Fluency) राम्रो भएका बालबालिकाको अभिव्यक्ति शैली प्रभावशाली हुन्छ । भाषाका विषयमा मात्र नभएर अन्य विषयमा पनि तिनको पढाइ तथा बोधको स्तर राम्रो भएको पाइन्छ । यदि कक्षा–१ वा २ मा पढ्ने नानीबाबु नेपाली विषयमा राम्रो छन् अर्थात् सीपयुक्त पढाइको क्षमता हासिल गरेका छन् भने तिनले सामाजिक, विज्ञान, स्वास्थ्य लगायत अन्य विषय पनि राम्ररी पढ्न सक्छन् । यसले गर्दा उनीहरूको समग्र पढाइ नै आशालाग्दो बन्छ ।
संस्कृत र हिन्दी जस्तै नेपाली भाषा पनि देवनागरी लिपिमा आधारित छ । नेपाली भाषामा देवनागरी लिपिका १३ स्वर वर्ण (अ, आ, इ, ई, उ, ऊ, ऋ, ए, ऐ, ओ, औ, अं, अ:) र ३६ व्यञ्जन वर्ण (क, ख...त्र, ज्ञ) गरी जम्मा ४९ वर्ण प्रचलनमा छन् । हाम्रो भाषाका अरू केही छुट्टै विशेषता पनि छन् ।

सबैखाले शब्द पढ्न सक्ने तथा राम्रो बोध हुनका लागि नेपाली भाषाका प्रारम्भिक पाठकले सबै स्वर र व्यञ्जन वर्णका साथै स्वर वर्णको प्रतिनिधित्व गर्दै आउने मात्राहरू  पनि राम्ररी चिन्नु तथा व्यञ्जनसँग ती मात्रा आउँदा ध्वनिमा आउने फरक बुझनु जरूरी हुन्छ । जस्तै: ‘क’ मा ‘ा’ लागेपछि ‘का’ र ‘ल’ मा ‘ो’ लागेपछि ‘लो’ हुन्छ भन्ने राम्ररी बुझ्ेर ‘का’ र ‘लो’ को ध्वनि सचेतीकरण (Phonological awarness) भएपछि मात्र ‘कालो’ उच्चारण गर्न अथवा यसको लिखित रूपलाई पढ्न सक्छन् ।

नेपाली भाषामा आधा अक्षरहरूको प्रयोग पनि त्यतिकै हुन्छ । सबै व्यञ्जन वर्ण या अक्षरका आधा अक्षर पनि छन् । यसप्रकार सबैखाले अक्षर, मात्रा, आधा अक्षर चिनिसक्न बालबालिकालाई लामो समय लाग्छ । के यी सबै वर्ण, मात्रा र आधा अक्षर नचिन्दासम्म बालबालिकाले पढ्ने अभ्यास गर्नु पर्दैन त ? अवश्य पनि पर्छ । त्यस निम्ति बालबालिकाले केही अक्षर र मात्रा चिनिसकेपछि तिनै अक्षर र मात्राबाट बनेका शब्द तथा वाक्यहरू पढ्ने अभ्यास गराइनु उपयुक्त हुन्छ । यसो गर्दा उनीहरूले चाँडै नै सीपयुक्त पढाइ अर्थात् प्रवाहमय पढाइको अभ्यास गर्ने मौका पाउँछन्, जसबाट उनीहरूको सिंगो भाषिक जग नै दरिलो बन्न पाउँछ । यसले उनीहरूको अभिव्यक्ति कला प्रभावकारी बन्नुका साथै भाषा बाहेक अरू विषयको पढाइलाई पनि सहज बनाउँछ ।

थोरै अक्षर या मात्रा चिनेपछि नै पढाइको अभ्यास गराउनका लागि हामीकहाँ के–कस्ता सामग्री उपलब्ध छन् त ? बजारमा यसखाले सामग्री खासै पाइँदैनन् । न त हाम्रो पाठ्यक्रम वा पाठ्यपुस्तकमा नै यसखाले पाठहरूको व्यवस्था गरिएको छ । यही अभ्यासको कमीले हाम्रा बालबालिका माथिल्लो कक्षामा पुग्दा पनि उनीहरू असल प्रवाहमय पाठक बन्न सकेको पाइँदैन । प्राथमिक कक्षाका आधाजसो विद्यार्थी नेपाली पाठ सरर्र पढ्न सक्दैनन् भने माध्यमिक कक्षामै पनि प्रवाहमय पाठक बन्न नसकेका बालबालिकाको संख्या उल्लेख्य रहने गरेको पाइन्छ ।

