विनाश गयो, आशा पलायो !

शोकले नछोप्ने बालबगैंचाः नेपाल राष्ट्रिय आधारभूत विद्यालय, पुरैनिया, बाराको प्राङ्गणमा निश्चिन्तसँग खेलिरहेका स्कूले बालबालिका । यीमध्ये अधिकांशको घर चक्रवातले भत्काएको छ । कतिपयले आफ्नै अभिभावक समेत गुमाएका छन् । पुरैनिया हावाहुरी प्रभावित १६ बस्तीमध्ये त्यो गाउँ हो, जहाँ चक्रवातमा परी सबैभन्दा धेरै १० जनाको मृत्यु भएको थियो । तीमध्ये तीन जना त बालबालिका नै थिए ।

१७ चैत २०७५साँझको भयानक चक्रवातले पर्साको जगरनाथपुरदेखि बाराको बेनौलीसम्मको करीब ३० किलोमिटर दूरीका १६ बस्तीमा विध्वंस मच्चायो । पुगनपुग आधा किलोमिटर चौडाइको बाटो बनाएर मडारिएको आँधीले सात बालबालिका सहित बारामा २७ र पर्सामा १ गरी २८ जनाको ज्यान लिनुका साथै १५०० परिवारलाई घरबारविहीन बनायो । ९० किलोमिटर प्रतिघण्टाको वेगमा चलेको चक्रवातको भुमरीमा परेर करीब ७०० जना घाइते भए । आँधीबाट विस्थापित भएका सबै परिवार अहिले अस्थायी पालमुनि बसेर दिनरात कटाइरहेका छन् ।

पीडित परिवारका वृद्धवृद्धा र वयस्कहरू त्यो प्राकृतिक विपत्तिले पैदा गरेको आघातको भुमरीबाट निस्कने प्रयत्न गरिरहेका छन् । जनधनको अकल्पनीय क्षति, शारीरिक तथा मानसिक पीडा र आर्थिक बोझ्का बीच नजिकिंदो वर्षात्को मुखमा घरबासविहीन हुनुपर्दाको तापबाट मुक्त हुन उनीहरूलाई आशा र उत्साह चाहिएको छ । उद्धार र राहतमा पीडा नभोगेका छरछिमेकी, बाहिरबाट गएका सहयोगी व्यक्ति, संघसंस्था एवं राज्यस्तरबाट प्राप्त सरसहयोगले एक किसिमको मल्हमपट्टी गरेको छ । त्योभन्दा पनि बलियो आशाको बीउ पीडितहरूको आफ्नै काख र घरआँगनमा खेलिरहेका बालबालिकाले छरिरहेका छन् ।


भत्किएका घरको भग्नावशेष र अस्थायी बास अगाडिको आँगनमा रमाएका कलिला बालबालिकाहरू विपत् बिर्संदै आशा र उत्साहले भरिपूर्ण भइरहेका भेटिए।

त्यस घटनाको तीन सातापछि हावा हिंडेको बाटो पछ्याउँदै बाराका गाउँबस्तीमा डुल्दा विस्थापित परिवारका वयस्क सदस्यहरू जति चिन्तित र विचलित देखिए, त्यसको ठीक विपरीत पाइए स्कूले पुस्ताका साना बालबालिका । आमाबाबु र अभिभावकको काखमा खेल्दै भत्किएका घरको भग्नावशेष र अस्थायी बास अगाडिको आँगनमा रमाएका कलिला बालबालिकाहरू विपत् बिर्संदै आशा र उत्साहले भरिपूर्ण भइरहेका भेटिए । कतिपय गाउँमा राहत र पुनस्र्थापनाको चिन्ताले विचलित वयस्कहरूमाझ् निश्चल बालबालिकाहरू शान्त थिए । अधिकांश ठूला मानिसले तनावलाई तन्काइरहँदा पनि उनीहरूबाट जन्मिएको कलिलो पुस्तामा भने अनौठो निष्फिक्रीपन जीवित देखियो ।

चक्रवातमा आमाको न्यानो काख गुमाएका बालक साहेब अन्सारी हुन् वा घर गुमाएर पालमा आइपुगेकी बालिका सपनाकुमारी पटेल । पढ्दापढ्दैको किताब र घरका सबै सरसामान समेत उडाएपछि रित्तो भएका स्कूले शिशु प्रितम हुन् या आँधीमा परेर अङ्गभङ्ग भएपछि आधा परीक्षा नै दिन नपाएका किशोर राहुल । यी केही अविचलित अनुहारहरूले विपत्तिबाट बौरिंदै गरेको बाराका बस्तीहरूमा आशा जगाउने जीवन्त बालसंसारको प्रतिनिधित्व गर्दछन् ।


प्रितम पटेल (१२), फेटा गाउँपालिका–१, भरबलिया

मेरो कक्षा–४ को पढाइ सकियो, अब पाँचमा पढ्छु । म पढ्ने स्कूल बेङ्गा साह मावि हो । यो स्कूल मेरो घर नजिकैको पर्सौनी बजारमा छ । भाइ पवन, तीन बहिनीहरू काजलकुमारी, राजनकुमारी र लक्ष्मीकुमारी, हजुरबुबा जोगिन्दर, आमा ज्ञान्तिदेवी, बाबा बिजेश र म समेत घरमा आठ जना छौं । ठूलो हावाहुरी आएको दिन म पढ्दै थिएँ । ममी खाना बनाउँदै हुनुहुन्थ्यो । ठूलो आवाजमा हावा आयो । हेर्दाहेर्दै घरको छानो उडाएर लग्यो । मैले पढिरहेको किताब कता पुर्‍यायो थाहै भएन । मेरा अरू किताबकापी र लुगाहरू पनि सबै उडायो । ममीले खाना पकाउँदा पकाउँदैको भाँडाकुँडा र ग्यास चूलो समेत हावामा उडेर हरायो । एकदम बलियो बतासले हामीलाई पनि लडाइदियो । भुईंमा पल्टाएर उडाउला झैं गर्‍यो । हामीसँगै उडेका सामानले लागेर मलाई जीउमा चोटपटक लाग्यो । खुट्टा मर्कियो । त्यस रात हामी कसैले पनि खाना खान पाएनौं । सुत्ने ठाउँ समेत थिएन । भोकभोकै रात कटायौं । घरका र गाउँका ठूला मान्छेहरू सबै एकदम आत्तिएका थिए । कति मान्छे त रोईकराई गरिरहेका थिए । त्यस्तो दुःख पर्दा पनि हामी साना मान्छे चाहिं त्यति रोएनौं । सबैलाई उस्तै दुःख परेको देखेर मलाई रुन आएन । कहिल्यै नदेखेको यस्तो के भएको होला भनेर अनौठो लागिरहेको थियो । तर रात काट्न चाहिं साह्रै गाह्रो भयो । भोलिपल्ट बिहान १० बजेतिर बाहिरबाट आएका मान्छेले ल्याइदिएको चाउचाउ र बिस्कुट खायौं । गाउँमा मसँगै पढ्ने अरू १० जना साथीको घर पनि भत्किएको थियो । हामी सबै जना १० दिनसम्म स्कूल गएनौं । हाम्रो कक्षा–४ को अन्तिम परीक्षा चल्दै थियो । त्यो पनि पूरा दिन पाएनौं । तर स्कूलले हामी सबैलाई पास गरिदियो । सबै जना पाँच कक्षामा पुग्यौं । त्यो रात सम्झ्ँदा डर त लाग्छ, तर थोरै मात्र । भगवान आफैं डराएको बेला हामी किन नडराउनु !


साहेब अन्सारी (१२), फेटा गाउँपालिका–६, पुरैनिया

म गाउँकै हुसैनिया बन्दरवा पुरैनिया मदरसामा कक्षा–४ मा पढ्थें । सधैं मदरसाकै होस्टेलमा बस्थें । तर त्यस दिन छुट्टी भएपछि मदरसाबाटै फुपूको घर कलैयाको घोगरडिया गएको थिएँ । ठूलो हावाहुरी चल्दा घर भत्किएको १० बजे राति थाहा पाएँ । फुपूको घरका सबै मान्छेसँगै राति नै यहाँ आउँदा घर  थिएन । गाउँमा हाम्रो मात्र होइन, कसैको घर पनि थिएन । हाम्रो घर भएको ठाउँमा हेर्दा इँटाको थुप्रो मात्र देखें । घरका कसैलाई देखिनँ । मैले इँटाको थुप्रो खोतलेर खोजें । आमा, हजुरआमा र बहिनीहरू भेटिए । ती सबै बितिसकेका थिए । मैले चुपचाप हेरिरहें । घर लड्दा च्यापिएर बाबा हैदर अन्सारी पनि घाइते हुनुभएको रहेछ । तर उहाँलाई गाउँका मान्छेले पहिले नै अस्पताल लगिसकेका रहेछन् । त्यसकारण मैले बाबालाई पनि भेटिनँ । हजुरबुवा इजहार मिया आफन्तकोमा रौतहट जानुभएको थियो । रातभर म परिवारमा एक्लै भएँ । रातको तीन बजेसम्म यताउता हिंड्दाहिंड्दै बित्यो । त्यसपछि काका मुस्ताक अन्सारीको नभत्किएको घरमा एकछिन सुतें ।

भोलिपल्ट बिहानैदेखि आफन्तहरू आउन थाले । सबैले मलाई दिनभर सम्झए । साँझ् कब्रिस्तान (मुस्लिम परम्परा अनुसार मृतकको अन्त्येष्टि गर्ने थलो) मा लगेर आमा, हजुरआमा र बहिनीहरूको दाहसंस्कार गरियो । त्यहाँ म पनि गएँ । एकदम नरमाइलो लाग्यो । तर म पढ्नुपर्ने मान्छे, कति दिन रोएर बस्नु । मलाई धेरै जनाले राम्रो स्कूलमा राखेर पढाउन सहयोग गर्छौं भनेका छन् । अब म नयाँ स्कूलमा भर्ना भएर राम्ररी पढ्छु । पढाइमा धेरै माथिसम्म पुग्छु । मसँग बुबा र हजुरबुबा बाँकी हुनुहुन्छ । उहाँहरूको सेवा गर्छु । दुःखमा परेका सबैलाई सहयोग गर्छु । आमा र हजुरआमाले पनि मलाई धेरै पढेर असल मान्छे बन्नुपर्छ भन्नुहुन्थ्यो । उहाँहरूलाई म कहिल्यै बिर्सन सक्दिनँ । दुःख परेको बेला धेरै याद आउँछ होला । खुशी भएको बेला म आमालाई झन् बढी सम्झ्नेछु ।


सपनाको रङ्ग

मेहेन्दीले रङ्गिएको हात देखाउँदै गरेकी यी बालिका फेटा–१, भरबलियाकी १० वर्षीया सपनाकुमारी पटेल हुन् । तस्वीरमा उनी चक्रवातमा परी भाँचिएर निको हुँदै गरेको हात छोपेर उभिएकी आमासँगै छिन् । गाउँ नजिकैको बेङ्गा सिंह मावि पर्सौनीमा पढ्दै गरेकी सपना भर्खरै कक्षा–४ बाट ५ मा गएकी छन् । आँधीबाट विस्थापित भएपछि बाबुआमासँग पालमा बस्दै आएकी यिनी यहींबाट स्कूल जान्छिन् । दिउँसोको चर्को घाम होस् या लामखुट्टेको होहल्लामाझ् झुलभित्र कटाउनुपर्ने औडाहा गर्मीयुक्त रात, यही पाल नै उनको पीडा भुल्ने पाठशाला भएको छ । पाल अगाडिको थोरै खाली जमीन उनलाई खेल्नका लागि पहिलेको फराकिलो आँगन जत्तिकै रमाइलो लाग्छ ।


राहुल पटेल (१५), फेटा गाउँपालिका–१ भरबलिया

म नृसिंह मावि पिरिया, वीरगञ्जमा पढ्छु । त्यो चैत १७ गते साँझ् म घरमै बसेर पढिरहेको थिएँ । हाम्रो कक्षा–८ को परीक्षा चलिरहेको थियो । चार वटा विषयको मात्र परीक्षा सकिएको थियो । बाँकी चार वटा दिनै पाएको थिइनँ । एक्कासि आएको हावाहुरीले एकैछिनमा पूरै गाउँ विनाश पार्‍यो । एकदुई वटा पक्की घर छाडेर गाउँका दुई सय घरहरू नाश भए । त्यसबेला के भयो के, मैले केही थाहा पाइनँ । एकैछिनमा सर्वस्व सखाप भयो । त्यो एकछिन सपना जस्तै थियो । हावाले उडाएर के केमा ठोकिंदा मेरो देब्रे खुट्टा भाँचिएछ । राति नै उद्धार गर्न आएका मान्छेहरूले ट्र्याक्टर र एम्बुलेन्समा चढाएर मलाई वीरगञ्ज लगे । त्यहाँको एउटा अस्पतालमा मेरो खुट्टाको प्लाष्टर भयो । त्यसपछि एक हप्ता अस्पतालमा बसेर घर फर्किएँ । अहिले बैसाखी टेकेर अलिअलि हिंडडुल गर्दैछु । घर भत्किएकाले बाबाममीसँगै पालमा बसेको छु । यस्तो घाइते भएपछि स्कूल गएर बाँकी परीक्षा पनि दिनु परेन । स्कूलले नै छुट गरिदियो । टिचरहरूले भेटेरै भन्नुभएको, म पास भएँ रे ! अब स्कूल जान सक्ने भएपछि त कक्षा–९ मा पढ्न पाइन्छ ।

शिक्षक  मासिक, २०७६ जेठ अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial