पेन्सन त्यसै खान मन लागेन; खाइनँ !
२०३६ सालअघि शिक्षक पेशामा तलब बाहेक केही थिएन । त्यो तलब पनि निश्चित स्केल अनुसार हुँदैनथ्यो । सरकारले विद्यालयलाई दिने वार्षिक अनुदान र विद्यार्थीबाट उठ्ने शुल्क बाँडचुँड गर्दा जति आउँथ्यो त्यसमै चित्त बुझाउनुपर्दथ्यो । पूरा तलब पाउनै मुश्किल थियो भने सञ्चयकोष, उपदान र पेन्सनको त कुरै छाडौं । वर्षौं वर्ष पढाएर आँखा नदेख्ने, कान नसुन्ने भएपछि चाउरी परेको अनुहार र जीर्ण शरीर लिएर रित्तै घर फर्कनुपर्दथ्यो । देशभरका शिक्षकहरूको एकीकृत बलले २०३६ मा ने.रा.शि.सङ्गठन बन्यो र त्यसको निरन्तरको दबाब र आन्दोलनबाट शिक्षकहरूलाई पेन्सन, सञ्चयकोष जस्ता सुविधा प्राप्त भए । त्यसपछि हामी शिक्षकहरू भन्न थाल्यौं— ‘नाउ वि ह्याव पेन्सन नो टेन्सन ।’
५० वर्ष पुगेपछि शिक्षण छोडिदिनुपर्दछ । ऊर्जा घटेको, कपाल फुलेको शरीर लिएर के कक्षामा पस्ने; जब कि कैयौं ऊर्जाशील युवाहरू बाहिर बेरोजगारीको तनावमा छन् भन्ने सोच बनाएर पेन्सनको अवधि र उमेरले ५० नाघेकालाई खुशीसाथ विदा गर्ने हिसाबले तत्कालीन सरकारलाई ‘गोल्डेन ह्याण्डसेक’ को लागि सहमत बनाइएको थियो । सम्झौता पनि भएको थियो । तर त्यो सम्झैतामै मात्र सीमित हुनपुग्यो । कार्यान्वयनको आशमा रहँदा–रहँदै आफू ६० पुगियो । पेन्सन हात पर्न थाल्यो, फेरि टेन्सन शुरू भयो । ओहो ! यो गरीब बनाइएको देशको यति ठूलो रकम कसरी त्यसै खाने ? त्यति नै पैसा कमाउनको लागि कैयौं युवा घरपरिवार छाडेर अरबको बालुवाको भुङ्ग्रोमा भुटिंदाछन् । फेरि, यो पेन्सनको सुविधा सबै ६० नाघेका नागरिकलाई पनि त होइन । भारी बोकेर ज्यान पाल्नेले कसरी बाँच्ने ? शरीर गह्रौं बोझ उठाउन नसक्ने भयो, बचत नि छैन, पेन्सन पनि छैन । उनीहरू पनि यही देशका नागरिक हुन् । सक्दा यही देशका लागि काम गरेका हुन् । उनीहरू ज्याला लिन्थे भने म तलब लिन्थे । म स्वयंसेवक त थिइनँ ! म अझै मस्तिष्क प्रयोग गरेर पनि जीवन निर्वाह गर्न सक्छु तर उनीहरू त अब शरीर प्रयोग गर्न सक्दैनन् । कसरी बाँच्दा हुन् उनीहरू ? प्रायः छोराछोरीको माया कमाइहुन्जेलको हो । आफू पनि पछि बूढाबूढी भइन्छ भन्ने होश पनि तागतको जोशमा तिनलाई आउँदैन ।
यस्तै तर्कनाहरूले ठूलो तनाव सिर्जना ग¥यो र मैले अठोट गरें— खुट्टी चलुन्जेल म पेन्सन सित्तैं खाने छैन । प्रश्न सामु आयो के गर्ने त ? स्रोतकेन्द्रमा विज्ञान शिक्षकका लागि विना पारिश्रमिक तालिमहरू सञ्चालन गर्ने सोच बनाएँ । जिशिअहरूसँग अनुमति लिएर स्रोतव्यक्तिहरूको मासिक बैठकमा प्रस्ताव राखें । ठूलो प्रशंसाका साथ मेरो प्रस्ताव पारित भयो । तर डेढ वर्षसम्म प्रतीक्षा गर्दा २३ मध्ये जम्मा ६ जना स्रोतव्यक्तिले आफ्नो वचन पूरा गर्नुभयो । बाँकीले वास्ता गरेनन् । उच्च शिक्षा प्राप्त यी व्यक्तिहरूको यो दायित्वहीनता भित्र मैले देशको बीभत्स चित्र देखें । तैपनि मलाई चूपचाप बसेर पेन्सन खानु थिएन । त्यसैले कम मूल्य पर्ने तथा मूल्य नै नपर्ने स्थानीय वस्तुहरूबाट आफैंले सिर्जना गरेका कक्षा ६–१० का लागि उपयोगी विज्ञान सामग्री एउटा झेला (मिनी साइन्स ल्याब) मा राखेर सामुदायिक विद्यालयहरू धाउन शुरू गरें । विद्यालयमा विना सूचना पुगेर प्रधानाध्यापकहरूसँग अंग्रेजीमा “आई एम माधव फ्रम काभ्रेः ‘अ रिटायर्ड बट नट टायर्ड’ टिचर । आई एम हियर फर टु मोटिभेट एण्ड इन्सपायर योर स्टुडेन्ट्स अबाउट साइन्स, भोलेन्टियर्ली । आई वान्ट टु शेयर माई एक्सपेरियन्स वीथ योर स्टुडेण्ट्स अन् ह्वाट साइन्स इज ? ह्वाइ टु रिड ? हाउ टु रिड ? वीथ डिमोन्स्ट्रेशन । वील यु परमिट मि फर मिनिमम टु पिरियड्स ?” भनेर अनुरोध गर्न थालें ।
