फेरि मास हिस्टेरिया का कुरा !

सामाजिक सद्भाव या सहयोगको अभाव, थकान आदिका कारण पनि यो समस्या देखा पर्न सक्दछ। पुनः पुनः दोहोरिरहनु ‘मास हिस्टेरिया’ को विशेषता नै हो।

सामुदायिक विद्यालयहरूको निम्ति बेलाबेलामा टाउको दुखाइको विषय बन्ने गरेको मास हिस्टेरिया  का सम्बन्धमा गत वर्ष नै ‘मनोलोक’ (शिक्षक, साउन २०७५) मा चर्चा गरिएको हो । तर, शिक्षक  मासिक मार्फत प्राप्त जाजरकोटको नलगाउँ नपा अवस्थित पञ्चभैरव माविको मास हिस्टेरिया  सम्बन्धी हालैको रिपोर्ट हेरेपछि सोही विषयमा थप चर्चा गर्नु उपयुक्त लाग्यो । यहाँ, पहिले नै लेखिएका–भनिएका कतिपय कुराहरू दोहोरिन पनि सक्छन्, तर त्यसले शिक्षक–अभिभावकहरूलाई लाभ नै पुर्‍याउला भन्ने ठानिएको छ ।

जाजरकोटको प्रसंगः वातावरणीय कृषि तथा विकास केन्द्र (केड) नामक गैससबाट प्राप्त विवरण अनुसार जाजरकोटको पञ्चभैरव माविमा २०७३ सालदेखि छात्राहरूमा सामूहिक रूपमा बेहोस हुने (मास हिस्टेरिया) समस्या दोहोरिंदै आएको छ । त्यस्तो पछिल्लो घटना यही २०७५ चैतमा भएको रहेछ । मास हिस्टेरिया का कारण बेहोस भएर ढल्ने छात्राहरू सामान्यतः १० देखि १६ वर्ष उमेर समूहका हुने गरेका र बेहोश हुने घटनाहरू प्रायः शैक्षिक सत्रको अन्त्यतिर; परीक्षा भन्दा अगाडि घट्ने गरेको कुरा पनि ‘केड’ को रिपोर्टमा उल्लेख छ । यस्तो समस्या बारम्बार दोहोरिन थालेपछि विद्यालय तथा त्यस क्षेत्रमा क्रियाशील सामाजिक संघ–संस्थाहरूको पहलमा समस्याको कारण पहिल्याउने र निराकरण गर्ने प्रयास पनि गरिएका रहेछन् । त्यस्ता प्रयास अन्तर्गत स्वास्थ्यकर्मी (एमबीबीएस चिकित्सक समेत) बाट प्रभावित बालिकाको स्वास्थ्य परीक्षण गराउने, मनोपरामर्श (काउन्सिलिङ) प्रदान गर्ने, अभिभावक तथा शिक्षकहरूलाई मास हिस्टेरिया  को कारण र प्रकृतिबारे प्रशिक्षण दिने आदि कार्यहरू गरेको पाइन्छ । यसका अतिरिक्त स्थानीय विश्वास र प्रचलन अनुरूप धामीझँक्रीबाट झरफुक गराउने, बोका बलि चढाउने, पूजा, होम गर्ने आदि कार्यहरू पनि प्रशस्त मात्रामा भए/गरेका रहेछन् ।

अन्तरक्रिया र मनोविमर्शको क्रममा त्यहाँका छात्राले आफूभित्र गुम्सिएका कैयौं तनाव र डर प्रकट गरेका रहेछन्ः जस्तो— घरको काम र पढाइको दोहोरो बोझ्, पाठ्यक्रम पूरा गर्न भनी फागुनमा आएर थपिएका अतिरिक्त कक्षा, अंग्रेजी, गणित र विज्ञान जस्ता विषयको जाँचमा के गर्ने होला भन्ने चिन्ता, घर–परिवारभित्रका झैझगडा र किचलो आदि । त्यस्तै कतिपयले भूतप्रेत र देवीदेउता लाग्ने त्रासका कारण धामीझँक्रीप्रति पूर्ण विश्वास राख्ने गरेको पनि पाइयो । कतिपय शिक्षक र अभिभावकहरू पनि यस किसिमका रोगको निम्ति अस्पताल र आधुनिक चिकित्सक भन्दा परम्परागत झरफुक र धामीझँक्री लगाउनु नै उचित हुने धारणामा रहेको तथ्य समेत अन्तरक्रियाका क्रममा प्रकट भएको रहेछ ।

तथापि, विद्यालयमा संचालित अभिमुखीकरण कार्यक्रम पश्चात्, यस्तो समस्या सम्बोधनको निम्ति मनोपरामर्श, विद्यालयमा नियमित कक्षा संचालन, कमजोर विद्यार्थीलाई विशेष ध्यान दिने व्यवस्था अनि तनाव न्यूनीकरणका लागि खेलकुद या अतिरिक्त क्रियाकलापहरूमा जोड दिन थालिएको रहेछ । मास हिस्टेरिया  को समस्या हल गर्न यस्ता कार्यहरू हुनु अत्यन्त सकारात्मक हो । यसले समाजमा क्रमशः सचेतना विकास हुँदै गएको पनि दर्शाउँछ । तर पनि, मास हिस्टेरिया  का बारेमा समाजमा अझ् बढी चेतना आवश्यक भएको र पञ्चभैरव जस्तै अन्य विद्यालयहरूले पनि यस्तै कार्यक्रमहरू संचालन गरेर सचेतना अभिवृद्धि गराउनु जरूरी देखिएको छ । ‘विद्यार्थीहरूमा अचम्मका समस्याका कारण विद्यालय बन्द’ भन्ने जस्ता समाचारको आतंक रोकथाम गर्न अझै धेरै काम गर्नुपर्ने देखिन्छ ।

मास हिस्टेरिया  बारे थप कुरा
अध्ययनहरूले देखाए अनुसार, हिजोआज मास हिस्टेरिया का करीब ६० प्रतिशत घटना स्कूलहरूमा प्रकट हुने गरेका छन् । जबकि, पहिले पहिले अन्य कार्यस्थलहरू जस्तै; औद्योगिक कारखाना, छात्रावास, एअरपोर्ट जस्ता मानिसहरूको भीडभाड हुने ठाउँमा पनि यस्ता घटना निकै देखिने गर्दथे । यूरोपेली देशहरूमा यस्तो समस्या आश्रममा रहने भिक्षुणीहरूमा समेत देखिने गर्दथ्यो र भूत, प्रेतात्मा या शैतानहरूको प्रभावका कारण यस्तो समस्या भएको मानेर तिनको उपचारका लागि पूजापाठ या प्रेत–धपाउने कार्य गरिन्थे । १८औं शताब्दीतिर, औद्योगिक क्रान्तिपछि बेलायत, फ्रान्स एवं अन्य यूरोपेली मुलुकहरूमा कारखानामा काम गर्ने मजदूरहरूमा पनि यस्तो समस्या देखा पर्न थालेको थियो । त्यहाँ उत्पादनको अत्यधिक चाप हुने समय (जून महीनातिर) मा यो समस्या देखिने भएका कारण त्यस बेला देखा पर्ने एक प्रकारका कीराफट्याङ्ग्रालाई त्यसनिम्ति जिम्मेवार ठानिन्थ्यो । तर यो समस्या अरू केही होइन, अत्यधिक तनाव या विविध सामाजिक कारणले हुन्छ भन्ने तथ्य अहिले आएर स्थापित नै भइसकेको छ । पछिल्लो समयमा युद्ध र विभिन्न विषालु ग्याँस या आतंकवादी क्रियाकलापका कारण पनि यस्तो समस्या पैदा हुन्छ भन्ने कोणबाट अध्ययनहरू भइरहेका छन् । तर त्यस्तो अध्ययनको यकिन परिणाम आइसकेको छैन ।

बेहोश भएका बालिकाहरू, पञ्चभैरव मावि, जाजरकोट ।

मूलतः महिला–किशोरीहरूमा देखा पर्ने यो समस्या एक्कासी शुरू हुने गर्छ । समूहमा रहेका व्यक्तिहरूमध्ये कुनै एक (मुख्य व्यक्ति–क्याप्टेन) मा शुरू भई श्रव्य–दृश्य माध्यमबाट प्रसार भए जस्तो गरी यसले समूहका अन्य व्यक्तिहरूलाई पनि प्रभावित पार्दै लान्छ । प्रभावितहरू प्रायः सबैमा उस्तै प्रकारका लक्षण देखा पर्दछन् । प्रभावित हुनेहरू एकअर्कालाई चिनेका या कुनै न कुनै रूपमा सम्बन्धित नै हुन्छन् । धेरैजसो अवसरमा कुनै नमीठो लाग्ने गन्ध, खानेकुरा आदिबाट समस्या शुरूआत भएझैं लाग्छ, तर कुनै बेला त्यस्तो केही नहुन पनि सक्दछ । प्रभावितको शारीरिक या ल्याबोरेटरी परीक्षणमा केही नभेटिन सक्छ । राम्ररी विश्लेषण गर्दा भने प्रभावितहरूमा कुनै न कुनै मनोसामाजिक तनाव या समस्या देखिन सक्दछ, जस्तैः नयाँ वातावरण/परिवेश, कुनै नयाँ कार्यको शुरूआतमा हुने एङ्गजाइटी/अत्यास, प्राविधिक पक्षहरूमा आएको परिवर्तन, परीक्षाको तनाव (माथिको उदाहरणमा देखिए झै) आदि कारण र प्रभावहरू फेला पर्न सक्छन् । त्यस्तै; सामाजिक सद्भाव या सहयोगको अभाव, थकान आदिका कारण पनि अप्रत्यासित रूपमा यो समस्या देखा पर्न सक्दछ । पुनः पुनः दोहोरिरहनु ‘मास हिस्टेरिया’ को विशेषता नै हो ।

मास हिस्टेरिया  का लक्षणहरू जसरी एक्कासी देखा परेर फैलन्छन्, त्यसरी नै विस्तारै हराउँदै पनि जाने गर्दछन् । अध्ययनहरूले देखाए अनुसार मास हिस्टेरिया का बिरामीमध्ये करीब ७० प्रतिशतमा टाउको दुख्ने लक्षण देखा पर्दछ भने ५० प्रतिशतमा रिंगटा र वाक्वाकी लाग्ने तथा ४० प्रतिशतमा पेट दुख्ने गुनासो पाइने गरेको छ । यसका अन्य लक्षणमा कमजोरी महसूस हुने, बेहोशी हुने, सास फेर्न गाह्रो हुने आदि मुख्य हुन् ।

समस्याको सामना
यो समस्या नेपालमा प्रायः विद्यालयहरूमा नै देखा पर्ने गरेकोले सबैतिरका शिक्षक एवं अभिभावकहरूले नै यसको बारेमा जानकारी राख्नु आवश्यक हुन्छ ।
एकपछि अर्को गर्दै बालिकाहरू बेहोश हुन थालेको अवस्थामा सर्वप्रथम समस्या देखा परेका व्यक्तिलाई समूहबाट छुट्याएर अन्तै सुरक्षित ठाउँमा लैजाने प्रयास गर्नुपर्दछ, ताकि यो समस्या थप व्यक्तिमा फैलिएर मास हिस्टेरिया को समस्या विकराल स्वरुपमा आउन नपाओस् । प्रभावित व्यक्तिलाई चाहिं सुरक्षित एवं हावा चल्ने ठाउँमा राखेर उसको शारीरिक अवस्थाबारे विचार पुर्‍याउनुपर्दछ, आवश्यक परेमा चिकित्सकीय परामर्श पनि लिनुपर्दछ । यदि उही व्यक्तिमा पटक–पटक यस्तो समस्या देखिइरहेको छ, अनि चिकित्सकीय परामर्श एवं ल्याब परीक्षणहरूमा पनि कुनै शारीरिक समस्या पाइएको छैन भने त्यस्तो व्यक्तिलाई समूहबाट छुटाई सुरक्षित ठाउँमा अप्रत्यक्ष निगरानीमा स्वतन्त्र छोडिदिनुपर्दछ । उनका साथीहरूलाई पनि ‘ऊ सुरक्षित एवं स्वस्थ रहेको’ भन्ने सूचना बारम्बार प्रवाहित गरिरहनुपर्दछ । यसो गरेमा बाँकी विद्यार्थी आतंकित हुन पाउँदैनन् । उक्त व्यक्तिका अभिभावकहरू अनि आवश्यक परेमा स्वास्थ्य एवं सुरक्षा अधिकारीहरूलाई पनि सुसूचित गर्नुपर्दछ । घरायसी एवं विद्यालयसँग सम्बन्धित कुनै तनावका कारण समस्या पैदा भए/नभएको खुट्याउन यस सम्बन्धमा खुलस्त छलफल चलाउनुपर्दछ । आवश्यक पर्दा मनोविमर्शकर्ता या मानसिक रोग विशेषज्ञहरूको परामर्श समेत लिनुपर्दछ ।

बिरामीलाई तिनमा आइपरेको स्वास्थ्य समस्याका बारे शिक्षक एवं उपचारकर्ताले आफूले राम्ररी बुझेको कुरा मात्र अवगत गराउनुपर्दछ । अनुमान र सुनेका भरमा अपरिपक्व सल्लाह–सुझाव दिनुहुँदैन । शारीरिक कारण केही नदेखिए तापनि तिनका मनोसामाजिक समस्याहरूको निवारणका लागि यथेष्ट प्रयास गरिएको तथ्य पनि तिनलाई बुझउनुपर्दछ । मनोसामाजिक समस्याहरूको समाधानार्थ माथि उल्लिखित जस्ता कार्यक्रम चलाउन विद्यालय अगाडि बढ्नुपर्दछ ।

विशेषतः शिक्षकहरूले यो भूतप्रेत, बोक्सी, आत्मा या कुनै दैवी कारणले भएको समस्या होइन भन्नेमा आफूहरू पनि विश्वस्त भई जनमानसमा मास हिस्टेरिया  र यसको कारण तथा उपचारबारे चेतना फैलाउनुपर्दछ । मिडियामा ‘स्कूल बन्द’ जस्ता समाचारहरू फैलिएर मास हिस्टेरिया पनि त्यसैगरी अन्य स्कूलहरूमा आगोको डढेलो झैं फैलन सक्ने तथ्यतर्फ सबै जना सचेत बन्नुपर्दछ ।

 

commercial commercial commercial commercial