भाषिक उपनिवेशबाट विद्यालय जोगाऊँ !

पहिले निजी विद्यालयहरूमा सीमित रहेको अंग्रेजी भाषामोह अहिले सामुदायिक विद्यालयमा पनि संक्रामक रोग झैं फैलिइरहेको छ। स्थानीय सरकारहरूले समेत सामुदायिक विद्यालयहरूलाई जबर्जस्ती अंग्रेजी माध्यममा जान दबाब दिइरहेका छन् ।

सामान्यतया हरेक व्यक्तिलाई आफ्नो देश र त्यहाँको भाषा, धर्म, संस्कृति, भेषभुषा, मूल्य र मान्यताहरू प्यारो लाग्छ । त्यही आफ्नोपनसँग जोडिएका सामाजिक–सांस्कृतिक चिन्तन र चरित्र तथा स्वदेशमा उपलब्ध प्राकृतिक स्रोत, भौगोलिक बनोट आदिमा आधारित शिक्षाले मात्र देशको समग्र विकासमा योगदान पुर्‍याउन सक्छ । स्वदेशी हावापानी र माटो सुहाउँदो शिक्षा पाउनु प्रत्येक नागरिकको नैसर्गिक अधिकार हो । तर हाम्रो देशले विद्यालय तहदेखि नै पश्चिमा शिक्षा र त्यस अन्तर्गतका भाषा, धर्म, संस्कृति, भेषभुषा आदिको नक्कल गर्ने शैक्षिक परिपाटी बसालेर मौलिक पहिचान नष्ट गर्ने बाटो पछ्याएको छ ।

भाषामा बाह्य प्रभाव
सूचना र संस्कार आदान–प्रदानको सबैभन्दा सशक्त माध्यम नै भाषा हो । एउटा भाषा निर्माण गर्न कैयौं पुस्ताको कठोर मिहिनेत र धैर्य लगानी भएको हुन्छ । त्यसरी तयार भएका अनेक थरी भाषामा नेपालको वैभव संसारमै उच्च छ । तर पढाइमा प्रवेश गरेदेखि नै बालबालिकालाई अंग्रेजी भाषा लाद्ने प्रवृत्तिले राष्ट्रभाषा नेपाली र अरू कैयौं राष्ट्रिय भाषाहरू सङ्कटमा परेका छन् । पहिलेदेखि नै कमजोर हुँदै गएका विविध भाषा अब अंग्रेजीको दबाबमा परेर लोप हुने अवस्थातिर उन्मुख छन् ।

विगतमा संस्कृत भाषा ब्राह्मणहरूको मात्र एकलौटी जस्तो थियो । अन्य जातिले संस्कृत भाषा अध्ययन गर्नुहुँदैन मन्ने सामन्तवादी सोच हावी थियो । त्यही सङ्कीर्ण सोच नै संस्कृत भाषा प्रचलनबाट लोप हुँदै जानुको प्रमुख कारण बन्यो । त्योसँगै जनजातिका मातृभाषाहरूको विकासमा पनि राज्यले ध्यान पुर्‍याउन सकेन । पछिल्लो समय विभिन्न बहानामा शिक्षामा विदेशी भाषाहरूको दबदबा बढ्दै गएको छ । छिमेकी देशमा बोलिने कारण हिन्दी र चिनियाँ भाषाको सामान्य प्रचलन बोलीचालीमा देखिनुलाई स्वाभाविकै मान्न सकिएला । तर नेपालभन्दा ज्यादै परका पश्चिमा देशमा बोलिने अंग्रेजी भाषाको बढ्दो प्रभाव स्वीकार्नु जरूरी छैन ।

अमेरिका, बेलायत, क्यानडा, जापान, चीन, कोरिया, जर्मनी, फ्रान्स आदि देशहरूले आफ्नो भाषाको विकास र विस्तारको लागि ठूलो लगानी गरिरहेका छन् । उनीहरू वर्षेनि उल्लेख्य संख्यामा विदेशीलाई शिक्षा, रोजगारी, सांस्कृतिक आदान–प्रदान आदि बहानामा बोलाएर आफ्नो भाषा, संस्कार, धर्म आदिका बारेमा शिक्षा दिइरहेका छन् । नेपालबाट पनि हरेक वर्ष हजारौं विद्यार्थी ती देशमा गएर त्यहाँका भाषा, संस्कृति र मूल्य–मान्यताको अध्ययन गरिरहेका छन् । नेपालमा विदेशी भाषा सिक्ने/सिकाउने प्रशिक्षण केन्द्रहरूको सुविधा गाउँगाउँसम्म विस्तार हुँदै गएको छ । आफ्नो समय, श्रम र सम्पत्ति खर्चेर विदेशी भाषा सिक्ने नेपालीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । विभिन्न देशले उनीहरूको भाषामा निश्चित मापदण्ड पूरा गरेका विद्यार्थीलाई पुरस्कारस्वरुप आफ्नो देशमा लैजान्छन् । त्यसरी जाने नेपाली विद्यार्थीसँगै ठूलो परिमाणमा हाम्रो राष्ट्रिय पूँजी पनि पलायन भइरहेको छ । यसरी धनी देशहरूले कम विकसित देशका नागरिकलाई आफ्नो भाषा बेचेर सांस्कृतिक रूपमा दास बनाइरहेका छन् । यो व्यापार व्यवसायसँगै उनीहरूको भाषा, धर्म, संस्कृति आदिको विस्तार विश्वभर हुँदै गएको छ । यस्तो विनिमयचक्रमा हामी भने आफ्नै राष्ट्रिय पहिचान र परम्परादेखि चलेका विशिष्ट मूल्यमान्यताहरू नष्ट गर्न वर्षेनि ठूलो पूँजी खन्याइरहेका छौं ।

अंग्रेजी भाषाको प्रवेश र परिणाम
मल्लकालीन राजा जयस्थिति मल्लको समयमा केही पादरीहरूलाई धर्म प्रचार गरेको आरोपमा देश निकाला गरेको इतिहास पाइन्छ । त्यो समयमा अंग्रेजी बोल्न त परको कुरा, अरूले बोलेको सुन्यो भने पनि पाप लाग्छ भनेर दुवै हातका चोरऔंलाले कानका प्वाल थुन्ने चलन थियो । तर अहिले हरेक क्षेत्रमा पसेर अंग्रेजी भाषाले हाम्रो भाषिक पहिचान तहसनहस पारेको छ ।

एकताका विश्वको अधिकांश भाग बेलायती उपनिवेश थियो । बेलायतमै उत्पत्ति वा विकास भएको भाषा (अंग्रेजी), राजनीतिक व्यवस्था (प्रजातन्त्र), धर्म (इसाई), अर्थतन्त्र (उदारता), संस्कृति (व्यक्तिवादी मूल्यमान्यता) र अंग्रेजीभाषी देश अमेरिकाले प्रचलनमा ल्याएको मुद्रा (डलर) लगायतका माध्यमबाट विश्वका अधिकांश भूभागमा पश्चिमी प्रभाव आज पनि उत्तिकै जबर्जस्त छ । तीमध्ये भाषा सबैभन्दा सशक्त औजार भएकाले यसै मार्फत विश्वव्यापी जनजीवनका सबै क्षेत्रमा एकैसाथ हस्तक्षेप गर्ने अंग्रेजीभाषी पश्चिमा मुलुकहरूको रणनीति देखिन्छ । उनीहरूको त्यस्तो तयारीलाई बुझन नसकी उल्टै अंग्रेजी भाषाको मोहमा फसेर आफ्नो भाषा, धर्म, संस्कृति र भेषभुषा आदिमाथि आत्मघाती हमला गरिरहेका देशहरूमध्ये अग्रणी स्थानमा नेपाल पनि पर्छ ।


संसारका विकसित देशहरूले आफ्नै भाषा, धर्म, संस्कृति, परम्परा र प्रविधिको प्रयोग गरी विकासको उँचाइ लिएका हुन्। हामी नेपाली भने पेट भर्न चाहिने खाद्यान्न र शरीर ढाक्ने लत्तााकपडा मात्र नभई बोल्नको लागि भाषा र प्रार्थना गर्ने धर्म समेत आयात गरिरहेका छौं।

वि.सं. १९१० मा दरबार स्कूलको स्थापना भएर अंग्रेजी भाषाको पढाइ नेपाल भित्रिएदेखि अहिलेसम्मको १६६ वर्षमा हाम्रो भाषा, धर्म, संस्कृति र परम्परा कति कमजोर भएको छ त्यतातिर सोच्ने फुर्सद मिलेको दिन हामीसँग पछुताउनु बाहेक कुनै उपाय बाँकी रहने छैन । यस अवधिमा नेपालीपनमाथि अंग्रेजी भाषाको हस्तक्षेप कतिसम्म भएको छ, त्यसको लेखाजोखा गर्न यी केही दृष्टान्त नियालौंः
१. आजको दिनमा लाखौं नेपालीको नाम तिनका बाबुआमाले अंग्रेजी शब्दमा राखेका छन् ।
२. दैनिक बोलचालमा प्रयोग हुने शब्दहरूमा नेपाली र अंग्रेजी सराबरी हुँदै गएको छ ।
३. स्वदेशी ठाउँका नाम समेत मौलिकता विस्थापित गर्दै विदेशी शब्दमा राखिएका छन् जस्तै, पेरिसडाँडा, लभडाँडा, डेभिड फल्स, ग्रीनल्याण्ड, स्विट्जरल्याण्ड पार्क, लेकसाइट इत्यादि ।
४. नेपाली गाडीका नम्बर पटलहरूबाट देवनागरी लिपि हटाएर अंग्रेजी वर्ण र अङ्क प्रयोग गर्न थालिएको छ ।
५. विशेषगरी विद्युतीय सञ्चारमाध्यमहरूमा अंग्रेजीको प्रचलन बढ्दो छ ।
६. विज्ञापन सामग्रीहरूमा अंग्रेजी शब्दको प्रभाव विस्तार हुँदै गएको छ ।
७. निजी शिक्षण संस्था, परामर्शदाता कम्पनी र व्यापारिक प्रतिष्ठानहरूको नामकरणमा अंग्रेजी मोह अनियन्त्रित रूपले बढेको छ ।
८. विद्यालयमा पढ्ने बालबालिकाले नेपाली भाषामा गरिएका कुराकानी सुनेर पनि नबुझने स्थिति आइसकेको छ ।

हाम्रा निजी विद्यालयका शिक्षकहरूले यस्तो भन्ने गर्छन्–You are not allowed to speak Nepali within this compound. If you speak Nepali, you will have to pay fine or get bamboo stick.' । (विद्यालयको हाताभित्र तिमीलाई नेपाली भाषा बोल्न अनुमति छैन । यदि नेपाली बोलिहाल्यौ भने तिमीले जरिवाना वा बाँसको लठ्ठीको सजाय पाउँछौ ।) यस्तो आदेश–नियममा बाँधिएका कलिला बाल मस्तिष्कमा मातृभाषाको जरो कसरी पलाओस् ! हुर्किंदै गरेका बालबालिकाले आफ्नै भूमिमा नेपाली भाषा बोल्न नपाएपछि उनीहरूले कहाँ गएर बोलून् ? बालबालिकालाई आफ्नै भाषा बोल्नबाट प्रतिबन्ध लगाउने विद्यालयहरू अंग्रेजीभाषीहरूको उपनिवेश भए कि भएनन् ? अझ् सहानुभूति त त्यहाँका शिक्षकहरूलाई दिनुपर्छ जसले ती अबोध बालबालिकालाई जरिवाना र दण्ड–सजायको डरत्रास देखाएर तर्साउँदै नेपाली भाषा बोल्न प्रतिबन्ध लगाउँदा आफू सित्तैंमा नवउपनिवेशका बफादार सिपाही बनेको अत्तोपत्तो पाउँदैनन् !
गुणस्तरीय शिक्षाको लागि उपयुक्त वातावरण, दक्ष शिक्षक, उपयुक्त शैक्षिक विधि, शैक्षिक सामग्री, उपयुक्त पाठ्यक्रम आदि आवश्यक पर्छ न कि अंग्रेजी भाषा । नयाँ–नयाँ ज्ञान, सीप वा धारणा हासिल गर्नमा कुनै खास भाषाको विशेष भूमिका पनि हुँदैन । किनभने भाषा त सन्देश आदानप्रदानको माध्यम मात्र हो । वास्तवमा शिक्षाको गुणस्तर बढाउने हो भने विद्यार्थीलाई मातृभाषाको माध्यमबाट शिक्षण गर्नु सबैभन्दा बढी प्रभावकारी हुन्छ ।

संरक्षण गुमाएको संस्कृत
नेपाली भाषाको श्रीवृद्धिमा सशक्त सहयोग पुर्‍याउने संस्कृत शिक्षामा पनि शासकहरू उदार हुन सकेनन् । आजसम्म पनि संस्कृत शिक्षाको विकासमा राज्यले चासो देखाएको छैन र जनस्तरमा समेत संस्कृत भाषाप्रति नकारात्मक धारणा व्याप्त छ । अभिभावकहरू आफ्ना सन्तानलाई संस्कृत शिक्षा अध्ययन गराउन चाहँदैनन् र विद्यार्थी पनि अध्ययनमा इच्छुक देखिंदैनन् । बरू विद्यालयहरूमा हुने हाजिरीजवाफमा प्रायः सोधिने प्रश्नहरूमध्ये एउटा प्रश्न हो— ‘मृत भाषा भन्नाले कुन भाषालाई जनाउँछ ?’ प्रतियोगिताका सहभागीहरूले उत्तर दिन्छन्— ‘संस्कृत ।’ अनि बज्छ ताली । यस्तो हर्कत संस्कृत शिक्षाको संरक्षण र विस्तारको लागि कति हानिकारक छ भनेर आज पनि हामी किन बुझन सक्दैनौं ? अबदेखि हाजिरीजवाफमा यो प्रश्न सोध्न बन्द गर्नुपर्छ । छापिएका सामान्य ज्ञानका पुस्तकहरूबाट ‘संस्कृत मृत भाषा हो’ भन्ने सन्देश दिने प्रश्नोत्तर हटाइनुपर्छ । यथार्थ के हो भने, संस्कृत पढ्ने–बुझनेहरूको संख्या घटेको हो, संस्कृत भाषा मरेको होइन । संस्कृत अझ् पनि उत्तिकै जीवन्त र सम्पन्न छ ।

देशमा आधुनिक एवं गुणस्तरीय शिक्षाको नाममा जुन गतिमा पश्चिमा प्रभाव बढिरहेको छ त्यही अनुपातमा धर्म परवर्तन गर्ने, पूँजी सहित विदेश गएर त्यहींको नागरिक बन्ने अनि विदेशी मूल्य, मान्यता र संस्कार पछ्याउनेहरूको संख्या बढ्दो छ । यस्ता चरित्रहरूको प्रवद्र्धन गर्ने शिक्षालाई राष्ट्रिय स्वाधीनताको दृष्टिले गुणस्तरीय मान्न सकिंदैन । पूँजी र दक्ष जनशक्तिकै अभावमा उँभो लाग्न नसकेको देशले भाषा, धर्म र संस्कृति समेत गुमाउनु र प्रचलित शिक्षा पद्धतिले त्यसैलाई मलजल गर्नु आत्मघातको मार्ग हो ।

सच्याउने अवसर
संसारका विकसित देशहरूलाई हेर्ने हो भने उनीहरूले आफ्नै भाषा, धर्म, संस्कृति, परम्परा र प्रविधिको प्रयोग गरी विकासको उँचाइ लिएका हुन् । हामी नेपाली भने पेट भर्न चाहिने खाद्यान्न र शरीर ढाक्ने लत्ताकपडा मात्र नभई बोल्नको लागि भाषा र प्रार्थना गर्ने धर्म समेत आयात गरिरहेका छौं । हामीले अङ्गीकार गरेको शिक्षा पद्धति र यसभित्र अन्धाधुन्द प्रवद्र्धन गरिएको अंग्रेजी भाषाको प्रयोग नै यसको मुख्य कारक हो । त्यस्तो प्रवद्र्धनबाट हाम्रो मौलिक भाषा, संस्कृति, भेषभुषा र परम्पराको जगमा हुर्किएर आएको शैक्षिक प्रणालीमाथि हदैसम्मको अपमान हुन पुगेको छ । पहिले निजी विद्यालयहरूमा सीमित रहेको अंग्रेजी भाषामोह अहिले सामुदायिक विद्यालयहरूमा संक्रामक रोग झैं फैलिइरहेको छ । निजी विद्यालयसँग प्रतिस्पर्धा गर्ने नाममा गाउँगाउँका स्थानीय सरकारहरूले समेत सामुदायिक विद्यालयहरूलाई जबर्जस्ती अंग्रेजी माध्यममा जान दबाब दिइरहेका छन् ।

देशकै राजनीतिक व्यवस्थामा ऐतिहासिक परिवर्तन भई देश संघीय प्रणालीमा गइसकेपछि विद्यालय शिक्षाको जिम्मा स्थानीय सरकारको मातहतमा आएकाले यही बेला विगतका यस्ता त्रुटिलाई सच्याउनुपर्छ । अन्यथा आफ्नो आवश्यकता सुहाउँदो शिक्षाको लागि उपयुक्त विधिको छनोट र अनुकूल वातावरण तयार गर्न नसक्ने, उत्तरदायित्व बहनमा पछि पर्ने, देखासिकी गर्ने र सफल नभएपछि अर्कैलाई दोष दिएर आफू पानीमाथिको ओभानो देखिन खोज्ने हामीभित्रको आत्मघाती मानसिकताको असर हामीपछिको कैयौं पुस्तासम्मले भोग्नुपर्नेछ ।  

हाम्रा आफ्ना पुराना पद्धतिहरू कमजोर छैनन् । बरू तिनको उपयोग गर्न नजान्नाले ‘आँगन टेढो’ लागेको मात्र हो । हाम्रा सामुदायिक विद्यालयहरूलाई शैक्षिक गुणस्तर बढाउने नाममा जथाभावी अंग्रेजीकरण गर्नुको सट्टा एउटै समुदाय वा जातिको आधाभन्दा बढी विद्यार्थी भएका विद्यालयले ती विद्यार्थीले बोल्ने मातृभाषामा शिक्षा दिनुपर्छ । मातृभाषा, नेपालीभाषा र अर्को एउटा अन्तर्राष्ट्रिय भाषाको रूपमा संयुक्त राष्ट्रसंघले तोकेका ६ वटा मध्ये कुनै एक भाषा गरी तीन वटा भाषा विषय पढाउने र अन्य विषय मातृभाषा वा नेपाली भाषामै पढाउने व्यवस्था गर्नुपर्छ । हाम्रा अभिभावकले अंग्रेजी शिक्षाको लागि जति तन, मन र धन लगानी गरेका छन्, त्यत्तिकै लगानी यहाँका सामुदायिक विद्यालयहरूको शिक्षाको विकासमा पनि गरेर शिक्षाको समग्र गुणस्तर उकास्न सकिन्छ । त्यसबाहेक वर्तमान शिक्षालाई गुणस्तरीय बनाउन निम्न कदमहरू चालिनुपर्छः

१. शिक्षाका सबै सरोकारवालाहरूबीच व्यापक छलफल गरी स्थानीय सरकारहरूलाई उचित परामर्श दिने ।
२. राष्ट्र भाषा र आफ्नो मातृभाषा शुद्धसँग बोल्न र लेख्न नजान्नेलाई सरकारी सेवा प्रवेशमा कडाइ गर्ने ।
३. सामुदायिक विद्यालयहरूलाई अंग्रेजी माध्यममा लैजाने लहर तत्काल रोक्ने ।
४. निजी विद्यालयहरूलाई पनि अंग्रेजी भाषा बाहेकका बाँकी सबै विषयहरू राष्ट्रभाषा (नेपाली) वा ठाउँ अनुसार बोलिने विभिन्न राष्ट्रिय भाषामा अध्यापन गराउन अनिवार्य गर्ने ।

जनप्रिय मावि, काउले, चितवन

commercial commercial commercial commercial