यस्तो अनुरोधपछि प्रायः प्रअले मलाई समय दिन थाले । यस क्रममा म पुगेका ४५२ विद्यालयहरूमध्ये ललितपुर र भक्तपुरका एक–एक वटा स्कूलका प्रअले मात्र पत्र चाहिन्छ भने । अरू ४५० विद्यालयहरूमा कम्तीमा डेढ घण्टा र बढीमा तीन घण्टासम्म शिक्षण गरें । धेरैजसोमा सम्बन्धित विद्यालयका विज्ञान शिक्षक तथा पिरियड खाली रहेका अन्य शिक्षकहरू समेतलाई कक्षामा बस्न अनुरोध गरें ।
बसभाडा आदिको खर्च पेन्सनबाटै चलाउने, चन्दा, सहायताका निम्ति कसैसँग हात नपसार्ने र विद्यालयहरूबाट पनि कुनै रकम नलिने स्व–प्रतिबद्धताका कारण काभ्रे, काठमाडौं, ललितपुर र भक्तपुरलाई सघनकार्य क्षेत्र बनाउँदै छिटपुट रूपमा छिमेकी जिल्लाहरू सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, तनहुँ अझै परका रूपन्देही, गुल्मी, रूकुम पश्चिम र हिमालपारिको जिल्ला मुस्ताङका विद्यालयमा पनि नमूना शिक्षणका साथै धादिङ, चितवन, तनहुँ, मुस्ताङ बाहेकका सबै जिल्लाहरूमा मावि र आधारभूत विद्यालयका शिक्षकहरूलाई कम्तीमा दुई–दुई दिने विज्ञान शिक्षण तालिम पनि सञ्चालन गर्न सफल भएँ । सन् १९२९ मा प्रकाशित सुकरात एक भारतीय गाउँमा भन्ने एफ.एल.ब्राइनको पुस्तक पढेको आधारमा झण्डै १०० वर्षपछि आजको भारत कस्तो भएछ त भन्ने जिज्ञासा शान्त गर्न भारत डुल्ने क्रममा त्यहाँका चार वटा प्रान्तका एक–एक सरकारी विद्यालयमा पनि विज्ञान शिक्षण गरें ।
यो एकल अभियानका क्रममा प्रदर्शनात्मक शिक्षणले हजारौं विद्यार्थी उत्साहित बनेको अनुभव भयो । स्थानीय सामग्रीको मद्दतले पनि विज्ञान सिक्न सकिने रहेछ र त्यस्ता सामग्रीहरू विना पैसा आफैं बनाउन पनि सकिने रहेछ भन्ने कुरा ‘यस्तो सामग्री को बनाउनुहुन्छ ?’ भन्ने प्रश्नमा ‘म बनाउँछु’ भनेर उठेका हातहरूबाटै छर्लङ्ग हुन्थ्यो । ती कक्षाहरू पछि कतिपय विद्यालयका विज्ञान विषयका शिक्षकहरूले त्यहाँका उत्साहित विद्यार्थीको सहभागितामा विज्ञान प्रदर्शनीको आयोजना गर्नुभयो; जसको श्रेय मैले पनि पाएँ । नयाँ–नयाँ ठाउँहरूमा पुग्न र हेर्न पाइयो, १५ हजार भन्दा बढी विद्यार्थी र सयौं शिक्षकसँग प्रत्यक्ष भेटघाट भयो । ‘पेन्सनको पैसा त्यसै खाइनँ’ भन्ने सन्तुष्टिले मानसिक रूपले पनि अत्यन्त आनन्दको अनुभूति भइरहेको छ । प्रायः विद्यालयहरूले कक्षा सकिएपछि आदरपूर्वक प्रशंसापत्र दिए । फेरि पनि आइदिन आग्रह गरे । विज्ञान, गणित पृष्ठभूमिका आधा दर्जन प्रअहरूले ‘आफ्टर माई रिटायर्डमेन्ट आई विल फलो यू’ भन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । क्लास लिएका ठाउँहरूमा एसईईपछि कक्षा–११ मा विज्ञान विषय पढ्नेको संख्या बढेको खबर आयो ।
पेशाबाट निवृत्त रहनुभएका विभिन्न पेशा र कार्य क्षेत्रका सीपयुक्त महानुभावहरूलाई हामी नितान्त जागिरे मात्र नभई देशका शिक्षित एवं सचेत नागरिक पनि भएकाले निवृत्ति पछि पनि कमाइको चक्करमा पुनः प्रवेश नगरौं, त्यो अवसर युवा पिंढीलाई दिऔं र आफ्नो सीप र समय देशका निमित्त पेन्सन लिएबापत लगानी गरौं भन्ने विनम्र निवेदनका साथ यो मनोगन्थनलाई विश्राम दिन्छु ।
धुलिखेल, काभ्रे
शिक्षक मासिक, २०७६ चैत अंकमा प्रकाशित ।