ग्रन्थचित्रः बेकाइदाको चिनारी

चित्रकलाका अनेक भेदमा ग्रन्थचित्र (Manuscript Painting) एउटा हो । मुद्रण प्रविधिको आविष्कार हुनुअघि ग्रन्थहरू हातैले लेखिन्थे, तयार पारिन्थे । र, एकभन्दा बढी प्रति चाहियो भने त्यसलाई पुनः सारेर लिइन्थ्यो । यस्ता ग्रन्थलाई ‘हस्तलिखित ग्रन्थ’ भनिन्छ । विषयवस्तुलाई सरल रूपमा बुझाउन वा आकर्षक पार्न हस्तलिखित र छापाखानामा मुद्रित ग्रन्थका बीच–बीचमा चित्रहरू पनि हुने गर्छन् । तिनै चित्रलाई ग्रन्थचित्र भनिएको हो । हस्तलिखित ग्रन्थ र ग्रन्थचित्रको परम्परा नेपालको मौलिक नभए पनि नेपालमा सिर्जित हस्तलिखित ग्रन्थ र ग्रन्थचित्रले भने नेपालको चिनारी दिन महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।

पाठ्यक्रम विकास केन्द्रद्वारा प्रकाशित कक्षा–८ को नेपाली  विषयको पाठ्यपुस्तक (प्रथम संस्करण २०७२ र पुनः मुद्रण २०७५) मा राखिएको ‘ग्रन्थचित्र’ शीर्षकको पाठले हस्तलिखित ग्रन्थ के हो, यी कति प्रकारका हुन्छन्, कसरी बनाइन्छन् भन्ने जानकारी दिएर ग्रन्थचित्र चिनाउने जमर्को गरेको छ । विद्यार्थी वर्गलाई ग्रन्थचित्रबारे जानकार बनाउनु राम्रो हो, तर यसबारेमा पुस्तकमा दिइएको सतही जानकारीले पाठलाई सार्थक बनाउन भने सकेको छैन । नेपाली ग्रन्थचित्रका बारेमा विभिन्न विषयविज्ञहरूले सूक्ष्म अध्ययन गरेर लेख तथा पुस्तकहरू प्रकाशनमा ल्याइसकेका छन् । यसैमाथि विद्यावारिधि गरेका प्राज्ञिकहरू पनि छन् । अर्थात् ग्रन्थचित्रबारे बोल्न र लेख्न सन्दर्भ सामग्रीहरूको अभाव छैन । तर इन्द्रबहादुर खत्रीद्वारा लिखित यो पाठ पूर्व कार्य बारेमा पूरै उदासीन देखिन्छ ।

मानव जातिले आफ्नो वासस्थान गुफालाई बनाउने वेलामा नै चित्रकलाको सिर्जना गर्न थालिसकेको कुरा अल्टामिरा लगायतका गुफाका भित्तामा कोरिएका चित्रबाट थाहा हुन्छ । यहींबाट चित्रकलाको परम्परा विकसित भएको कुरामा शङ्का छैन । तर पाठमा लेखकले प्रयोग गरेको अतिशयोक्तिपूर्ण भाषाशैलीले ग्रन्थचित्रका बारेमा विद्यार्थी स्पष्ट हुनुभन्दा अलमलिने सम्भावना बढी देखिन्छ । सो पाठमा— मूर्तिकला, वास्तुकला, नृत्यकला आदि कलाका भेद हुन् । र, यी जम्मै कलाको उत्पत्तिको आधारभूमि ‘प्राचीन युगदेखि शुरू भएको ग्रन्थचित्र हो’ भनिएको छ जुन गलत हो । ग्रन्थचित्र भन्दा अघि नै भित्तेचित्र, मूर्ति, वास्तु, नृत्य आदिको विकास भइसकेको थियो । बरू आधुनिक समयमा विकास भएका पत्रपत्रिका तथा पुस्तकमा प्रयुक्त हुने चित्र वा तस्वीरको पृष्ठभूमिसँग ग्रन्थचित्रलाई जोड्न सकिन्छ ।

लिच्छविकालीन स्रोत सामग्रीहरूमा समेत चित्रकलाबारे उल्लेख भएको आधारमा नेपाली चित्रकलाको इतिहासलाई पुरानो नै मान्न सकिन्छ । तर कालगतिले ती मासिएका छन् । नेपाल संवत् १३५ अङ्कित सन् १०१५ मा तयार पारिएको र हाल क्याम्ब्रिज विश्वविद्यालयको पुस्तकालयको सङ्कलनमा रहेको ‘अष्टसाहस्रिका प्रज्ञापारमिता’ नाउँको हस्तलिखित ग्रन्थमा अङ्कित ग्रन्थचित्र नै नेपालमा प्राप्त सबैभन्दा पुरानो हो । लैनसिंह बाङ्देलका अनुसार यतिको पुरानो ग्रन्थचित्र आजसम्म पूर्वीय हिन्दुस्तानी सम्पदामा पनि भेट्टाइएको छैन । ‘अष्टसाहस्रिका प्रज्ञापारमिता’ नाउँ नै रहेका सन् १०२८ (निजी सङ्कलन, एस.के. सरस्वती, कलकत्ता) र सन् ११४८ (एशियाटिक सोसाइटी, कलकत्ता) मा निर्मित दुई हस्तलिखित ग्रन्थमा पनि ग्रन्थचित्रहरू परेका छन् ।

लैनसिंह बाङ्देलका अनुसार नेपाल बाहिर पुगेका ग्रन्थचित्रहरू एशिया सोसाइटी अफ बङ्गाल, आशुतोष म्युजियम (कलकत्ता), भारतकला भवन (काशी), नेशनल म्युजियम (दिल्ली), इण्डिया अफिस लाइबे्ररी (लन्डन), लेनिनग्राड पब्लिक लाइब्रेरी, मेट्रोपोलिटन म्युजियम (न्यूयोर्क); लस एन्जेलस काउन्टी म्युजियम, क्लिभलेण्ड म्युजियम, डेट्रोयेट इन्ष्टिच्यूट अफ आर्ट तथा सिन्सिनेटी म्युजियम लगायत यूरोप र अमेरिकाका निजी संग्रहमा समेत रहेका छन् । यसरी नै नेपालमा राष्ट्रिय अभिलेखालय, केशर पुस्तकालय, भक्तपुर संग्रहालय, नेपाल म्युजियम, आशा आर्काइभ्स लगायत अनेक विहार, मन्दिर तथा निजी संग्रहमा पुराना पनि ग्रन्थचित्रहरू रहेका छन् ।

नेपालमा हस्तलिखित ग्रन्थहरू जस्तै ग्रन्थचित्रहरू पनि हिन्दू र बौद्ध दुवै धर्मसँग सम्बन्धित हुनु स्वाभाविक हो । पिंगलामाता, देवी महात्म्य, पञ्चरक्षा, विष्णुधर्म शास्त्र, हरिवंश, हितोपदेश लगायतका त्यस्ता हजारौं ग्रन्थ प्राप्त छन् । ग्रन्थचित्रहरू धर्मसँग मात्रै सम्बन्धित नभएर ज्योतिष, यौन तथा औषधि विज्ञान लगायत अनेकौं विषयसँग सम्बन्धित हुन्छन् ।

पाठ्यपुस्तकमा ‘ग्रन्थचित्र’ सम्बन्धी जानकारी दिने जमर्को गरिए पनि त्यहाँ एउटै मात्र ग्रन्थलाई उदाहरणका रूपमा पेश गरिएको छ । अन्य ग्रन्थचित्रहरूका बारेमा पनि उल्लेख गरिएको भए विद्यार्थी स्पष्ट हुनसक्थे । पाठ्यपुस्तकमा उल्लेख गरिएको एउटै मात्र ग्रन्थ पनि आफैंमा शङ्कास्पद रहेको पाइन्छ । डेढ हात जति लामो ताडपत्रमा लेखिएको भनिएको प्रज्ञापारमिता ग्रन्थमा अठार वटा बौद्ध देवी–देवताका चित्रहरू कोरिएका छन् । पाठ्यपुस्तक लेखकका अनुसार यो चित्र वि.सं. ९७७ मा राजा शंकर देवको समयमा बनाइएको हो र हाल त्यो पाटनस्थित महाबौद्ध मण्डलमा शाक्यहरूको जिम्मामा छ । यदि यो कुरा सही हो भने लैनसिंह बाङ्देल, अमर चित्रकार लगायतका सबै विषयविज्ञहरूले दिन नसकेको र हालसम्म कहींकतै चर्चामा आइनसकेको यो पहिलो जानकारी भयो । अझ् सबैभन्दा पुरानो ग्रन्थचित्र पनि यही हुने देखियो । तर यस लेखकले पाटनस्थित महाबौद्धका शाक्यहरूसँग बुझदा स्वयं शाक्यहरू यस सम्बन्धमा अनभिज्ञ रहेको पाइयो । त्यस आधारमा उक्त पाठ्यांशको सत्यता पनि शङ्कास्पद देखिन्छ ।

ठूला–साना हस्तलिखित ग्रन्थहरू सबैमा ग्रन्थचित्र हुनैपर्छ भन्ने छैन । ग्रन्थकार वा ग्रन्थ लेख्न लगाउने दाताको इन्छानुसार ग्रन्थचित्र राख्ने वा नराख्ने भन्ने निधो हुन्छ । ग्रन्थको विषयवस्तुलाई अझ् प्रष्ट्याउन ग्रन्थको बीचमा वा किनारामा साना–साना चित्रहरू ज्यादै सूक्ष्मढङ्गले आकर्षक रूपमा वा सामान्य रेखाचित्र मात्र कोरेर पनि बनाइन सक्छ । प्रायः ग्रन्थ लेखिसकेपछि चित्रको काम हुने गरेको पाइन्छ वा ग्रन्थचित्र लेख्न ठाउँ राखिएको तर लेखिनसकेका अधुरा हस्तलिखित ग्रन्थहरू पनि पाइएका छन् । ग्रन्थको मूल पाठमा रहेका चित्रलाई सामान्य चित्रका रूपमा लिइन्छ भने ग्रन्थको सुरक्षाका लागि बनाइएको काठको गातामा रहेका चित्रहरूलाई गाताचित्र पनि भनिन्छ ।



 

commercial commercial commercial commercial