प्राचीन चित्र र मूर्तिकलामा शिक्षक र विद्यार्थी
![](https://www.shikshakmasik.com/uploads/news/News-2020110506445451.jpg)
शिल्पफलकमा दशजना विद्यार्थी छन्, जसमध्ये दुईजना मात्र ध्यान दिएर पढ्दैछन्। एउटा पढेजस्तो गर्दैछ, दुईजना स्कूलबाट भाग्ने तरखरमा छन् अनि पाँचजना चाहिं बाख्राको सवारी गर्ने उत्पातमा संलग्न छन् । १६ शताब्दी पुरानो यो ढुंगे–मूर्तिकलामा लठ्ठी बोकेका गुरूजी पनि देखिन्छन् तर लठ्ठीले विद्यार्थीलाई पढाइमा लगाउन सकेको पाइँदैन।
पत्रपत्रिका र फिल्महरूमा हामी प्रायः आजभोलिका स्कूल र कक्षाको चित्रण गरिएको देख्छौं । त्यस्ता चित्रले हाम्रासामु स्कूल र शिक्षण प्रक्रियाको छवि प्रस्तुत गर्छन् । शिक्षणसँग सम्बन्धित समकालीन चित्र र मूर्तिकलाले पनि यस्तै छाप छोड्छन् । तर, प्राचीन चित्र–मूर्तिकलामा हाम्रो उपमहाद्वीपका स्कूल वा शिक्षणको कस्तो छवि प्रस्तुत गरिएको छ ? तिनमा केकस्ता अवधारणा अन्तर्निहित छन् ? यो उत्सुकतावश केही वर्ष यता मैले यस्ता चित्र–शिल्पकलाको खोजी, निरीक्षण र अध्ययन गरिरहेको छु । यस आलेखमा, त्यस्ता केही चित्र र मूर्तिकलाबारे चर्चा गर्न चाहन्छु ।
पुरातात्वक उत्खननका क्रममा, विश्वका सबैभन्दा प्राचीन स्कूल जस्ता संस्था सुमेरियाका चार हजार वर्ष पुराना शहरहरूमा पाइएका छन् । तिनलाई ‘एडुब्बा’ (पाटीघर) भनिन्थ्यो, किन भने त्यहाँ कच्ची माटोका ससाना पाटीहरूमा पढ्न–लेख्न सिकाइन्थ्यो । त्यहाँ ‘लिपिक’ तयार पारिन्थ्यो, जसले त्यस शहरी सभ्यताको तमाम लेखाजोखा, मिथक–पुराण, इतिहास, अभिलेखीकरण आदिको जिम्मा सम्हाल्थे । पढ्ने–पढाउनेहरूको बडो आदरसम्मान थियो र माग पनि । ती संस्था सबैका लागि थिएनन्, वर्षौं कडा मिहिनेत गरेर लिपिक बन्न चाहनेहरूका लागि मात्र थिए । त्यो ‘शिक्षा’ पनि सबैका लागि थिएन ।
भारतीय उपमहाद्वीपमा औपचारिक शिक्षाबारे सबैभन्दा पहिले वैदिक साहित्यमा उल्लेख भएको पाइन्छ । वेद र त्यससँग सम्बन्धित क्रियाकलाप अनि साहित्य— ऋग्वेदकै समयदेखि विशिष्ट ज्ञान बनिसकेका थिए, जसलाई गुरुबाट विधिवत् सिक्नुपथ्र्यो । गुरु, गुरुकुल र शिष्यबारे प्राचीन साहित्यमा पर्याप्त वर्णन पाइन्छ । वैदिक अध्ययन न सजिलो थियो, न त रोचक । नियम र अनुशासनको कठोर घेरामा रहेर कडा परिश्रम गरेपछि, गुरुकृपाबाट मात्र ज्ञान हासिल हुन सक्थ्यो । पाणिनि (ईसापूर्व पाँचौं शताब्दी) को व्याकरण र त्यसको तीन सय वर्ष पछि पतञ्जलिले गरेको व्याख्यामा यसका केही रोचक झलक पाइन्छन् । व्याकरणका नियम बताउने क्रममा पाणिनिले गुरुका आँखा छल्ने शिष्यको कुरा गरेका छन्ः (अन्तर्धौ येनादर्शनमिच्छति) । पाणिनिको त्यस सूत्रात्मक कथनको व्याख्या गर्दै पतञ्जलि भन्छन्, ‘गुरुले देखे भने गाली गर्लान् वा कुनै काम लगाउलान् भनेर शिष्य गुरुले नदेख्ने ठाउँमा जान्छ ।’ पाणिनिले ‘पढाइबाट हार्ने’ (पराजेरसोढः) विद्यार्थीको उल्लेख पनि गरेका छन् । सूत्रको व्याख्यामा पतञ्जलि भन्छन्, ‘अध्ययन दुःखदायी छ, पढेको कुरा याद राख्न कठिन छ र गुरुको निकट जान सजिलो छैन ।’ त्यसैले विद्यार्थी पढाइबाट हार्छ (अध्ययनात् पराजयते) । यसरी हारेकाहरू ‘ड्रप आउट’ पनि हुन्थे । यसका लागि पाणिनिले विचित्रको शब्द उपयोग गरेका छन्— ‘खट्वारूढः’, अर्थात् खाटमा चढेको । यसको व्याख्या गर्दै पतञ्जलि भन्छन्, अध्ययनरत विद्यार्थीलाई खाटमा चढ्न निषिद्ध हुन्छ, उनीहरूले भुईंमा सुत्नुपर्छ । अध्ययन सकिएपछि गुरुको अनुमति प्राप्त गरेर मात्र ऊ खाटमा सुत्ने अधिकारी हुन्छ । बीचमै पढाइ छोडेर कोही घर फर्किन्छ भने त्यसलाई ‘खाटमा चढेको/पतित’ भनिन्छ ।
अब आऊँ शिल्पपटलतिर । मध्यप्रदेश (भारत) को भारहुत भन्ने ठाउँमा एउटा विशाल स्तूपको भग्नावशेष छ त्यहाँ पाइएका अनेकौं शिल्पपटल (मूर्ति कुँदिएका चेप्टा ढुंगा) कोलकाताको संग्रहालयमा राखिएका छन् । ईसापूर्व १२५ तिर निर्मित ती शिल्पपटलमध्ये एउटा यस्तो पटल छ, जो यस महाद्वीपमा पाइएको सबैभन्दा पुरानो शिक्षणको चित्र हो (चित्र १) ।
यस शिल्पपटलमा एउटा रूख नजीकै अग्लो आसनमा एकजना जटाधारी गुरु बसेका छन् । उनका सामुन्ने चार शिष्य छन् जसको कपाल लामो छ । तीन जनाले जुरो बाँधेका छन्, एउटाले कपाल खुला छोडेको छ । कम्मरमाथि कसैको पनि लुगा देखिंदैन । गुरु हात उठाएर केही भनिरहेका छन् । ध्यान दिनुपर्ने कुरा के भने, शिष्यहरू उनीतिर हेरिरहेका छैनन्, निहुरिएर केही लेखिरहेका छन् । यसबाट बुझिन्छ, गुरुले यिनलाई वैदिक शिक्षा दिइरहेका छैनन् । किनभने, त्यस कालमा वेद लेखेर पढिंदैनथ्यो; गुरुबाट सुनेर, दोहोर्याएर कण्ठस्थ गर्नुपथ्र्यो ।
पटललाई अलि ध्यान दिएर हेर्ने हो भने यसमा उपयोग गरिएका युक्तिहरू स्पष्ट हुन्छन् । पटलको लगभग आधा हिस्सा गुरुजीका लागि सुरक्षित छ र बाँकी आधा हिस्सामा विद्यार्थीलाई अंकित गरिएको छ । गुरुको आकार ठूलो त छँदैछ, जटाका कारण उनको शिरले थप प्रमुखता पाएको छ । गुरु पक्षको वजन बढाउन उनको छेउमा रूख बनाइएको छ । गुरुको शिर उठेको छ जबकि शिष्यहरू निहुरिएका छन् । यसरी, हरेक कोणबाट गुरुको उच्चता प्रकट गरिएको छ ।
पाणिनि छत्र शब्दबाट ‘छात्र’ बनेको बताउँछन् (छत्रादिभ्यो णः) भने त्यसको व्याख्या गर्दै पतञ्जलि भन्छन्, ‘जो गुरुको छत्रछायामा संरक्षित छ, ऊ छात्र हो।’ उनका अनुसार, गुरु छाता हो र गुरुद्वारा शिष्य छाताद्वारा झैं संरक्षित हुन्छ।
लगभग त्यसै समयको, शिक्षणसँग सम्बन्धित अर्को शिल्पपटल मथुराको संग्रहालयमा छ (चित्र २) । यसमा पनि एकजना गुरुले शिष्यहरूलाई शिक्षा दिइरहेका छन् तर शिक्षणको तरीकामा ठूलो अन्तर छ । गुरु छाता लिएर उभिएका छन् र शिष्यहरूलाई केही भनिरहेका छन् । १० जना जति साना विद्यार्थी उनका सामुन्ने बसेका छन् । सबैले पगरी बाँधेका छन् । त्यसले उनीहरूको उच्चकुल जनाउँछ । गुरु शिष्य सबैले लुगा लगाएका छन् । गुरुको धोती र उत्तरीय विशिष्ट खालको छ । भुँडीले उनी सम्पन्न व्यक्ति हुन् भन्ने देखाउँछ । यस पटलमा विद्यार्थी वा गुरुका हातमा कुनै पुस्तक वा कलम छैन । शिक्षण मौखिक रूपमा हुँदैछ । शायद अरू पनि धेरै विद्यार्थी छन्, त्यसैले सबैले देखिने गरी गुरु उभिएका हुन् भन्ने प्रतीत हुन्छ । यस शिल्पपटलमा वैदिक शिक्षाको चित्रण गरिएको बुझिन्छ ।
अघिल्लो पटलमा झैं यसमा पनि गुरुको प्राथमिकता स्पष्टसँग प्रकट गरिएको छ । समग्र संरचनाको आधा हिस्सा गुरुलाई समर्पित गरिएको छ, बाँकी आधा मात्र विद्यार्थीको भागमा परेको छ । यसमा रूखको भूमिका छाताले खेलेको छ— गुरुको थप महत्व दर्शाउन । यहाँ छाताको अभिप्राय अरू पनि हुन सक्छ । पाणिनि छत्र शब्दबाट ‘छात्र’ बनेको बताउँछन् (छत्रादिभ्यो णः) भने त्यसको व्याख्या गर्दै पतञ्जलि भन्छन्, ‘जो गुरुको छत्रछायामा संरक्षित छ, ऊ छात्र हो ।’ उनका अनुसार, गुरु छाता हो र गुरुद्वारा शिष्य छाताद्वारा झैं संरक्षित हुन्छ । अनि, शिष्यद्वारा पनि गुरु त्यसैगरी संरक्षित हुन्छ (गुरुश्छत्रं गुरुणा शिष्यश्छत्रवत् छद्यः शिष्येण च गुरुश्छत्रवत् परिपाल्येत) ।
केही शताब्दी अघि बढौं र सन् ४६० को अजन्ताको गुफा (महाराष्ट्र, भारत) मा पसौं । त्यहाँको गुफा नं.२ मा हारिति र पंचिक (यिनीहरूलाई त्यसवेला केटाकेटीका रक्षक देवी र देवता मानिन्थ्यो) को विशाल शिल्प (चित्र ३) को आसनको तलको लहरमा कुदिएको मूर्ति–शृंखला (चित्र ४) निकै रोचक छ । पटलको दाहिने छेउमा गुरुजी अग्लो आसनमा बसेका छन् । उनी मोटाघाटा छन्, उनको भुँडी पुट्ट निस्केको छ । हातमा लामो छडी छ, केटाकेटीलाई तह लगाउन । उनका नजीकै तीन विद्यार्थी छन्, तिनको हातमा पाटी छ र केही लेख्दैछन् । स्पष्ट छ, यो पनि केवल श्रवणमा आधारित वैदिक शिक्षाको चित्र होइन । तीनमध्ये दुई विद्यार्थी मात्र तल्लीनतासाथ लेख्तैछन्, एउटा लेखाइप्रति उदासीन छ— पाटीको सट्टा अर्कैतिर हेर्दैछ । उनीहरूका पछाडि रहेको चौथो विद्यार्थी आफ्नो साथी (पाँचौं) को इशारामा त्यहाँबाट लुसुक्क भाग्न तयार देखिन्छ । पटलको देब्रे किनारतिर दुईजना बच्चा दुइटा बाख्रामाथि चढ्न खोज्दैछन्, तीन जना उनीहरूलाई उक्साउँदै–रमाउँदैछन् । शायद आफ्नो पालो पर्खिंदैछन् । कक्षाको नीरसता र बाहिरी दुनियाँको मस्तीलाई यस शिल्पपटलमा राम्ररी दर्शाइएको छ । दशमध्ये दुई जनालाई मात्र पढ्नमा रुचि छ, एकजना आधा मनले पढ्न बसेको छ, बाँकी सातजना त्यो शिक्षाबाट विमुख छन् । आजको औपचारिक शिक्षाको स्थिति पनि योभन्दा फरक छैन । सरकारी रिपोर्ट अनुसार प्राथमिक तहमा भर्ना भएका दशमध्ये पाँच जना १० कक्षामा पुग्नु अघि नै ‘ड्रप आउट’ भइसक्छन् ।
विद्यार्थीको अनुशासनको कुरा गर्दा यूनानको स्मरण गर्नु सान्दर्भिक हुन्छ जहाँ ईसापूर्व पाँचौं शताब्दीतिर स्कूलको स्थापना भएको पाइन्छ । ती स्कूल आभिजात्य वर्गका बच्चाका लागि हुन्थे र प्रत्येक बच्चा दिनभरि जस्तो एउटा दासको जिम्मामा हुन्थ्यो, जसलाई ‘पेडागोग’ भनिन्थ्यो । (शिक्षण–विधिलाई जनाउने शब्द ‘पेडागोजी’ यसैबाट बनेको हो ।) उसले बच्चालाई घरबाट स्कूल ल्याउने–लैजाने गथ्र्यो, उसको निरन्तर निगरानी गथ्र्यो, उसका प्रत्येक आवश्यकतामा ध्यान दिन्थ्यो र उसको नैतिक विकासमा महत्वपूर्ण भूमिका खेल्थ्यो । उसको भूमिका वास्तविक शिक्षकको भन्दा बढी हुन्थ्यो । ईसापूर्व तेस्रो शताब्दीमा बनेका यी दुई टेराकोटा–शिल्प (चित्र ५, ६) मा तिनै पेडागोगको चित्रण गरिएको छ । पहिलो चित्रमा दास एउटा हातमा बच्चाको ‘स्कूल ब्याग’ लिएर र अर्को हातले बच्चालाई डो¥याएर स्कूल लैजाँदैछ । दोस्रोमा दास सुतेको बच्चालाई काँधमा बोकेर र ‘स्कूल ब्याग’ लिएर स्कूल जाँदैछ । उसले अर्को हातमा लालटिन झ्ुन्ड्याएको छ । भनिन्छ, जाडोमा बिहान अँध्यारो हुने भएकाले लालटिन चाहिन्थ्यो ।
अब आऊँ, लगभग एघारौं शताब्दीको, पाल राजवंशको समयको अग्निदेवताको मूर्तितर्फ (चित्र ७) । उत्तरप्रदेश, भारतको यो मूर्ति अहिले क्लीबल्यान्ड, अमेरिकाको संग्रहालयमा छ । यसमा अग्निदेवताका दुवैतर्फ चार तहमा ब्रह्मचारीहरू अंकित छन् । सबैभन्दा माथि उनीहरू आगोमा केही आहुति दिंदैछन् । बीचमा आफ्ना शिक्षक सामु अत्यन्तै विनम्रता, विनय, उत्सुकता र श्रद्धाका साथ उनका कुरा सुन्दैछन् । शिक्षक अग्लो आसनमा बसेका छन् । सम्भवतः उनको हातमा ताडपत्रको पुस्तक छ, जसको व्याख्या उनी गर्दैछन् । शिक्षक वृद्ध र दुब्ला–पातला छन्, बह्मचारी/विद्यार्थी हृष्टपुष्ट (तिनको विस्तृत छवि चित्र ८, ९) । उनीहरू गुरुका चरणमा रहेर, हात जोडेर, एकाग्रतापूर्वक उनीतिर हेरिरहेका छन् ।
यसपछि म मुगल बादशाहको निर्देशनमा बनाइएको चित्रतर्फ लैजान चाहन्छु । धरमदास नामक चित्रकारले बनाएको यो चित्र सोह्रौं शताब्दीको अन्त्यतिरको हो (चित्र १०) । यसको शीर्षक हो, ‘लैला–मजनू मकतबमा’ । मकतब मस्जिदमा स्थापना गरिने शिक्षा–शाला थियो, जहाँ मौलवीहरूले केटाकेटीलाई पढाउँथे । दश वर्षको उमेरसम्म केटा–केटी मकतबमा सँगै पढ्न पाउँथे । चित्रमा चारैतिर दलान र कोठाहरूले घेरिएको एउटा विस्तृत डबली छ । त्यहाँ प्रवेश गर्ने एउटा ढोका छ, जहाँ एउटा पाले बसेको छ । डबलीको बीचमा अग्लो ठाउँमा गलैंचा ओछ्याइएको छ, जहाँ मौलवी विराजमान छन् । पछाडि राखिएको ठूलो ‘कुशन’ ले उनको महत्व बढाएको छ । उनको सेवामा एउटा बालक उभिएर पंखा हम्कँदैछ । मौलवीका दुईतिर लैला–मजनू छन्, सामुन्ने दुई केटी । डबलीको होचो भागमा एकातिर केही बच्चा लेख–पढ गर्दैछन् भने अर्कातिर पाँचजना बच्चा खेल्न–लडाइँ गर्न व्यस्त छन् । तिनको गतिविधिसँग पालेलाई मतलब छैन । बाहिर एकजना महिला आफ्नो बच्चालाई शायद मकतबमा पढाउन प्रयास गर्दैछिन् । अलिक पछाडि एउटा भिखारी छ । यस चित्रले बाहिरी दुनियाँबाट पृथक्, पर्खालले घेरिएको ठाउँमा हुने मुस्लिम शिक्षण प्रणालीको झलक प्रस्तुत गर्छ ।
अब मुगल बादशाह अकबरकै समयको अर्को एउटा चित्र हेरौं, जसले हिन्दू शिक्षण शैलीको बान्की प्रस्तुत गरेको छ (चित्र ११) । यो चित्र महाभारतको फारसी अनुवाद ‘रजमनामा’ (युद्धको कथा) का लागि बनाइएको थियो, गुरुको महत्व रेखांकित गर्न । यस चित्रमा पर्खाल र शहर भन्दा बाहिर, खोला किनारामा, रूखमुनि, एउटा खुला ‘शेड’ मा शिक्षणको काम भइरहेको छ । ‘पाठशाला’ सामान्य जनजीवनका बीचमा छ; नजीकै कोही गाग्रीमा पानी भरेर लैजाँदैछ, अलि पर कोही आफ्ना वस्तुभाउ चराउँदैछ, एक छेउमा सानो व्यापारी तराजुमा केही तौलेर बेच्दैछ— शायद त्यो केटाकेटीलाई मनपर्ने खानेकुरा होला, जसरी आजभोलि पनि स्कूल बाहिर बेचिन्छ । रूखमुनि एउटा राम्रो सुराही छ, पानी भरेर राखिएको होला । बेग्लाबेग्लै उमेरका करीब २१ जना केटाकेटी छन्, जसमध्ये केही लेख–पढ गर्दैछन्, बाँकी अन्य गतिविधिमा व्यस्त छन् । पोशाक हेर्दा शिक्षक र सबैैजसो केटाकेटी मध्यम वर्गका देखिन्छन् । एउटाको हातमा कोर्रा छ र ऊ अर्कालाई हिर्काउँदैछ, शायद ऊ ‘मनिटर’ हो ।
शिक्षकको महत्ता झ्ल्काउन उनको शिरमाथि रूखको हाँगो देखाइएको छ । उनका छेउमा दुई छात्र अत्यन्त विनम्रताका साथ हात जोडेर उभिएका छन् । विद्यार्थीको यो विनम्रता अघिल्लो मौलवीवाला चित्रमा देखिंदैन । यस्तो प्रतीत हुन्छ, विद्यार्थीहरूको अतिशय विनम्रता हिन्दू शैक्षणिक मानसिकताको अंग बनिसकेको थियो । शिक्षकको हातमा लौरो छैन र उनको भंगिमाले पनि भय उत्पन्न गरेको छैन । जीवनसँगको निरन्तरता र अनौपचारिक स्वाध्याय अनि विद्यार्थी तथा अभिभावकको अतिशय विनम्रताले शिक्षणलाई आध्यात्मिक प्रक्रिया बनाइदिन्छ, जसमा शिक्षक गुरु बन्न पुग्छ— जसले परम सत्यको ज्ञान दिन्छ ।
शिक्षक र छात्रका बीचको विशेष सम्बन्ध र बन्धनलाई मार्मिक रूपले दर्शाउने कैयौं मुगल लघुचित्र छन्, तर एउटा लघुचित्रले मेरो मन छोएको छ (चित्र १२) । एकजना वयस्क विद्वान् शिक्षक, पुस्तक र युवा छात्रका बीचको गहन सम्बन्धलाई यस चित्रले जति कोमलतापूर्वक दर्शाइरहेको छ, त्यसलाई बयान गर्न कठिन छ । धेरैवेरसम्म ध्यानपूर्वक हेर्नु र अनुभव गर्नु नै यसलाई बुझने सबैभन्दा राम्रो रीति हो ।
प्राचीन चित्र र शिल्पहरूमा कुँदिएका, कोरिएका शिक्षणका चित्रणबाट शिक्षाका फरक–फरक ढाँचा, रीति र अवधारणाको आभास त हामीले पाउँछौं नै साथसाथै, हाम्रा मनमा कतिपय प्रश्न पनि उठ्छन् जसमाथि विचार गर्नु फलदायी हुनेछ । जस्तै, के लिपि र ग्रन्थ–आधारित शिक्षा शुरूमा गैर–ब्राह्मण परम्पराहरूसँग जोडिएको थियो ? सिक्ने–सिकाउने प्रक्रियामा शिक्षकहरूको भूमिका बाहेक स्वाध्याय र प्रायोगिक क्रियाकलापहरूको कस्तो स्थान थियो ? शिक्षामा आन्तरिक अनुशासन बाहेक बाह्य–अनुशासन (जस्तै, लठ्ठी)को स्थान कस्तो थियो ? कक्षामा वर्गभेदले कत्तिको स्थान पाएको थियो ? अनि, कक्षाको नीरसताले विद्यार्थीलाई त्यसबाट कत्तिको विमुख बनाउँथ्यो ? यस्ता प्रश्नका केही उत्तर त प्रस्तुत चित्रमा छन्, तर ती संकेत मात्र हुन् । साहित्य र कलाको व्यापक एवं गहन अध्ययनपछि मात्र यसबारे हामी निष्कर्षमा पुग्न सक्छौं ।
साभारः ‘पाठशाला’ फेब्रुवरी तथा अगस्ट २०१९
सम्पादन/भाषान्तरः शरच्चन्द्र वस्ती
शिक्षक मासिक, २०७६ कात्तिक अंकमा प्रकाशित ।