निजी स्कूलमा नौ वर्ष पढाएपछि आत्मसम्मान खोज्दै खाडी पुगें !

राज्यद्वारा प्राइभेट लिमिटेड कम्पनीको हैसियत दिइएका संस्थागत भनिने निजी स्कूललाई आम मानिसले बोर्डिङ स्कूलका रूपमा चिन्दछन् । त्यस्ता विद्यालयमा बोर्डिङ अर्थात् आवासीय सुविधा हुनु वा नहुनुले अर्थ राख्दैन । यो लेखको विषयवस्तु चाहिं तिनै निजी विद्यालयमा कार्यरत शिक्षकहरूको अवस्था र मनस्थिति हो । यो कुनै खोज–अनुसन्धान नभई व्यक्तिगत अनुभवमा आधारित लेखाइ हो ।

भन्ने गरिन्छ, “चेतनाको विकास नै शिक्षाको मुख्य उद्देश्य हो (The ultimate goal of education is to develop conscience)” तर नेपालका निजी या बोर्डिङ स्कूलका प्रायः तलबी शिक्षकहरूले कक्षाकोठाभित्र उभिएर विद्यार्थी पढाउन र उनीहरूलाई उत्तीर्ण गरेर माथिल्लो कक्षामा चढाउने बाहेकका अन्य कुनै पनि शैक्षिक भूमिकामा आफ्नो चेतनाको प्रयोग गर्न पाउँदैनन् ।

पहिले आफ्नै कुरा
मैले २०६२ साउनदेखि २०७१ फागुनसम्म चितवन र ललितपुरका विभिन्न चारवटा निजी विद्यालयमा पढाएँ । साढे नौ वर्षको त्यस अवधिमा मैले आफ्नो बौद्धिकता तिखारिनुको सट्टा बन्धक भएको पाएँ । अग्रज शिक्षकहरूले धमाधम जागिर छाड्दै पेशा पनि बदलेको देखें । त्यस्तो परिस्थिति आउनुको कारण के रहेछ भन्ने आफैंले भोगेर थाहा पाउन थालें । त्यसबाट मभित्र एक किसिमको निराशा जन्मियो । अन्तिममा मलाई लाग्यो— कामदार मात्र हुनुछ भने बौद्धिकताको अपमान हुने विद्यालयका कक्षाकोठामा नै किन कैद हुने ? त्यसपछि मैले भरसक दोहोर्‍याएर नफर्कने अठोटका साथ त्यो पेशाबाट विदा लिएँ ।

निजी स्कूलको जागिर छाडेको चार महीनापछि, जस्तो काम गर्नु परे पनि तयार हुने जोखिम मोलेर २०७२ असारमा म साउदी अरब गएँ । मैले ‘स्टिल फेब्रिकेशन’ को लागि श्रम अनुमति मागेर आवेदन दिएको थिएँ । तर रोजगारदाताले कार्यालय सचिवको जिम्मेवारी दिए । चार वर्ष त्यहाँ काम गरेर २०७५ चैतमा म ६ महीनाको छुट्टी लिएर घर आएको छु ।

स्कूल अनुभव
एक वर्ष प्रावि र त्यसपछि तीन वटा विद्यालयमा गरी साढे आठ वर्ष निमावि तहको विज्ञान र गणित शिक्षकका रूपमा मैले बटुलेको अनुभवमा मिठासको मात्रा उल्लेख गर्न लायक रहेन । तर नमीठा मात्र होइन, कहिल्यै बिर्सन नसकिने र सधैं बिझाइरहने भारी त्यो पेशाले बोकाएर गएको छ । निजी विद्यालयमा पढाउने कामलाई यसको भित्री मर्म थाहा नपाएका जोकसैले प्रतिष्ठित बौद्धिक पेशा ठान्दछन् । तर मेरो भोगाइले भन्छ— यो पेशाको अनुहार नेपालका प्रायःजसो निजी विद्यालयमा पहिले पनि दयनीय थियो र अहिले पनि उस्तै छ । कुनै प्रयत्न र चमत्कार नभएसम्म यसको मर्यादा बढ्ने लक्षण पनि देखिंदैन ।

आफूले काम गरेका विद्यालयमा मैले दैनिक ६ पिरियडसम्म पढाएँ । दुई वटा विद्यालयमा छात्रावास शिक्षकका रूपमा समेत बिहान ५ देखि साढे ९ बजेसम्म र बेलुका साढे ४ देखि १० बजेसम्म गरी दिनको १० घण्टा अतिरिक्त समय दिएँ । निमावि तहलाई पढाउँदा प्रावि तहको तलब पाउँथें । त्यो पनि विशेष महत्वपूर्ण मानिने विज्ञान र गणित विषय पढाउने भएकाले लामो सौदाबाजी पछि मात्र पाएको थिएँ । समान काम गर्ने सहकर्मीहरूको तलब त्योभन्दा कम थियो । मेरै पनि छात्रावासमा दर्जनौं विद्यार्थीलाई दैनिक १० घण्टा अतिरिक्त समय पढाएको पारिश्रमिक एक जना विद्यार्थीले तिर्ने शुल्कभन्दा पनि कम थियो । अरू सबै आम्दानी विद्यालय सञ्चालकको ढुकुटीमा जान्थ्यो । मलाई पैसा कमाउन भन्दा पनि सम्मान आर्जनका लागि आफू क्रियाशील छु जस्तो लाग्थ्यो ।


अघिपछि उनीहरूका कुतर्क पनि स्वीकार गर्ने र घण्टी बजेपछि खुरूखुरू कक्षामा छिरेर पढाइदिने, स्वविवेक निलम्बन गरेर जे अह्राउँदा पनि बहसै नगरी ‘हस्’ भन्ने जडवत् शिक्षक विद्यालय सञ्चालकको लागि सधैं ‘फिट’ मानिन्छन्।

निजी विद्यालयहरूको हकमा समेत लागू हुने शिक्षा ऐन र श्रम ऐनमा उल्लेख भएको विदा, बीमा, सञ्चयकोष, उपदान लगायतका सुविधाहरू पाउनु त परको कुरा, त्यसबारे प्रसङ्ग उठाउन समेत पाइएन । मैले विद्यालयबाट पाइरहेको तलब सुविधा र विद्यालयले तत्कालीन जिल्ला शिक्षा कार्यालयलाई बुझाउने गरेको कागजातमा फरक अंक उल्लेख हुँदोरहेछ । त्यसबारे प्रश्न गर्दै तह अनुसारको सुविधा माग गर्दाको अनुभव यहाँ उल्लेख गर्नु सान्दर्भिक ठान्दछु ।

नियमित रूपले पढाइरहेको बेला म कार्यरत विद्यालयको प्रशासनले एक्कासि कामबाट निष्काशन गर्ने निर्णय सुनायो । मैले त्यसको कारण खोजें । विद्यालयका प्राचार्यले मेरो योग्यता नपुगेको, पेशागत दक्षता खस्किएको, विद्यार्थीलाई शिक्षणमा सन्तुष्ट राख्न नसकेको वा अनुशासनमा विचलन आएको जस्ता कुनै बनिबनाउ तर्क अघि सार्लान् भन्ने ठानेको थिएँ । तर उनले त्यसो गरेनन् । मैले आफू कार्यरत तहको नियुक्तिपत्र र तलब सुविधा दाबी गरेकै कारण मलाई निष्काशन गरिएको जनाउ दिए ।

शिक्षण कालका यस्ता अनेक तीता अनुभवका बीच केही प्रसङ्गले सधैं झस्काइरहन्छन् । एउटा अर्को निजी विद्यालयमा रहँदा त्यसका सञ्चालकहरूले शहीद दिवसको दिन आयोजित कार्यक्रममा ‘रातकी रानी’ बोलको हिन्दी गीतमा नृत्य प्रस्तुत गर्न लागेको थाहा पाएँ । त्यसो गर्नु समय सान्दर्भिक नहुने तर्क राखेर विरोध गर्दा मैले उनीहरूबाट ठूलै खप्की खानु पर्‍यो । देखिंदा सानै भए पनि त्यस्ता घटनाहरूको शृंखला आफ्नो विवेकमाथि प्रहार भएको बञ्चरोका रूपमा मेरो स्मृतिमा बज्रिइरहने गरी सँगालिएका छन् ।

पेशागत मर्यादा नगण्य, आत्मसम्मान शून्य
पेशागत अस्तित्व, हकअधिकार, तलब सुविधा र विदा सुविधाको बारेमा संस्थागत भनिने निजी स्कूलका शिक्षकहरू आज पनि बोल्न सक्ने अवस्थामा छैनन् । सञ्चालकको सुनियोजित शोषण प्रणाली र राज्यको निकम्मापन यसको प्रमुख कारण हो । जब आफ्नो अन्तिम अभिभावक राज्य नै निरीह हुन्छ, तब परिवेश जतिसुकै प्रतिकूल भए पनि चूपचाप बस्नु बाहेक निजी स्कूलका शिक्षकसँग अर्को विकल्प पनि छैन । त्यही बाध्यताको सावाँ–ब्याज एकमुष्ट उठाएर विद्यालय सञ्चालकले आफ्ना कम्पनीको उद्देश्यअनुसार शैक्षिक व्यापार चलाइरहेका छन् ।

निजी स्कूलका शिक्षकका दुई वर्ग छन्— सञ्चालक शिक्षक र श्रमजीवी शिक्षक । सञ्चालक शिक्षक आफैंले तोकेर आकर्षक तलब सुविधा लिन्छन् र स्कूलमा गरेको लगानीबाट मुनाफा पनि कमाउँछन् । तर श्रमजीवी शिक्षक भने नियुक्तिपत्रविहीन अवस्थामा पेशागत अस्तित्व समेत गुमाएर ज्यादै न्यून पारिश्रमिकमा पढाइरहेका छन् । उनीहरूमध्येका अधिकांश त शिक्षण पेशामा कार्यरत छन् भन्ने अभिलेखसम्म पनि राज्यका कुनै आधिकारिक निकायमा भेटिंदैन । शिक्षा ऐनका तत्सम्बन्धी प्रावधान निजी या बोर्डिङ स्कूलमा लागू नै हुँदैनन् ।

वर्ग संरचनाका हिसाबले निजी विद्यालयका शिक्षकहरू तीन दर्जाका देखिन्छन् । पहिलो दर्जामा लगानीकर्ता÷प्राचार्य वा अन्य सञ्चालक शिक्षकहरू, दोस्रोमा तिनका नातेदारहरू, तेस्रोमा हामी जस्ता बहस र सौदाबाजी गरेर आत्मसम्मान खोज्ने कामदार शिक्षक । चौथो वर्गमा निरीह बनाएर राखिएका सौदाबाजीमा कमजोर शिक्षक जसमा महिला शिक्षकको संख्या अत्यधिक छ । उनीहरूभन्दा पनि नाजुक अवस्थाका, पछि जागिर पाइने आशामा खाजाखर्च मात्र लिएर पढाइरहेका स्वयंसेवी शिक्षक र विद्यालय कर्मचारीहरूको स्तर त्यसपछिको दर्जाविहीन संरचनामा पर्छ ।

अपवाद छाडेर; नेपालका निजी विद्यालयले शिक्षकलाई नेपाल सरकारले तोके सरहको तलब स्केल दिएका छैनन् । ‘दिएका छौं’ भन्नेहरूमध्ये कतिले आफैं लगानीकर्ता भएका कारण आफ्नो पारिश्रमिक त्यसरी लिएका छन्, तर कामदार शिक्षकलाई दिएका छैनन् । कि त उनीहरूले आफ्नो परिवारका सदस्य र नातेदारलाई शिक्षकमा नियुक्त गरेर तिनीहरूलाई तजबिज अनुसारको तलब सुविधा बाँडेका छन् । विद्यार्थी र अभिभावकले पनि लगानीकर्ता शिक्षकलाई विद्यालयको मालिक र कामदार शिक्षकलाई त्यहाँका कारिन्दा ठानेर विभेदपूर्ण व्यवहार गर्दछन् । उनीहरूमध्येका अधिकांशले निजी विद्यालयलाई सामान उत्पादन गर्ने कम्पनी र आफूलाई त्यहाँको उपभोक्ताको जस्तो भूमिकामा चिनेका छन् । लगानीकर्ताहरूले विद्यार्थी र शिक्षकका राजनीतिक संगठनहरूलाई चन्दा दिएर रिझउने, आफ्नो स्वार्थ सिद्ध गर्न हुलमुलमा उक्साउने र राजनीतिक फाइदाका लागि दुरुपयोग समेत गर्ने गरेका छन् ।

