गीताः सबैका लागि

गीता प्रश्न गर्नै नमिल्ने खालको जड–सूत्रवादी ग्रन्थ होइन। गीतामा ‘यो गर र त्यो नगर’ भन्ने आदेश पनि दिइएको छैन। गीता त मुत्ताmकण्ठले गाउने गीत हो, शान्त मनले अनुचिन्तन गर्ने दर्शन हो र सहज, सफल र सार्थक जीवन जिउने मार्ग हो ।

भगवद्गीताको अध्ययनले थोरै मात्र चिन्तनशील र विवेकशील मानिसलाई पनि जीवन र जगत्बारे गम्भीर भएर सोच्न बाध्य पार्दछ । त्यसै भएर धेरैले आफूलाई सजिलो लाग्ने भाषामा गीताको अनुवाद, टीका, व्याख्या वा सार–संक्षेप लेख्न थाले । हाल उपलब्ध भएका मध्ये आदि शङ्कराचार्य (सन् ७८०–८२०) ले लेख्नुभएको ‘शङ्करभाष्य’ सबभन्दा पुरानो गीता व्याख्या मानिन्छ । श्री रामानुजाचार्य (सन् १०१७–११३७) सम्म आइपुग्दा गीताको टीका, भाष्यको संख्या पञ्चानब्बे पुगिसकेको थियो । अहिले संसारका विभिन्न पचहत्तरभन्दा बढी भाषामा गरी गीताको अनुवाद, टीका, भाष्यको संख्या दुई हजारभन्दा बढी भइसकेको छ । अंग्रेजी भाषामा मात्रै गीताको संख्या ३०० भन्दा बढी छ । भनिन्छः मानव इतिहासमा गीताको जति धेरै टीका र व्याख्या कुनै पनि ग्रन्थको भएको छैन । तर पनि गीताका नयाँ–नयाँ अनुवाद र व्याख्या निस्कने क्रम अझै जारी छ र यो कहिल्यै टुङ्गिएला जस्तो लाग्दैन । यस सन्दर्भमा श्री अरविन्द भन्नुहुन्छ, “गीताको नयाँ टीका आवश्यक भएन भन्न सकिने समय कहिल्यै आउने छैन ।”

गीता अंग्रेजी भाषामा अनुवाद गरिएको पहिलो हिन्दू धर्मग्रन्थ हो । ईस्वी सन् १७८५ मा चाल्र्स विल्किन्स (Charles Wilkins) ले गीताको पहिलो अंग्रेजी अनुवाद प्रस्तुत गरे । उनले भारतको वाराणसीमा बसेर त्यो पुस्तक लेखेका थिए । सन् १७८७ मा रसियन र फ्रेन्च भाषामा गीताको पहिलो अनुवाद निस्क्यो भने सन् १८०२ मा जर्मन भाषामा गीता प्रकाशित भयो । त्यसपछि बेलायत, जर्मनी, फ्रान्स र अमेरिकामा गीताको लोकप्रियता दिनानुदिन चुलिंदै गयो । दार्शनिक, धर्मगुरु, वैज्ञानिक, समाजशास्त्री, साहित्यकार र बुद्धिजीवीहरूले गीताको अध्ययन गर्न थाले र तिनीहरू गीताबाट प्रभावित हुँदै पनि गए । कतिले त गीताको मूल पाठ नै पढ्नका लागि संस्कृत भाषा समेत सिके । विश्वविख्यात् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले (Albert Einstein) गीता पढेपछि ‘गीता पढ्न धेरै ढिलो भयो’ भनी अफशोच व्यक्त गरेका थिए । यस्तै गरी आणविक बमको प्रथम परीक्षणको वेला सो बमका पिता मानिने वैज्ञानिक रबर्ट ओपनहाइमर (Robert Oppenheimer) गीताको एघारौं अध्यायका बाह्रौं र बत्तीसौं श्लोक गुन्गुनाइरहेका थिए भनिन्छ । पछि गीताको प्रभाव चीन र जापानसम्म पनि फैलियो र गीता विश्वव्यापी भयो ।

अमेरिकाका दार्शनिक चिन्तक इमर्सन (Ralph Waldo Emerson) र इसाई धर्मगुरु थोमस कार्लाइल (Thomas Carlyle) बीच पहिलो पल्ट भेट हुँदा कार्लाइलले इमर्सनलाई विल्किन्सले अनुवाद गरेको गीताको पुस्तक हातमा दिंदै भनेका थिए, “यो पुस्तक अत्यन्त प्रेरणादायी छ । यो पढेर मैले जीवनमा राहत पाएको छु । तपाईं पनि यो पुस्तक पढ्नुहोला, मैले जस्तै अनुभूति गर्नुहुनेछ ।” इमर्सनको प्रभाव पछि थोरो (Henry David Thoreau) माथि पर्‍यो र थोरोले ‘वाल्डेन’ मा एकान्तवास गर्दा गीताको गहन अध्ययन गरे । सुप्रसिद्ध अमेरिकी कवि वाल्ट ह्विटम्यान (Walt Whitman) इमर्सन र थोरोको प्रभावमा परे र उनी पनि गीतामा मग्न भए । उनको निधनपछि उनको सुत्ने कोठा सफा गर्दा सिरानमुनि भगवद्गीताको पुस्तक भेटियो । सन् १८८५ मा प्रकाशित भएको एडविन आर्नल्ड (Sir Edwin Arnold) को गीताको त्यो काव्यात्मक अनुवाद अत्यन्त लोकप्रिय भयो । महात्मा गान्धीले पढ्नुभएको गीताको पहिलो पुस्तक पनि त्यही थियो ।

चाल्र्स विल्किन्सको गीता प्रकाशनका लागि इष्ट इण्डिया कम्पनीलाई सिफारिश गर्दा भारतका तत्कालीन गभर्नर वारेन हास्टिङ्गस्ले लेखेका थिए, “यो पुस्तकले ब्रिटिश सरकारलाई भारतमा शासन गर्न सहज बनाउने छ ।” तर भइदियो अर्कै । भारतका स्वतन्त्रता आन्दोलनका अगुवाहरूले गीताभित्र देशको मुक्तिको बाटो देखे । त्यससँगै गीतालाई तत्वज्ञान वा भक्तियोगको मार्गको रूपमा मात्र हेर्ने परम्परामा नयाँ आयाम पनि जोडियो । स्वामी श्रद्धानन्द, लाला लाजपत राय, श्री अरविन्द घोष, बाल गङ्गाधर तिलक र महात्मा गान्धीले गीताको कर्मयोग माथि धेरै प्रकाश पारे । बाल गङ्गाधर तिलक (१८५६–१९२०) ले गीतालाई कर्मयोग शास्त्रका रूपमा व्याख्या गरे र गान्धीजीको धारणा पनि यस्तै रह्यो । भारतको स्वतन्त्रता आन्दोलनमा समर्पित सङ्गठनहरूको सदस्यता लिंदा गीता हातमा लिएर शपथ खाने प्रचलन बस्यो । शहीद शुक्रराज शास्त्रीले नेपालमा गीता–प्रवचनको माध्यमबाट एकतन्त्रीय राणाशाहीको विरुद्ध जनजागरण ल्याउन खोज्नुभयो ।

गीताको सम्प्रेषण विशेष परिस्थितिमा भएको हो । पाँच हजार चानचुन वर्ष पहिले भारतीय महाद्वीपको कुरुक्षेत्रमा पाण्डव र कौरवबीच महाविनाशकारी युद्ध भएको थियो । पाण्डव पक्षका प्रमुख योद्धा अर्जुन थिए र उनका सारथि श्रीकृष्ण हुनुहुन्थ्यो । धर्मयुद्ध लड्न भनी मैदानमा उत्रेका अर्जुन दोधारमा परे । उनले आफ्नै पितामह, गुरु, आफन्त र इष्टमित्रको वध गर्नुपर्ने भयो, जुन उनको हिसाबले अधर्म देखियो । उनले सोचे, “यो कस्तो युद्ध हो, जहाँ मार्ने र मारिने सबै मेरा स्वजन पर्ने भए ? अब मैले कसरी युद्ध लड्ने ?” उनलाई के गरूँ, के नगरूँ भयो । अन्ततः उनले जुन युद्ध जित्नका लागि १४ वर्षसम्म निरन्तर साधना गरेका थिए त्यही युद्ध नलड्ने मनसाय देखाए । उनले स्वजन र गुरुको वध गरेर सुख भोग्नुभन्दा सन्न्यास लिनु उचित हो पनि भने ।

परिस्थिति जटिल बन्यो । अर्जुन अग्रसर नभइकन पाण्डवहरूले युद्ध जित्ने सम्भावना थिएन । जसरी पनि उनलाई युद्धोन्मुख नगरी नहुने अवस्था थियो । त्यही बखत श्रीकृष्णले अर्जुनलाई जीवनको अनमोल उपदेश दिनुभयो । उहाँले जीवन र जगत्, जीव र जीवेश्वर, धर्म र अधर्म, कर्तव्य र अकर्तव्य, बन्धन र मुक्ति आदिको गूढ रहस्य उजागर गर्नुभयो । अर्जुनको चित्त नबुझेसम्म उहाँले विभिन्न तरिकाले सम्झउँदै रहनुभयो । श्रीकृष्णको सम्झाउने शैली अद्भुत थियो, हामी जस्ता शिक्षकका लागि त्यो प्रेरणाको स्रोत हो । अन्ततः अर्जुन रूपान्तरित भए, उनले त्यो युद्ध लड्नु स्वधर्म नै हो भनी बुझे । उनले धनुष उठाए र युद्ध शुरू भयो । यसरी, गीताको मुख्य अभिप्राय मानिसलाई कर्मको पथमा अग्रसर हुनका लागि अभिप्रेरित गर्नु हो । गीताले अघि सारेको निष्काम कर्मको पथ, अर्थात् कर्मयोगले मानिसलाई जीवनमा आइरहने ‘के गर्ने र के नगर्ने’ भन्ने द्वन्द्वको समाधान निकाल्ने बाटो देखाएको छ । श्रीकृष्ण र अर्जुनको त्यही संवादलाई पछि व्यासदेवले सम्पादन गरी ७०० श्लोकमा लिपिबद्ध गरिदिए र त्यही संवाद ‘भगवद्गीता’ को नामले सुप्रसिद्ध भयो ।

नाश भएर जाने शरीर, नाश नहुने आत्मा
अर्जुन मानसिक द्वन्द्वमा पर्नुका पछाडि तीनवटा कारण थिएः एक, उनी भीष्म र द्रोण लगायतका मान्यजन आफ्नो प्रहारबाट मारिने भए भनी दुःखी भए । दुई, युद्धमै भए पनि स्वजनको वध गर्नु पाप हो र त्यस्तो पापको भागीदार आफू हुने भइयो भनी उनी चिन्तित थिए । तीन, आफूबाट अधर्म हुने भयो र त्यसैले गर्दा आफ्नो परलोक बिग्रिने भयो भनेर पनि उनी डराइरहेका थिए । सामान्य सामाजिक धर्म, मूल्य र मान्यताको सतही अर्थ लगाउँदा अर्जुनको सोचाइ–बुझाइ अस्वाभाविक देखिंदैन । अर्जुनको मनमा रहेको यस्तो संकोच नहटेसम्म उनले सही निर्णय लिन सक्दैनन् भन्ने कुरा कृष्णलाई थाहा थियो । तसर्थ उनले तात्वक हिसाबले ‘को आफन्त र को पराइ हुन्छ’ भन्ने कुरा बुझाउन अर्जुनलाई आत्मतत्वको ज्ञान दिए । त्यही विन्दुबाट गीतोपदेश प्रारम्भ भयो ।

त्यति बेलासम्म अर्जुन मानिसको अस्तित्व भनेको भौतिक शरीर मात्रै हो भन्ने भ्रममा थिए । तसर्थ कृष्णले आत्मा र शरीर अर्थात् देही र देहको भेद बताउँदै भने— ‘आत्मा र शरीरको संयोजनबाट जीवमा जीवन्तता आउने हो । यी दुईमध्ये शरीर भौतिक तत्वबाट बन्ने भएकोले यो नाशवान् हुन्छ भने आत्मा अभौतिक वा आध्यात्मिक तत्व भएकोले यसको अस्तित्व अविनाशी हुन्छ । शरीर मरेर गए पनि आत्मा जीवन्त नै रहिरहन्छ, बरु आत्मा शरीरमा रहेसम्म मात्र शरीर जीवित रहन्छ । आत्माले कुनै काम सम्पादन गर्नका लागि निश्चित समयावधिको लागि मात्र कुनै खास शरीर धारण गर्ने हो । अर्थात् शरीर भनेको आत्माले उपयोग गर्ने उपकरण मात्र हो । शरीरको काम सकिएपछि यसको औचित्य पनि समाप्त हुन्छ । तब आत्माले शरीर त्याग्छ र त्यससँगै शरीर नष्ट हुन्छ ।’ आत्माको अमरत्वको कुरालाई अरू प्रष्ट पार्न कृष्णले आत्माले गर्ने देहान्तरणको पनि चर्चा गर्दै भने— ‘आत्मा अमत्र्य भएकोले त्यसको लागि शोक गर्नु निरर्थक हो भने आत्माले यो शरीर छोडेपछि अर्को शरीर लिने भएकोले शरीरको लागि पनि शोक गर्नु व्यर्थ हो ।’

स्वधर्म
शरीर नश्वर (नाश भएर जाने) छ र आत्मा अनश्वर/अमर कहिल्यै नाश नहुने छ भनी बोध गरे तापनि अर्जुनका लागि उनले युद्ध लड्नै पर्छ भन्ने कुरा स्वीकार्य नहुन सक्थ्यो । तसर्थ कृष्णले थप कारण अघि सार्दै भन्नुभयो— कुरुक्षेत्रमा हुन गइरहेको युद्धमा अर्जुनको कर्तव्य भनेको निसंकोच युद्ध लड्नु हो, किनकि उनको तात्कालिक स्वधर्म त्यही थियो । त्यो युद्ध अधर्म विरुद्धको लडाइँ थियो, भीष्म र द्रोण दुवै अधर्मको पक्षमा उभिएका थिए । अतः क्षत्रीयकुमार हुनुको नाताले अर्जुनले तिनीहरूको वध गर्न हिचकिचाउनु उचित थिएन ।


गीतालाई निवृत्ता भएका मान्छेले समय बिताउनका लागि अध्ययन गर्ने ग्रन्थ भनी बुझनु उचित होइन। यो त कामकाजी जीवन बिताउने बाटो हो। गीतामा जति छिटो मन गयो त्यत्तिा नै जीवन राम्रो हुन्छ।

अर्जुनले युद्धमा कसले जित्ने र कसले हार्ने भन्नेबारे टुङ्गो छैन पनि भनेका थिए । अर्जुनको यो संशयको समेत खण्डन गर्दै कृष्ण अगाडि भन्छन्, “अर्जुन, तिमी युद्ध गर्ने कि नगर्ने भनी यसरी अलमलमा पर्नु ठीक होइन । हार–जितको द्वन्द्वमा नपरी युद्धमा उत्र । कुनै कर्म गर्नुअघि त्यो न्यायोचित हुन्छ वा हुँदैन भनी सोच्नु मनासिब हो, तर कुनै कर्म गर्नु ठीक छ भनी ठम्याइसकेपछि सफलता–विफलताको चक्करमा फसी कर्म नगर्न खोज्नु उचित होइन, किनभने बहाना बनाएर आफ्नो कर्तव्य पालन नगर्नु पनि एक किसिमको पाप नै हो ।”

के हो निष्काम कर्म ?
युद्धको परिणाम या हार–जितको चिन्ताले गर्दा अर्जुन बेचैनीमा परेका थिए । त्यही समस्या समाधान गर्न कृष्णले भने—

“कर्म गर तिमी अधिकार ठानी,
नखोज अधिकार कर्मफलमा ।
आसक्ति छोड कर्मफलको प्रिय,
किन्तु कदापि नबन निष्क्रिय ।”
    (भगवद्गीता २ः४७)

गीताको यही श्लोक निष्काम कर्मको आधारभूत सूत्र हो, यसैभित्र कर्मयोगको सार छ । यहाँ कुनै पनि कर्म या कामसित आसक्त नहुने तर गर्नुपर्ने काम या कर्मत्याग पनि नगर्ने भन्ने कुरा प्रष्ट पारिएको छ । यहाँ मानिसले बिर्सनै नहुने चारवटा कुरा भनिएको छ । एक, कर्मलाई आफ्नो अधिकार ठानेर कर्म गर्ने । यहाँ कर्ममा हाम्रो अधिकार छ भन्नुको अर्थ कर्म गर्नु हाम्रो कर्तव्य हो भनेको हो । दुई, कर्मफलमा अधिकार नखोज्ने । यसको तात्पर्य हो, कर्ताको मनमा कर्तृत्वाभिमान, अर्थात् ‘सबै गर्ने म नै हुँ’ भन्ने अहंकार रहनुहुँदैन । तीन, फलासक्ति छोड्ने । यसको अर्थ हो, कर्मफल या कामको परिणाम आफ्नो नियन्त्रणमा हुँदैन । अर्थात्, कर्मको फल आफूले सोचे जस्तै आउन सक्छ वा सोचेभन्दा फरक खालको पनि हुनसक्छ भन्ने कुरा बुझेर र कर्म गर्नुपर्दछ । चार, कर्म गर्न नछोड्ने । यसको तात्पर्य हो— कसैले पनि केही नगरी चूपचाप बस्ने विचार गर्नुहुँदैन । निष्काम कर्मको अर्थ निष्क्रिय रहनु भन्ने हुँदै होइन । कसैले केही नगरेसम्म केही पनि हुँदैन ।
निष्काम कर्मको दर्शन पछाडि एउटा ठूलो मनोवैज्ञानिक रहस्य पनि लुकेको छ । काम गर्ने बखत मनमा ‘म सफल हुन सक्छु कि सक्दिनँ वा मैले चाहेको परिणाम आउँछ कि आउँदैन’ भन्ने तर्कना चल्दै गरे कर्ताको ध्यान र ऊर्जा कामको प्रक्रिया र फलको तर्कनाबीच विभाजित हुन्छ । त्यस्तो अवस्थामा कुशलतापूर्वक काम सम्पन्न हुँदैन र काममा कुशलता अपुग भएपछि फल पनि जति सम्भव छ त्यति गतिलो हुँदैन, किनकि कर्म अनुसारकै फल निस्कने हो । फलको आसक्ति वा चिन्ता छोड्दा एकाग्र मनले दत्तचित्त भई कर्म गर्न सकिन्छ र त्यसले गर्दा कर्ता कर्म गर्दा गर्दै आनन्दित हुनाका साथै राम्रो परिणाम निकाल्न सक्ने पनि हुन्छ ।
यस्तै परिणाम आउनुपर्छ, वा त्यस्तो त हुनै सक्दैन भन्ने पूर्वाग्रहबाट मुक्त हुन सके परिणाम जस्तोसुकै आए पनि सहर्ष स्वीकार गर्न सकिन्छ । परीक्षाको तयारीमा जुटेका विद्यार्थीले परीक्षाफल यस्तै निस्कनुपर्छ भनी पूर्वाग्रह राख्ने होइन, के कस्तो नतिजा आउने हो भनी चिन्तित हुने होइन । बरु, उसले परीक्षाफलको भय र चिन्ताबाट मुक्त रही पाठ्यक्रम अनुरूप एकाग्रताका साथ तयारी गर्नुपर्छ । तयारी राम्रो भए परीक्षामा अवश्य राम्रो गरिन्छ र राम्रो परीक्षाफल पनि सुनिश्चित हुन्छ ।
निष्काम कर्म गीताले प्रतिपादन गरेको नितान्त मौलिक दर्शन हो । यसले भनेको छ, मानिसले संसारमै रहेर, संसारमा गर्नुपर्ने सबै कर्म गर्दै मुक्तिको मार्ग पहिल्याउन सक्छ । अतः अध्यात्म पथमा हिंड्नका लागि आफ्नो काम, कर्तव्य वा अभिभारा छोड्नुपर्छ भन्ने छैन । तर एउटा शर्त भने अवश्य छ, कर्मको परिणाममा मन अल्झ्इिरहने अवस्था हुनुहुँदैन । परिणामको चिन्ताबाट मन मुक्त भएपछि कर्म गर्दै रहँदा आनन्द अनुभूत भइरहेको पनि हुन्छ । परिणाम जस्तोसुकै आए पनि निष्काम कर्म गर्नेको मन त्यसबाट प्रभावित हुँदैन, सोचे जस्तै परिणाम आएको अवस्थामा उसले ईश्वरको कृपा भयो भनी ईश्वरप्रति वृmतज्ञता जाहेर गर्दछ भने सोचेभन्दा विपरीत परिणाम आएको अवस्थामा प्रभुको यस्तै इच्छा रहेछ भनी सन्तोष लिन्छ । तसर्थ कर्मयोगी सदैव सन्तुष्ट रहन्छ र बिस्तारै ऊ ‘स्थितप्रज्ञ’ को स्थितिमा पुग्दछ । त्यस चरणमा पुगेको योगीलाई सिद्ध पुरुष भनिन्छ ।

निष्काम कर्म गर्ने भन्नुको अर्थ परिणामको चिन्ता छैन भनेर जे पायो त्यही गर्दै हिंड्ने भन्ने पनि होइन । कसैले मनपरी गरिदिंदा त्यसको परिणाम कर्म गर्नेका लागि मात्र नभई समुच्चा समाजको लागि समेत अशोभनीय र प्रत्युत्पादक हुन सक्छ । निष्काम कर्मको अर्थ निरुद्देश्य कर्म गर्ने वा परिणामको मतलब नराखी कर्म गर्ने भन्ने पनि होइन । यस्तो भन्नु सरासर पाखण्ड हुनेछ । परिणामकै लागि कर्म गर्ने हो र परिणामले नै कर्म गर्न उत्प्रेरित गर्ने पनि हो । कर्म गर्नुको तात्पर्य पनि सफल हुनु नै हो । पास हुनकै लागि परीक्षामा बस्ने हो । कृष्णले अर्जुनलाई जित्नकै लागि युद्ध लड्न भन्नुभएको पनि हो । कुरा यति मात्र हो कि कर्मको फल आफूले सोचे जस्तै हुन पनि सक्छ, नहुन पनि सक्छ । तसर्थ फलको चिन्ता छोडे मन स्वतन्त्र रहन्छ र कर्मको गुणस्तर पनि बढ्छ ।

फेरि, फलासक्ति नराखी कर्म गरेर मात्र पनि निष्काम कर्मको अभिप्राय पूरा हुँदैन । कुनै कर्म गर्नु उपयुक्त छ भनी ठहर गरेपछि कर्ताले एकाग्र चित्तले सक्दो राम्रो तरिकाले कर्म सम्पादन गर्न सकोस् भन्नाका खातिर नै कर्मफलको चिन्ता नगर भनिएको हो । यस्तो अवस्थामा कर्ता कर्ममा यसरी डुबेको हुन्छ कि उसको मनमा फलको ख्याल नै रहँदैन । कलाकारले कलाचित्र कोर्दा ऊ आफ्नो कर्मको प्रक्रियामा नै मग्न भएको हुन्छ र उसको हातबाट अनुपम चित्र बन्दछ । पछि आफ्नो कलाकृति देखेर ऊ दङ्ग पनि पर्दछ । कर्ताले कर्मफल त्याग्नुपर्छ भन्ने कुरा पनि होइन । फलको चिन्ता नगर्नु भन्नुको तात्पर्य फलको तर्कनामा अलमलिएर कर्मको कुशलतामा आँच आउने अवस्था नबनोस् भन्ने मात्र हो । मानिसले होशियारीका साथ पूरा मन लगाएर, सर्वोत्तम परिणाम हासिल हुने किसिमले, आफ्नो बलबुताले भ्याएसम्म कुशल तरिकाले आफ्नो काम सम्पन्न गर्नुपर्छ । गीतामा भनिएको छ, ‘योग कर्मषु कौशलम्’ ।

कर्मयोगको कुरा गर्दा कर्मको अर्थ निष्काम भावले कुशलतापूर्वक स्वधर्म पालन गर्नु हो भनी बुझनु उचित हुन्छ । अधिकांश मानिस कामको संसारमा सक्रिय रहने हुनाले कर्मयोगको साधना धेरैका लागि तुलनात्मक हिसाबले बढी स्वाभाविक र सुगम पनि देखिन्छ । फलको इच्छा नगरी कसरी कर्म गर्न सकिन्छ अर्थात् कर्म कसरी निष्काम हुन्छ भन्ने प्रश्न उठ्न सक्छ । कर्म आफ्नो हातमा हुन्छ तर कर्मफलमा प्रभाव पार्ने अरू पनि धेरै तत्व हुन्छन् भनी बुझे यसको उत्तर पाइनेछ ।
त्यसो त निष्काम कर्मीको मनमा फलको इच्छा हुँदै नहुने भन्ने पनि होइन, तर कर्मफलको मामलामा ऊ आसक्त हुँदैन र सकाम कर्मी जस्तै ऊ इच्छाको दास बन्दैन । गीताको यस भनाइले प्राकृतिक नियमसित पनि तालमेल राख्दछ । हामी जीवित रहेसम्म निष्क्रिय भएर बस्नै सक्दैनौं, जीवन धान्न पनि कुनै न कुनै कर्म गरिरहनुपर्ने हुन्छ । गीताको सन्देश हो— जीवन जिउनको लागि नै हो र त्यसको लागि हामीले संसारमा बस्नुपर्छ र संसारमा बसेपछि कर्म पनि गर्नुपर्छ । तर कर्म गर्ने नाममा हामी संसारको भुलभुलैयामा फस्नुहुँदैन । हामीले संसारमै रही संसार सुन्दर बनाउनका लागि भरमग्दुर प्रयत्न गरिरहनुपर्छ । संसारका सबै कुरा हाम्रै लागि सिर्जिएका हुन्, र हामीले त्यसैलाई उपयोग गरेर आध्यात्मिक लक्ष्य खोज्नुपर्छ । तर कहिल्यै पनि त्यसमाथि कब्जा जमाउने वा त्यसको स्वामित्व खोज्ने काम भने गर्नुहुँदैन । पुल नदी पार गर्नको लागि हो, त्यहाँ घर बनाएर वा पसल खोलेर बस्नका लागि होइन ।

गीताले भनेको छ, समाजमा जान्ने बुझने र सामथ्र्य भएकाले आम जनसमुदाय माझ् निष्काम कर्मको अभ्यास गरेर देखाउनुपर्छ, किनभने धेरैजसो मानिस ठूलाबडाले के गर्छन् त्यसैको सिको गर्न खोज्छन् । समाजका अग्रणीहरूले सुकर्म गरेर देखाए मात्र समाजमा मानवीय मूल्य, मान्यता, नियम र आदर्श स्थापना गर्ने आधार खडा हुन्छ । समाजका अगुवाले मनखुशी गरेर हिंडे तिनका अनुयायीले त्यसैको नक्कल गर्छन् । यसो भनिरहँदा श्रीकृष्ण यस्तो पनि सङ्केत गर्दै हुनुहुन्थ्यो, “हे अर्जुन, तिमीले प्रतिकार नगरे कौरवहरूको दबदबा झ्नै बढ्नेछ । अरूले पनि तिम्रै सिको गरी अधर्मको प्रतिरोध गर्न छोड्नेछन् र दुर्योधन जस्ता अधर्मीले निष्कण्टक राज्य गर्ने अवसर पाउनेछ । त्यसैले अरूलाई सिकाउन पनि तिमीले यो युद्ध लड्नैपर्छ ।”

“बडाले गर्दछन् जे–जस्तो कर्म
त्यही नै हुन्छ है सर्वसम्मत ।
बडाले जे गरी देखाउँछ,
लिन्छ दुनियाँले त्यही बाटो ।”
    (भगवद्गीता ३ः२१)

गीताले हामीलाई आफ्नो शरीर र संसारलाई मुक्तिका साधनका रूपमा उपयोग गर्ने तरिका देखाएको छ । गीता भन्दछ, बाह्य रूपले कर्म गर्दै रहे पनि आन्तरिक रूपले सन्न्यास भाव लिन सके मुक्तिको बाटो खुला हुन्छ । मन कामना, आसक्ति र अहङ्कारबाट मुक्त भएपछि स्वतः आध्यात्मिक चेतना जाग्छ र यो नै सन्न्यास हो । सन्न्यास भनेको मनको निस्पृह स्थिति हो, र यसले मन र इन्द्रियलाई तह लगाई सांसारिक सम्बन्ध, सुख र ऐश्वर्यको आसक्ति त्यागी निर्बन्ध भई जीवन बिताउन सक्ने बनाउँछ । पाउने लालसा र गुमाउने सन्ताप नभएपछि नै मानिसले स्वतन्त्र भएर बाँच्न सक्छ । तब जीवनमा आइपर्ने अनुकूल, प्रतिकूल सबै परिस्थितिलाई सहजै स्वीकार गरी जीवनको हरेक क्षण सुकर्म गर्ने अवसरको रूपमा उपयोग गर्न सकिन्छ । यस्तो अवस्थामा पुगेको मानिस नै मुक्तिको अधिकारी बन्दछ । उसले सांसारिक कर्म गर्न छोड्ने नभई कर्ममा रहेका बन्धनकारी तत्व मात्र त्याग्छ र आफूले गर्नुपर्ने सबै कर्म गरेर पनि ऊ स्वतन्त्र रहन्छ । अतः कर्मयोगीको घर गृहस्थाश्रममा परिणत हुन्छ र कर्मयोगी नागरिक भेषमा घुम्ने सन्न्यासी बन्दछ । गीताले दोहर्‍याई–दोहर्‍याई दिएको सन्देश ‘कर्मबाट सन्न्यास लिनु’ भन्ने नभई ‘कर्मभित्रै सन्न्यास खोज्नु’ भन्ने हो ।

गीता प्रश्न गर्नै नमिल्ने खालको जड–सूत्रवादी ग्रन्थ होइन, अर्जुनले आफ्नो मनमा प्रश्न निशेष नभएसम्म प्रश्न गर्दै रहे । गीतामा ‘यो गर र त्यो नगर’ भन्ने आदेश पनि दिइएको छैन, यसमा जोर–जबर्जस्ती गर्ने कुरा कहीं उल्लेख भएको छैन । गीताले मुक्तिमा अवरोध पुर्‍याउने सबै कुरा छर्लङ्ग पारेको छ र त्यसको निवारणको उपाय पनि राखिदिएको छ । आफैंले आफ्नो समस्या बुझेर आफूलाई मिल्ने र सुहाउने बाटो रोज्ने काम हाम्रो हो । गीतोपदेशको अन्त्यमा श्रीकृष्णले अर्जुनलाई राम्ररी सोचविचार गरी आफ्नै हिसाबले निर्णय गर्न भन्नुभयो । अर्जुनले श्रीकृष्णको उपदेश मानी आफ्नो स्वधर्म पालन गरे परिणामको चिन्ता लिनुपर्ने कारण छैन भनी बुझे । अर्जुनले जस्तै श्रद्धा र निष्ठापूर्वक गीताको सन्देशलाई व्यवहारमा उतारे हामी पनि जीवनमा आइपर्ने द्वन्द्व र विषादबाट मुक्त हुन सक्नेछौं । गीता मुक्तकण्ठले गाउने गीत हो, शान्त मनले अनुचिन्तन गर्ने दर्शन हो र सहज, सफल र सार्थक जीवन जिउने मार्ग हो ।

गीता अध्यात्म दर्शन वा नीतिशास्त्र मात्र पनि होइन, यो पूर्ण र सार्थक जीवन जिउन सिकाउने निर्देशिका पनि हो । गीता भन्दछ, समस्याबाट भाग्नु ठीक होइन बरू, समस्याको कारण पत्ता लगाए समाधान अवश्य निस्कनेछ । यो आधुनिक समाजमा जीवन व्यवस्थापन गर्नका लागि उपयोगी सूत्र पनि हो । तसर्थ गीता आज पनि उत्तिकै सान्दर्भिक छ जति सान्दर्भिक यो हजारौं वर्ष पहिले थियो, र भविष्यमा पनि यो उत्तिकै सान्दर्भिक रहिरहनेछ । गीताभित्र सबैलाई सुहाउने दर्शन, नीति, आचार र सूत्र भेटिन्छ । सबैले आ–आफ्नो वर्ण र धर्म अनुसार गीताको सन्देश पालन गर्न सक्दछन्, गीता सबैका लागि हो । गीताबाट शिक्षा लिन र तदनुरूप जीवन जिउन हिन्दू नै हुनुपर्छ भन्ने पनि छैन । हिन्दू इतिहास र पूर्वीय दर्शनको पृष्ठभूमिमा उद्भूत भएको भएतापनि गीता सबैका लागि उत्तिकै उपयोगी ग्रन्थ हो ।
एक पल्ट गान्धीजीको गीता प्रवचन सुनेपछि एक जना पश्चिमा श्रोताले ‘म इसाई हुँ, मैले गीता किन पढ्ने ?’ भनी प्रश्न गर्दा उहाँले भन्नुभयो, “गीता पढे तपाईं अरू राम्रो इसाई बन्नुहुनेछ ।” कर्ता र कर्मको संयोजनबाट कर्म सम्पादन हुन्छ । कर्ता राम्रो भए मात्र कर्म राम्रो बन्दछ । गलत मान्छेको हातमा परेपछि राम्रै साधनको पनि प्रयोग गलत तरिकाले हुन्छ । गीताले कर्तालाई सही बनाउन खोजेको छ । गलत तरिकाले सही जीवन बिताउन सकिन्न भने जस्तै सही तरिकाले गलत जीवन जिउन पनि सकिन्न । प्रकाश फैलिएपछि अन्धकारको अस्तित्व नामेट हुन्छ नै ।


गीताको मुख्य अभिप्राय मानिसलाई कर्मको पथमा अग्रसर हुनका लागि अभिप्रेरित गर्नु हो। गीताले अघि सारेको निष्काम कर्मको पथ अर्थात् कर्मयोगले मानिसलाई जीवनमा आइरहने ‘के गर्ने र के नगर्ने’ भन्ने द्वन्द्वको समाधान निकाल्ने बाटो देखाएको छ ।

मानव चोला ठूलो अवसर हो, किनकि मानिसमा अरू कुनै प्राणीमा नरहेको अद्भुत सम्भावना लुकेको हुन्छ । मानिसको स्वभाव र क्षमता पनि अचम्मको छ । एकातिर ऊ अत्यन्त असल बन्न सक्छ भने अर्कोतिर ऊ अत्यन्त खराब पनि बन्न सक्छ । समाज र देशलाई एकसूत्रमा बाँध्ने मानिस नै हो भने समाज र देशमा विखण्डन ल्याउने पनि मानिस नै हो । त्यसैले मानिस समृद्धिको संवाहक वा विनाशको कारक दुवै हुन सक्छ । अध्यात्म दर्शनको उद्देश्य भनेको मानिसको मनमस्तिष्कलाई खराब दिशातिर जान नदिई राम्रो दिशातर्फ उन्मुख गर्नु हो । यसले खराब बाटोमा लागेकालाई पनि सच्चिन र सुध्रिन प्रेरणा दिनुका साथै त्यसको तरिका सिकाउँछ । यसको अर्थ भौतिक प्रगति अनावश्यक भनेको होइन । जीवनमा पूर्णता पाउन भौतिक र आध्यात्मिक दुवै पक्षको सन्तुलित विकास हुनुपर्छ । भौतिक प्रगतिले मानिसको सुविधा र सामथ्र्य बढाउँछ र त्यसलाई आध्यात्मिक साधना सहज बनाउन उपयोग गर्न सकिन्छ । तर आध्यात्मिक प्रगतिले मात्र मानिसमा सद्गुणको प्रवर्धन र सम्वर्धन गर्दछ । आध्यात्मिक रुझन भएको मानिसले जीवनको समस्या राम्ररी समाधान गर्न सक्छ । अतः गीतालाई कामकाजको संसारबाट निवृत्त भएकाले समय बिताउनका लागि अध्ययन गर्ने ग्रन्थ भनी बुझनु उचित होइन । गीता मुक्तिलाई ध्यानमा राखी कामकाजी जीवन बिताउने बाटो हो । गीतामा जति छिटो मन गयो त्यत्ति नै जीवन राम्रो हुनेछ । बाल्यकाल राम्रो भए जवानी राम्रो हुन्छ र जवानी राम्रो भए वृद्धावस्था पनि राम्रो हुनेछ ।

जीवन एकनासले चल्दैन, कहिले परिस्थिति अनुकूल हुन्छ त कहिले प्रतिकूल । अतः परिस्थिति अनुकूल भएन भनी विचलित नभई प्रतिकूल अवस्थालाई अनुकूल बनाउन प्रयत्न गर्नुपर्छ । समस्या आउँदै गर्छ र समाधानका लागि कोशिश पनि गर्दै रहनुपर्छ । कोशिश नगरे समस्या हट्दैन पनि, तर जे गर्दा पनि समाधान भएन भनेर हतास र निराश भने हुनुहुँदैन । जीवनलाई सुखी बनाउन प्रयत्न गर्नैपर्छ, किनभने जीवन सुख पाउनकै लागि हो र मुक्ति भनेको पनि सर्वोच्च सुख नै हो । प्रतिकूल परिस्थितिमा गीताको सन्देश याद गरे हामीमा निराशा आउँदैन । अनुकूल परिस्थितिमा गीतालाई सम्झ्े प्रतिकूलताको अनुभूति हुँदैन । भौतिक र आध्यात्मिक पक्षबीच सन्तुलन मिलाएर अघि बढ्न सके जीवन सफल, सहज र शान्त बन्नेछ । हामीलाई प्रेरणा दिन र बाटो देखाउन श्रीकृष्ण सधैं हाम्रो साथ रहनुहुन्छ । उहाँको इशारा बुझी कर्म गर्न सके जगत् सुखी हुने ठाउँ हो र जीवन खुशी हुने अवसर हो भन्ने कुरा आफैंलाई अनुभूत हुनेछ । गीताका साधकहरू शान्त र प्रशन्न देखिनुको कारण यही हो । यस्तो लेखिरहँदा मलाई विद्यालयमा पढेको हार्वर्ड विश्वविद्यालयका प्राध्यापक हेनरी वाड्सवर्थ लङ्गफेलोले रचना गरेको र धेरै भाषामा, संस्कृतमा समेत, अनुवाद भएको अत्यन्त लोकप्रिय ‘जीवनको गीत शीर्षक कविताका यी चार हरफको भावार्थ याद आइरहेछ ।

“जाग अब, डट कर्मभूमिमा,
होऊ तयार जे पर्छ त्यो भोग्न ।
सिक कर्म गर्न हुँदै धीर र स्थिर,
होऊ प्रयत्नशील, हुनेछौ सफल ।”
    हरे कृष्ण ! ७

अर्थशास्त्रका अवकाशप्राप्त प्राध्यापक डा. बैद्यका नेपाली र अंग्रेजी भाषामा गीता र श्रीकृष्ण सम्बन्धी आधा दर्जन ग्रन्थ प्रकाशित छन् ।

शिक्षक मासिक, २०७६ पुस अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial