शिक्षक बन्ने मेरो रहर !

मेरा श्रीमान् २५औं वर्षदेखि अध्यापनमै हुनुहुन्छ। बुबा सेवानिवृत्ता शिक्षक हुनुहुन्छ। दाजुभाउजू, दिदीबहिनी, जेठाजू, जेठानीदिदी, भतिजाहरू— सबै शिक्षण पेशामा नै छौं। र, मैले पनि शिक्षण बाहेक कुनै पेशाको कल्पना गरिनँ ।

दिदीले ‘छिटो हिंड्, ढिला भयो’ भन्दै हातमा समातेर स्कूल लैजानुहुन्थ्यो । दिदीको झेला किताब र फलफूलले भरिएको हुन्थ्यो । स्कूल टाढा थियो । बिहान १० बजे स्याँस्याँ गर्दै पसिनासरी हामी प्रार्थना लाइनमा पुगेर राष्ट्रिय गान गाउँथ्यौं । त्यसपछि ठेलाठेल गर्दै कक्षाकोठामा पुगिन्थ्यो । बाटोको थकान, चर्को घाम र गाह्रो झोला; पसिनासरी भए पनि कक्षा सफा गर्ने होड चल्थ्यो । कक्षाको भुइँमा डुङ्डुङ्ती धूलो । हरेक शुक्रवार चाहिं गोबर ल्याएर लिपपोत गरिन्थ्यो । कक्षाकोठा सफा देख्दा कस्तो आनन्द ! बस्नको लागि अँध्यारो अँध्यारो लाग्ने कोेठामा काठका छोटा–छोटा फलेक हुन्थे । अगाडि एक–दुई वटा राम्रा बेन्च पनि । राम्रा बेन्चमा बस्नको लागि होड चल्थ्यो । आफ्नो ठाउँ सुरक्षित गर्न छिटो स्कूल आएर किताबहरू राखिन्थ्यो ।

प्रार्थनाको केहीबेरपछि शिक्षक सानो छडी, हाजिरी खाता अनि चक बोकेर आउनुहुन्थ्यो । हामी भने कुन सर आउनुहुन्छ भन्दै हेथ्र्यौं । सरहरू ‘मन पर्ने’ र ‘मन नपर्ने’ दुवैखाले हुनुहुन्थ्यो । हामी त जिस्किने, गफ गर्ने, हामीलाई माया गर्ने, नपिट्ने सरकै पर्खाइमा हुन्थ्यौं । अहिले पनि मलाई केही शिक्षकको याद आइरहन्छ ।
त्यसवेला अहिले जस्ता रङ्गीन चित्र भएका पुस्तक कहाँ देख्न पाउनु ? कपुरी क, खरायो ख भन्दै रटियो, कण्ठ गरेर पाठ बुझाइयो, नत्र पिटाइ खाइन्थ्यो । डरै डरमा पढिएछ । कक्षा–२ मा पढ्दाको एउटा घटना याद आउँछ । शिक्षक सानो छडी र चक बोकेर कक्षामा प्रवेश गर्नुभयो । हामीले तितेपातीले बोर्ड मेटेर तयार पारेका थियौं । उहाँ हामीतिर फर्कनुभयो । हामी बेन्चमा नअटेर ठेलमठेल गर्दै थियौं । होहल्ला बीच पोल लगाउनेको संख्या निकै थियो । ‘चुप लाग्, अहिले तँलाई, तेरो नि तेरो’ भन्दै गाली गर्नुभयो । कक्षा शान्त भएपछि ‘किताब निकाल, आज हामी घरपालुवा जनावर कुकुरको पाठ पढ्छौं’ भन्नुभयो । कुकुर शब्द सुन्ने बित्तिकै म हाम्रो गाउँको काले कुकुर र टिके कुकुर सम्झन थालिसकेकी थिएँ— बाँदर रुङ्ने ठाउँमा कुकुरलाई बाँधेर राखेको, अनि एकैछिन छोडेपछि कुदेर बाँसघारीमा गएर त्यो कुकुरले दिसा खाएको । प्रायः सबै साथीहरूले गाउँका त्यस्तै कुकुर देखेका थिए ।

