लागूपदार्थको दुर्व्यसन रोग पनि हो

‘एउटा राष्ट्र ध्वस्त पार्न त्यत्ति गाह्रो छैन, यदि त्यहाँका युवाहरूलाई आफ्नो कब्जामा लिन सकियो भने... ।’ उपनिवेशकालीन बेलायतले यही फर्मुला प्रयोग गरेर चीनलाई तहसनहस पार्न सफल भएको इतिहासमा पढ्न पाइन्छ । साम्राज्यवादीहरूले चीनका युवामा लागूपदार्थको दुव्र्यसन फैलाएर त्यो राष्ट्रलाई कब्जामा पारेका थिए ।

हो, लागूपदार्थको दुव्र्यसनरूपी रोगले सबैभन्दा बढी प्रभाव पार्ने युवाहरूलाई नै हो । राष्ट्र निर्माणमा बलिया खम्बा साबित हुनुपर्ने युवाहरू त्यस्तो भयानक नसामा गाँजिन पुग्दा राष्ट्रको पतन हुनु स्वाभाविक हुन्छ । सन् २००६ मा गरिएको एक अध्ययन अनुसार विश्वको करीब ४८ प्रतिशत जनसंख्याले कुनै न कुनै रूपमा रक्सी वा रक्सीजन्य पदार्थको सेवन गर्छ भने २९ प्रतिशत चुरोट वा सूर्तीजन्य पदार्थका अम्मली छन् । त्यसबाहेक अर्को ४.५ प्रतिशत विश्व जनसंख्या गैरकानूनी प्रकृतिका अन्य लागूपदार्थको लतमा रहेको छ । नेपाल पनि यस मामिलामा अछुतो छैन । ठूलो परिमाणमा चरेस, खैरो हिरोइन आदि लागूपदार्थहरू एअरपोर्ट, चेकपोष्ट, नाकाहरूबाट बरामद गरिएका समाचार दैनिक पत्रपत्रिकामा हामी पढ्छौं । त्यस्तै शिवरात्रि, होली जस्ता चाडपर्वको मौका पारेर खुल्लमखुल्ला गाँजा, अफिम, धतुरो, भाङ, रक्सी आदिको बिक्री–वितरण/सेवन अनि त्यसको प्रभावमा परेर होहल्ला; झगडा, मारपिट अनि दुर्घटनाहरू हुने गरेको पनि हामीले प्रत्यक्ष देख्दै र भोग्दै आइरहेका नै छौं ।

नेपालमा चुरोटको त के कुरा गर्नु ? यो सार्वजनिक स्थल बस, यातायात, सडक, पार्क, जहाँतहीं यत्रतत्र सर्वत्र व्याप्त छ । यहाँ धुम्रपान नगर्नेहरू नै ‘प्यासिभ स्मोकर’ का रूपमा बढी प्रभावित पो भइरहेका हुन् कि भनी चिन्ता गर्नुपर्ने अवस्था छ । विद्युतीय सञ्चारमाध्यममा धुम्र/मद्यपान अन्य सामग्रीको प्रचार–प्रसारमा रोक लगाएर सरकारले एउटा स्वागतयोग्य काम गरे पनि होर्डिङ बोर्डहरूमा भने ती अझै छ्याप्छ्याप्ती नै देखिन्छन् ।

नेपालमा एक दशक अगाडि गरिएको एउटा सर्वेक्षणले लागूपदार्थको सेवन शुरूआत गर्ने औसत उमेर २३.८ वर्ष भनी देखाएको छ । त्यस्तै, युवाहरू नै यसको पहिलो निशाना बन्ने कुरा अन्य मुलुकहरूमा गरिएका अध्ययनहरूले पनि देखाएका छन् । मुख्यतयाः माध्यमिक तहमा पढ्ने स्कूले विद्यार्थीहरू, निजी कलेजमा १०+२, स्नातक तहमा पढ्ने धनी परिवारका छोराछोरीहरू अनि होस्टल, अनाथालय आदिमा अभिभावकको प्रत्यक्ष नियन्त्रणबाट वर्जित र परिवारबाट धेरै टाढा रहेका किशोरहरू यसबाट बढी प्रभावित रहेको हामी मनोचिकित्सकहरूले भेट्टाएका छौं ।

भिन्न दृष्टिकोण
चिकित्सा विज्ञान र समाजले ‘लागूपदार्थ दुर्व्यसन’ लाई भिन्नाभिन्नै दृष्टिकोणबाट हेर्छन् । समाजले यसलाई नैतिकता वा धार्मिक आँखाले मात्र हेर्दछ । यसले दुर्व्यसनीहरूलाई नैतिक रूपमा पतित, अधार्मिक, विद्रोही, व्यावहारिक रूपले कमजोर भनी व्याख्या गर्दछ र तिनलाई समाज/परिवारबाट नै बहिष्कृत/तिरष्कृत गरेर लागूपदार्थकै अन्धकारमा धकेलिदिएर तिनको जीवनमा गहिरो खाडल खनिदिन्छ, जहाँबाट ती माथि उठ्न सक्दैनन्, बरू डिप्रेसन वा साइकोसिस जस्ता मानसिक रोगको शिकार बन्न पुग्दछन् । त्यस्ता व्यक्तिलाई अंग्रेजीमा 'Addict' शब्दद्वारा सम्बोधन गर्ने गरेको पाइन्छ । तर त्यो शब्दलाई मनोचिकित्सा विज्ञानले प्रयोग गर्न नै वर्जित गरेको छ ।

यता, चिकित्सा विज्ञानले चाहिं लागूपदार्थको दुव्र्यसनलाई एउटा रोगको रूपमा नै परिभाषित गर्दछ । लागूपदार्थको निरन्तर प्रयोग, यसले गर्दा सामाजिक अनि व्यावहारिक रूपमा पैदा हुने समस्या अनि यसको कुलतमा नै फस्नु, यसको प्रयोगलाई त्याग्नु र पुनः प्रयोग गर्न थाल्नु आदि सबै यही रोगका भिन्न भिन्न चरण हुन् । दुव्र्यसनको समाधान या उपचारका लागि पनि चिकित्सा–प्रविधिमा आधारित वैज्ञानिक विधिहरू प्रयोग गरिन्छ ।

अनेक कारण
अन्य मानसिक रोगहरू झैं लागूपदार्थ–दुर्व्यसनलाई पनि जैविक, मनोवैज्ञानिक र सामाजिक कोणबाट नै व्याख्या गर्न सकिन्छ । रक्सीजन्य रोगबाट ग्रस्त बाबुका छोराहरूमा गरिएको एक अध्ययनले तिनमा पनि यही रोग बढी भएको पाइएको हुँदा आनुवंशिकता पनि दुव्र्यसनको एउटा प्रमुख कारकतत्व हुनसक्ने बलियो आधार छ । त्यस्तै जैविक रसायन/हर्मोनहरूले संबद्ध व्यक्तिको मस्तिष्कका अवयवमा पार्ने प्रभावका कारण दुव्र्यसनीहरूले लागूपदार्थको प्रयोगमा कमी ल्याउन नसक्ने; बरू यसको परिमाण अझै बढाउँदै लैजाने, परिणामतः यसको चाहना थप बढ्दै जाने आदि गुणहरू विकसित हुन गएको पनि प्रमाणित भएको छ ।
दुव्र्यसनका मनोवैज्ञानिक कारणहरू केलाउँदा, बाल्यावस्थामा परेको परिवारको प्रभाव, आमाबुबाको देखासिकी, अभिभावकको उचित स्नेह, हेरचाह/निर्देशन आदि प्रमुख रूपमा पाइएका छन् ।


चिकित्सा विज्ञान र समाजले ‘लागूपदार्थ दुव्र्यसन’ लाई भिन्नाभिन्नै दृष्टिकोणबाट हेर्छन्। समाजले यसलाई नैतिकता वा धार्मिक आँखाले मात्र हेर्दछ भने चिकित्सा विज्ञानले चाहिं एउटा रोगको रूपमा नै परिभाषित गर्दछ।

सामाजिक कारणहरूमा; परिवार, साथीसँगी/सरसङ्गत, सञ्चारमाध्यमहरूको प्रभाव आदिलाई विशेष रूपमा देखाइएको छ । किशोरावस्थामा हुने अरूभन्दा फरक बन्ने चाहना, साथीहरूमाझ लोकप्रिय हुने उत्कण्ठा अनि आफ्नो समूहमा देखाउनुपर्ने ऐक्यबद्धता, साथीहरूको प्रभाव अनि आफ्नो संस्कृति वा रीतिरिवाज आदिले पनि कतिपयलाई दुव्र्यसनतर्फ लगाएको देखिन्छ । जस्तैः कतिपय संस्कृतिमा रक्सीलाई सगुनका रूपमा अनिवार्य गरिनु, होली, शिवरात्रि आदिमा गाँजा, भाँङ आदिलाई छुट गरिनु आदि ।

मानव सभ्यताको शुरूआतदेखि नै विभिन्न प्रकारका लागूपदार्थहरू सामाजिक÷सांस्कृतिक अङ्गका रूपमा रहेको पाइन्छ । चीन (अहिले अन्य देशहरूमा पनि) मा गाँजालाई औषधिका रूपमा, बर्मा/भियतनाम आदि एशियाली मुलुकहरूमा ओपियम प्रयोगलाई स्वागतयोग्य ठानिएको अनि युरोपेली मुलुकहरूमा रक्सीजन्य पदार्थलाई पौष्टिक आहारको रूपमा लिइएको देखिन्छ ।

चुरोट, रक्सी (बियर, वाइन, ह्विस्की आदि) पान, सुपारीलाई भोजभतेर, खुशियाली बाँड्ने पार्टी अनि सभा सम्मेलनका ब्याङ्क्वेट आदिमा सामाजिक रूपले नै उच्च स्थान दिइएको हामी पाउँछौं ।

यी सब कारणहरूले गर्दा बढ्दो उमेरका युवामा यी पदार्थप्रति आकर्षण रहन गएको हुन्छ । त्यसमाथि यस्तो पदार्थका दीर्घकालीन हानिहरूप्रति आँखा चिम्लिएर यसका क्षणिक/अल्पकालीन फाइदाहरूलाई मात्र बढाइँचढाइ गरी गरिने विज्ञापन र प्रचारले पनि युवा मस्तिष्कलाई प्रभावित नगरी रहन सक्तैन । त्यसैले युवाहरू सानो उमेरमा नै दुर्व्यसनग्रस्त हुन पुग्दछन् ।

दुर्व्यसनका नकारात्मक परिणामहरूलाई पनि जैविक, मनोवैज्ञानिक र सामाजिक कोणहरूबाट प्रष्ट्याउन सकिन्छ । जैविक परिणाममा यसले गर्ने स्वास्थ्यमा दीर्घकालीन असरहरू जस्तै कलेजोको सिरोसिस, अल्सर/रक्त वान्ता, फोक्सोको क्यान्सर, मुटुमा असर, दिमागी असर आदि नै प्रमुख हुन् । मनोवैज्ञानिक प्रभावमा यसले पुर्‍याउने मनोवैज्ञानिक ह्रास, यसकै प्रभावमा परेर उसको व्यक्तित्वमा आउने नकारात्मक असर अनि अन्ततः असामाजिक बन्न पुग्ने र संबद्ध व्यक्तिलाई हुनसक्ने मानसिक रोगहरू नै मुख्य हुन् । त्यस्तै यसको प्रभावले गर्दा व्यक्तिको परिवार र समाजमा आउने विचलन, बेरोजगारी अनि सामाजिक सुरक्षामा आउने आँच आदिलाई सामाजिक प्रभावका रूपमा देखाउन सकिन्छ ।

अध्ययनहरूले लागूपदार्थ दुर्व्यसनमा परेका व्यक्तिहरू औसत भन्दा कम बाँच्ने, बाँचे पनि बेरोजगार/असामाजिक रूपमा रहने, तिनको परिवारमा पनि यस्ता समस्याको पुनरावृत्ति हुनसक्ने र ती सब अनुत्पादक, देश अनि समाजका लागि अनुपयोगी जत्थाका रूपमा रहने आदि कुराहरू दर्शाएका छन् ।

लागूपदार्थ दुव्र्यसनको नियन्त्रण/उपचार कसरी गर्ने त ?
यस्तो दुर्व्यसन पूर्णरूपमा त्याग गर्ने चाहना लिएका व्यक्तिहरूमा जैविक रसायन र औषधिहरू प्रयोग गर्न सकिन्छ । सर्वप्रथम लागूपदार्थ छोड्दा हुने व्यावहारिक र मानसिक कठिनाइलाई न्यूनीकरण गर्ने औषधिहरू प्रयोग गरिन्छ र पछिबाट व्यक्तिलाई लागूपदार्थविहीन राखिराख्न अन्य उपचारमा जोड दिइन्छ । अवस्था हेरी अस्पतालमै भर्ना गर्नुपर्ने/नपर्ने विचार गरिन्छ । यसक्रममा दुव्र्यसनीमा रहेका अन्य शारीरिक/मानसिक रोगहरूको पनि उपचारको आवश्यकता पर्न सक्दछ ।
त्यस्तै; थुप्रै मनोवैज्ञानिक उपचारविधि छन् औषधि सँगसँगै गर्नुपर्ने । तीमध्ये दुर्व्यसनीलाई लागूपदार्थ त्याग गरिसकेका व्यक्तिहरूमाझ् रोखेर गरिने समूहगत उपचार (Alcohol Anonymous/ Narcotic Anonymous) बढी नै प्रभावकारी रहेको अध्ययनहरूले देखाएका छन् । यस उपचारमा रोगीहरूमा लुप्त अवस्थामा रहेको आध्यात्मिक चेतनालाई उजागर गरिन्छ । यो उपचार विधि युरोपेली मुलुकहरूमा चर्चबाट शुरूआत गरिएको हो । हाम्रो समाजमा पनि यहाँका गन्यमान्य सामाजिक अगुवा या शिक्षक वर्गले यस्तै विचार प्रयोग गरी लागूपदार्थ दुर्व्यसनीको पुनर्वास योजना बनाउन सके कति उत्तम हुन्थ्यो होला ?

दुर्व्यसनीहरूलाई सामाजिक बहिष्कार गरी तिनको मनोबल गिराउनु भन्दा तिनलाई समाजमा नै स्थान दिई तिनको पुनर्जागरणमा सहायक हुनसके समाज र राष्ट्रले आफ्नो कर्तव्य पालन गरेको ठहर्छ ।

शिक्षक  मासिक, २०७६ कात्तिक अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial