पाठ्यक्रम महत्तव र प्रयोग विधि

सिकारुको सर्वाङ्गीण पक्षको विकासका लागि तयार गरिएको शैक्षिक, शैक्षणिक योजना, कार्यक्रम तथा अनुभवहरूको सङ्गठनात्मक स्वरुप नै पाठ्यक्रम हो । सिकारुको शारीरिक, बौद्धिक, सामाजिक, नैतिक, आध्यात्मिक तथा सौन्दर्यात्मक विकासको आवश्यकताले पाठ्यक्रम निर्धारण गर्दछ ।

यसकारण पाठ्यक्रमको प्रमुख तत्व नै सिकारु हो । यसका लागि सिकारुले विद्यालयभित्र तथा बाहिरका विभिन्न माध्यमबाट अपेक्षित अनुभव तथा उपलब्धि हासिल गर्दछन् भने शिक्षक, विद्यालय तथा अन्य सरोकारवालाले सिकाइको उपयुक्त वातावरण सिर्जना गर्ने गर्दछन् ।

पाठ्यक्रम विभिन्न ढाँचामा विकास गरिएको हुन्छ, जस्तै, विषयगत, एकीकृत, बृहत् क्षेत्रमा आधारित, जीवनोपयोगी, मुख्य, समस्या समाधान, क्रियाकलाप केन्द्रित, लुप्त आदि । पाठ्यक्रम विकास गर्दा व्यक्तिगत आवश्यकता, सामाजिक तथा सांस्कृतिक सन्दर्भ, मूल्य सम्बन्धी आवश्यकता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश आदिको समेत विश्लेषण गरिएको हुन्छ । दार्शनिक, ऐतिहासिक, सामाजिक र मनोवैज्ञानिक पक्षलाई पाठ्यक्रमको मुख्य आधारको रूपमा लिइन्छ ।

नेपालमा अवलम्बन गरिएको पाठ्यक्रमको ढाँचा
नेपालको विद्यालय तहमा सक्षमतामा आधारित पाठ्यक्रम विकास गरी कार्यान्वयन गरिएको छ । सञ्चार, अन्तरवैयक्तिक सम्बन्ध, स्वव्यवस्थापन, तार्किकता र समस्या समाधानलाई आधारभूत सक्षमताको रूपमा लिइएको छ । सिकारुको दैनिक जीवनयापनलाई सहज बनाउन, अनुकूलित भइरहन र व्यावसायिक क्षेत्रमा आवश्यक पर्ने ज्ञान, सीप, अभिवृत्ति, मूल्य र काम गर्ने तत्परतालाई व्यावहारिक रूपले उपयोग गर्न सक्ने बनाउने गरी विकास गरिएको पाठ्यक्रमलाई सक्षमतामा आधारित पाठ्यक्रमको रूपमा परिभाषित गरिएको छ । सक्षमतामा आधारित पाठ्यक्रम विकास गर्दा बालबालिकाको संज्ञानात्मक, भावनात्मक, मनोक्रियात्मक क्षेत्र, बहुबौद्धिकता, सर्वाङ्गीण बालविकास, बालकेन्द्रित विकासात्मक पद्धति, एकीकृत सिद्धान्त, समावेशी सिद्धान्त, स्थानीय आवश्यकता र खोज तथा अनुसन्धान जस्ता पाठ्यक्रम विकासका सैद्धान्तिक आधारलाई ध्यान दिइएको छ ।

सक्षमतामा आधारित पाठ्यक्रम आवश्यक पर्नुका कारण

  • तहगत शिक्षाको प्राप्ति पश्चात् व्यक्तिगत सामाजिक व्यवहार तथा सामूहिक जीवनपद्धति र परिवर्तित सन्दर्भ समेतमा आफूलाई समायोजन गर्ने सामथ्र्य प्राप्त गर्न
  • विद्यार्थीको उमेर, विकासको स्तर, सिकाइको अवस्था, शिक्षण सिकाइ क्रियाकलाप र मूल्याङ्कन समेतलाई आधार मानी व्यवहारमुखी ज्ञान तथा सीप विकासलाई ध्यान दिन
  • विद्यार्थीको उमेर अनुसार आफ्नोे जीवनमा के कस्ता कार्यहरू सम्पन्न गर्न सक्छन् भन्ने पक्षलाई सम्बोधन गर्न
  • विद्यार्थी मूल्याङ्कन पद्धतिले लक्षित सक्षमता हासिल गर्न सके नसकेको यकिन गरी उपचारात्मक शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न
  • विविध प्रकारका मापनयोग्य साधन प्रयोग गरी स्पष्ट रूपमा यकिन गर्न सकिने सक्षमता तय गर्न
  • निर्दिष्ट सक्षमताको प्राप्ति र तिनको व्यावहारिक उपयोगमा केन्द्रित हुन
  • कार्यमूलक सीपको प्राप्ति, नतिजामुखी प्रतिफल र व्यवहार उन्मुख ज्ञान, सीप तथा अभिवृत्ति विकास गर्न

सक्षमतामा आधारित भई बनेको नेपालको पहिलो पाठ्यक्रम आधारभूत शिक्षा पाठ्यक्रम (कक्षा ६–८) २०६९ हो । तत्पश्चात् विकास गरिएका माध्यमिक शिक्षा पाठ्यक्रम, २०७१ (कक्षा ९–१०) र आधारभूत तह (कक्षा १–३) को पाठ्यक्रम, २०७५ पनि सक्षमतामा आधारित भई बनेका हुन् भने हाल कक्षा–४ देखि ८ सम्मको पाठ्यक्रम समेत सक्षमतामा आधारित रहेर विकास (२०७६) भइरहेको छ । सक्षमताहरू पूरा गर्नको लागि पाठ्यक्रम सिकाइ उपलब्धिहरू निर्धारण गरिएका छन् । तिनको उद्देश्य विद्यार्थीलाई तोकिएको विषयमा सक्षम बनाउनु हो ।

नेपालमा हाल कक्षा–१ देखि ३ सम्मको पाठ्यक्रमलाई एकीकृत ढाँचामा विकास गरिएको छ । एकीकृत पाठ्यक्रम विकास गर्दा विषयगत, बहुविषयगत र अन्तरविषयक पद्धति अँगालिएको छ । बहुविषयगत क्षेत्र अन्तर्गत नेपाली, गणित, अंग्रेजी र हाम्रो सेरोफेरो रहेका छन् । हाम्रो सेरोफेरो विषय क्षेत्रलाई अन्तर विषयगत पद्धतिबाट एकीकृत गरिएको छ । त्यस अन्तर्गत सामाजिक अध्ययन, सिर्जनात्मक कला, विज्ञान, स्वास्थ्य र शारीरिक शिक्षाका विषयवस्तुलाई एकीकरण गरिएको छ । कक्षा–४ देखि १२ सम्म आंशिक एकीकरण र विषयगत तथा मुख्य पाठ्यक्रमको रूपमा विकास गरिएको छ ।

पाठ्यक्रममा शिक्षाको उद्देश्य, सक्षमता, पाठ्यक्रमको ढाँचा, पठनपाठनको समयावधि, वैकल्पिक शिक्षा पद्धति, सिकाइ सहजीकरण प्रक्रिया, विद्यार्थी मूल्याङ्कन प्रक्रिया समेटिएको हुन्छ । विषयगत पाठ्यक्रममा परिचय, तहगत सक्षमता, कक्षागत सिकाइ उपलब्धि र विषयवस्तु, विषयवस्तुको क्षेत्र तथा क्रम, सिकाइ सहजीकरण प्रक्रिया, विद्यार्थी मूल्याङ्कन प्रक्रिया (सैद्धान्तिक र प्रयोगात्मक) पनि दिइएको हुन्छ । पाठ्यक्रम साधन र साध्य दुवै हो । पाठ्यपुस्तक, शिक्षक निर्देशिका तथा सन्दर्भ सामग्रीहरू भने साधन मात्र हुन् । तसर्थ शिक्षकले पाठ्यक्रमको महत्वलाई बिर्सनुहुँदैन । विद्यालयमा गरिने हरेक क्रियाकलापमा पाठ्यक्रमलाई मुख्य आधार बनाउनुपर्छ । पाठ्यक्रमको प्रयोगलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः

(क) स्थानीय पाठ्यक्रम विकासमा राष्ट्रिय पाठ्यक्रमको प्रयोग
नेपालमा पाठ्यक्रमको विकास राष्ट्रिय र स्थानीय गरी दुवै प्रकारले हुने गरेको छ । मुख्य विषयका पाठ्यक्रम राष्ट्रिय स्तरमा पाठ्यक्रम विकास केन्द्रले तयार गर्दछ भने स्थानीय विषय तथा मातृभाषाको पाठ्यक्रम स्थानीय तहमा तयार गरी कार्यान्वयन गरिन्छ । स्थानीय तहमा निर्माण गरिने पाठ्यक्रमको विकास र प्रयोगमा शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति तथा अन्य सरोकारवालाहरूलाई राष्ट्रिय पाठ्यक्रमले निम्न पक्षमा सहयोग गर्दछ:

  • पाठ्यक्रम विकास गर्दा आवश्यकता पहिचान गर्ने तरिका अवगत गराउन
  • पाठ्यक्रम निर्माण गर्ने प्रक्रिया तथा चरणहरूको जानकारी दिन
  • पाठ्यक्रममा सक्षमता, सिकाइ उपलब्धि, विषयवस्तुको छनोट र सङ्गठन गर्ने सीपसँग परिचित गराउन
  • पाठ्यक्रमका क्षेत्रगत पक्षहरूलाई दिइने पाठ्यभार (सैद्धान्तिक र प्रयोगात्मक) को जानकारी दिन
  • सिकाइ सहजीकरणका तरिका र विधिहरूको जानकारी दिई उपयुक्त तरिका र विधिको छनोट र पहिचान गर्ने सीपको विकास गर्न
  • विद्यार्थीको मूल्याङ्कन गर्ने तरिकाको जानकारी दिई उपयुक्त साधनहरूको विकास गरी प्रयोग गर्न
  • सिकाइ उपलब्धिको मापनको लागि विशिष्टीकरण तालिका निर्माण गर्ने तरिकाको जानकारी दिन
  • पाठ्यक्रम निर्माण गर्ने सीपको विकास गर्न

(ख) सिकाइ सहजीकरणमा पाठ्यक्रमको प्रयोग
पाठ्यक्रममा संलग्न सिकाइ उपलब्धिहरू प्रत्येक शिक्षकको मन मस्तिष्कमा रहनुपर्छ । एक दक्ष र सक्षम शिक्षकले पठनपाठन हुने दिनमा मैले विद्यार्थीमा हासिल गराउनुपर्ने सिकाइ उपलब्धि यो हो भन्न सक्नुपर्छ ताकि सिकाइ सहजीकरण क्रियाकलापका माध्यमबाट विद्यार्थीलाई सोही सिकाइ उपलब्धि हासिल गराउन सक्षम होउन् । यसले नै विद्यार्थीको सिकाइ उपलब्धि हासिल गर्ने दर अभिवृद्धि गर्छ र समग्रमा विद्यार्थीको उपलब्धिको स्तर उच्च रहन्छ । सिकाइ सहजीकरणमा पाठ्यक्रमको प्रयोग निम्नानुसार हुन सक्छ:

  • शिक्षक, सिकारु तथा व्यवस्थापकलाई मापनयोग्य योजना र संरचना प्रदान गर्न
  • शिक्षकलाई सिकारुले हासिल गर्नुपर्ने सक्षमता, सिकाइ उपलब्धि, मापदण्ड र मूल्याङ्कन गर्ने तरिकाको जानकारी दिन
  • सिकारुलाई अर्को तह वा कक्षामा प्रवेश गर्नुभन्दा पहिले के के उपलब्धि हासिल गर्नुपर्छ भन्ने कुराको जानकारी दिन
  • शिक्षक र विद्यार्थीको प्राज्ञिक सफलताको मार्ग सुनिश्चित गर्न
  • शिक्षकलाई कुन कक्षाका सिकारुका लागि कुन–कुन विषयवस्तु र सिकाइ उपलब्धि तथा सीप प्रदान गर्नुपर्छ भन्ने कुराको जानकारी दिन
  • शिक्षकलाई दैनिक पाठयोजनामा समावेश गर्न सकिने उद्देश्यहरू निर्माण गर्न र पूरा गराउन सहयोग गर्न
  • कुन तह र कक्षामा कुन–कुन सक्षमता, सिकाइ उपलब्धि र विषयवस्तु तथा क्षेत्रहरू छन् भन्ने कुराको जानकारी दिन
  • कुन विषय अन्तर्गतका विषयवस्तुको क्षेत्रको लागि कति पाठ्यभार (सैद्धान्तिक र प्रयोगात्मक) दिइएको छ भन्ने कुराको जानकारी दिन
  • शिक्षकलाई पाठ्यभार अनुसारको विषयवस्तु समयमै सहजीकरण गर्न
  • विषयगत रूपमा सहजीकरण गर्नका लागि अपनाउन सकिने तरिका र विधिहरूको जानकारी गराउन र विषयवस्तुको प्रकृति अनुसारको तरिका र विधि चयन गर्ने सीपको विकास गराउन
  • विद्यार्थीको सिकाइ उपलब्धि हासिल गर्ने दर अभिवृद्धि गर्न
  • पाठ्यक्रममा दिइएको विशिष्टीकरण तालिकाले सिकाइ सहजीकरणको क्रममा विद्यार्थीलाई सोध्न सकिने प्रश्न तथा क्रियाकलापहरू चयन गर्न
  • सिकारूको स्तर पहिचान गरी वैयक्तिक शिक्षण गर्न ।

(ग) विद्यार्थी मूल्याङ्कनमा पाठ्यक्रमको प्रयोग

  • विद्यार्थीले सिकाइ उपलब्धि पूरा गरे नगरेको लेखाजोखा गर्ने साधनको जानकारी हुन
  • विद्यार्थीको सैद्धान्तिक र प्रयोगात्मक मूल्याङ्कनको भार पहिचान गर्न
  • विद्यार्थीको मूल्याङ्कन गर्ने तरिका र प्रक्रियासित परिचित हुन
  • सैद्धान्तिक पक्षको मूल्याङ्कन गर्ने साधन (ग्रिड अर्थात् विशिष्टीकरण तालिका) को जानकारी लिई सिकाइ सहजीकरण र आवधिक मूल्याङ्कन गर्ने प्रक्रियामा अवगत हुन्
  • विद्यार्थीलाई विभिन्न क्षेत्र र तह अनुसारका प्रश्न निर्माण गरी मूल्याङ्कनमा तिनको प्रयोग गर्न
  • प्रयोगात्मक मूल्याङ्कन गर्ने तरिका, ग्रिडमा जानकारी भई सोही अनुरूप सिकाइ सहजीकरण गर्न
  • मूल्याङ्कन गर्ने उपयुक्त तरिका अवलम्बन गर्न
  • विद्यार्थीको सिकाइ सुधारको लागि उपयुक्त मूल्याङ्कनका साधनको विकास गर्ने सीपको विकास गर्न ।

पाठ्यक्रम प्रयोग गर्ने तरिका
मुख्यतः पाठ्यक्रमलाई व्यावहारिक उद्देश्य निर्धारण गर्न, सिकाइ सहजीकरण क्रियाकलापहरूको विकास गर्न र विद्यार्थीको मूल्याङ्कन गर्नमा प्रयोग गरिन्छ । यसका अलावा निम्न ढङ्गबाट पनि पाठ्यक्रमको प्रयोग गर्न सकिन्छ:

  • पाठ्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सर्वप्रथम वार्षिक कार्ययोजना÷वार्षिक शैक्षणिक योजना तयार गर्ने र उक्त योजनामा प्रत्येक महीनामा पढाइ हुने दिन, एकाइ, पाठ, अनुमानित पाठ्यघन्टी, सिकाइ उपलब्धि, सिकाइ सामग्री तथा मूल्याङ्कनको तरिका उल्लेख गर्ने
  • विस्तृत पाठ्यक्रम कार्यान्वयन कार्ययोजना तयार गर्ने जसमा एकाइगत वा पाठगत रूपमा सिकाइ गर्नका लागि समावेश गर्न सकिने सिकाइ उपलब्धि, सामग्री, विधि र तरिका तथा मूल्याङ्कनका तरिकाहरू समावेश गर्ने
  • दैनिक पाठयोजनामा निम्न पक्षहरू समावेश गर्ने

    पाठ्यक्रमको सिकाइ उपलब्धि....
    सिकाइ सहजीकरण गर्दा अपेक्षा गरिएको उपलब्धि वा विशिष्ट उद्देश्य ...
    सिकाइ सहजीकरण: सामग्री, विधि र तरिका....
    अपेक्षित उपलब्धि पूरा भए नभएको मूल्याङ्कनः निर्माणात्मक र निरन्तर विद्यार्थी मूल्याङ्कनका साधनहरू....
    (प्रत्येक दिन सिकाइ सहजीकरण गर्दा पाठ्यक्रममा दिइएका... सिकाइ उपलब्धिहरूमध्ये आज हामी यो .... सिकाइ उपलब्धि पूरा गर्दैछौं भन्ने कुराको जानकारी दिने ।)

  • परीक्षा बाहेकका मूल्याङ्कनका साधनहरूको विकास गरी आवश्यकता अनुसार प्रयोग गर्ने
  • प्रत्येक थिम वा एकाइ वा पाठको सहजीकरण पश्चात् परिमार्जित ब्लुमको टेक्सोनोमी अनुसार तयार गरिएको ग्रिड अनुसार सबै तहका प्रश्नहरू निर्माण गरी लिखित परीक्षा लिने र उत्तरपुस्तिका परीक्षणपश्चात् विद्यार्थीलाई पृष्ठपोषण सहित उत्तरपुस्तिका फिर्ता गर्ने
  • पाठ्यक्रममा दिइए अनुसारका प्रयोगात्मक क्रियाकलाप तथा परियोजना कार्यहरू गराउने र आवश्यकता अनुसार थप क्रियाकलापहरू गराई अभिलेखीकरण गर्ने/गर्न लगाउने ।

निष्कर्ष
पाठ्यक्रम समग्र सिकाइ प्रक्रियाको मुटु हो । यो सिकाइ सहजीकरण र शैक्षिक तथा शैक्षणिक उपलब्धि सुनिश्चित गर्ने योजना र प्रक्रिया हो । पाठ्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पाठ्यसामग्रीहरू (पाठ्यपुस्तक, शिक्षक निर्देशिका लगायत) को आवश्यकता अनुसार प्रयोग गर्नुपर्ने हुन्छ । पाठ्यक्रमको प्रयोग स्वयं पाठ्यक्रमको विकासमा, सिकाइ सहजीकरण प्रक्रियामा, विद्यार्थीको मूल्याङ्कनमा गर्न सकिन्छ । पाठ्यक्रममा शिक्षाको राष्ट्रिय उद्देश्य, पठनपाठनको अवधि, पाठ्यक्रमको ढाँचा, सक्षमता, कार्यान्वयन योजना, सिकाइ उपलब्धि, सहजीकरण प्रक्रिया, पाठ्यभारको विभाजन, प्रयोगात्मक र सैद्धान्तिक मूल्याङ्कन प्रक्रिया समेत दिइएको हुने भएकाले पाठ्यक्रमलाई एक साध्यको रूपमा लिन सकिन्छ । तर सिकाइ प्रक्रियाको रूपमा भने यसलाई साधनको रूपमा लिन सकिन्छ ।

पाठ्यपुस्तक तथा सन्दर्भ सामग्रीहरूलाई पाठ्यक्रमले अपेक्षा गरेका उपलब्धि र सक्षमताहरू पूरा गर्ने साधनको रूपमा लिन सकिन्छ । एक असल शिक्षकले पाठ्यक्रमसँगै पाठ्यपुस्तक र शिक्षक निर्देशिका, सन्दर्भ सामग्रीको समेत अध्ययन गरी पाठ्यक्रमले निर्धारण गरेका सिकाइ उपलब्धिहरूलाई क्रमशः पूरा गराउन अपरिहार्य रूपमा पाठ्यक्रमको प्रयोग गर्नुपर्छ । पाठ्यक्रममा दिइएका प्रावधान अनुसार सिकाइ सहजीकरण र मूल्याङ्कन क्रियाकलाप सञ्चालन गर्दा विद्यार्थीको सिकाइ उपलब्धि अधिकतम रूपमा हासिल गराउन सकिन्छ । यी समग्र क्रियाकलापहरूले नै शिक्षाको गुणस्तरीयता निर्धारण गर्दछन् । गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने एक महत्वपूर्ण साध्य र साधनको रूपमा पाठ्यक्रमको प्रभावकारी रूपमा प्रयोग गर्नुपर्छ भन्ने कुरालाई कहिल्यै बिर्सनुहुँदैन ।

अधिकृत, पाठ्यक्रम विकास केन्द्र

शिक्षक मासिक, २०७६ कात्तिक अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial