म त छोराछोरीलाई सामुदायिकमै पढाउँछु !

मलाई साथीभाइ र इष्टमित्रबाट सधैं सोधिइरहने प्रश्न— ‘तपाईंका छोराछोरी कुन बोर्डिङमा पढ्छन् ?’ म सहज तरीकाले उत्तर दिन्छु— मेरै स्कूलमा पढ्छन् । यस्तो उत्तर सुनेर उनीहरू आफैं असहज महसूस गर्छन् र सुझव पेश गर्दछन्ः ‘जे भए पनि नानीबाबुहरूलाई राम्रो स्कूलमा पढाउनुपर्ने, सम्पत्ति भनेकै छोराछोरीको भविष्य हो ।’ तात्पर्य हुन्छ— म मेरा छोराछोरीको भविष्यप्रति त्यति सजग छैन र म आफैंले पढाउने सामुदायिक स्कूलमा पढाएर उनीहरूको भविष्यमाथि खेलबाड गरिरहेछु । सित्तैंको सुझाव दिनेहरूमध्ये कतिलाई लाग्दो हो— ‘जाबो सरकारी शिक्षकको निम्छरो आर्थिक स्थितिले राम्रो अर्थात् निजी विद्यालयमा पढाउन सकेन होला !’

म गर्वका साथ भन्ने गर्छु— म छोराछोरीलाई आफैंले पढाउने सामुदायिक विद्यालयमै पढाउँछु । हुन त, नेपाल सरकार सरकारी शिक्षक तथा कर्मचारीले छोराछोरीलाई सरकारी विद्यालयमै पढाउनुपर्ने कुरालाई नियमन गर्न खोज्दैछ, तर यो आफैंमा लाजमर्दो कुरा हो । सरकार आफूद्वारा संचालित विद्यालयलाई व्यवस्थित र आकर्षक बनाउन चुकेको छ; उसका अधिकांश शिक्षक तथा कर्मचारीहरू आफ्नो काममा आफैं विश्वास गर्दैनन् । अनि सरकार चाहिं यस्तो नीतिगत व्यवस्था जबर्जस्ती माथिबाट लाद्न खोज्दैछ । योभन्दा ठूलो बिडम्वना के हुन सक्छ ? तर म आफैंलाई कसरी अविश्वास गर्न सक्छु ? म आफ्ना छोराछोरीलाई पढाउने काममा कसरी कामचोर र अल्छी हुन सक्छु ? मलाई पूर्ण विश्वास छ— मेरा छोराछोरीलाई म र सहकर्मी शिक्षकले पढाएको भन्दा अरू कसैले पढाएको प्रभावकारी हुन सक्दैन किनकि हामी उनीहरूलाई सानैदेखि जान्दै र बुझदै आएका छौं । उनीहरू आफ्नै आँखा अगाडि खेलेको, नाचेको र सिकेको दृश्यलाई म कसरी ओझेल पार्न सक्छु !

अधिकांश मानिसको बुझइमा आजका सामुदायिक विद्यालय ‘नराम्रा, गुणस्तरहीन, परिमाणविहीन, सुविधाविहीन, लथालिङ्ग र भद्रगोल छन् । त्यहाँ कम शैक्षिक र बढी राजनीतिक वातावरण हुन्छ । उता संस्थागत अर्थात् निजी विद्यालय चाहिं राम्रा, गुणस्तरीय, परिणाममुखी, सुविधासम्पन्न र व्यवस्थित छन् । त्यहाँ पूरापूर शैक्षिक वातावरण हुन्छ ।’ यस्तो बुझाइको संक्रमण शहरबाट क्रमशः ग्रामीण भेगका सोझासाझा जनतामा पनि फैलँदै गएको पाइन्छ । त्यसैले अभिभावकमा संस्थागत विद्यालयप्रतिको रोजाइ बढ्दो छ । छोराछोरीलाई राम्रो स्कूल पढाउने बहानामा शहर–बजारमा डेरा सर्ने र धेरै धनराशी खर्च गर्ने चलन पनि बढ्दो छ । यही बहानामा कतिपयका घरबार बिग्रेका पनि छन् र छोराछोरीले अनावश्यक दुःख भोग्नु परेको छ ।

