आख्यान पढेर असल भइन्छ ?
आख्यान पठनका कम्तीमा तीन फाइदा छन्– पात्रको आन्तरिक संसारमा प्रवेश पाउनु, पढिएका पात्रप्रतिको अविश्वास त्यागेर खुला हुन सक्नु र कसैको कैयौं वर्षको जीवन भोगाइ एकै समयमा नियाल्न पाउनु ।
- क्लाउडिया ह्यामन्ड
अमेरिकी बजारमा हरेक दिन १८ लाख पुस्तक बिक्री हुन्छन्, बेलायतमा पाँच लाख जति । पुस्तक खपतको यो आँकडाले आजभोलि फुर्सद काट्ने अनेकौं सजिला बहाना उपलब्ध भए पनि किताब पढ्ने मानिसको संख्या नघटेको जनाउ दिन्छ । यो स्वाभाविकै पनि हो, किनभने जीवन जगत बुझनका लागि ज्ञानको सजिलो मुहान नै किताब हो । शब्दभण्डार बढाउन, लेख्ने कला सपार्न र सोच्ने तरिका बदल्न पनि किताबी ज्ञानले सघाइरहेकै हुन्छ । तर प्रश्न उठ्छ— आख्यान अर्थात् कथा, उपन्यास आदिको पढाइले व्यक्तिलाई योग्य र असल सघाउँछ त ? हो, आख्यानको महिमा अपार छ । मानिसलाई उपकारी बनाउन मात्र होइन, अरूको हानि गर्ने बानी त्याग्न र सामाजिक हिंसा घटाउन पनि यस्ता पुस्तक पढ्ने संस्कृतिले प्रोत्साहन गरेको अनुसन्धानहरूले देखाएका छन् ।
दार्शनिक अरस्तुका अनुसार कुनै वियोगान्त घटनाको साक्षी बनेपछि मानिसमा मुख्यतः दुईथरी संवेदना देखा पर्छन्, दया र भय । दया वियोग व्यहोर्ने व्यक्तिका लागि पलाउँछ भने भयले आफैंलाई तर्साउँछ । यी दुई संवेदनाले हामीलाई तत्काल भूत र भविष्यत् कालमा पुर्याउँछन् । वियोगान्त दृश्य हेर्दाहेर्दै भूतकालतिर फर्केर त्यस्तै घटनामा आफूले जनाएको प्रतिक्रिया र भविष्यतर्फ सोचेर त्यस्तो परिआएमा आफूले अपनाउने विकल्पसँग वर्तमान पात्रका गतिविधिलाई तुलना गर्न थाल्छौं ।
यो प्रसंगलाई हामी आख्यान पढ्ने पाठकको चरित्रसँग जोड्दैछौं । त्यसरी, अरूको क्रियामा आफ्नो सोच मिसाउने भूमिका अरूलाई आफैंभित्र घोलेर बुझने बलियो अभ्यास हो । क्यानडाका व्यवहारवादी मनोवैज्ञानिक किथ ओट्लीले पाठकलाई पात्र चिनाउने यस्तै योगदानका कारण आख्यानलाई ‘दिमागी उडानको सारथि’ भनेका छन् । उनको दृष्टान्त अनुसार विमानचालकले जमीनमै बसेर दिमागमा विमान उडाउने अभ्यास गरेजस्तै उपन्यास र कथाका प्रत्येक पाना पल्टाउँदा भेटिने पात्रहरूको जीवनबाट पाठकले सामाजिक व्यवहारका अनेकौं सीप सिकिरहेका हुन्छन् । केट्लीले आख्यान पढ्दापढ्दैका पाठक आफूभन्दा ज्यादा सम्बन्धित आख्यानकै पात्र भएर सोच्ने र बाँच्ने गरेको पाएका थिए ।
केट्लीका अनुसार मानव मस्तिष्कले कुनै पढिरहेको कथ्य र वास्तविक जीवनको तथ्य घटनामा एकै प्रकारको सक्रियता देखाउँछ । उदाहरणको लागि कथाको पात्रले ‘लात हानेको’ प्रसंग पढ्दा र आफ्नो शरीरले कसैलाई लात हान्दा मस्तिष्कको एउटै क्षेत्र सक्रिय हुने गर्दछ । ‘दिमागी सिद्धान्त’ (Theory of Mind) को विशेषता नै यस्तै छ । तसर्थ अरू व्यक्तिसँग समानुभूति (Empathy) राख्न सिकाउने कथा र उपन्यासहरूको पठन अभ्यासले त्यस्ता पाठकलाई गैरआख्यान पढ्ने वा पढ्दै नपढ्ने व्यक्ति भन्दा बढी व्यवहार कुशल बनाउँछ ।
प्रिन्स्टन विश्वविद्यालयको सामाजिक न्युरोविज्ञान प्रयोगशालाकी मनोवैज्ञानिक डायना टामिरको अन्वेषणले आख्यानका पाठकहरूलाई अरू मानिसप्रति बढी नै दयालु देखायो । असहमतहरूले प्र्रश्न उठाउन सक्छन्, ‘त्यसो भए संसारका दानी मानिस जति सबै आख्यान पढेरै दयालु बनेका हुन त ?’
निश्चय पनि त्यस्तो दाबी गर्नु मूर्खतापूर्ण हुन्छ । बरु यसो चाहिं भन्न सकिएला— वास्तविक जीवनका दयालु मानिसले नै अरूको जीवन र भोगाइप्रति चासो राख्दछन् । त्यसले उनीहरूमा समाजका अनेक पात्रको जीवनलाई नजिकबाट नियाल्नका लागि आख्यान पढ्ने रुचि जगाउँछ । पढिसकेपछि उत्पन्न सहानुभूतिको कारण उनीहरू अरूका दुःखमा मिसिन पुग्छन् ।
यद्यपि यस्ता विषयमा अनुसन्धान गर्ने काम सजिलो छैन । साँच्चै आदर्श अध्ययनले त्यसमा समेटिने मानिसहरूको तटस्थ छनोट गरी तिनीहरूमध्येका कतिपयलाई आख्यानका अनगिन्ती किताब पढ्न लगाउनुपर्छ भने बाँकीलाई कैयौं वर्षसम्म पढ्न नदिई दुवै समूहको व्यवहार अनुगमन गर्नुपर्ने हुन्छ । वस्तुनिष्ठ नतिजा निकाल्न सहभागी सबैको मस्तिष्कमा कुन संवेदनाको तह के कति छ त्यो पनि नापेर आख्यान पढेका र नपढेकामा देखिएको फरकलाई अंकन गर्नुपर्छ ।
समय, स्रोत र श्रमको सीमाले अनुमति नदिने त्यस्ता अनुसन्धानको विकल्पमा नेदरल्याण्डका शोधकर्ताहरूले सानो समूहमा गरेजस्तो अल्पकालीन अध्ययन उपयोगी हुनसक्छ । उनीहरूले केही विद्यार्थीलाई ग्रीसमा चलेको संघर्ष र आफ्नै देशको स्वतन्त्रता दिवसबारे अखबारमा छापिएको लेख पढ्न दिए । बाँकीलाई नोबेल पुरस्कार विजेता साहित्यकार जोसे सरामागोको उपन्यास ‘ब्लाइन्ड्नेस’ को पहिलो परिच्छेद पढ्न लगाए । अखबार पढ्नेहरू भन्दा उपन्यासको अंश पढ्नेहरूको अरू मानिससँगको समानुभूतिको स्तर तत्कालका लागि मात्र बढेन, वृद्धि हुँदै गएर एक हप्तापछि त पहिले भन्दा पनि माथि पुगेको देखियो ।
आख्यानको पढाइले मात्र मानिसलाई असल बनाउँछ भन्ने होइन । अखबारका वास्तविक कथा पढ्दा पनि मानवीय संवेदना जागृत हुन्छ । तर आख्यान पठनका कम्तीमा तीन फाइदा छन्– पात्रको आन्तरिक संसारमा प्रवेश पाउनु, पढिएका पात्रप्रतिको अविश्वास त्यागेर खुला हुन सक्नु र कसैको कैयौं वर्षको जीवन भोगाइ एकै समयमा नियाल्न पाउनु । वास्तविक जीवनमा लामो आयु बाँचेर मात्र पाइने यस्ता उपलब्धि आख्यानले एकै बसाइमा दिने भएपछि भन्नैपर्ने हुन्छ– आख्यानका किताबमा घण्टौं घोत्लिने मौनव्रती पाठक गैरआख्यान मात्र पढेर सबै जान्न खोज्ने बुज्रुक भन्दा गुणी हुन्छ ।
प्रस्तुतिः एकल/स्रोतः बीबीसी हाइलाइट