यो अवस्थामा सुधार ल्याउने सबैभन्दा प्रभावकारी उपाय भनेको विसंकेतन अर्थात् ‘डिकोडेवल’ कथा या पाठ
(Decodable story/Text) पढ्ने अवसर जुटाउनु हो । यस्तो पाठको थालनी प्रारम्भिक कक्षाबाट नै गर्न सकियो भने बालबालिकाले सीपयुक्त पठनको अवसर बेलैमा पाउन सक्छन् । शुरू–शुरूमा भर्खर विद्यालय प्रवेश गरेका बालबालिकालाई स्थानीय लोककथा, शिक्षकले सुनेका कथा वा बाल साहित्यका पुस्तकबाट कथा सुनाउन सकिन्छ । शिक्षकले कथा सुनाउँदा शुद्धता, गति, लय र हाउभाउमा अत्यन्त ध्यान दिनुपर्छ, जसले गर्दा बालबालिकामा ‘म पनि अक्षर चिनेपछि यसरी नै पढ्छु’ भन्ने प्रेरणा जागृत होस् । त्यसनिम्ति शिक्षकको वाचन नमूना बनोस् । बालबालिकाले केही अक्षर र मात्रा चिनारी गरिसकेपछि भने विसंकेतन कथा या पाठ उनीहरूलाई नै पढ्न प्रेरित गर्नुपर्छ । शिक्षक स्वयंले विसंकेतन कथा या पाठ बनाउन सकेमा त्यो धेरै नै प्रभावकारी हुन्छ ।

के हो विसंकेतन कथा ?
कुनै पनि अक्षर, शब्द वा वाक्य पढ्न सक्नु या अक्षर फुटाउनु अथवा सरर्र पढ्न सक्नु विसंकेतन हो । यसलाई अंग्रेजीमा ‘डेकोडिङ’ (decoding) भनिन्छ । अनि, शब्द वा वाक्यको अर्थ बुझनु चाहिं बोध (Comprehension) हो । अर्थात्, कुनै शब्द उच्चारण गर्नु विसंकेतन (Decode) हो भने त्यस शब्दको अर्थ बताउन र वाक्यमा प्रयोग गर्न सक्नु चाहिं बोध (Comprehension) हो । वाक्यको हकमा सरर्र पढ्नु विसंकेतन र त्यसलाई आफ्नो भाषामा भन्नु, त्यस सम्बन्धी प्रश्नको जवाफ दिनु; व्याख्या गर्न सक्नु आदि चाहिं बोध हो । हरेक सफल पढाइका लागि विसंकेतन र बोध नभई नहुने महŒवपूर्ण पाटा हुन् ।

वर्ण या अक्षर भनेका ध्वनिका संकेत हुन् । हरेक ध्वनिको आफ्नै संकेत हुन्छ । अर्थात् /क/ ध्वनिको संकेत अर्थात् ‘कोड’ (Code) ‘क’ अक्षर हो । साना नानीहरू अथवा जो नयाँ भाषाको लिपि सिक्दैछ, उसले पहिलोपल्ट देख्ने अक्षर भनेको एउटा चित्र वा संकेत नै हो, जसरी हामी जापानी या उर्दू भाषाका वर्ण देख्छौं । हो, त्यही संकेतलाई चिनेर उच्चारण गर्दै ध्वनि निकाल्न सक्नु अथवा ध्वनिलाई सुनेर त्यसलाई लेख्य रूप अर्थात् संकेत या अक्षरमा लेख्न, देखाउन सक्नु अक्षर चिन्नु हो । अक्षरको ध्वनि संकेत (Code) चिन्नुलाई अंग्रेजीमा ‘डिकोड’ (decode) भनिन्छ । नेपालीमा संकेतलाई चिन्नु या भन्न सक्नु विसंकेत हो ।