दशौं वर्ष पढाएका शिक्षकहरूको समेत शिक्षा कार्यालयमा देखाउनुपर्ने कागजातमा एउटा र वास्तविकतामा अर्को तलब सुविधा उल्लेख हुनु यहाँ ठूलो आश्चर्यको विषय होइन । शैक्षिक योग्यताको प्रमाणपत्र हातमा लिई बेरोजगार बसेका युवालाई स्वयंसेवी शिक्षकको नाममा खाजा खर्च मात्र दिएर अन्य शिक्षक सरह काम लगाएर मुनाफा कमाउने निजी विद्यालयहरू पनि जताततै भेटिन्छन् । एक विद्यालय छाडेर अर्कोमा जाने शिक्षकको बाँकी तलबभत्ता महीनौंसम्म रोकिराख्ने, नदिने या लिनको लागि प्रयत्न गर्दा तल्लोस्तरको गालीगलौज खेप्नुपर्ने र अन्तमा आन्दोलनको स्थितिसम्म पुग्नुपर्ने कामदार शिक्षकको नियति धेरै स्कूलहरूमा दोहोरिइरहेको हुन्छ ।

पेशागत अस्तित्व र अर्थोपार्जनको स्रोत गुम्ने डरमा बाँचेका निजी स्कूलका शिक्षकको निम्ति विद्यालयका मालिक या प्रशासकहरूबाट प्राप्त निर्देशन नै सर्वोपरि मान्नुपर्ने बाध्यता हुन्छ । उनीहरूलाई विद्यालयभित्रै पनि कक्षाकोठामा विद्यार्थीका सामु उभिंदा बाहेक अन्यत्र कतै पनि ‘शिक्षक हुँ’ भन्ने अनुभूति हुँदैन । यावत् प्रतिकूलताका बावजूद शिक्षक जस्तो भएर उभिनुपर्दाको चरम दबाब र हीनताबोध उनीहरूको अनुहारमा पनि राम्ररी प्रकट हुन पाउँदैन । त्यस्ता अधिकांश शिक्षक जागिर गुम्ने डर, अनाहकमा प्राचार्यको गाली खाइने भय र पाइरहेको तलब सुविधा पनि कटौती हुनसक्ने त्रासले गर्दा बोल्न डराउँछन् । देशमा लोकतान्त्रिक संविधान लागू भएको भए पनि निजी विद्यालय सञ्चालकको व्यावसायिक स्वार्थ र प्राचार्य एवं प्रशासनिक समूहको यान्त्रिक परिचालनका कारण निरीह बनेका शिक्षकहरू कुनै कारखानामा जडित औजार झैं यन्त्रवत् चलिरहन बाध्य छन् । जे जे भोग्नुपर्छ त्यो चूपचाप सहनु सिवाय आफ्ना लागि विवेकको प्रयोग गर्न पाउने ठाउँ उनीहरूसँग छैन ।

विवेकसम्मत विचार राख्दा आयातित र भद्दा तर्कले तिरस्कारपूर्वक प्रतिकार गरेर कामदार शिक्षकलाई अपमानित गर्ने संस्कारलाई निजी विद्यालयका अधिकांश सञ्चालकहरूले आफ्नो बलियो हतियार बनाएका छन् । अघिपछि उनीहरूका कुतर्क पनि स्वीकार गर्ने र घण्टी बजेपछि खुरुखुरु कक्षामा छिरेर पढाइदिने, स्वविवेक निलम्बन गरेर जे अह्राउँदा पनि बहसै नगरी ‘हस्’ भन्ने जडवत् शिक्षक विद्यालय प्रशासनको लागि सधैं ‘फिट’ मानिन्छन् । विद्यार्थी भर्नाको समयमा गोटा गनेर विद्यार्थी खोज्नुपर्ने जिम्मेवारी शिक्षकको काँधमा लादिन्छ । यो खेल यति घटिया छ कि व्यावसायिक रूपमा प्रतिस्पर्धी अन्य विद्यालयबाट निश्चित संख्यामा विद्यार्थी बोकेर दलाली गरे वापत माथिल्लो तहमा शिक्षण गर्ने अवसर र थप तलब सुविधाको ‘अफर’ दिएर शिक्षकको बौद्धिकतालाई बजारिया वस्तु तुल्य सावित गरिन्छ । पेशागत मर्यादा, निष्ठा, विवेक, अनुशासन र सदाचारको परिधिमा बस्न चाहने शिक्षित युवाको निम्ति योभन्दा चर्को हीनताबोधको विषय अरू के हुन सक्छ ?

कतिपय विद्यालयमा सञ्चालकका स्वार्थसिद्ध गर्न तयार नहुने कामदार शिक्षकलाई माथिल्लो तहमा पढाउने योग्यता र क्षमता हुँदाहुँदै शिक्षण गर्ने तह र तलब सुविधा समेत घटुवा गरी अपमानित गर्नु, तल्लो तहको तलब सुविधा दिएर माथिल्लो तहमा पढाउन लगाउनु, समयमा तलब नपठाएर प्रताडित गर्नु आदि निजी विद्यालयका प्राचार्य तथा सञ्चालकका सजिला यत्न हुन् । आफ्नो शैक्षिक प्रमाणपत्रको भारले थिचिएका कतिपय शिक्षित युवा समाजमा अबौद्धिक ठानिने भयले शारीरिक श्रम गर्न संकोच लागेर मात्र निजी विद्यालयको शिक्षक बनेर बसेका छन् । समाजले के भन्ला भन्ने भय नहुँदो हो त उनीहरू यो पेशा छाडेर निष्फिक्रीसँग देशभित्रै शारीरिक श्रम गर्नमा आत्मसम्मान महसूस गर्दथे । यो कुरा मैले भावनामा बहकिएर वा निजी विद्यालय व्यवसायीहरूलाई लाञ्छित गर्नका लागि भनेको होइन, मेरो आफ्नै अनुभव र अनुभूतिको यथार्थ अभिव्यक्ति हो ।

लैंगिक विभेद
निजी विद्यालयका महिला शिक्षकहरूमा शोषण र दबाब अझ् चर्को छ । उही तहमा काम गर्दा पनि पुरूष शिक्षकभन्दा कम तलबमा काम गर्नुपर्ने उनीहरूको बाध्यता छ । महिला शिक्षकहरूलाई प्रायः पूर्वप्राथमिक वा प्राथमिक तहमै सीमित गरिन्छ । निमावि या मावि तहमा विज्ञान वा गणित विषय पढाउने महिला शिक्षकको संख्या नगण्य नै छ । धेरैले गर्भवती हुँदा पाउनुपर्ने कानून बमोजिमको प्रसूति विदा लगायतका सुविधा समेत पाउन सक्दैनन् । यस्ता विषय उठाएर विद्यालय प्रशासनसँग सवाल जवाफ गर्दा जागिरबाट विस्थापनसम्मको जोखिम व्यहोर्नुपर्ने कारण उनीहरू चूपचाप पढाइरहेका हुन्छन् । विद्यालयका छलफल, बैठक जस्ता अवसरमा महिला शिक्षकहरूको आवाज कमै सुनिन्छ । आफूले जायज कुरा राखे पनि विद्यालय सञ्चालकहरूको नजरमा त्यो नाजायज ठहरिएमा त्यसबाट आफैंलाई समस्या सिर्जना हुनसक्ने वा सबैका सामु प्रताडित हुनुपर्ने ठानी महिला शिक्षकहरू आफ्नो बोलीमा आफैं नियन्त्रण गरेर बस्न बाध्य हुन्छन् ।

पेशागत संगठन र सवाल
बोर्डिङ स्कूलमा कार्यरत कामदार शिक्षकको हित गर्ने उद्देश्यले संस्थागत विद्यालय शिक्षक युनियन नेपाल (इस्टु, नेपाल) दर्ता भई अस्तित्वमा रहेको छ । विगतमा कानूनी विवादमा मुछिएर इस्टु नेपाल  नेपाल इस्टु  गरी दुई खेमामा टुक्रिएको यो संगठन हालैको अधिवेशनबाट पुनः एकीकृत भएको छ । तथापि, यस संस्थाका पनि आफ्नै सीमाहरू छन् । चितवन, झापा, ललितपुर, हेटौंडा, कैलाली, सुनसरी लगायतका केही जिल्लामा संगठनको बलियो उपस्थिति विगतमा देखिएको भएतापनि हाल यसको संस्थागत ऊर्जा सुस्ताएको र संगठनकर्मी शिक्षक समेत अन्य पेशामा पलायन भएको अवस्था छ ।

विद्यालय सञ्चालक र प्रशासकहरूको वर्चश्वको असर ‘इस्टु’ मा पनि परेको देखिन्छ । सम्भवतः त्यसैकारण कामदार शिक्षकको सांगठनिक हित र पेशागत सवालमा यो संगठन निष्क्रिय नै देखिन्छ । सरकारी विद्यालयका शिक्षक कर्मचारीको तलब वृद्धि हुँदा ‘इस्टु’ ले आन्दोलन उठाउने गरेको विगतमा देख्न सकिन्थ्यो । तर अन्ततोगत्वा त्यस्ता आन्दोलनहरू अभिभावकसँग शुल्क बढाएर लिने विद्यालय सञ्चालकको स्वार्थपूर्तिको सजिलो निहुँ मात्र सिद्ध हुने गरेका थिए ।

विभिन्न राजनीतिक दलसँग आवद्ध शिक्षक संगठनहरूले निजी विद्यालयका शिक्षकलाई ‘शिक्षक’ समेत नमानेको स्थिति र पेशागत संगठनको कमजोर अवस्थाको मूल्याङ्कन गरेर बरू सीधै पार्टीगत संगठनमा सामेल हुन रुचाउने प्रवृत्ति पनि देखिन्छ । निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन र एनप्याब्सन आर्थिक एवम् राजनीतिक रूपमा शक्तिशाली हुनु र पेशागत माग राख्ने शिक्षकमाथि घोषित/अघोषित रूपमा प्रहार गरिनु, राज्यका निकाय ‘डमी’ मात्र देखिनु र नियामक निकायहरू पैसाको लोभमा बिक्नुले कामदार शिक्षकको सांगठनिक अस्तित्व समाप्तप्रायः हुने विन्दुमा पुगेको म देख्दछु ।

शिक्षण पेशामा रहँदा संस्थागत विद्यालय शिक्षक युनियनको इकाई, इलाका एवं जिल्ला कार्यसमितिमा रहेर देखेभोगेको परिदृश्य सम्झ्ँदा पेशागत संगठनको निर्माण, विकास र बहसमा आम कामदार शिक्षकहरूको सामथ्र्य अपुग भएको मेरो निष्कर्ष छ । वर्ग विभेदको पीडाबाट मुक्त हुन आफू कार्यरत निजी विद्यालयको आंशिक शेयर किनेर सञ्चालक शिक्षक बन्ने अभ्यास पनि प्रचलनमा छ । मैले एउटा विद्यालयमा केही समय त्यसरी पनि आत्मसम्मान खोज्ने अभ्यास गरेको थिएँ तर समाधानको सही उपाय त्यो पनि होइन रहेछ । पछि सञ्चालक बन्न आइपुगेका शिक्षकहरूले संस्थापन पक्षबाट झ्न् बढी दबाब, उपेक्षा, छलकपट र सामन्ती संस्कारको शिकार हुनुपर्दो रहेछ ।

खाडीमा आत्मसम्मानको खोजी
निजी विद्यालयको कामदार शिक्षक भएर बिताएको साढे नौ वर्ष र साउदी अरबमा विदेशी श्रमिक हुँदाको चार वर्षबीच तुलना गर्दा म विदेशी भूमिमा बगाएको पसिना नै मूल्यवान र आत्मसम्मानयुक्त पाउँछु । मैले त्यहाँ आफू जस्ता धेरै पूर्व शिक्षकहरू पनि भेटें । संयोगले उनीहरूमध्येका अधिकांश व्यक्ति निजी विद्यालयमा गरिरहेको शिक्षण पेशा छाडेर खाडी गएकाहरू थिए । उनीहरू सबैको आत्मसम्मान रित्तिएको विगत र अपमानबोध सिद्धिएको वर्तमान पनि मसँगै मिल्दोजुल्दो पाएँ । किनभने खाडी देशहरूमा श्रमिकको अनुशासन र लगावसँगै श्रमदातामा इमानदारी र बौद्धिकताको कदर गर्ने गुण भरिपूर्ण छ, जुन विशेषता नै त्यहाँको समृद्धिको स्रोत पनि हो । आफ्नै सहकर्मी शिक्षकलाई गधालाई झैं काममा दलाएर दुहेको पसिना बजारमा बेच्न पल्केका विद्यालय व्यवसायीहरूले यो रहस्य कहिले बुझलान् ! 


तलब सुविधा राम्रो थियो, तर सम्मान थिएन !
निकै नाम कहलिएको एक निजी विद्यालयमा सहायक प्रिन्सिपलको विज्ञापन खुलेको थियो । आवेदन दिएँ र प्रतिस्पर्धाबाट छानिएँ पनि । ठूलो स्कूलमा छनोट हुँदा निकै खुशी र उत्साहित थिएँ ।

तर नियुक्तिको केही दिनपछि नै मलाई असफल बनाउन त्यहाँ फोहोरी खेल शुरू भयो । एक जना पुराना शिक्षक आफैं सहायक प्रिन्सिपल हुन चाहेका रहेछन् । व्यवस्थापनले विना प्रतिस्पर्धा उनलाई सहायक प्रअ दिनुपथ्र्यो भन्ने उनको मनसाय रहेछ । त्यसो नहुँदाको रिस ममाथि पोख्न उनी हरदम मौका कुरेर बस्थे ।
ती शिक्षकले आफैं र शिक्षकलाई उचालेर समेत मेरो विरुद्ध प्रिन्सिपलको कान भर्न थाले । प्रिन्सिपलले पनि ‘तिमीले यसो गर्‍यौ रे नि, यसौ भन्यौ रे नि’ भनेर सबैका अगाडि गाली गर्न थाले । मैले कैले यस्तो भनें भनेर सोच्न नपाउँदै अर्को आरोप अनि प्रश्नहरू तेस्र्याउँथे । म अकमक्क पर्थें ।

तर कहिलेसम्म स्पष्टीकरण दिंदै बस्नु ? साह्रै अपमानित भएको महसूस गर्न थालें । मलाई छटपटी हुन्थ्यो । कहिले म बेस्सरी रुन्थें । मलाई प्रतिस्पर्धाबाट सबभन्दा काबिल भनेर छान्ने प्रिन्सिपलले किन अरूको मात्र कुरा सुनेको होला ? मेरो विश्वास किन नगरेको होला ? यी प्रश्नले पोलिरहन्थ्यो । उनले सही र गलत के हो भनेर केलाउन किन नखोजेको होला ? निजी स्कूल भए पनि म उनको स्कूल राम्रो बनाउन प्रयासरत थिएँ । मलाई पनि आफूलाई प्रमाणित गरेर देखाउनुथियो नि ! तर मोकै पाइनँ ।

त्यहाँ मेरो पोष्ट र तलब दुवै राम्रो थियो । तर सम्मान चाहिं पटक्कै थिएन । आत्मसम्मान नै भएन भने अरू सारा कुराको के अर्थ ? तर सँगै जागिरको पनि चिन्ता थियो । धेरै बहस गरुँ, जागिर जाला भन्ने डर । प्रिन्सिपलले कहिलेकाहीं व्यक्तिगत काम समेत लगाउँथे । ‘आफ्नो’ सम्झेर लगाएको हो कि, आफूले जागिर दिएपछि लगाउन हुन्छ भनेर लगाएको हो कि बुझनै सक्दिनथें । त्यस्ता काम गर्नु पर्दा अभिभावकले देखे भने के भन्लान् भन्ने लागिरहन्थ्यो ।

यस्तो वातावरणमा काम गर्दा म दिनदिनै मानसिक तनावमा गएँ । भुइँचालो आएको वर्ष थियो । मेरो जीवनमा पनि भुइँचालो गइरहेको थियो । मैले आफ्नो क्षमता अनुसार केही गर्न सकिरहेकी थिइनँ । व्यवस्थापनबाट मैले त्यो वातावरण नै पाइनँ । प्रिन्सिपलको अन्यायी व्यवहारले म भित्रभित्रै पिल्सिरहेकी थिएँ । आत्मविश्वास डगमगाउँदै थियो । म अब कहिल्यै पनि सहायक प्रधानाध्यापक वा प्रधानाध्यापक बन्न सक्दिनँ कि जस्तो लाग्न थालेको थियो । तनावका चाङ थपिंदै थिए । बिरामी नै हुन्छु कि जस्तो लाग्न थाल्यो ।

एक दिन मनका सबै दुःख श्रीमान्लाई सुनाएँ । उहाँसँग घ्वाँ घ्वाँ रोएँ । उहाँलै तुरुन्तै स्कूल छोड्न लगाउनुभयो । नौ महीनामै जागिर छोडें । त्यसपछि पनि सन्चो नभएपछि डाक्टरकहाँ गएँ । मलाई ‘एन्जाइटी अट्याक’ भएको रहेछ !

परिचय खुलाउन असमर्थ यी अमूक महिला शिक्षकले हामीलाई सुनाएको वृत्तान्तबाट
प्रस्तुतिः रोश्ना


 

commercial commercial commercial commercial