बालबालिकामा त्रासका संकेत

केही समयअघि बाङ्लादेशको एक समाचारले विश्वका शिक्षकहरूको नूर नराम्ररी गिर्‍यो । समाचार अनुसार एक विद्यालयका शिक्षकले आफूलाई करणी गरेको आरोप लगाएकी १९ वर्षीया नुसरत जहाँ रफीको जबरजस्ती आगो लगाएर हत्या गरिएको थियो । ती युवतीले आफ्ना प्रधानाध्यापक सिरज उद दउलाले आफूलाई बारम्बार अनुचित तरिकाले छोएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसको ११ दिनपछि गत सन् २०१९ को अप्रिल ६ तारिखका दिन उनलाई विद्यालयको छानामा बोलाइयो र त्यहाँ उनलाई बुर्का लगाएका चार/पाँच जनाले घेरेर उजुरी फिर्ता लिन दबाब दिए । त्यसो गर्न अस्वीकार गरेपछि उनलाई जीवितै आगो लगाइयो । प्रहरीका अनुसार ती युवतीले आफैं देहत्याग गरे जस्तो देखाउने प्रयास गरिए पनि उनको उद्धार गरियो । शरीरको ८० प्रतिशत भाग जलेकी नुसरतको चार दिनपछि निधन भयो ।

यो घटनाले विद्यालयकै शिक्षकबाट कतिसम्म यौन हिंसा हुनसक्छ भन्ने कुरालाई संकेत गर्छ । बाङ्लादेशको अदालतले अपराधी प्रधानाध्यापकसहित केही शिक्षकलाई मृत्युदण्ड दिने फैसला गरे पनि नुसरतको जीवन कहिल्यै फर्कन नसक्ने गरी नष्ट भइसकेको छ । विदेशको घटनामा मात्र होइन, नेपालमै पनि किशोरीहरूलाई ब्ल्याकमेल (Black-mail) गरी पटक–पटक बलात्कार गर्ने, ट्यूसन पढाउने नाममा शरीरमा हात लगाउने, छुने, पेट र कम्मरमा काउकुती लगाउने, यौनाङ्ग छोइदिने साथै हातले ढाड र तिघ्रामा कुट्ने वा कुटेको झैं गर्ने जस्ता समाचार बेलाबखत सुन्न पाइन्छ । एकातिर यौन हिंसा गर्ने अनि अर्कोतिर ‘कसैलाई भनिस् भने...’ भनेर ज्यानै लिने धम्की मार्फत सधैं त्रासमा बाँच्न बाध्य पारिएका कैयौं बालबालिका विद्यालयमा भेट्न सकिन्छन् । यस प्रकारको आपराधिक क्रियाकलाप हामी आफू बसेकै समाजभित्र र आफ्नै विद्यालयमा समेत हुनसक्छ ।

बालबालिकाको कलिलो मस्तिष्कमा यौन हिंसाको मात्र त्रास हुँदैन, उनीहरूमा हप्की–दप्की, गालीगलौज, सजाय र अनेकौं प्रकारका यातना समेतको त्रास हुन्छ । बालबालिकाले सहज रूपमा मनमा लागेको कुरा भन्न, नजानेको र नबुझेकाे कुरा सोध्न र विभेद, असमानता र अन्यायको विरुद्ध सिकायत गर्न नसक्नुलाई उनीहरूमा भयङ्कर त्रास छ भन्ने कुराको सङ्केतका रूपमा लिनुपर्छ । बालबालिकाहरू आमा–बाबु, अभिभावक, शिक्षक र समुदायमा जुन कुरा राख्न सक्दैनन्, त्यही कुरा साथीभाइमा राख्न सक्छन् । यसो हुनुमा हामीले बालबालिकाप्रति त्रास देखाएका छौं भन्ने नै हो । अर्थात् हामी उनीहरूको मनोभावको कदर गर्ने साथी जस्तो हुनसकेका छैनौं ।

संसारलाई थाहा भएको कुरा हो, सबै मान्छे उस्तै हुन् । सबै मान्छेको जन्म उही महिला र पुरुषको यौनिक जीवन रस ९नबmभतभ० को संयोजनबाट हुन्छ । मान्छेको यौनिक जीवन रस अन्य प्राणीको जीवन रससँग मिलाएर अर्को मान्छेको जन्म असम्भव छ । तर संसारका कुनै पनि कुनाको, वर्गको, जातिको वा धर्मको मान्छे र अर्को त्यस्तै मान्छेको यौनिक जीवन रस मिलाएर नयाँ मान्छेको जन्म हुनसक्छ । यसकारण सबै मान्छे जन्मको आधारमा समान हो भन्ने कुरा प्रष्ट छ । मान्छेको जन्म मात्र एकै प्रकृतिबाट हुने नभई, जन्मिसकेपछि पनि ऊ बाहिरी वातावरणको प्रभावमा पर्नुपूर्व उस्तै नै हुन्छ । खाली–खाली दिमाग लिएर जन्मेको मान्छेको दिमागमा त्यसरी नै बाहिरी प्रभाव पर्न थाल्छ, जसरी सफा र सादा कापीका पानामा अक्षर लेख्न थालिन्छ । जन्मँदै कसैले न जात जानेको हुन्छ न भात, न धर्म न संस्कार र परम्परा, न उँच–नीच, न धनी–गरीब; केही जानेको हुँदैन । विभेद, असमानता, जालझ्ेल, अन्याय, ठगी, चोरी जस्ता सबै खराबी त मान्छेले घर–परिवार, समाज र समुदायमा जेठोपाकोबाट सिक्ने हो । यसकारण बालबालिकालाई कुनै पनि कुराको दोष दिनु मूर्खता हो ।

बालबालिकालाई ‘बदमास भयो’ भनेर दोष दिनु भनेको हामी आमा–बाबु, अभिभावक र शिक्षकको महागल्ती हो । जन्मँदै कोही बदमास र खराब हुँदैन, पछि हुर्कंदै जाँदा बाहिरी वातावरणीय प्रभावले त्यसो हुन जान्छ । यसैले घरमा होस् वा समुदायमा, समाजमा होस् वा विद्यालयमा कतै पनि बालबालिकालाई दोष दिएर गाली गर्ने गल्ती गर्नुहुँदैन । मान्छे चेतनशील प्राणी भएकोले उसलाई माया, प्रेम, स्नेह र सहयोग दिएर मात्र चारित्रिक नागरिक बनाउन सकिन्छ । बालबालिकाबाट कुनै गल्ती हुन्छ भने त्यो अन्जानमै हुन्छ । थाहा नपाएर, अरूको लहैलहैमा लागेर, समाज, घर, विद्यालय आदि स्थानमा घटेका, देखेका र सुनेका कुराबाटै उनीहरूले गलत कुरा पनि सिकिरहेका हुन्छन् । तर हामी गल्तीको जड पत्ता लगाउँदैनौं, अनि बालबालिकालाई हप्काउन, गाली गर्न कुट्न र सजाय दिन पुग्छौं ।

घर–परिवारमा पनि बालबालिकालाई गरिने त्रासदीपूर्ण व्यवहारले उनीहरूको बाल मनोविज्ञानमा निकै ठूलो चोट पुगिरहेको हुन्छ । घरमा बिगार गर्ने, परिवारका अन्य सदस्यहरूसँग झगडा गर्ने, ठुस्किएर बस्ने र घरै छोडेर जानेसम्मका कामहरू गर्न तयार हुने बालबालिकामा कुनै न कुनै प्रकारको हिंसा भएकै हुन्छ । कतै न कतैबाट हिंसा, अन्याय, दबाब र अपमान जस्ता कुनै न कुनै प्रकारको असर नभई उनीहरू सजिलै आफ्नो घरपरिवार, आफन्तजन र साथीभाइहरू छोडेर टाढा जान सक्दैनन् । घर–परिवारमा भन्दा विद्यालयमा हुने बाल हिंसा, त्यसले उत्पन्न गर्ने त्रास र बाल मनोविज्ञानमा परिरहेको असर अझ् भयानक डरलाग्दो हुन्छ । यसो हुनु स्वाभाविक पनि हो किनकि विद्यालय कृत्रिम परिवार हो, जहाँ नचिनेका, थाहा नपाएका टाढा–टाढाबाट अएका शिक्षक र विद्यार्थी साथीहरू हुन्छन् ।

विद्यालयमा बालबालिकालाई धेरै प्रकारका त्रास हुन्छन् जस्तैः समयको त्रास, सहपाठी र अन्य उद्दण्ड विद्यार्थीको त्रास, यूनिफर्मको त्रास, सरसफाइको त्रास, गृहकार्यको त्रास, पाठ बुझउने कामको त्रास र यौनजन्य दुरुत्साहनको त्रास आदि । समयमा विद्यालय पुग्न नसक्दा, खराब साथीभाइले हप्कीदप्की गर्दा, यूनिफर्म नलगाउँदा वा फोहोर–मैला हुँदा, गृहकार्य गर्न नसक्दा र पाठ बुझाउन नसक्दा पाइने सजाय र गालीगलौजको त्रास बालबालिकामा भइरहन्छ ।

माथि उल्लिखित कामहरू गर्न किन र के कारणले उनीहरू असमर्थ हुन्छन् भन्ने कुरातर्फ शिक्षकको ध्यान पुगेको देखिंदैैन, अनुसन्धान गरिंदैन, समाधानको कुरा त धेरै परको कुरा भइनै हाल्यो । जसले गर्दा बालमनोविज्ञानमा नकारात्मक असर हुन्छ । परिमाणतः बालबालिकाले सिकाइमा उत्सुकता देखाउन, जाँगर चलाउन र प्रगति गर्न सक्दैनन्, बरु विद्यालय छोड्न सक्छन् । यी विभिन्न त्रासहरूमध्ये गृहकार्य नगर्दा पाइने गाली र सजायको त्रास र शिक्षकहरूबाट गरिने यौन हिंसा र यौन दुरुत्साहनबाट उत्पन्न त्रास सबैभन्दा भयानक हुन्छ । गृहकार्य नगर्दा बालबालिकाहरू विद्यालय जान डराउँछन् । घरमा पनि गृहकार्य नगरेसम्म भोलि विद्यालयमा पाइने सजाय झ्लझ्ली सम्झ्ँदै खाना खाने समय भए पनि खाना खानै नआउने, सुत्ने समय भए पनि सुत्न नजाने र सुतिहाले पनि सपनामा समेत तर्सने, रुने र चिच्याउँदै उठ्नेसम्मको क्रियाकलाप उनीहरूबाट गरिन्छ । बालबालिकाले नजानेर वा समय नपुगेर गृहकार्य नगरेको हुनसक्छ तर पनि उनीहरू गाली र सजायको भागिदार बन्छन् ।

विभिन्न त्रासहरूमध्ये यौन हिंसा र यौन दुरुत्साहनबाट हुने त्रासले बालबालिकालाई सबैभन्दा बढी सताइरहेको हुन्छ । खास गरेर केही पुरुष शिक्षकले बालबालिकाप्रति गर्ने व्यवहार अस्वाभाविक खालका हुन्छन् । खराब प्रवृत्तिका शिक्षकले छात्राहरूलाई— ‘काली’, ‘डल्ली’, ‘भुन्टी’, ‘च्यान्टी’, ‘गान्टी’, ‘मोटी’, ‘थसुल्ली’, ‘पितुर्की’ जस्ता आदि उपनामले बोलाउने, शरीरमा छुने, चिमोट्ने, ढाडमा धाप मार्ने, नाक र गालामा समातेर तान्ने, शरीरका विभिन्न भागमा काउकुती लगाउने, पेटको छाला तान्ने, ढाडको भागमा भएको बे्रस्टरको फित्ता तानेर फ्याट्ट छोडिदिने जस्ता यौनजन्य हैरानी (Sexual harassment) गर्ने गर्छन् ।

यौनाङ्गहरूमा छोइदिने, खेलाइदिने र एक्लो दोक्लो पारी ढोका थुनेर सताउने र मौका पर्दा बलात्कार समेत गर्नेसम्मका घटनाबाट आजित भएर बालबालिका विद्यालय छोड्ने, अर्को विद्यालय जाने र पढाइ नै सदाको लागि त्याग्ने समेत गर्न पुग्छन् । यति भएर पनि इज्जत जाने, समाजले भोलि खिसी र हेलाँ गर्ने डरले बालिकाहरू हिंसा लुकाउन विवश छन् । यस्ता हिंसा लुकाउने कुरामा प्रायःजसो आमाबाबु र अभिभावक पनि सहयोगी हुने गर्छन् । परिणामतः कतिपय बालिकाहरू फ्रस्टेसन हुने, डिप्रेसनको शिकार बन्ने र आत्महत्यासम्म गर्ने घटनाहरू समाजमा घटिरहन्छन् ।

माथिका विविध प्रसङ्गका अतिरिक्त परीक्षा र परीक्षाफलबाट समेत बालबालिका प्रताडित हुँदै आएका छन् । प्रश्नपत्र निर्माणमा भइरहने त्रुुटि, परीक्षा हलभित्रको असहज वातावरण र परीक्षाको नतिजा प्रकाशनमा हुँदै आएको लापरबाहीका कारण उनीहरूमा गम्भीर प्रकारको मानसिक तनाव मात्र उत्पन्न भएको छैन, ज्यान समेत गइरहेको छ । यसप्रकारको अवस्थामा समेत सरोकारवालाहरू र अधिकारवालाहरू कसैको पनि ध्यानाकर्षण भएको पाइँदैन । न त गल्ती र लापरबाही गर्नेहरूलाई कुनै कारबाही हुन्छ न पुनः कुनै होशियारी अपनाइएको छ । दुई वर्ष अगाडि उर्लाबारीकी एक मेधावी छात्राले गलत एसईई नतिजा प्रकाशनको कारण आत्महत्या गरिन् । यो क्रम रोकिएन, विगत वर्षमा समेत अर्की छात्राले उही एसईई नतिजाकै कारण ज्यान गुमाइन् । ती दुवै जनाको ग्रेइड ‘ए+’ थियो, तर नतिजामा तल्लो ग्रेड प्रकाशित भयो । नतिजा सार्वजनिक भएको भोलिपल्ट सच्याएर त आयो, तर त्यसको कुनै काम भएन किनकि ती दुई छात्राको ज्यान फर्काउन सकिंदैनथ्यो ।

बालबालिकाप्रति गरिने हिंसाको अन्त्य कसरी गर्न सकिन्छ भन्ने विषयमा अब प्रत्येक घरघरमा छलफल हुनु आवश्यक छ । त्यस्तै प्रत्येक विद्यालयमा यौनजन्य दुरुत्साहन अन्त्य गर्ने खालको कार्यक्रमहरू ल्याउनु आवश्यक छ । त्यसको लागि नैतिक शिक्षामा जोड दिने, प्रत्येक बालबालिकालाई बाल अधिकारबारे जानकारी दिने, सचेत गराउने र बाल हिंसा भएमा उनीहरूलाई तुरुन्तै उजुरी गर्न सक्ने बनाउनु आवश्यक छ । त्यसनिम्ति हरेक विद्यालयमा उनीहरूलाई परेको पीरमर्का र हिंसाबारे तुरन्तै सनुवाइ गर्ने र न्याय दिने एक न्यायिक समितिको व्यवस्था हुनुपर्छ ।

सरस्वती मावि, दिक्तेल, खोटाङ



 

commercial commercial commercial commercial