यसरी नै चिनिसकेका अर्थात् ‘डिकोड’ गरिसकेका अक्षर मात्र प्रयोग गरी बनाइएको कथा नै विसंकेत कथा (Decodable Story) हो । अर्थात् विसंकेतन गरिसकेका या चिनिसकेका अक्षर र मात्रा मात्रै प्रयोग गरी विकास गरिएको कथा नै विसंकेतन कथा हो । नेपालीमा यो भर्खरै प्रवेश गरेको पठन सामग्री हो । अहिले प्रारम्भिक कक्षा पढाइ कार्यक्रम लागू भएका जिल्लाहरूको कक्षा–१, २ र ३ को नेपाली भाषाको पढाइमा यस किसिमको विसंकेतन कथाका पठन सामग्री पनि उपलब्ध गराइएको छ भने रुम टु रिड जस्ता केही गैरसरकारी संस्थाले पठन सीप सम्बन्धी आफ्ना कार्यक्रममा विसंकेतन सामग्रीको पनि विकास तथा प्रयोग गराउँदै आएका छन् ।

कसरी बनाउने विसंकेतन कथा ?
विसंकेतन कथा हाम्रो परम्परागत भाषा शिक्षणका पाठ्यसामग्री, शिक्षण विधि र प्रक्रियामा नभएको, नयाँ विषय हो । यद्यपि, विसंकेतन कथा या पाठ बनाउन सकियो भने शिक्षकले सिकाउन धेरै सजिलो मात्र हुँदैन, साना कक्षाका बालबालिकाले सानैमा सीपयुक्त पठन कला विकास गर्छन् ।

निम्न चरणमा विसंकेतन कथा निर्माण गर्न सकिन्छ :

  • सबैभन्दा पहिले बालबालिकाले पढिसकेका अक्षर र मात्राको सूची बनाउनुहोस् । मानौं बालबालिकाले क, स, न, म, ह, ग, च, त, ा , े ो जानेका छन् ।
  • अब माथिको सूचीका वर्ण र मात्रा जोडेर सकेसम्म धेरै शब्द बनाउनुहोस् ।
    क, स, न, म, ह, ग, च, त, ा , े ा
    काका, कान, को, के, हक, चक, गमगम, मगमग, मह, सकसक, कोचाकोच, चेक, साने, सानो, मानो, माने, मान, समोसा, गहना, होचो, हेम, नम, मन, मने, साना, हात, नेता, ताते, तातो, मम, मोहन, गोमन, हातमा...
  • माथिका शब्दबाट अब वाक्य बनाउनुस् । बालबालिकाले पढिसकेका अक्षर सीमित हुने भएकोले विसंकेतन कथाका वाक्य कर्ता, कर्म र क्रिया भएका पूर्ण नहुन पनि सक्छन् । जस्तै केही वाक्य यस्ता हुन सक्छन् :
  • मोहनको हातमा तातो मम । समोसा मह मगमग । हेम गमगम समोसा । गमगम मह । मोहन गमगम मम । मनेका कान साना । काकाको मने । हेम होचो । मनेको नाक सानो ।
  • अब माथि बनाइएका वाक्यलाई सिलसिला मिल्ने गरी पाठ या कथाको रूप दिने प्रयास गर्नुहोस् । जस्तै : हेम होचो । काकाको मने सानो । सानो मनेका साना कान । मनेको नाक सानो । विसंकेतन पाठलाई पूर्ण कथाको रूपमा पनि विकास गर्न सकिन्छ । त्यसो गर्न परिचित वर्णको संख्या अलि धेरै हुनुपर्छ । कथाका तत्वहरू पात्र, घटना, संवाद आदि भएमा विसंकेतन कथा साँच्चै कथा जस्तो बन्छ ।

विसंकेतन पाठ वा विसंकेतन कथा वर्ण चिन्ने क्रममा रहेका बालबालिकाका लागि हो । उनीहरूलाई नयाँ चिनाउन लागिएको लक्षित वर्ण धेरै पटक दोहोरिएको पाठ बनाउनु अझ् उपयोगी हुन्छ । विसंकेतनको पाठ बनाउँदा लक्षित वर्ण ५० प्रतिशत भन्दा बढी हुनुपर्छ भन्ने मान्यता छ । जस्तै, माथिकै क, स, न, म, ह, ग र च चिनिसकेका बालबालिकालाई अब ‘त’ अक्षर चिनाउनु छ भने विसंकेतन कथामा ‘त’ भएका शब्द कुल शब्दको ५० प्रतिशत भन्दा बढी भएमा त्यो विसंकेतन पाठ या कथा असल मानिन्छ ।

जस्तै : रुम टु रिड ले कक्षा–१ मा निम्न अक्षर पढिसकेपछिका लागि लक्षित अक्षर ‘उ’ को पठन अभ्यासका लागि बनाएको नमूना कथा हेरौं ।

पढिसकेका अक्षर : क, न, म, ह, आ, ा , ल, र, ए,  े, त, य, ओ, ो , ब, छ, इ,  ि, स, प

लक्षित अक्षर :  उ

बालबालिकालाई वर्णमालाका सबै अक्षर चिनिसकेपछि निश्चित मात्राहरू चिनाउन पनि ती लक्षित मात्रा बरोबर दोहोरिएका शब्द प्रयोग गर्दै विसंकेतन कथा बनाउन सकिन्छ । जस्तै: ‘ो’ ओकार को चिनारी र ओकार पठनको अभ्यासका लागि लेखिएको नमूना कथा यसप्रकार रहेको छ :

बचेरोको कोकोहोलो
गोपीले डोकोमा बचेरो छोपेको थियो । सानो बचेरो जोडले करायो । बिचरो बचेरो भोको थियो । भोको बचेरोको कोकोहोलो सुनियो । खोरको बोकोले डोरो छिनायो । बोकोले बचेरो छोपेको डोको लडायो । बोकोले केराको कोसो बचेरोलाई दियो । बचेरोले भोक मेटायो । बचेरो वनमा गयो । बोको खोरमा गयो । मोटो गोपी आयो । डोकोको बचेरो खोइ ? केराको कोसो खोइ ? गोपी करायो । अब गोपीको कोकोहोलो सुनियो । गोपी भोको थियो । भोको गोपी टोलको होटलमा गयो ।   - स्रोत: बालबगैंचा

डिकोडेवल पाठको अवधारणा
डिकोडेवल अर्थात् विसंकेतन पाठ या कथाको अवधारणा सन् २००० यता विस्तार भएको हो । यो ध्वनिमा आधारित वैज्ञानिक पढाइ पद्धतिमा आधारित छ । अर्थात् यो पाँच तत्वमा आधारित पढाइको एक अवयव हो । पाँच तत्व भनेको ध्वनि सचेतीकरण (Phonological Awarness) अक्षर चिनारी (Phonics), शब्दभण्डार (Vocabulary) पठन प्रवाह (Fluency) र बोध (Comprehension) हो ।

अंग्रेजीमा डिकोडेवल कथाका पुस्तकहरू प्रशस्तै पाइन्छन् । अनलाइनहरूबाट पनि यस्ता सामग्री भेट्न सकिन्छ । नेपालीमा भने अझ्ै पनि डिकोडेवल पुस्तक अभाव नै छ । यद्यपि, केही निजी प्रकाशनले यस्ता पुस्तक पनि प्रकाशन गर्न थालेका छन् ।

उपसंहार
यसरी डिकोडेवल वा विसंकेतन कथा प्रारम्भिक कक्षाबाट पढाइको अभ्यास गराउन र बालबालिकालाई पुस्तक पढ्ने बानी बसाल्नका लागि अत्यन्त उपयोगी सामग्री हो । भाषाका प्रारम्भिक पाठकका लागि संसारभरि नै यो प्रभावकारी साधनका रूपमा प्रचलनमा आएको छ । हाम्रो नेपाली भाषामा पनि यसले प्रवेश पाएको छ र विस्तार पनि हुँदैछ । सरकारीका साथै हाम्रा निजी विद्यालयले पनि यसतर्फ ध्यान दिन सकेमा विद्यार्थीको नेपाली भाषाको जग मजबुत हुने निश्चित छ ।

निजी विद्यालयलाई लक्षित गरी प्रकाशकहरूले अनेकौं किसिमका पाठ्यपुस्तक निकालिरहेका छन् । त्यस्ता पाठ्यपुस्तकमा पनि विसंकेतन कथा या पाठ समावेश गर्न र साना चित्रकथा पुस्तकका रूपमा पनि विसंकेतन कथाका पुस्तक बजारमा ल्याउन सकेमा हाम्रा साना नानीबाबु अर्थात् नेपाली भाषाका प्रारम्भिक पाठक लाभान्वित हुनेछन् । नेपाली भाषाका साथै नेपालका अन्य मातृभाषाका पुस्तकमा पनि विसंकेतन कथा लैजानु झ्नै प्रभावकारी हुनेछ ।

(वाग्ले लेखक, पुस्तक सम्पादक हुन् ।)

commercial commercial commercial commercial