शिक्षाका समस्यामा संस्थागत मौनताको असर

हामी सबै गतिला सल्लाहकार भयौं— विकासे बहर जस्तो। सल्लाह मात्र दिन जान्ने, गाईलाई ब्याउने बनाउन नजान्ने। त्योभन्दा माथि उठ्ता हामी बतासे अण्डा पार्न जान्ने विकासे कुखुरा भयौंं। कोरल्न मिल्ने, अण्डा पार्न नजान्ने। अण्डा पारिहाले पनि कोरल्न नजान्ने व्यक्ति पो भयौंं ।

भएनहरूको ताँती
मन र चित्त फरक हो । कृष्ण यजुर्वेदी ब्रह्मविन्दूपनिषद भन्छ— विषय वासनाले बनाउने सोचको नाम मन हो (पृ.२१०) । सामवेदी छान्दोग्यपनिषद भन्छ— बुद्धियुक्त गुण भएको मन नै चित्त हो (पृ.१७२) । ओशोले भने— चन्चल चित्तको व्यक्ति बनाउने काम शिक्षाको हो (शिक्षा मे क्रान्ति, सन् २०१०) । सन्देह गर्न सिकाउने काम पनि शिक्षाकै हो । गुरुमा विश्वास गर्ने शिक्षा त आदर्शवादीको हो । मन र चित्त स्थिर गर्ने/गराउने शिक्षा पनि आदर्शवादीको हो । यस्तो आदर्शवादी सोचले शिक्षकलाई अहङ्कारी बनायो । विद्यार्थीलाई पाखण्डी बनायो । प्रतियोगिता सिकेर विद्यार्थी थप अहङ्कारी भयो । ओशोले थपे— त्यही भएर विद्यार्थीले डुब्न सिकेन । उत्रन सिक्यो । प्रेम सिकेन । सफलता सिक्यो ।

माक्स, शास्त्रीय माक्र्सवादी, र नवमाक्सवादीहरूले पनि शिक्षा ‘भएन’ भनिरहे । शिक्षाले विद्यार्थीलाई उत्पादनसँग जोडेन । गरीबको घरदैलोमा पुगेन । विद्यार्थीलाई छलफलमा संलग्न गराएन । वर्गीयतालाई निरन्तरता दियो । पढाइ अर्थपूर्ण र व्यावहारिक भएन । वैज्ञानिक कुराभन्दा बढी अन्धविश्वास सिकायो । गाउँलाई माया गर्ने बनाएन । यी भनाइका स्रोतहरू ग्राम्स्की, डोङपिङहाङ, लेनिन, माओ, ब्रोसिया, फ्रेरे आदि थिए । ओशोले अझ थपे— शिक्षा त अतीतमुखी भयो । भविष्यमुखी नै भएन ।

नेपालका दलीय, निर्दलीय तथा निष्पक्ष शिक्षाविद्, राजनीतिज्ञ, समाजसेवी आदिले पनि माथिकै कुरा दोहोर्‍यायौं । शब्द फेरेर । सन्दर्भ फेरेर । पात्र फेरेर । शिक्षा आयोगका सदस्यहरूले पनि त्यसैमा लोली मिलायौं । बोली मिलायौं । यस अर्थमा हामी गतिला शैक्षिक विश्लेषक भयौं ।

ताँतीवालाहरूको सुझाव
‘भएन’वादी ताँतीवालाहरूले अनेकन कुरा सुझायौं । शिक्षक सुविधा । शिक्षक तयारी । शिक्षक अद्यावधिक । आधुनिक प्रविधि प्रयोग । भौतिक सुविधा । पाठ्यक्रममा फेरबदल । पाठ्यपुस्तकमा फेरबदल । गतिलो अनुगमन । दलीयकरणको अन्त्य । निष्पक्ष मूल्याङ्कन । उम्दालाई सम्मान । व्यावसायिक शिक्षामा जोड । अनुसन्धानमा लगानी । समाजसँग जोड्ने, व्यावहारिक बनाउने, वैज्ञानिक विश्लेषक बनाउने तथा उत्पादनमुखी बनाउने शिक्षण शैली । स्थानीय सरकारको प्रशासकीय जिम्मेवारी । अभिभावकको सचेतीकरण । व्यवस्थापन समितिको जिम्मेवार सहयोग आदि इत्यादि । यस अर्थमा हामी सबै गतिला सल्लाहकार भयौं । नन्द श्रेष्ठको किताब (In the Name of Development) को विकासे बहर जस्तो । सल्लाह दिन जान्ने । गाईलाई ब्याउने बनाउन नजान्ने । त्योभन्दा माथि उठ्ता हामी बतासे अण्डा पार्न जान्ने विकासे कुखुरा भयौंं । कोरल्न मिल्ने अण्डा पार्न नजान्ने । अण्डा पारिहाले पनि कोरल्न नजान्ने व्यक्ति पोभयौं । ।

