अठोट भए आफैं जुट्छ शैक्षिक सामग्री

आफूले विद्यालयमा पढ्दा शिक्षकहरूले कडा अनुशासनमा राखेर पढाउनुहुन्थ्यो । कण्ठ गर्ने, घोक्ने विद्यार्थीले स्याबासी पाउँथे, अरूले सजाय । डरले वा स्याबासी पाउने लोभमा विद्यार्थी मिहिनेत गर्थे । मिहिनेत गर्नुको अर्थ हुन्थ्यो— पाठ्यपुस्तक रट्नु र कण्ठस्थ गर्नु । शैक्षिक सामग्रीको नाममा कालोपाटी, चक र कापीकलम मात्रै हुन्थ्यो । कहिलेकाहीं कुनै शिक्षक पाठ सुहाउँदो थप सामग्री लिएर कक्षामा आउँदा वा कक्षाभन्दा बाहिर लैजाँदा सारै आनन्द लाग्थ्यो । पाठ मात्रै रटाउने शिक्षकभन्दा त्यसरी शैक्षिक सामग्री प्रयोग गर्ने तथा विद्यालय हाता बाहिर लगेर किताबी ज्ञानभन्दा पर पनि ज्ञानको स्रोत छ भनेर सिकाउने शिक्षक अहिले पनि सम्मानका साथ सम्झनामा हुनुहुन्छ ।

समयक्रममा आफू पनि शिक्षण पेशामा आवद्ध हुने अवसर प्राप्त भयो । नियुक्ति लिएर विद्यालयमा प्रवेश गर्दा शिक्षणको परिपाटी उही पुरानै थियो । ससाना विद्यार्थीको मुहारमा आफू पढ्दाताकाको जस्तै डर, लाज र संकोच भेटिन्थ्यो । केही उच्छृङ्खल र दैनिकजसो कारबाहीको भागीदार बन्ने तर कहिल्यै नसुध्रिने विद्यार्थी । विगत २० वर्षमा विश्वमा, धेरै कुरा बदलिए । सूचनाप्रविधिले फड्को मार्‍यो । विज्ञानले चमत्कारमाथि चमत्कार गरिरह्यो । तर मेरो गाउँको विद्यालयमा केही बदलिएको थिएन । अभिभावक र शिक्षकको लागि पढिदिएको जस्तो गर्ने विद्यार्थी र ‘सरकारी काम कहिले जाला घाम’ प्रवृत्तिका शिक्षकहरूको सोच सबै उस्तै थियो ।

माध्यमिक तह सञ्चालन भएको विद्यालयमा शैक्षिक सामग्रीको नाममा शब्दकोश, पाठ्यक्रम, ग्लोब, एटलस जस्ता सामान्य तर आधारभूत आवश्यकताका महत्वपूर्ण सामग्री पनि थिएनन् । हाम्रो विद्यालयमा मात्रै होइन, आसपासका अधिकांश विद्यालयको अवस्था यस्तै यस्तै थियो । केही विद्यालयमा त व्यवस्थापन समिति गठन गर्दा विवाद र झगडा समेत हुने गर्दथ्यो । व्यवस्थापन समिति र प्रशासनमा अत्यावश्यक शैक्षिक सामग्री व्यवस्थापनको कुरा उठाउँदा सुनुवाइ हुँदैनथ्यो । शिक्षक हुनुको नाताले आफैंले स्थानीयस्तरमा उपलब्ध शैक्षिक सामग्रीको प्रयोग गर्न थाले पनि विद्यालयको नेतृत्व अर्थात् व्यवस्थापन समिति र प्रधानाध्यापकले महत्व नदिंदासम्म त्यस्तो प्रयास पनि प्रभावकारी नहुँदो रहेछ । यसको लागि शैक्षिक सामग्रीको महत्व बुझेकाे नेतृत्व चाहिने रहेछ । त्यसपछि आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने, बढीभन्दा बढी शैक्षिक सामग्रीको प्रयोग गर्न प्रोत्साहन तथा बाध्य पार्ने काम नेतृत्वले नै गर्नुपर्ने रहेछ भन्ने बोध भयो ।

आफूले विद्यालयको नेतृत्व सम्हालेपछि मेरो सम्पूर्ण ध्यान शिक्षण सुधार र त्यसको लागि अधिकतम शैक्षिक सामग्रीको प्रयोग बढाउनेतर्फ केन्द्रित भयो । सर्वप्रथम आधारभूत शैक्षिक सामग्रीहरू जस्तै— विभिन्न शब्दकोश, पाठ्यक्रम, शिक्षक निर्देशिका, विस्तृतीकरण तालिका, ग्लोब, एटलस आदिको तत्काल व्यवस्था गरियो । त्यसपछि दिवास्वप्न, तोत्तो–चान, बाल सजायका विकल्प, गरे शिक्षकले नै सक्छन्, प्राथमिक शिक्षक डायरी, नेपाली कसरी लेख्ने ?, हस्तलेखन कला  जस्ता उपयोगी पुस्तक तथा बालकथा, कविता आदि साहित्यिक कृति तथा सन्दर्भ सामग्री र गैर–साहित्यिक पुस्तकहरू समेतको पुस्तकालय खडा गर्ने काम भयो । नजिकै रहेको सामुदायिक अध्ययन केन्द्र र सिद्धिचरण पुस्तकालयसँग सहकार्य गर्नेदेखि लिएर आधुनिक शैक्षिक सामग्री मल्टिमिडिया मार्फत ई–क्लासको व्यवस्था गरियो । ई–क्लासको शुरूआत सँगसँगै विद्यार्थीमा पढ्ने अभिरुचि निकै बढेको र रमाइलो वातावरणमा सिकाइ सिकिरहेको हुँदा विद्यालयको शैक्षिक सुधार बढिरहेको छ ।

शैक्षिक गुणस्तर वृद्धि र गुणस्तरीय शिक्षाका अनेक आयाम छन् । यसका लागि निकै अनुसन्धान र खोजहरू भएका, भइरहेका छन् । तर शैक्षिक सुधारका लागि हामीले पाठ्यपुस्तकको मात्रै भर नपरी बढीभन्दा बढी शैक्षिक सामग्रीको प्रयोगमा ध्यान पुर्‍याउनुपर्छ । यसको लागि विद्यालयलाई थेग्नै नसक्ने आर्थिक भार पर्छ जस्तो पनि लाग्दैन । खरीद गरेका सामग्री प्रयोगपछि भण्डारण गर्न समस्या नभए पनि शिक्षक विद्यार्थी निर्मित स्थानीय सामग्री लामो समयसम्म भण्डारणमा भने निकै चुनौती हुँदोरहेछ । परन्तु स्थानीयस्तरमा उपलब्ध हुने सामग्री पटक–पटक निर्माण गर्न पनि सकिन्छ । आवश्यकता छ त केवल जाँगर, मिहिनेत र म कक्षामा शैक्षिक सामग्रीसहित मात्रै पस्छु भन्ने दृढ अठोटको । कुरा सामान्य लाग्न सक्छ, तर यसले शिक्षण सुधारमा देखिने र उल्लेखनीय प्रभाव पार्दछ ।

प्रअ, श्री यसम मावि, लिखु गापा, ओखलढुंगा



 

commercial commercial commercial commercial