सूक्तिको शक्ति

जसले भनेका भए पनि असल वाणीहरू असल नै हुन्छन्। जीवनमा सकारात्मक ऊर्जा पैदा गराउन र यदाकदा जीवन र जगतप्रतिको धारणा निर्माण गर्न समेत यस्ता उत्तिाmले मद्दत गरिहरहेका हुन्छन् ।

‘शिर त्यसका सामु झुकाउ जसले तिमीलाई शिर ठाडो पारेर बाँच्न सिकाउँछ’

त्यतिखेर म कक्षा–२ मा पढ्थें । नेपाली अक्षर राम्ररी पढ्न जानेको थिइनँ । तैपनि मैले एक–एक गरेर माथिको वाक्य पढें । भक्तपुरको मान्छे हजुरबासित पहिलो चोटि काठमाडौं गएको थिएँ । रत्नपार्कमा ठूलो बोर्डमा ‘यो अमृतवाणी’ लेखिएको थियो । त्यतिखेर यो कसको भनाइ हो भन्नेतिर मेरो ध्यान गएन । तर पनि यसमा प्रयोग भएका शब्द मेरो मस्तिष्कमा यसरी गाडिए, जसरी गाईबस्तुलाई बाँध्न किलो गाडिन्छ ।

वर्षौंपछि; प्रहरी स्कूल, साँगामा अध्ययनरत एक जना विद्यार्थी सुवास पन्तले माथिकै हरफ उच्चारण गरी यो कसको भनाइ हो भनी सोधे । उनलाई पनि मलाई जस्तै प्रभाव परेको रहेछ । रत्नपार्क पुगेपछि ३०–३५ वर्षअघि देखेको त्यो बोर्ड छ कि भनी अहिले पनि म झुक्किन्छु । त्यो बोर्ड भएको ठाउँ नै भेउ पाउन सक्दिनँ । पछि प्रहरी स्कूलको प्रार्थना स्थलमा सबैले देख्ने गरी ठूला अक्षरमा लेखेर यो वाणी राख्यौं । २०७२ को भूकम्पसितै यो भनाइ पनि भग्नावशेषमा विलायो, तर मेरो दिमागबाट कदापि विलाउने छैन । हुर्किंदै जाने क्रममा यस्ता धेरै अर्थपूर्ण उखान, वाणी र सूक्तिहरूसित आँखा र कानको भेट भयो । कुनै कुनै सूक्तिहरूले हृदयको अन्तरकुनामा यसरी प्रभाव जमाएर बसेका छन् जसले मलाई अप्ठेरो परेका बेलामा सम्हालिन मद्दत गरिरहेका छन् ।

घरमा हजुरबा र बा दुवै जना चाणक्यका प्रशंसक । बुद्धि  चानक  नाम गरेका किताबका केही किसिम र संस्करणको घरमा राम्रै प्रभाव थियो । अहिले पनि मलाई बाले बेला–बेलामा बुद्धि चानक का श्लोकहरू स्मरण गराउनुहुन्छ । पछि आफैं खोजेर चाणक्यका बारेमा पढ्न थालियो । उनका कतिपय विचारसित विमति उत्पन्न भए । तर पनि धेरै जसो उनका टिप्पणी र भनाइहरू मननीय छन् । ‘मानिस उत्तम गुणले हुन्छ न कि उच्च आसनमा बसेर । महलको छानामा बस्दैमा काग गरुड बन्दैन ।’ चाणक्यका यी भनाइका धेरै अर्थ लगाउन सकिन्छ । एउटा अर्थ हामीले भोगेको वर्तमान राजनीतिक अवस्था पनि हुन सक्छ ।

स्कूल पढ्ने बेलामा कक्षाकोठा र कार्यालयमा श्री ५ अर्थात् तत्कालीन राजाका भनाइहरू राखिएका हुन्थे । छेउछाउमा बुद्ध, गान्धी र लिङ्कनका पनि । रेडियोले त प्रत्येक बिहान श्री ५ को महावाणी सुनाउँथ्यो । स्कूल हुँदै कलेज पुग्ने बेलासम्म बुद्ध, गान्धी, अरस्तु, मदर टेरेसा, अब्राहम लिङ्कन, शेक्सपियर, नेपोलियन बोनापार्ट, गीता, महाभारत, बाइबलका धेरै उक्तिहरू सुनियो, पढियो । पृथ्वीनारायण, देवकोटा, सम, बीपी, गणेशमानदेखि काल माक्र्स, लेनिन, चे–ग्वेभारा र माओका भनाइसित पनि साक्षात्कार भयो ।

जसले भनेका भए पनि असल वाणीहरू असल नै हुन्छन् । जीवनमा सकारात्मक ऊर्जा पैदा गराउन र यदाकदा  जीवन र जगतप्रतिको धारणा निर्माण गर्न समेत यस्ता उक्तिले मद्दत गरिरहेका हुन्छन् । बेलाबेलामा उक्ति र सूक्तिहरू निर्माण हुँदै जान्छन् । कुनै लेखकले आफ्ना सिर्जनामा व्यक्त गरेका केही हरफहरू कालजयी बन्न पुग्छन् । तिनले मानवता, करुणा, साहस र आत्मविश्वासको बढोत्तरीमा टेवा पुर्‍याइरहेका हुन्छन् । ‘फूलको आँखामा फूलै संसार’— कवि दुर्गालालले रचना गरेको यो एउटा गीतको हरफ हो । यो कसलाई मन पर्दैन र ? यसमा लुकेको अर्थको पारखी बन्दा संसारलाई नै फाइदा हुँदैन र ? ‘समस्या तब समस्या हुन्छ, जब मानिसले आफ्नो समस्या आफूमा होइन, अरूमा देख्छ ।’ अरूमा मात्रै दोष थोपरेर उम्किन खोज्ने हामी नेपालीको प्रवृत्तिमाथि जगदीश घिमिरेको अन्तरमनको यात्रामा  प्रयुक्त यस वाक्यले आफैंलाई प्रश्न गर्न पाठकलाई प्रेरित गरिरहेको हुन्छ ।

अहिले हामी कुनै लेखकले लेख लेख्दै गर्दा वा कुनै वक्ताले बोलिरहँदै गर्दा ठाउँ ठाउँमा महान् व्यक्तिहरूले प्रयोग गरेका मानवीय सन्दर्भ र सूक्तिहरूलाई सापट लिने गरेको पाउँछौं । मिलाएर प्रयोग गर्दा यिनले अभिव्यक्तिलाई सुस्वादु बनाउँछन् । श्रोतालाई थप आनन्दित पार्छन् । लेखाइ वा भनाइलाई पुष्टि गर्न बल प्रदान गर्छन् । प्रामाणिक तुल्याउन पनि मद्दत गर्छन् । कुनै उक्ति खराब पनि हुन सक्छन् । कुनै उक्ति भने सूक्ति बन्न पुग्छन् । तिनले मानिसलाई असल मार्ग पहिल्याउन मद्दत गर्छन् । यसको बनोट नै हेरौं । सु+उक्ति= सूक्ति । अर्थात् सुन्दर भनाइ । साना साना भाइबहिनीलाई यस्ता सूक्तिहरू सुनाउनु र पढाउनु जरूरी छ । यसका लागि घर परिवार र स्कूलमा व्यापक रूपमा यिनको प्रयोग गर्न सकिन्छ ।

घरघरमा मानिसहरूले फूलका गमला, आस्था अनुसारका भगवानका मूर्ति र चित्र सजाउने गर्छन् । कतिले आफ्ना आदर्श व्यक्तिहरूको फोटा राख्छन् । कतिले आफू र आफ्ना प्रियजनको तस्वीर सजाउँछन् । कतिले प्रख्यात कलाकारका पेन्टिङ पनि राख्छन् । कतिको घरमा सानोतिनो पुस्तकालय नै हुन्छ । कतिको घरमा एउटै किताब हुन्न । यी कुराहरू आफ्नै ठाउँमा छन् । घरमा सूक्तिपूर्ण वाक्यहरू लेखेर टाँस्दा साना बाबुनानीमा सकारात्मक सन्देश प्रवाह हुन्छ भन्ने विश्वास गरिन्छ ।

बाबुनानीलाई सूक्ति सिकाउने सबैभन्दा उपयुक्त थलो चाहिं विद्यालय हो । विद्यालयले प्रवेशद्वार, पर्खाल, भित्ता, कक्षाकोठा, कार्यालय, भवनको गारो वा यस्तै कुनै अरू ठाउँमा सूक्तिहरू लेखेर राख्न सक्छन् । सूक्तिहरू राख्दा सरल, बोधगम्य, संक्षिप्त र अर्थपूर्ण भनाइहरू मात्र मानिसको मनमा बस्न सफल हुन्छन् भन्ने कदापि भुल्नुहुँदैन । वर्तमान विश्व परिवेश फराकिलो छ । राम्रा कुरा जहाँबाट सिके पनि हुन्छ । हाम्रो पूर्वीय दर्शनमा भएका राम्रा कुरालाई पनि लिन सकिन्छ । हाम्रा इतिहास, संस्कृति र साहित्य पनि सूक्तिका अजस्र स्रोत हुन् ।

उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर
फलेको वृक्षको हाँगो नझ्ुकेको कहाँ छ र ?

लेखनाथ पौड्यालका यी हरफ पहिला कविता थिए । अब यी सूक्ति भएका छन् । त्यस्तै ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ होस् या ‘ज्ञान मर्दछ हाँसेर रोई विज्ञान मर्दछ’ होस्— यिनमा प्रयुक्त भाव अत्यन्त लाभकारी छन् । बुद्ध दर्शनमा एउटा भनाइ छ— ‘अप्पो दिपो भव’ अर्थात् तिमी आफैं आफ्नोे उज्यालो हौं । भयंकर ठूलो ग्रन्थले भन्न नसक्ने कुरा यति एक टुक्रो वाक्यले भनेको छ । ‘द चाइल्ड इज द फादर अफ म्यान’ अर्थात् एउटा बालक नै मानिसको पिता हो । विलियम वर्डस्वर्थको यो भनाइमा जति गहनता लुकेको छ यति नै रहस्य पनि । संसारभरिका मानिसले यो हरफमाथि विमर्श गरेका छन् । उक्त हरफले मानिसको बाल्यकाल कति महत्वपूर्ण हुन्छ भन्ने कुरा देखाउन खोजेको छ । दिमागमा तरङ्ग ल्याउने, दिलमा झ‌ङ्कार पैदा गराउने अनि मानिसको जीवनको मार्ग नै परिवर्तन गर्ने सामथ्र्य राख्ने यस्ता हरफहरू दुनियाँभर कति छन् कति । शिक्षा कर्ममा लाग्नेले केही राम्रा सूक्तिहरू खोजेर स्कूलमा राख्दा तिनले स्कूलको शोभा मात्रै बढाउँदैनन्, बालबालिकाको दिल र दिमागको शोभा पनि बढाउन सक्छन् ।

सहायक प्राचार्य, नेपाल प्रहरी विद्यालय, साँगा, काभ्रे

शिक्षक  मासिक, २०७६ कात्तिक अंकमा प्रकाशित ।

commercial commercial commercial commercial