सही माध्यम अंग्रेजी होइन, मातृ र राष्ट्रभाषा

राष्ट्रियता अमूर्त एवं भावनात्मक कुरा हो । यसको अर्थ देश जनता, आफ्नो संस्कृति, भाषा, भेषभूषा, संस्कार, चालचलन, खानपान र सभ्यताप्रतिको समर्पण हो । राष्ट्रियताको सम्बन्ध माटो, जनता, संस्कृति, धर्म, विश्वास र विचारसँग अभिन्न भएर गाँसिएको हुन्छ । यो भावनात्मक गुण राष्ट्रवासीको हृदयमा रहे मात्र राष्ट्र अखण्ड रहन सक्छ । यो भाव कमजोर भएमा हीनताबोध, व्यक्तिवादी चिन्तन हावी हुन्छ र राष्ट्र कमजोर बन्छ । यसरी राष्ट्रियता भन्नाले राष्ट्रभित्रका पहिचानात्मक विषयवस्तुप्रतिको आफ्नोपन, ममत्व, गर्वको बोध, त्यसको संरक्षण, उत्थान, उन्नयन र विकास गर्ने लक्ष्यलाई बुझनुपर्दछ ।

नेपालको राष्ट्रियतालाई चिनाउने कैयौं औपचारिक चिह्न र वस्तु छन् । तीमध्ये नेपाली भाषा पनि एक हो, जो सरकारी कामकाज, विद्यालय, महाविद्यालय तथा अदालती भाषा पनि हो । यहाँ बोलिने अन्य भाषाहरू हाम्रा उत्तिकै प्यारा भाषा र सम्पदा हुन् । अब यिनीहरूको उत्थान र विकासमा लाग्ने कि अन्य देशको भाषाको नक्कल गर्ने ?

भाषा विचार विनिमयको साधन हो । यसका माध्यमले मानिसले आफ्ना विचार, अनुभव आदि व्यक्त गर्ने र अरूहरूका विचार, चिन्तन र सोचलाई ग्रहण गर्दछ । तसर्थ मानिस मात्र भाषिक प्राणी हो । हामीसँग आफ्नो नेपाली भाषा हुँदाहुँदै र अंग्रेजीलाई अन्तर्राष्ट्रिय भाषाको रूपमा विद्यालय तथा विश्वविद्यालयमा अनिवार्य विषयको रूपमा पठनपाठन गर्दागर्दै पनि हामीले हाम्रा सामुदायिक विद्यालयलाई अंग्रेजी माध्यममा लैजाने निर्णय गर्‍यौं । किन ? बोर्डिङ स्कूलका विद्यार्थी तान्न, अभिभावकलाई खुशी पार्न, राम्रो स्कूल भनेर देखाउन, सबैले राम्रो गर्दा आफू पछि परिन्छ कि भनेर अगाडि बढ्न वा अन्य विद्यालयले भन्दा राम्रो ज्ञान, सीप र प्रवृत्तिको विकास विद्यार्थीमा गराउन; के कारणले ?

अंग्रेजी माध्यमको सम्बन्धमा धेरै अघिदेखि शिक्षक मासिकमा चर्चा परिचर्चा भइरहेका छन् र हुन्छन् पनि । नेपालको शिक्षा प्रणालीमा यो एउटा जल्दोबल्दो मुद्दा हो । तयारी विना, सामुदायिक विद्यालयको अंग्रेजी माध्यम निल्नु न ओकल्नु (शिक्षक  मासिक चैत २०७५) भएको छ । शिक्षकले विषयवस्तु ओकल्न, पस्कन सक्छ कि सक्दैन भन्ने नजाँची; स्वयं अंग्रेजी भाषी संस्थाहरूले यस ढंगले अंगे्रजी नपढाऊ भन्दाभन्दै पनि पढाउन खोज्यौं । ज्ञान निर्माणका तीन पक्ष — १. सामाजिक अन्तरक्रिया २. जानेको दोस्रो व्यक्ति (शिक्षक वा कोच) ३. सिक्ने समता — केहीको पनि छानबीन नगरी लादेर शिक्षा दिन खोज्यौं ।

अंग्रेजी माध्यमका सामुदायिक विद्यालयमा न त वातावरण नै छ न क्षमता । विषयवस्तु पस्कने भाषिक क्षमता नभएका शिक्षकलाई अंग्रेजी माध्यममा लगायौं । ‘भाषामा नअटाउने कति छन् कुरा छातीका पिंधमा’ महाकवि देवकोटाले यो कवितांशमा भने झैं आफ्नै मातृभाषामा त व्यक्त हुन नसक्ने कतिपय पीर, चिन्तन, सोच छातीमा मौन रहन्छन् भने नेपाली भाषी शिक्षकले त्यस्ता कुरा कसरी अंग्रेजी माध्यममा पढाउन सक्छ ? जबकि सिकारु स्वयं पनि नेपालीमा सिक्न चाहन्छ । अभिभावकको लामो नाक पार्न, स्कूलमा अंग्रेजी कक्षा चलाउन, जसोतसो शिक्षकले तिमीले सिक्न सक्छौ बाबु नानी ! भनेर अरुचिको गाँस खुवाएका छैनौं, कोच्याएका छौं — विचरा माक्र्स र गान्धी बन्ने कलिला चिल्ला पाते कोपिलालाई खैराँती तवरले । यस्तै स्थिति रहेमा नेपाङ्ग्रेजी अर्थात् केही दशकमा पिजिन र क्रेओल भाषा जन्मिन के बेर ? न नेपाली न अंग्रेजी । पूर्व तयारी केही गरेनौं । न अभ्यास, न अनुशासन, न भाषा सम्प्रेषण, न तालीम, न तयारी; न दीर्घकालीन सोच, हतारहतार निर्णय लियौं । विद्यार्थीलाई घर न घाटको बनाउने निर्णय ।

बरु देश संघीय संरचनामा गएपछि नेपाली भाषा बाहेकका अरू १२३ भाषाका मुद्दाहरू उठ्नुपर्ने, पढाइका लागि, सिकाइका लागि र राष्ट्रियताका लागि । संसारका विकसित मुलुकहरू चीन, कोरिया, रूस, जापान, भियतनाम, इटाली जस्ता देशहरूले आफ्नै राष्ट्रभाषामा पाठ्यक्रम बनाए ।

यूएनडीपीले सन् २००४ मा प्रकाशित गरेको प्रतिवेदनमा शिक्षाको पहुँच र निरन्तरताको प्रमुख कारण शिक्षाको माध्यम भाषा पनि हो भनी किटान गरेको छ । विभिन्न अध्ययनले के देखाएका छन् भने मातृभाषा र सम्बन्धित देशको मुख्य भाषा (राष्ट्रभाषा) को संयुक्त माध्यमले शैक्षिक तथा अन्य क्षेत्रको विकास गर्ने अवसर प्रदान गर्ने भएकाले पनि द्विभाषिक माध्यमको शिक्षण नै शिक्षण सिकाइ व्यवस्थापनको दृष्टिले महत्वपूर्ण हुन गएको छ । बोलिभिया, ब्राजिल, ग्वाटेमाला, मेक्सिको, पाराग्वे, पेरु आदि देशमा अल्पसंख्यक समुदायलाई आफ्नै भाषामा शिक्षण गर्ने र त्यसै समुदायका शिक्षकहरूलाई तालीम दिई शिक्षण गर्ने नीति अवलम्बन गरियो । यसबाट सिकाइ उपलब्धि बढ्यो । विद्यालय छाड्ने दर घट्यो र उत्तीर्ण प्रतिशत बढ्यो । हाम्रो परिवेशमा यो कुरालाई किन ध्यान दिंदैनौं ?

श्री भगवती नमूना मावि, मिर्मी ढाव, स्याङ्जा

commercial commercial commercial commercial