मलाई उदेक लाग्छ, नेपाली समाजमा यस्तो कुबुद्धि कहाँबाट मौलायो ? किन हामी घरछेउको सामुदायिक विद्यालयलाई चिन्दैनौं र निजी विद्यालय खोजी हिंड्छौं ? कागले कान लग्यो भन्दैमा कानै नछामी कागको पछि किन दगुर्छाैं ? सामुदायिक विद्यालयमा तालीमप्राप्त शिक्षक, कर्मचारी छन्, भए पक्की नभए कच्ची नै भए पनि भवन छ, विद्यालय भवन, खेल–मैदान छ, शैक्षिक सामग्री छ, खानेपानीको व्यवस्था पनि राम्रै छ । पुस्तकालय, शौचालय र प्रयोगशाला पनि धेरै विद्यालयमा छन् । निःशुल्क पाठ्यपुस्तकको व्यवस्था छ र शिक्षा निःशुल्क छ । अब कुरा आयो विद्यालय व्यवस्थापन र पठनपाठनको । विद्यालय व्यवस्थापनको दायित्व समुदायको हो । समस्याको मूल कडी नै यहीं छः समुदाय किन सामुदायिक विद्यालयको अपनत्व ग्रहण गर्दैन ? किन यसलाई आफू अनुकूलको शैक्षिक स्थलको रूपमा विकास गर्न सक्दैन ? शिक्षक नियमित भए\नभएको र पठन–पाठन प्रभावकारी भए\नभएको मूल्याङ्कन गरी आवश्यक कारबाही गर्ने वा कारबाहीको सिफारिश गर्ने काम समुदायले गर्न सक्छ । हो, हिजोको दिनमा शिक्षक नै अशिक्षित समाजका अगुवा हुन्थे र उनीहरूमध्ये केहीले काममा लापरबाही पनि गरे होलान् । तर आज त स्थिति धेरै फरक भइसकेको छ । आज शिक्षक मात्र पढेलेखेका र जान्नेसुन्ने छैनन् । उनीहरूले पठन–पाठनमा कमजोरी गरे उनीहरूमाथि सामाजिक र सामुदायिक अंकुश लगाउन सकिन्छ । यस्तो सूवर्ण मौका छाडेर किन होहल्लाको पछि लाग्ने ? किन हाम्रो सामुदायिक विद्यालयलाई हाम्रा नानीबाबुहरूको सुन्दर भविष्य निर्माण गर्ने थलोको रूपमा विकास नगर्ने ?

सामुदायिक विद्यालयको पक्षमा वकालत गर्नुको अर्थ संस्थागत विद्यालयले शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको नजरअन्दाज गर्नु किमार्थ होइन । तर, संस्थागत विद्यालयलाई शैक्षिक गुणस्तरको पर्यायको रूपमा लिने मानसिक भ्रम चिर्नु र आफ्ना छोराछोरीलाई सामुदायिक–सरकारी विद्यालयमा पढाउने अभिभावकले महसूस गर्ने मानसिक यातनामा कमी ल्याउने प्रयास भने यो अवश्य हो । प्रचलित कानून अनुसार संस्थागत विद्यालय चलुन् र इच्छा हुनेले आफ्ना छोराछोरीलाई त्यहाँ पढाउन्, त्यसमा कसैको आपत्ति नहोला । तर शैक्षिक भन्दा बढ्ता व्यापारिक र यथार्थ भन्दा बढ्ता प्रचारमुखी र भ्रमको खेती चाहिं आपत्तिजनक कुरा हुन् । संस्थागत विद्यालयको बिक्री हुने प्रमुख नारा नै अंग्रेजी माध्यम हो । फेरि हाम्रा अभिभावकको अंग्रेजी मोह यति ज्यादा छ कि उनीहरू छोराछोरीले अंग्रेजी जानेको देख्न चाहन्छन् र त्यसका लागि अनावश्यक रूपमै महँगो मूल्य चुकाउन पनि पछि हट्दैनन् । उनीहरूलाई ज्ञान तत्व, बुद्धि, विवेक, सीप, आचरण, संस्कार र समग्र सिकाइ माध्यम भाषामा भर पर्दैन भन्ने कुरा कसैले बुझइदिंदैन ।

वास्तविक सिकाइ पाठ्यक्रम, शिक्षण कला, शिक्षण विधि आदिमा भर पर्दछ । अंग्रेजी माध्यममा पढ्नेले मात्र ज्ञान तत्व प्राप्त गर्छ र उसको रोजगारीको सुनिश्चितता बढ्छ भन्ठान्नु भाषिक उपनिवेशले सिर्जना गरेको भ्रम सिवाय अरू केही होइन । हाम्रो समाजमा केही तत्वहरू जबरजस्त यसैलाई स्थापित गर्न लागिपरेका छन् । अंग्रेजी एक भाषा हो, जुन सरकारी विद्यालयमा पनि पढाइन्छ र आवश्यकता अनुसार यस भाषामा थप दक्षता जुनसुकै बेलामा पनि थोरै लगानी र समयमा प्राप्त गर्न सकिन्छ । पर्यटन क्षेत्रका मजदूर अनपढै भए पनि अंग्रेजी बोल्दछन् र बुझदछन् । अंग्रेजी नजानेका मानिसहरू पनि विश्वविख्यात कवि, कलाकार, दार्शनिक, वैज्ञानिक, समाजसेवी, उद्योगी तथा अन्य विधाका अब्बल मानिस भएका छन् । त्यसबाहेक, समुदायले चाहेमा सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यममा पठन–पाठन गर्न सकिन्छ र केहीले यसको अभ्यास पनि गरिसकेका छन् ।

सरकारी या सामुदायिक विद्यालयका उत्पादनले हरेक क्षेत्रमा राम्रो परिणाम ल्याएको वृत्तान्त हाम्रो अगाडि छँदैछ । परीक्षामुखी शिक्षण, लगातारको अभ्यास र आज्ञाकारी अभिभावकको कारणले निजी विद्यालयले राम्रो नतिजा ल्याउँछ र त्यसैलाई गुणस्तरीय शिक्षा भनी प्रचार गरिन्छ । यहाँ परीक्षा नतिजालाई सारमा हैन रूपमा मात्र हेरिन्छ । सरकारले केही भौतिक तथा प्राविधिक सुविधा वृद्धि गरी अभिभावक र समुदाय चनाखो हुने हो भने सामुदायिक विद्यालयको नतिजा पनि उत्साहवद्र्धक हुन समय लाग्दैन । हाम्रा केही सामुदायिक विद्यालयले आफ्नो अब्बलताको पुष्टि गरिसकेका छन् । अब तपाईं हाम्रा सबै सामुदायिक विद्यालय गुणस्तरीय र अब्बल बनाउनुपर्छ । शिक्षकको नाताले, समुदायको सदस्यको नाताले, अभिभावकको नाताले, मैले मेरो ठाउँबाट, तपाईंले तपाईंको ठाउँबाट सहयोग र सहकार्य गर्नु जरूरी छ । सामुदायिक विद्यालयलाई यस्तो साझ फूलबारी बनाउँ जहाँ सबै प्रतिभारूपी फूलहरू फुलुन् र निरन्तर ज्ञानको सुवास फैलिरहोस् ।

कल्याणीदेवी मावि, बेलकोटगढी–८, नुवाकोट

commercial commercial commercial commercial