सर पढाउन लाग्नुभयो— ‘कुकुर घरपालुवा जनावर हो । यो घरको पहरेदार र रक्षक पनि हो । हामीले तिहारमा कुकुरको पूजा गर्नुपर्छ । यसले भात खान्छ । खोले खान्छ । मासु खान्छ’ आदि आदि । पढाइ सकेर सरले सामूहिक प्रश्न गर्नुभयो— ‘लौ भन त कुकुरले के खान्छ ?’ हामीले उच्च स्वरमा ‘गुहु खान्छ सर’ भन्यौं । सरले त ‘यतिबेरसम्म पढाएको के सुनिस् ?’ भन्दै हामीलाई गाली गर्न र पिट्न पो लाग्नुभयो । हामी डरायौं, किन पिट्नुभएको होला भन्ने बुझन सकेनौं । हामीले आँखाले देखेको वास्तविक र प्रत्यक्ष सिकाइ त त्यही थियो । त्यसपछि भने हामी प्रश्न गर्दा पनि उत्तर दिन अगाडि सर्न छोड्यौं । जवाफ मिल्दैन, गाली र पिटाइ खानुपर्छ भनेर । वास्तवमा सिकाइमा प्रत्यक्षीकरणको भूमिका कति हुँदोरहेछ भन्ने बारेमा हामी अनभिज्ञ नै थियौं ।

हामी महिला शिक्षकहरूलाई मिस भन्थ्यौं । त्यसवेला कुनै–कुनै स्कूलमा मात्र मिसहरूलाई देख्न पाइन्थ्यो । हाम्रो स्कूलमा एउटी मिस हुनुहुन्थ्यो । हामी उहाँलाई ‘राम्री मिस’ भन्थ्यौं । हामी ती मिसको राम्रो, गोरो; लिपिस्टिक लगाएको अनुहार हेर्ने, मिससँग नजिक हुने इच्छा राख्थ्यौं । विवाह नभएकी मिस निकै राम्री, तर कठोर स्वभावकी हुनुहुन्थ्यो । त्यसवेला म कक्षा–२ मा पढ्थें ।


‘कुकुर घरपालुवा जनावर हो। यसले भात खान्छ। मासु खान्छ’ भन्दै अन्त्यमा सरले प्रश्न गर्नुभयो, ‘लौ भन त कुकुरले के खान्छ ?’ हामीले गाउँको काले कुकुर सम्झँदै भन्यौं, ‘गुहु खान्छ सर’। तर सरले त हामीलाई गाली पो गर्नुुभो !

मेरो पनि पहिले दिदी जस्तै भाइलाई च्यापेर स्कूलमा बानी गराउन लैजानुपर्ने जिम्मेवारी थियो । मैले पढाइको भन्दा पनि भाइ रुन्छ कि, घर जाने भन्छ कि, कसैले उसलाई पिट्लान् कि भन्ने चिन्ता बढी गर्नुपर्थ्यो । बेन्चको छेउतिर भाइलाई च्यापेकी हुन्थें । किताबहरू च्यातिएका थिए । साँघुरो ठाउँ भएकोले कापीमा लेख्दा साथीहरूले हल्लाइदिन्थे । भाइ पनि डट्पेन खोसेर कापीमा कोरिदिन्थ्यो । भाइ रिसाहा र छुच्चो पनि थियो, ढुङ्गा टिपेर हान्न लाग्थ्यो । मलाई जोगाउन मुश्किल पथ्र्याे । भाइलाई लिएर घरमा आइपुग्दा म आफूलाई स्वतन्त्र भएकी ठान्दथें अनि आनन्दले खेल्थें । भाइ स्कूल नगएदेखि म पनि साथीहरूसँग खेल्न पाउथें जस्तो लाग्थ्यो । तर भाइलाई स्कूल लैजानै पर्थ्यो ।

एक दिन एकजना साथीले ‘तेरो भाइलाई हाम्रो बेन्चबाट हटा, नत्र तँलाई पनि हामी बस्न दिंदैनौं’ भनेर पयठ लगाएर ठेल्न लागिन् । भाइलाई दह्रोसँग च्यापेर म बस्दै थिएँ । तर उनी वलिष्ठ थिइन्, मैले ठेल्न सकिनँ । भाइ भुइँमा लड्यो र रुन लाग्यो । मैले ती साथीलाई एक पटक डडाल्नोमा पिट्न भ्याएँ । उनी कुद्दै बाहिरतिर गइन् । ‘राम्री मिस’ लाई बोलाएर यसले पिटी भन्दै ल्याइन् । मिस पनि उनीसँगै बाँसको सिर्कनु लिएर आउनुभयो । म भाइको मायाले छातीमा गाँठो पारेर रुन नसकिकन भाइलाई फकाउँदै थिएँ । मिसले मलाई— ‘किन यसलाई कुटेको ? चल्छेस्, लु चल’ भन्दै सुम्ला उठ्ने गरी हिर्काउनुभयो र अफिस कोठातिर जानुभयो । मिसले सिर्कनु लिएर भित्र पस्दा भाइ डरले रुन छोडेको थियो । तर मलाई कुटेर मिस गएपछि भने मेरा आँखाबाट आँसु तरर्र झरिरहे ।  मुखबाट रोदन भने निकाल्न सकिनँ । भाइ भने नरो दिदी भन्दै आँसु पुछिदिन लाग्यो । अरू सबै साथीहरू चुप लागेर मलाई हेर्न थाले । त्यो वेला मलाई लाज, पीडा र भाइप्रतिको जिम्मेवारीले एकसाथ थिचेको थियो । तर म फुच्चीका समस्या ती राम्री मिसलाई के थाहा ? धेरैबेर रोएपछि मेरो अवोध मनमा एउटा दृढ कल्पना आउन थाल्यो– आफू ठूली भएपछि मिस बन्ने र केटाकेटीलाई माया गरेर पढाउने । बालमैत्री शिक्षाको खाँचो त पहिले नै थियो, तर हामीले त्यस्तो परिवेशमा पढ्न पाएनछौं ।

आई.ए. को पहिलो वर्ष पढ्दै गर्दा विवाह बन्धनमा बाधिएँ । श्रीमान्को उत्प्रेरणा, हौसला र सहयोगको परिणामस्वरुप विवाहपछिको व्यावहारिक चटारोलाई व्यवस्थापन गर्दै अध्ययनलाई निरन्तरता दिन सफल भएँ । परिणामस्वरुप शिक्षाशास्त्रमा स्नातकोत्तर तह (एमएड) उत्तीर्ण गर्न सफल भएँ । लामो समयसम्म पनि सेवा आयोग नखुलेकाले शिक्षक बन्ने सपना अधुरो थियो । २०६९ सालमा खुलेको शिक्षक सेवा आयोगको विज्ञापनमा सहभागी भई निमावि तहको सामाजिक अध्ययन विषयको शिक्षक पदमा सफलता प्राप्त गरें । २०७१ भदौ १३ गते मेरो सपना साकार भयो । म स्थानीय फिदिम माध्यमिक विद्यालयमा निम्नमाध्यमिक तहको सामाजिक विषयको शिक्षकका रूपमा नियुक्त भएँ ।

शिक्षक बन्दा आफूमा भएका ज्ञान बाँड्न पाइने, विद्यार्थीसँग घुलमिल हुन पाइने, समय बितेको पत्तो नहुने, कति रमाइलो र आनन्द ! आदर्श शिक्षक बन्न सबै प्रकारका तालहरूसँग नाच्न सक्नुपर्ने, रम्नुपर्ने, आफूले जानेको ज्ञानलाई सहज रूपमा सिकाउन सक्दा सजिलो हुने ।

सामाजिक शिक्षणको अनुभव
म सामाजिक विषयको शिक्षक हुँ । यो विषयको क्षेत्र धेरै फराकिलो हुन्छ । गीत, कथा, कविता, नाटक, संवाद, समाचार लेखन, वादविवाद, वक्तृत्वकला, अनुशासन, नैतिकता, गाउँ, घर, समाज, समुदाय, राष्ट्र, भाषा संस्कृतिको संरक्षण, संस्कार, जनसंख्या, शहर र गाउँबीचको तुलना, देश–विदेश, विश्वबन्धुत्वको भावना यो विषयको क्षेत्रले समेट्दछ । यो विषयले बालबालिकालाई आदर्श नागरिक बनाउने अभीष्ट राख्दछ ।

मलाई साना–साना नानीबाबुसँग रम्न र उनीहरूसँग नजिक हुन असाध्यै मनपर्छ । साना नानीहरूलाई माया गरेर फुक्र्याइ फुक्र्याइ पढाउँदा रमाइलो हुन्छ । म कक्षा–६ मा बच्चाहरूलाई नेपालको नक्शा बनाउन सिकाउँछु र बनाउन लगाउँछु । कसैले निकै राम्रो, कसैले ठीकैको, कसैले नराम्रो नक्शा बनाएर मलाई देखाउँछन् । नक्शा हेरेर म राम्रोलाई आहा ! कति राम्रो भन्दै विद्यार्थीपट्टि देखाइ दिन्छु । अनि नराम्रो बनाउने भने हतार–हतार मेट्दै राम्रो बनाउने कोशिश गर्दै हुन्छन् ।

सामाजिक अध्ययनका थोरै विषयवस्तु मात्र पाठ्यपुस्तकमा हुने र धेरै कुरा शिक्षकले नै खोजी गर्नुपर्ने हुन्छन् । कक्षाकोठामा विषयवस्तु पढाउँदा व्यावहारिक जीवनसँग सम्बन्धित बनाउँदै पढाउने गरियो भने कक्षा पनि रमाइलो र उपलब्धि पनि बढी हुन्छ । जस्तो कक्षा–६ मा ‘ट्राफिक नियम’ भन्ने विषयवस्तु पढाउँदा पुस्तकमा संक्षिप्त विषयवस्तु भए पनि थप सामग्रीहरू जुटाउनु राम्रो हुन्छ । कहिल्यै ठूला शहर नदेखेका गाउँघरका नानीबाबुहरूलाई म आफ्नो मोबाइलमा खिचेका र डाउनलोड गरेका काठमाडौंका आकाशे पुल, जेब्राक्रस, ट्राफिक जाम, मानिसको भीड, ट्राफिक प्रहरी, ट्राफिक लाइट सम्बन्धी फोटो र भिडियो उनीहरूसँगै बसेर देखाउने गर्छु । यसरी हामी शिक्षकका लागि मोबाइल पनि ठूलो शैक्षिक सामग्री बन्न सक्छ । बच्चाहरू ठेलमठेल गर्दै उत्साहित र खुशी भएर हेर्दै रमाउँछन् । केहीबेर देखाएपछि म मोबाइल अफ गरेर उनीहरूका कुरा सुन्दै बोर्डमा चित्र बनाइदिन्छु ।


सामाजिक अध्ययनका थोरै विषयवस्तु मात्र पाठ्यपुस्तकमा हुने र धेरै कुरा शिक्षकले नै खोजी गर्नुपर्ने हुन्छन्। पढाउँदा व्यावहारिक जीवनसँग गाँसेर पढाउने गरियो भने कक्षा रमाइलो र उपलब्धि पनि बढी हुन्छ।

“कस्तो मज्जा हुँदै थियो । तिमीहरूले मिसलाई धेरै ठेल्यौ, अनि बन्द गर्नुभयो । मिस बोल्न छोड्नुभयो, रिसाउनुभयो, मैले त राम्ररी हेर्न पाइनँ । मिस फेरि हामीलाई देखाउनु न ।” उनीहरूका यस्ता कुरा सुन्दा मलाई रमाइलो लाग्छ । कति उत्साहित मेरा नानीहरू ! म चुप लागेपछि सबैका आँखा बोर्डका चित्रमा हुन्छन् । कोही पढ्दै हुन्छन् ।

सडकमा रातो बत्ती बल्दा के गर्ने, नीलो बत्ती बल्दा के गर्ने भन्ने बारे एक दिन मैले एउटा बनावटी कथा सुनाएँ । जसरी छिटो सिक्छन्, त्यसरी नै सिकाउनुपर्छ । कथा भनेपछि सबैको नजर मतिर हुन्छ । कथा के होला भन्ने खुल्दुली हुन्छ । म शुरू गर्छु— ‘गाउँमा बस्ने रामुलाई शहरमा पढ्ने दाइकहाँ जान मन लागेछ । उसले दाइ भेट्न जाँदा तरकारी, घिउको बट्टा, अचार, गुन्द्रुक झेलामा हालेछ । हातमा भने एउटा पाकेको फर्सी र सानो दहीको ठेकी झुण्ड्याएछ । रामुलाई गाडीमा चढाएर उसका बुवा घर फर्किनुभएछ । रामु ज्यादै खुशी हुँदै, गाडीको झयालबाट रमिता हेर्दै साँझपख काठमाडौं पुगेछ । बसबाट ओर्लिएपछि रामु त शहरका झ्लिीमिली बत्ती हेरेको हेर्‍यै भएछ । उसको नजिकै ट्राफिक प्रहरी सिट्ठी फुक्दै थिए । रामु उभिएको छेउमा ट्राफिक लाइट बल्दै रहेछ । रामु मनमनै भन्दैछ— ‘आहा ! कति राम्रा बत्ती, कहिले पहेंलो, कहिले रातो, कहिले नीलो बल्ने ।’ त्यही नजिकै जेब्राक्रस त रहेछ, तर रामुलाई भने त्यो के होला पत्तै भएनछ र जथाभावी तरीकाले बाटो काट्न लागेछ । गाडीले उसलाई ठक्कर दिएछ । रामु पछारिएछ । उसको काँधमा बोकेको फर्सी लड्दै गएछ । त्यो फर्सीमा ठोक्किएर दुई वटा मोटरसाइकल लडेछन् । रामुको ठेकी पनि फुटेछ । धन्न रामुलाई ठूलो चोटपटक चाहिं लागेनछ ।’

कथा सकिएपछि नानीबाबुहरू रमाइलो मानी गलल्ल हाँस्छन् र खुशी मान्छन् । म एकछिन उनीहरूलाई हाँस्न नै छोडिदिन्छु, म पनि उनीहरूसँगै हाँस्छु । गाउँका बच्चालाई ट्राफिक नियम सिकाउन बनावटी कथा पनि ठिकै हुँदोरहेछ । विचरा साना नानीबाबुहरू, पत्याउने उमेर ।

बच्चाबच्चीले रमाइलो र खुशी चाहन्छन्, उनीहरूलाई माया ममताकै खाँचो पर्छ । होमवर्क चेक गर्न म बसेकी हुन्छु । उनीहरू वरिपरि आउने, कसैले साडीको आँचल लगेर टाउकामा राखिदिने, अर्कोले भएन राम्रो, मिसलाई नचला भन्ने, कसैले कपाल चलाउने आदि आदि । वेला–वेला होमवर्क देखाउँदा यी ममी भन्छन्, अनि लजाउँछन्, ला मिसलाई ममी पो भनेछु । म उनीहरूलाई हेर्दै भन्छु— ‘मिस ममी पनि त हो नि; हैन त !’

त्यसैगरी कक्षा–७ मा उमेर अलि बढी सकेकाले कथा लगायत प्रसंग मिल्ने विविध कुराहरूतर्फ मोडेर उनीहरूलाई सिकाउन सजिलो पर्छ । उमेर बढ्दै जाँदा बालबालिकाका स्वभाव र व्यवहार पनि परिवर्तन हुँदै जान्छन् । उनीहरूको बालमनोविज्ञानलाई बुझेर शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नु साँच्चै नै राम्रो र सरल हुँदोरहेछ । कक्षा–८ देखि १२ लाई पाठ्यांशभित्रका पाठका अलावा बाहिरको वातावरणमा पनि भिज्न सक्ने, परिवेश सुहाउँदो व्यवहार सिकाउनु बढी सान्दर्भिक हुनेरहेछ । खाली कण्ठ गराई र सैद्धान्तिक ज्ञान मात्र नभई व्यावहारिक पाटोका हरेक क्षेत्रमा बालबालिका भिज्ने र रम्ने किसिमको सिकाइको वातावरण सिर्जना गर्नुपर्छ ।

मैले जीवनमा शिक्षण बाहेकका कुनै पेशाको परिकल्पना गरिनँ । मेरो श्रीमान् २५औं वर्षदेखि अध्यापन कार्यमा संलग्न हुनुहुन्छ । मेरो बुबा सेवानिवृत्त शिक्षक हुनुहुन्छ । दाजुभाउजु, दिदीबहिनी, जेठाजू, जेठानीदिदी, भतिजा सबै शिक्षण पेशामा नै आबद्ध छन् । मलाई शिक्षा अध्ययन गरी योग्यता हासिल गर्ने र शिक्षक बनाउने कार्यमा मेरो बुबा र मेरो श्रीमान्को अहोरात्र योगदान र सहयोगप्रति म कृतकृत्य छु ।

मलाई शिक्षक हुन पाएकोमा ठूलो गर्व छ । आफूले पढाएका विद्यार्थीसँग बाहिर कतै भेट हुँदा खुशी लाग्छ । सिक्न त अझै धेरै बाँकी रहेको छ, तर पनि शिक्षक बन्ने मेरो रहर भने पूरा भएको छ !

फिदिम मावि, पाँचथर

शिक्षक मासिक, २०७६ साउन अंकमा प्रकाशित ।

commercial commercial commercial commercial