म एक शिक्षक, सँगसँगै विद्यार्थी पनि !

हामी सबै... र ती सबै पनि असल शिक्षक हुन्, जो असल विद्यार्थी पनि हुन्छन्... जो सधैं नयाँ कुरा सिक्न र विद्यार्थी–व्यवस्थापनका नयाँ नयाँ तरीका थाहा पाउन उत्सुक रहन्छन् । केही नयाँ गर्न खोज्ने यही भावनाले उनीहरूलाई सतत जागरुक र सक्रिय बनाउँछ; तिनका कामलाई रोचक बनाउँछ ।

अभिनेता, कलाकार, निर्देशक, मार्गदर्शक, परामर्शदाता, सहजकर्ता, अनुकरणीय व्यक्ति, प्रेरणास्रोत, गुरु, बहु–कार्यक्षम, जीवन–प्रशिक्षक, मध्यस्थ, प्रबन्धक, नेतृत्वकर्ता, सुझावदाता, सञ्चारकुशल, वाक्पटु, उत्प्रेरक आदि इत्यादि । यो सूची अन्त्यहीन छ तर यी सबै कुरा एउटै व्यक्तिमा समाहित हुन्छन् र त्यो हो— शिक्षक । स्कूलको शिक्षक नै त्यो व्यक्ति हो, जसले यी सबै भूमिका निर्वाह गर्ने अपेक्षा गरिन्छ । शिक्षण–सिकाइको अनुभव प्रभावशाली बनाउन यी समस्त भूमिकाले जति राम्ररी सहक्रिया गर्छन्, ‘असल शिक्षक’ को धरातल उति नै ठोस र विस्तीर्ण बन्दै जान्छ ।

शिक्षकबाट गरिने अपेक्षा
शिक्षक एउटा राम्रो अभिनेता हुनुपर्छ र उसको आवाज ठूलो एवं स्पष्ट हुनुपर्छ, जसले प्रत्येक विद्यार्थीको ध्यान आकर्षित गर्न सकोस् । कक्षामा उसको प्रस्तुति यस्तो हुनुपर्छ, जसबाट विद्यार्थीको ध्यान आकर्षित गर्न सकोस् । उसले उचित निर्देशन दिएर विद्यार्थीलाई सिकाइको प्रक्रिया सहज बनाइदिनुपर्छ । कक्षामा आधा घण्टा अथवा चालीस मिनटको जुन समय शिक्षकले पाएको हुन्छ, त्यसमा त्यस दिनको निर्धारित उद्देश्य पूरा होस् र विद्यार्थीले विषयसँगै राम्रा संस्कार पनि सिकुन् भन्ने उसले सुनिश्चित गर्नुपर्छ ।

शिक्षकको हरेक पक्ष— उसको व्यक्तित्व, उसको पहिरन, उसको सम्प्रेषण कौशल, विषयगत ज्ञानको गहिराइ, जीवन–जगत्बारेको बोध, अनि उसको धैर्यको स्तर समेत— विद्यार्थीले बडो ध्यानपूर्वक हेरेका हुन्छन् । उनीहरूले शिक्षकका हरेक पक्षको निरन्तर मूल्याङ्कन गरिरहेका हुन्छन् । शिक्षक यसबारे सचेत हुनुपर्छ । साथै कक्षामा विद्यार्थीको संख्या कति र कस्तोखाले छ भन्ने पनि ख्याल गर्नुपर्छ । संख्या २०–२५ पनि हुन सक्छ र ४०–५० अथवा ६० पनि । १०, ११ अथवा १२ कक्षा हो भने विद्यार्थी तपाईं जत्रै अथवा तपाईं भन्दा पनि अग्ला (र बलिया समेत) हुन सक्छन् । यस्ता कक्षामा काम गर्न नेतृत्व कौशल र उच्चस्तरको परिपक्वता आवश्यक हुन्छ । कक्षामा च्याँट्ठिने, हप्काउने, गाली गर्ने अथवा भावुक बन्ने गर्दा कुरो बिग्रन सक्छ ।

यस पेशामा संलग्न भएको दश वर्षपछि आज पनि मलाई लाग्छ, म परिपूर्ण अथवा आदर्श शिक्षक अझै बन्न सकेकी छैन । आज पनि म सिकिराखेकी छु र असल शिक्षक बन्न आफ्नो सीप तिखार्ने प्रयासमा लागिरहेकी छु । हरेक दिन, हरेक कक्षामा जब म विद्यार्थीलाई पढाउँछु–सिकाउँछु र उनीहरूसँग संवाद गर्छु, उनीहरूसँग गरिने व्यवहार र शिक्षण–सिकाइको प्रक्रिया अझ प्रभावकारी बनाउने नयाँ–नयाँ पक्ष र आयामबारे सिक्तै जान्छु ।

मेरो अनुभवः मेरो सिकाइ
एक दिन त्रिकोणमिति पढाउन कक्षामा जाँदा मैले महसूस गरें— विद्यार्थी पढ्ने मूडमा छैनन् । एउटा विद्यार्थीले कुनै टिप्पणी गर्‍यो र अरू सबै हाँस्न थाले । उनीहरूलाई गाली गर्ने–हप्काउने अथवा शिक्षकको आदर गर्नुपर्छ भनेर प्रवचन दिने काम गर्नुको सट्टा मैले उनीहरूको उक्त व्यवहारप्रति ध्यान नदिने र त्यस दिनको पाठ पढाउने निर्णय गरें । अनि आफ्नो विषय बेग्लै किसिमले प्रस्तुत गरें । मैले सोधें— तिमीहरू स्कूलको मुख्य भवन नजीकै नगई अथवा त्यसलाई नछोई त्यसको उँचाइ पत्ता लगाउन सक्छौं ? प्रश्न सुनेर उनीहरू गम्भीर भए र मैले पनि तिनलाई सोच्न केही समय दिएँ । त्यसपछि भनें— आजको पाठले यसो गर्न सकिन्छ भन्ने बताउँछ र यो काम कसरी गर्ने भनेर सिकाउँछ । बस्, यस कुराले उनीहरूको ध्यान विषयप्रति आकर्षित गर्‍यो र मैले शिक्षण–कार्य अघि बढाएँ ।
मैले सिकेंः नकारात्मकताबाट ध्यान हटाएपछि सकारात्मकतिर बढ्न सकिन्छ ।

पढाइरहेको वेला एक दिन मैले देखें, एकजना विद्यार्थी हाई गर्दैछ । सामान्यतः अन्तिम घण्टीमा यस्तो हुन्छ । लगत्तै अर्काले, अनि फेरि अरू दुई जनाले हाई गरे । मलाई महसूस भयो, मेरो लेक्चरका कारण यस्तो भएको हो । म झन्डै १०–१२ मिनटदेखि एकोहोरो बोलिरहेकी थिएँ र यो अवधि विद्यार्थीले ध्यान दिने सीमाभन्दा निकै बढी थियो । तत्काल मैले लेक्चर रोकें र एकदमै चुप्प लागें । मेरो मौनताले उनीहरूको ध्यान आकर्षित गर्‍यो । एक छिन पछि मैले उनीहरूलाई एउटा प्रश्न सोधें र त्यस मार्फत शिक्षण प्रक्रियामा शामेल गरें । साथै, स्वयं निष्कर्षमा पुग्न प्रोत्साहित गरें । प्रश्नको उत्तर दिन उनीहरूलाई सजिलो होस् भनेर म मुख्य शब्दको सङ्केत दिन्थें र सही उत्तर दिंदा उनीहरूको प्रशंसा गर्थें । यसरी विद्यार्थी सिकाइतर्फ अभिप्रेरित भए र त्यस दिनको कक्षा जीवन्त पनि भयो ।
मैले सिकेंः सिकाइ  प्रक्रियामा विद्यार्थीलाई सहभागी बनाउँदा कक्षाको एकरसता तोडिन्छ र सिक्ने प्रक्रिया प्रभावशाली हुन्छ ।

प्रत्येक विद्यार्थीको सिक्ने आफ्नै गति हुन्छ । कसैले छिटो सिक्छ, कसैले ढिलो । पढाउने पाठको विषयवस्तु मात्र, सम्बन्धित कक्षाको वाञ्छित स्तरमा मात्र पढाउँदा धेरैलाई बुझन र सिक्न गाह्रो हुँदोरहेछ । यो थाहा पाएपछि मैले सरलबाट जटिलतिर जाने विधि अपनाउने गरेकी छु । उदाहरणका लागि, कक्षा–९ लाई बीजगणित पढाउनुपर्दा म सर्वप्रथम त्यसअघिका कक्षाहरू अर्थात् कक्षा–६, ७ र ८ मा पढाइएका अवधारणा बारे संक्षेपमा बताउँछु । यसरी पुनरावृत्ति गरेपछि विद्यार्थी विषयसँग जोडिन्छन् र कक्षा–९ को कुरा राम्ररी बुझछन्, सिक्छन् । पहिले नै तयार गरिएका दृश्य सामग्री र कम्प्युटरको उपयोग गर्दा पनि सिकाइ प्रभावकारी हुँदो रहेछ ।  
मैले सिकेंः कक्षामा अनेक स्तरका विद्यार्थीको मिश्रण हुन्छ । शिक्षकले आफ्नो शिक्षण–विधि तदनुसार रूपान्तरित गर्नुपर्छ ।

केही वर्ष अघि मैले विद्यार्थीलाई विभिन्न शिक्षकका दुईवटा मन पर्ने र दुईवटा मन नपर्ने कुरा लेख्न लगाएँ । अधिकतर विद्यार्थीका ‘उत्तर’ अनुमान र अपेक्षा अनुरूप नै थिए । तर कैयौं विद्यार्थीले लेखेका थिए— एकजना शिक्षक रिसाहा छन् र विद्यार्थीलाई हप्काउँछन् । उनीहरूले भनेका थिए– हुन त तिनले राम्ररी पढाउँछन् र कुरा पनि राम्ररी बुझउँछन् तर तिनको क्रोध खपिनसक्नुको हुन्छ । मेरो अनुमान अनुसार, उनीहरूले यो मेरै बारेमा भनेका थिए । मलाई लाग्यो, मैले त उनीहरू सुध्रिउन् भनेर नै गाली गर्ने गरेकी हुँ तर उनीहरूलाई ज्यादै नराम्रो लाग्दो रहेछ, नत्र किन यसरी लेख्थे ? त्यसपछि मैले आफ्नो भावनामाथि नियन्त्रण गर्न थालें ।
मैले सिकेंः शिक्षकले गाली गर्दा र हप्काउँदा विद्यार्थीको मन विचलित हुन्छ । उनीहरूले राम्ररी सिक्न सक्तैनन् । त्यसैले शिक्षकले विद्यार्थीका लागि जहिले पनि सहज र सम्मानजनक वातावरण बनाउनुपर्छ ।

एक दिन ‘स्टाफ मीटिङ’ मा प्रधानाध्यापकले अकस्मात् मलाई सोधिन्, तपाईंले आफ्नो निर्धारित काम (असाइनमेन्ट) पूरा गर्नुभो ? त्यतिन्जेल मैले त्यो काम गरेकी थिइनँ । मलाई लाग्यो, अब प्रधानाध्यापकले सबैका सामु मलाई गाली गर्छिन् । साथीहरूले के ठान्लान्... लज्जित भएँ । लाग्यो, टेबुलमुनि लुक्न पाए पनि हुने । तर, त्यस्तो केही भएन । मैले केही भन्न नभ्याउँदै प्रधानाध्यापकले पुलुक्क मेरो मुखमा हेरिन् र भनिन्— मलाई थाहा छ, तपाईं परिवारका अन्य जिम्मेवारीमा व्यस्त हुनुहुन्थ्यो, त्यसैले असाइनमेन्ट पूरा गर्न भ्याउनुभएन होला । अनि सोधिन्— अब कहिलेसम्ममा पूरा होला ? उनको मुस्कान, उत्साहजनक बोली र सकारात्मक भावभङ्गिमाले मेरो असजिलो हरायो र मनमा उनीप्रति आदरभाव बढ्न पुग्यो । मैले त्यो असाइनमेन्ट थप रुचि र उत्साहसाथ पूरा गरें र त्यो काम सोचेभन्दा राम्रो भयो । उनको व्यवहारबाट सिकेको कुरा मैले कक्षामा, विद्यार्थीमा पनि लागू गरें । तिनलाई दिएको गृहकार्य अथवा अन्य असाइनमेन्ट समयमा पूरा गरेर नल्याउँदा गाली गर्नुको सट्टा उनीहरूप्रति सहानुभूति राखेर काम पूरा गर्न प्रोत्साहित गर्न थालें । नकारात्मक टिप्पणी गर्न छोडिदिएँ । उनीहरूले लेखेर ल्याएको कुरा आंशिक रूपमा मात्र सही छ भने पनि त्यसको प्रशंसा गर्न थालें र नमिलेको कुरा यसरी लेख भनेर सम्झउन, प्रोत्साहित गर्न शुरू गरें । यसले राम्रो परिणाम दिएको छ ।
मैले सिकेंः विद्यार्थीप्रति सहानुभूति राख्ने शिक्षकको दृष्टि र प्रोत्साहित गर्ने मुस्कानले शिक्षक–विद्यार्थी सम्बन्ध राम्रो बनाउन ठूलो मदत पुग्छ र यसको परिणामस्वरुप उनीहरूको सिकाइ पनि राम्रो हुन्छ ।

गणित यस्तो विषय हो, जसलाई कण्ठ गर्न सकिंदैन । गणित सिक्न प्रशस्त अभ्यास गर्नुपर्छ । तब मात्र यसका अवधारणाहरू आत्मसात् गर्न सकिन्छ । कक्षामा पढाएपछि त्यो कुरा उनीहरूले घर गएर अभ्यास गरुन् भन्ने मेरो अपेक्षा हुन्छ । तर, केही विद्यार्थीले मात्र यस्तो गर्छन्, अधिकांशले गर्दैनन्, जसका कारण त्यसपछिको अवधारणा बुझन र आत्मसात् गर्न तिनलाई असजिलो हुन्छ । यो चक्र एक महीना मात्र चल्यो भने पनि उनीहरूले विषय माथिको पकड गुमाउँछन् । त्यसैले म उनीहरूलाई घर गएर केवल १५ मिनट मात्र अभ्यास गर, त्यसभन्दा एक मिनट पनि बढी गर्नुपर्दैन भन्छु । यो उपाय केही हदसम्म उपयोगी सिद्ध भएको छ ।
मैल सिकेंः म आज पनि सिकिरहेकी छु । विद्यार्थीलाई सिक्न ‘प्रेरित’ गर्न मैले थप प्रयास गर्नुपर्छ ।

निष्कर्ष
जापानी भाषामा एउटा शब्द छ ‘काइजेन’, जसको अर्थ हो— आफ्नो कार्य प्रक्रियामा निरन्तर सुधार गर्नु, भलै त्यो थोरथोरै किन नहोस् । आजसम्मको मेरो शिक्षण–यात्रा पनि ससाना शिक्षाको शृंखला नै हो, जसले मलाई आफ्नो सीपको संवद्र्धन गर्न र राम्रो शिक्षक बन्दै जान मदत गरेको छ । असल शिक्षक बन्ने मेरो यात्रा निरन्तर जारी छ... भनिएकै छ, सिकाइ कहिल्यै नसकिने प्रक्रिया हो... यसको पूर्णविराम छैन ।

साभारः (‘लर्निङ कर्व’ डिसेम्बर, २०१७ बाट)
भाषान्तरः शरच्चन्द्र वस्ती

शिक्षक  मासिक, पुस अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial