तालिम र पुरस्कार निराशा हट्यो, हौसला बढ्यो !

सानो छँदा नर्स वा जेटीए बन्ने रहर थियो, नियतिले अन्यत्रै मोड्यो । तर आज शिक्षक भएकोमा खुशी छु । आफैंले पढेको विद्यालयमा आफ्ना गुरुहरूसँग काम गर्ने अवसर प्राप्त गर्दा मैले आफूलाई ज्यादै भाग्यमानी ठानेकी थिएँ ।

१८ वर्षकी हुँदा २०४२ साल भदौ ५ गते हिमालय प्रावि, गुल्मीमा शिक्षक भएर गएँ । त्यसबेला पुसबाट शैक्षिक सत्र शुरू हुन्थ्यो । मैले भदौमा नियुक्ति पाउँदा लगभग ७५ प्रतिशत पढाइ भइसकेको थियो । गुरुहरूले जसोजसो भन्नुहुन्थ्यो त्यसै अनुसार शिक्षण गर्दै थिएँ । ठीक एक वर्षपछि, १० महीने तालिमका लागि छनोट भएँ । पृथ्वीनारायण क्याम्पस, पोखरामा पढ्ने अवसर प्राप्त भयो । त्यहाँ अभ्यास शिक्षणमा गएको बेला कक्षा–४ को विज्ञानको पाठ (पानी छान्ने प्रक्रिया) पढाउँदा बालुवा राख्दै पानी छानेर प्रयोगात्मक तरिकाबाट पढाएको सम्झना अहिले पनि ताजै छ ।

तालिमबाट फर्केपछि २०४५ साल पुस २ गते गुल्मी जिल्लाकै म्यालपोखरी प्रावि, गौडाकोटमा नियुक्त भएँ । गुल्मी जिल्लामै घर भए पनि डेरा गरेर बस्ने पहिलो महिला शिक्षक भएँ । “हाम्रो गाउँमा त मास्टरनी आ’की छिन् रे, धुर्कोटबाट भाडामा बस्ने, हे भगवान् के जमाना आयो !” भन्नुहुन्थ्यो अभिभावकहरू । त्यस्तो सुन्दा मलाई ‘अब मैले झन् केही गर्नुपर्छ’ भन्ने लाग्न थाल्यो । प्रअ पनि डेरा गरेर बसेका हुँदा हामीलाई विद्यालयमा बढी समय दिने अवसर प्राप्त भयो । हातले लेखेर शैक्षिक सामग्री बनाउँथें । छिटो च्यातिन्छ भनेर बर्खामा ओढ्ने प्लाष्टिक लगाएर स्टीच गर्ने गर्थें ।

पछि सरुवा भएर सुर्खेत आएँ । यहाँ ‘जस्तो मादल बज्छ, त्यस्तै नाच्नुपर्छ’ भन्ने भनाइ थियो । सरकारले शिक्षकलाई अरू कर्मचारी सरह समान अधिकार दिएको थिएन । जतिबेला पनि अधिकारको लागि आन्दोलन गर्नुपर्दथ्यो । शिक्षकको हकअधिकार; सेवासुविधा दिन कञ्जुस्याईं गर्ने नीति–निर्माता तथा हामी शिक्षकहरू कार्यालयमा जाँदा वास्ता नगर्ने खरिदार, सुब्बा अनि शिक्षकको काँध चढेर सत्तामा पुगेका नेताले शिक्षामा छुट्याएको बजेट आदि सबै कुरा सम्झदा आफ्नो पेशादेखि निराशा पैदा हुन्थ्यो । तर उता छिमेकी देश भारतको आसामको गुवाहटीमा जागिर खाने मेरो बुवालाई ‘टिचर बेटीका बाप’ भनी सम्मान गरेछन् । देशमा शिक्षकको सम्मान नभए पनि मेरो पेशाको कारणले बुवा भारतमा सम्मानित हुनुभएको खबरले ममा फेरि यो पेशाप्रति आशा र सन्तुष्टि पैदा हुन थाल्यो । मैले अझै केही गर्नुपर्छ भन्ने हौसला फेरि जाग्यो ।

यसै क्रममा २०६५ साल असारमा मेरो श्रीमान् बिरामी भएर वीर अस्पताल, काठमाडौंमा ६५ दिन बस्ने क्रममा शिक्षक मासिक पत्रिका पढ्ने अवसर प्राप्त भयो । यो पत्रिकाले मेरो पेशाप्रति मलाई थप प्रेरित गर्न थाल्यो । तालिम पनि कहिले पाँच दिने, कहिले दश दिने गर्दै पुनर्ताजगीकरण हुँदै गयो । पहिला केही नभेटिने शैक्षिक सामग्रीहरू पनि कक्षाकोठामा भेटिंदै गए ।

२०७१ सालमा ३५औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा शिक्षा दिवस पदक र प्रमाणपत्र प्राप्त भएपछि ‘कर्मको फल’ मिल्यो भनेर म निकै हौसिएँ । पढाउने क्रममा थप मिहिनेत गर्न मन लाग्न थाल्यो । गीतको माध्यम, शैक्षिक सामग्रीको प्रयोग गर्दै अझै नयाँ ढंगबाट पठनपाठन गर्न थालें । बच्चाहरू पनि नियमित विद्यालय आउन र रमाउन थाले ।

२०४० सालको एसएलसीपछि मैले २०५३ सालमा आईएड गरें । २०६६ सालमा बीएड गर्दै शैक्षिक योग्यता बढाउँदै गएकी थिएँ । अब जागिर छोडौं कि नछोडौं भन्ने दोधारमा हुँदाहुँदै २०७५ सालको कुनै महीनाको शिक्षक  मासिकमा छापिएको पीपी प्रसाई फाउन्डेसनको विज्ञापनमा आँखा पर्‍यो । म पनि सो प्रतिस्पर्धामा सहभागी भएँ । नभन्दै कर्णाली प्रदेशका सहभागीमध्येबाट ‘उत्कृष्ट शिक्षक’ छनोट भएँ र पुरस्कार पनि पाएँ । यसबाट शिक्षकप्रति सरकारले गरेको भेदभावलाई बिर्सेर आफ्नो पेशाप्रति उत्तरदायी हुन अझै हौसला मिल्यो ।

राष्ट्रिय प्रारम्भिक पढाइ कार्यक्रम (NEGRP) परीक्षणको रूपमा लागू भएका १६ वटा जिल्लामध्ये सुर्खेत जिल्ला पनि परेको छ । म कक्षा–१ को कक्षा शिक्षक भएकोले यो कार्यक्रम मेरा लागि सुनमा सुगन्ध भएको छ । कक्षा १–३ को पढाइ सीप विकासको लागि पढाइको तत्व— सुनाइ, बोलाइ, पढाइ, लेखाइलाई ध्वनि सचेतीकरण, लेख्य वर्ण सचेतीकरण, पठन प्रवाह, शब्द भण्डार, पठन बोध र लेखाइ गरेर ६ वटा तत्वमा आधारित भई विद्यार्थीमा पठन सीपको विकास गराउनु कार्यक्रमको उद्देश्य हो । एनईजीआरपीले नै दिएका शैक्षिक सामग्रीहरू वर्ण पत्ती, शब्द पत्ती, झयाले पत्ती, शब्द चित्रपत्ती, शब्द र वाक्य निर्माणको पिन ह्विल चार्ट जस्ता प्रशस्तै सामग्रीहरू तथा सन्दर्भ पुस्तकले पढाइलाई दिगो बनाउन सहयोग पुगेको छ ।

म पहिलेदेखि नै अभिभावकसँग सम्बन्ध र सम्पर्क बढाउनुपर्छ भन्ने शिक्षक भएकी हुँदा ‘एनईजीआरपी’ कार्यक्रमले शिक्षक र अभिभावकसँगको सम्पर्क झ्न् बढाएको छ । समय–समयमा अभिभावकको भेला र पढाइको समीक्षा गर्दा कक्षा १–३ का विद्यार्थीको पढाइमा पनि सुधार आएको छ । कार्यक्रमका बेला दिइएको पढाइमा सूचनाप्रविधिको प्रयोग सम्बन्धी तालिमले ऊर्जा थपेको छ । कक्षाकोठामा प्रयोग गर्नका लागि विभिन्न सामग्री हेर्ने बानी बसेको छ । सूचनाप्रविधिको जमानामा प्रविधि नजानेर राजीनामा दिनुपर्ने अवस्थामा तालिमले सिक्ने अवसर दिएको छ । यसरी विभिन्न तालिम अनि पुरस्कारले मलाई हौसला दिएका छन् । शिक्षण पेशामा पैदा हुने निराशा हटाउन सघाएका छन् । त्यसैले मैले प्राप्त गरेका तालिम र पुरस्कारलाई म सदा सम्मान गर्नेछु ।
अन्त्यमा अंक पढाउने बालगीत प्रस्तुत गर्दै विदा चाहन्छु:

मैले लेख्छु एक, तिमीले लौरो टेक !
एक पछि दुई, झेला बोक बुई !
अब पालो तीन, कापी कलम किन !
तीन पछि चार, राम्रा अक्षर सार !
अब पालो पाँच, कम्मर भाँची नाच !
पाँच पछि छ, लेख्न सिक ल !
अब पालो सात, धुनुपर्छ हात !
सात पछि आठ, किताबको खात !
ठूलो अंक नौ, हात मुख धोऊ !

खाजा खान जाऊ ! !

श्री नेरा आभूवि, वीरेन्द्र नपा–५, चिसापानी, सुर्खेत

commercial commercial commercial commercial