सुझावको कार्यान्वयन
विगतदेखि अहिलेसम्मका शिक्षाका सुझावहरू केही संविधानमा परे । केही शिक्षा नीतिमा । केही ऐनमा परे । केही कार्यविधिमा । केही परियोजनामा परे । केही सम्झौतामा । सुझाव कार्यान्वयनको परिवेश पनि बन्यो । सरकार फेरिएपिच्छे आयोग बन्ने बनाउने बानी परेका राजनीतिज्ञहरूले अब नयाँ सोच पाउने सम्भावना पनि रहेन । शब्दान्तरै गर्ने हो भने कुरै बेग्लै । यति हुँदा पनि हामी भएनवादीहरू कहाँ चुक्यौं ? कार्यान्वयनवादी कहाँ चुक्यौं ? आफू चुकेको ठाउँ पत्ता लगाउन नसक्ने कार्यान्वयनकर्ता भयौं । भएन भन्न जान्ने । विकल्प दिन नजान्ने । कार्यान्वयन गर्नुपर्छ भनेर भाषण गर्ने । आफूले चाहिं कार्यान्वयन गर्न नजान्ने । नगर्ने । अर्थात् अन्तै दोष देख्ने । आफू सदैव निष्कलंक बन्ने ।

नगर्ने को हौं त ?
दिएका सुझावको आधारमा नगर्ने/नजान्ने/नसक्ने/नमान्नेहरूको विश्लेषण गरौं । पहिलो सुझाव हो— शिक्षक सुविधा । हामीकहाँ थरीथरी शिक्षक छौं । तिनको तलबमान अलग–अलग छ । अरू सुविधा पनि अलग–अलग छ । तर बढी सुविधाप्राप्त शिक्षकले हिजो ‘भएन’ भनेका कुरा पूरा गर्‍यौं त ? शिक्षक महासंघलाई पालिका तहसम्म सङ्गठित गरेका छौं । तिनले शिक्षककै तरेली अनुसार यति तलब लिएकाले यी सुझाव कार्यान्वयन गर्‍यौं । थप सुविधा यो यो दियौ भने यी यी सुझवहरू कार्यान्वयन गर्छाैं । यी–यी नयाँ काम गरेका छौं । यसरी भन्न सक्ने आँट गर्‍यौं त ? पहिले भएन भनेका कुराहरू यी–यी त भए अब थप यो यो काम गर्छाैं भन्न सक्यौं त ?

दोस्रो सुझावले शिक्षक तयारी र अद्यावधिकताको अपेक्षा गरेको छ । तथ्याङ्कले भन्छ— प्रत्येक विद्यालयमा कुनै न कुनै तालीम लिएका शिक्षक छौं । तालीममा आफूले सिकेका सीप अरू साथीलाई सुनायौं त ? तिनको रोष्टर बनायौं त ? आफ्नै अनुभवमा आधारित तालीम बनाएर आफू र आफ्ना साथीहरूलाई तालीमप्राप्त एवं अद्यावधिक ९ग्उ तय मबतभ० बनायौं त ?

तेस्रो सुझाव हो— प्रविधि प्रयोग । नयाँ प्रविधिमा हामी सदैव अद्यावधिक हुन्छौं । छौं । रेडियो चलाउन जान्यौं । टीभी चलाउन जान्यौं । भीसीआर चलाउन जान्यौं । तीन–तीन महीनामा फेरिने मोबाइल पनि चलाउन जान्यौं । केही शिक्षकले त कम्प्युटर पनि चलाउन जान्यौं । त्यहाँ सिकाउनेहरू कोही पनि थिएनन् । छैनन् । रहर गर्नेहरूले सिक्यौं । अल्छी गर्नेहरू त्यसै छौं । हामी जानकार रहरेहरूले ती साधनहरूलाई विद्यालयमा प्रयोग गर्‍यौं त ? अरू साथीहरूलाई अभिप्रेरित गर्‍यौं त ? नजान्नेहरूले सिक्यौं त ?

चौथो सुझाव हो— न्यूनतम भौतिक सुविधा । भूकम्पग्रस्त क्षेत्रका विद्यालयमा भौतिक सुविधा पुगेको छ । थप सुविधा दिन पालिकाहरू तयार छन् । नभए तिनलाई फकाउन सकिन्छ । ती हाम्रै साथी हुन् । आफू संलग्न दलका । भोट दिएर जिताएका । दल इतरका भए पनि नाताका । छिमेकका । चिनेका । तिनलाई भनेर भौतिक सुविधा थप्न सकिन्छ । कतिले थपाएका पनि छौं । किनकि विकेन्द्रित अर्थ वितरण प्रक्रियाले पालिकामै शिक्षकले तलब पायौं । थापेकै छौं । खालि जान्नुपर्ने कुरा भनेको फकाउने कला । त्यति त हामीले जानेकै छौं । बाख्रा फकाउने कला । गाई फकाउने कला । मान्छे फकाउने पनि त्यसरी नै हो । कतै दिएर । कतै कन्याएर । कतै सुम्सुम्याएर । के हामीले यो कला अपनाएर आफ्नो विद्यालयलाई सुविधा सम्पन्न बनायौं त ?

पाँचौं सुझाव हो पाठ्यक्रम तथा पाठ्यपुस्तकमा सुधार । बहुलता हामीले स्वीकारेकै हो । देशभर एउटै पाठ्यक्रम र पाठ्यपुस्तकले हुन्छ र ? भनेको पनि हो । त्यति बुझेपछि पाठ्यक्रम र पाठ्यपुस्तकलाई सान्दर्भीकरण किन नगरेको त ? पुनर्लेखन किन नगरेको त ? सबै देशमा यो काम शिक्षकले नै गर्छन् । हामीले किन नगरेको त ? नजानेको हो भने सिकौं । नसकेको हो भने मदत खोजौं । नगरेको हो भने काम थालौं । नटेरेको हो भने बानी बदलौं । कतिपय विद्यालयले यो काम गरेका छन् । हामीले किन नगर्ने ?

छैटौं सुझाव अनुगमनको हो । भान्सेले नून कस्तो छ भनेर सोध्ने हाम्रो परम्परा हो । शिक्षकले पनि मैले पढाएको कस्तो छ भनेर विद्यार्थीलाई सोध्ने परम्परा बनाउने कि ? पाहुनालाई मात्रै नून सोध्ने हो भने आफूले पढाउने कक्षा बाहेकका दुई–चार जना विद्यार्थीलाई बोलाएर पढाए के हुने ? तिनैसँग सोधे के हुने ? व्यवस्थापन समिति, शिक्षक, जनप्रतिनिधि, अरू कक्षामा पढाउने शिक्षक, छिमेकी स्कूलका शिक्षक, आफूले पत्याएका कोहीलाई कक्षा अवलोकन गराए के हुन्छ ? यो संस्कार बनाउन न पैसा लाग्छ । न सरकार चाहिन्छ । यति काम पनि किन हामीले नगरेको त ?

सातौं सुझाव दलीयकरणको अन्त्य हो । यो रहर हो । बानी होइन किनकि दलीयकरण हाम्रो रगतमा छ । जागीर खान दल चाहिने । पदोन्नतिका लागि दल चाहिने । सरुवाका लागि दल चाहिने । लाभको पद लिन दल चाहिने । संरक्षणका लागि दल चाहिने । यो नियति बोकेका नेपालीले दल दुहुन जानेकै छौं । दोहेकै छौं । हिजो भएन भनेका कुरा गर्नका लागि दललाई किन दोहन नगरेको त ?

आठौं सुझाव सम्मान दिने अधिकारीमा हो । न्यायिक आँखाले भन्छ— शिक्षकलाई सम्मान दिने पहिलो अधिकारी विद्यार्थी हो । दोस्रो अधिकारी अभिभावक हुन् । तेस्रो अधिकारी विद्यालय व्यवस्थापन समिति हो । चौथो अधिकारी स्थानीय सरकार हो । अरूहरू पाश्र्व–अधिकारी मात्रै हुन् । गाईले घाँस—पीठो दिनेलाई चिन्छ । उही आउँदा कराउँछ । माया देखाउँछ । त्यही बुद्धि हामी शिक्षकले लिए के हुन्छ ? पाश्र्व–अधिकारीका सम्मान पाउन त पहिलो, दोस्रो, तेस्रो, र चौथो अधिकारीको सम्मान समेत जोडिनुपर्छ । कतिपयले त्यो कामको थालनी पनि गरेका छौं । त्यसैलाई अघि बढाउने चलन गरे के हुँदो हो त ?

नवौं सुझाव काममा शिक्षा । शिक्षामा काम । काम र शिक्षा । शिक्षा र काम । काम छोडी शिक्षा । शिक्षा छोडी काम । शिक्षाकर्मीको आँखामा पहिलो र दोस्रो शैक्षणिक उपाय हो । तेस्रो र चौथो व्यवस्थापकीय उपाय हो । पाँचौं र छैटौं अभिभावकीय तथा विद्यार्थीय निर्णय हो । मेरो दृष्टिकोणमा पहिलो र दोस्रो उपायमा हामी शिक्षकहरू लाग्नुपर्छ । सरकारले यो कुरा बुझेकै छैन । त्यसैले ऊ तेस्रो र चौथो उपायमा क्रियाशील छ । शहरी बालबालिका पाँचौं उपायमा छन् । बीचैमा पढाइ छोड्नेहरू छैटौं उपायका पक्षधर बनेका छन् । यसो हो भने हामी शिक्षकहरूले पहिलो तथा दोस्रो उपाय किन नगरेको त ? व्यवस्थापक बनेकाहरूले तेस्रो र चौथो उपाय किन नगरेको त ?

दशौं सुझाव अनुसन्धानमुखी बन्ने—बनाउने हो । विद्यार्थी स्वभावतः जिज्ञासु हुन्छ । उसको जिज्ञाशा मार्ने अभिभावक हौं । शिक्षक हौं । साथीभाइ हौं । छरछिमेकी हौं । तहगत सोच (Hierarchical mindset) ले । तरीका नजानेकोले (Absence of child handling skills) । म यसरी नै हुर्किएँ भन्ने अनुभूतिको निरन्तरताले । त्यसैले हामी आफू पनि अनुसन्धानमुखी बनेनौं । विद्यार्थीलाई पनि बनाएनौं । उदाहरण दिउँ नागरिक समाज पढाउने शिक्षकको । ऊ स्वयंले खोज्न सक्नुपर्छ कि सिसिरोले बुझेकाे नागरिक—समाजमा असमान क्षमताका स्वतन्त्र र समान सहभागी समूह हुन्छन् । हेगेलको सोचका नागरिक—समाज राज्यशक्तिका विस्तारक हुन्छन् । माक्र्सको सोचका नागरिक—समाज बुर्जुवाका आलोचक हुन्छन् । ग्राम्स्कीका सोचका नागरिक—समाज कुनै वर्गको तावेदारी गर्ने (Hegemony) हुन्छन् । जेफ्री अलेक्जेण्डरको सोचका नागरिक समाज कुनै परम्परावादी हुन्छन् । कुनै लोकतान्त्रिक हुन्छन् । हावरमासको विचारका नागरिक समाज स्वतन्त्र समूह हुन्छन् । अनि भन्नुपर्छ— तिमीले देखेको नागरिक समाज कस्तो हो ? पहिले उदाहरण दिए पनि हुन्छ । अनुभव लिए पनि हुन्छ । तिमीले देखेको नागरिक समाज कस्तो छ ? त्यसलाई स्वदेशका कुन चिन्तकको नजिक पाउँछौं ? विदेशका कुन चिन्तकसँग नजिक पाउँछौं ?


भान्सेले नून कस्तो छ भनेर सोध्ने हाम्रो परम्परा हो। शिक्षकले पनि मैले पढाएको कस्तो छ भनेर विद्यार्थीलाई सोध्ने परम्परा बनाउने कि ? यो संस्कार बनाउन न पैसा लाग्छ। न सरकार चाहिन्छ।

यसो गरेपछि त विद्यार्थीको ज्ञान स्वतः फराकिन्छ । तिनको खोज्ने बानी हुन्छ । सोध्ने बानी हुन्छ । मेरो विचार त यिनीहरूको भन्दा भिन्न छ भन्ने बानी हुन्छ । ओशोको शब्दमा विद्यार्थीले गहिरिन जान्दछ । डुब्न जान्दछ । स्वतन्त्र बन्न जान्दछ । शिक्षक आफैंले जान्ने छु भनेर पढाए पछि त विद्यार्थी पराश्रयी नै हुन्छ । उसले पत्याउन सिक्छ । आफूलाई कमजोर छु भन्न जान्दछ । प्रश्न हो हामीमध्ये कति छौं यस्ता तागत भएका ? कति छौं तागत बनाउन सक्छौं भन्नेहरू ?

एघारौं सुझाव समाज जोड्ने हो । व्यावहारिक बनाउने हो । वैज्ञानिक बनाउने हो । उत्पादनसँग जोड्ने हो । मेरो विचारमा शिक्षकको एकल प्रयासले यो काम हुन्छ । हामीले नगरेको मात्रै हो । नजानेको मात्रै हो । नटेरेको मात्रै हो । टुकीको बत्ती उदाहरण हुन सक्छ बिजुली बत्ती नभएको गाउँमा । भात पकाउने स्टोभ हुन सक्छ अर्ध शहरी ठाउँमा । इन्डक्सन चुल्हो हुनसक्छ शहरी धनाढ्यको घरमा । टुकी बाल्नेलाई तेल; मट्टीतेल बाल्नेलाई मट्टीतेल; ग्याँस बाल्नेलाई ग्याँस कसरी माथि आयो भनेर सोध्न सकिन्न र ? गाउँ र अर्ध शहरी बालबालिकालाई त्यति भए पुग्छ । भाँडो नै नताती पानी किन तात्यो इन्डक्सन चुल्होमा ? शहरी बालबालिकालाई यही प्रश्न भए हुन्छ । यी दुई प्रश्नले समाज जोडेको छ । अर्थतन्त्र जोडेको छ । भात पकाउने व्यवहार जोडेको छ । किन भन्ने प्रश्नले विज्ञान खोजाएकोे छ । अर्थतन्त्र र उपलब्ध सुविधा अनुसारका भात पकाउने साधनहरू बनाउन सकिने रहेछ भन्ने उत्पादनमुखी सोच दिएको छ । यति सानो काम कसले गर्ने हो ? छुट्टै किताबले ? छुट्टै पाठ्यक्रमले ? सरकारले ? सुविधाले ? सम्मानले ? कि अक्किलले ? त्यति पनि अक्किल नलगाउनेले के भएन भनेको त ?

बाह्रौं सुझावको क्षेत्र हो— सरकार, विद्यालय व्यवस्थापन समिति र अभिभावक । यिनीहरूसँग संवाद गर्ने त शिक्षक न हौं । सबै स्थानीय हुन् । शिक्षकले संवाद किन नगरेको ? अरूलाई आफ्ना कुरा सुनाउनेहरूले अरूका कुरा किन नसुनेको ? प्रशंसाका कुरा । आलोचनाका कुरा । समालोचनाका कुरा । सम्भावनाका कुरा । यति पनि गर्न नसक्नेले किन अरूले गरेनन् भन्दै बाह्रसत्ताइस कुरा गरेको ? त्यही संवादलाई भोलिको शिक्षा यसरी बनाउँछौं भनी किन नभनेको ? के हामी सबै नन्द श्रेष्ठकै किताबको बहर भएका हौं त ? सल्लाह दिन जान्ने । काम गर्न नजान्ने ।

शिक्षक  मासिक, २०७६ पुस अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial