पुतलीको रोमान्स

म आफ्नो कलेजमा केटाहरूले निस्संकोच विचित्र–विचित्र शैलीमा कपाल काटेको, दाह्री पालेको, नानाथरिका जुत्ता र पहिरन लगाएको देख्छु । केटीहरूले ढुक्कसँग रंगविरंगी नङपालिश, रिप्ड जीन्स, अत्यन्त आकर्षक कपडा, अचम्मका नक्कली गहना र अनेकथरी परफ्यूम प्रयोग गरेको देख्छु । कैयौंले नाचेर, गाएर, खेल देखाएर अरूको ध्यान आफूतिर खिच्छन् त कतिले शिष्टता, वाक्पटुता र ज्ञान–प्रदर्शनद्वारा अरूलाई प्रभावित बनाउन प्रयास गर्छन् । समग्रमा यो प्रवृत्ति आफूलाई विपरीतलिंगी समक्ष अरूभन्दा बढी सुन्दर, आकर्षक, योग्य, प्रसन्नचित्त, समझदार र राम्रो देखाउने कोशिश हो ।

मानिस मात्र होइन, पशुपन्छी र कीट–पतंगमा पनि यही प्रवृत्ति पाइन्छ । आज पुतलीकै कुरा गरौं । नढाँटी भन्ने हो भने पुतलीमा आकर्षक रंग र विपरीतलिंगप्रति कामुकताको प्रदर्शन मानिसमा भन्दा बढी देखिन्छ । सबै प्राणी झैं, पुतलीको लक्ष्य पनि आफ्नो वंशाणु (जीन) लाई आगामी पुस्तामा पुर्‍याउनु नै हो । सन् १८१७ मा चाल्र्स डार्विनले पहिलो पटक यसबारे उल्लेख गर्दै भनेका छन्— ‘यस्ता कतिपय लक्षणले विपरीतलिंगीलाई प्रतिस्पर्धीले भन्दा बढी आकर्षित गराउँछन् र सन्तानोत्पादनमा सफलता दिलाउँछन् ।’ उनी भन्छन्, चम्किला रंग र सुरुचिपूर्ण डिजाइन प्रदर्शनकै निम्ति हुन्छन् । पोथीहरू सामान्यतः चम्किला र स्वस्थ भालेहरूप्रति बढी आकर्षिक हुन्छन् ।

कतिपय पुतली रंग हेरेर प्रजननका निम्ति आकर्षित हुन्छन् भने कतिपयले यस्ता संवेदी संकेत पहिल्याउँछन्, जसलाई मानिसले ठम्याउन सक्तैनन् । तिनका निम्ति उत्तेजक रंग र गन्धको ममहत्व विपरीतलिंगीको ध्यान आकर्षित गर्ने मात्र नभई त्योभन्दा बढी हुन्छ । आकर्षक रंग, रूप र गन्ध पुतलीहरूमा विपरीतलिंगीको स्वास्थ्य, सक्रियता र जोशको स्तर नाप्ने वा अनुमान गर्ने आधार पनि हुन सक्छ ।

हेर्दा उस्तै
पुतलीका अधिकांश प्रजातिमा भाले र पोथी उस्तै देखिन्छन् । केहीमा मसिनो फरक देख्न सकिन्छ भने धेरैमा हाम्रा आँखाले देख्न नसक्ने भिन्नता हुन्छन् । मध्य भारतमा ‘ग्रेट एगफ्लाई’ (Greateggfly)  नामक ज्यादै सुन्दर, कालो रंगका पुतली पाइन्छन् । यिनको भालेका पछाडिका पखेटाको भित्री सतहमा अण्डाकार सेतो बुट्टा हुन्छ, नीलो आभा भएको । गोलो, नीलो आभाका कारण यिनलाई ‘ब्लु मून’ (Blue moon)  पनि भनिन्छ । पोथीका पछिल्ला पखेटामा भने त्यस्तो बुट्टा हुँदैन, बरु किनारमा सुन्दर बुट्टे झल्लर  हुन्छ ।

तस्वीरः bit.ly/2vZOz5x

प्रायः बिरुवामा घुमिरहेका देखिने पहेंलो रंगका साना पुतलीलाई ‘कमन ग्रास एलो’ (यूरेमा हेकाबे) भनिन्छ । यिनका भाले र पोथी दुवै एकै खालका देखिन्छन्, हाम्रा आँखाले फरक छुट्याउनै सक्तैन । यिनका चारवटै पखेटा एक प्रकारको रंगीन धूलो (स्केल) ले ढाकिएका हुन्छन्; पुतली समात्दा त्यो धूलो हाम्रा औंलामा टाँसिन्छ । यसले पराबैजनी (अल्ट्राभ्वाइलेट) किरणलाई परावर्तित गर्छ, जसका कारण यिनले भाले र पोथीलाई बिल्कुल फरक रंगका देख्छन् । मानवीय आँखाले त्यो फरक ठम्याउन सक्तैन ।

‘कमन ग्रास एलो’ जस्तै देखिने ‘लिटिल एलो’ (यूरेमा लिसा) नामक पुतली युरोपमा पाइन्छन् । यिनका भाले र पोथी पनि हाम्रा आँखाले कसैगरी छुट्याउन सक्तैनन् । भाले लिटिल एलो का पखेटाको माथिल्लो सतहमा पाइने पहेंलो स्केलले पराबैजनी किरणलाई परावर्तित गर्छ तर पोथीको पखेटामा हुने स्केलले परावर्तित गर्दैन । त्यसैले तिनले भाले र पोथीलाई फरक देख्छन्, हामी देख्न सक्तैनौं ।

सारै भलादमी
पोथी पुतली देखेपछि भाले पुतलीले उसका सामु गएर उसलाई आकर्षित गर्ने, रिझाउने  प्रयास गर्छ । यसरी प्रणय–निवेदन गर्न खोज्दा अर्को भाले पहिलेदेखि नै त्यो पोथीका पछाडि लागेको देख्यो भने नयाँ भाले त्योसित लडाईं गर्नतिर लाग्दैन, खुरुक्क अर्की पोथी खोज्न हिंड्छ । पुतलीमा भालेहरूले पोथीका लागि कहिल्यै लडाईं गर्दैनन् । 

पुतलीहरू असाध्यै ‘भोलाभाला’ हुन्छन् । भर्खरै मरेको पोथीका सग्ला चारवटै पखेटालाई बगैंचाको कुनै फूलमा पारदर्शी टेपले सावधानीपूर्वक ‘मिलाएर’ टाँसिदिनुभयो भने, त्यसैलाई पोथी ठानेर भालेले प्रेम प्रदर्शन गर्न थालेको देख्नुहुनेछ । तर, यसैगरी भालेका पखेटा टाँसिदिनुभयो भने चाहिं भालेहरू तिनलाई बेवास्ता गरेर परैबाट अर्कातिर लाग्छन् ।

अर्को प्रयोग अझ रमाइलो छ । एकै प्रजातिका पुतलीका दुइटा भालेका पखेटालाई यसैगरी दुई बेग्लाबेग्लै फूलमा टाँसिदिनोस् । एउटामाथि सामान्य ग्लास स्लाइड राख्नोस्, जसबाट प्रकाश र पराबैजनी किरण दुवै गुज्रिन सकुन् । अर्कोमाथि सीसाको त्यस्तो फिल्टर राख्नोस्, जसले पराबैजनी किरणलाई रोकोस् (यस्तो गोलो फिल्टर क्यामेरा पसलमा सजिलै पाइन्छ) । पोथी खोज्न भौंतारिएका थुप्रै भाले फिल्टर मुनिका पखेटामा आएर प्रेम प्रदर्शन गर्न थाल्नेछन् । यस्तो किन हुन्छ त भन्दा, फिल्टरले पराबैजनी किरण रोकिदिएकाले ती पखेटाले तिनलाई परावर्तित गर्न पाउँदैनन्, जसका कारण पोथी खोज्न निस्केका भालेहरूले भालेका प्वाँखलाई पोथीका ठान्छन् । 

तस्वीरःbit.ly/2vbZZmd

पोथीको नखरा
भाले पुतली पोथी खोज्न हुरुक्क हुने मात्र होइन, पोथी पुतली भालेबाट आकर्षित भएर उसका पछि लागेको पनि पाइन्छ । यसका लागि तपाईं प्रशस्त पुतली भएको ठाउँमा जानुपर्ने हुन्छ । प्रायः कुमारी अथवा लामो समयसम्म सन्तान नजन्माएका पोथीहरू भालेका लागि हुरुक्क भएको देखिन्छ । यस सन्दर्भमा रोनाल्ड स्टोवास्कीले उत्तर–अमेरिकामा गरेको प्रयोग निकै रोचक छ । त्यहाँ उनले पोथी ‘चेकर्ड ह्वाइट’ पुतलीलाई (उसलाई असजिलो नहुने गरी) एउटा बिरुवामा मसिनो तारले खुकुलो गरी बाँधिदिएका थिए । कुनै अर्की पोथी नजिकै पुग्दा उसले खासै प्रतिक्रिया जनाउँदिनथी । भाले पुतली नजिकै आइपुग्दा भने उसका पछि लाग्न अत्यन्त आतुर हुन्थी । यो प्रजातिमा पोथीका पखेटाको ‘स्केल’ ले पराबैजनी किरणलाई परावर्तित गरेर भालेलाई आकर्षित गर्छ, भालेका पखेटाको ‘स्केल’ ले चाहिं त्यस्ता किरण सोस्छ, परावर्तित गर्दैन । भालेका पखेटालाई अमोनियाको विशेष खालको झेलले धोइदिने हो भने फेरि तिनको ‘स्केल’ ले पनि पराबैजनी किरण परावर्तित गर्न थाल्छ । त्यसैले, मृत भालेका पखेटालाई यसरी धोएर जीवित पुतली जस्तै लाग्ने ‘मोडल’ मा टाँसिदिने हो भने पोथी ‘चेकर्ड ह्वाइट’ ले त त्यसलाई पोथी नै ठानेर वास्ता गर्दैनन्, तर भालेहरू त्यससँग प्रेमसम्बन्ध कायम गर्ने प्रयासमा जुट्छन् ।

कतिपय पोथी पुतली भाले छान्ने मामिलामा निकै नाकनिके हुन्छन् । अनेक भालेमध्ये आफूलाई मन पर्ने भाले छान्न तिनले भालेको रंग र बुट्टालाई असाध्यै मसिनोसँग निरीक्षण गर्छन् । ह्यूस्टन विश्वविद्यालयकी डाएन सी विरनाजले यसबारे एउटा प्रयोग गरेकी थिइन् । उनले ‘वेस्टर्न ह्वाइट’ नामक पुतलीका कुमारी पोथीहरूलाई परीक्षणस्थलमा लगेर छोडिन् र तिनीहरूसँग प्रेमसम्बन्ध स्थापित गर्न सफल भालेहरूलाई भेला गरिन् । ती सबैका अघिल्ला पखेटाको किनारमा गाढा रंगका बुट्टा थिए । त्यस्ता बुट्टा नभएका भालेलाई पोथीले पत्याएका थिएनन् । अर्थात् फिक्का भालेहरू पोथीसँग सम्बन्ध गाँस्न असफल भएका थिए । त्यसपछि विरनाजले ‘सफल’ भालेहरूका पखेटाका बुट्टामा सेतो रंग पोतिदिइन् र पुनः परीक्षणस्थलमा लगेर छोडिदिइन् । गाढा रंगका बुट्टा नभएपछि तिनलाई पनि पोथीहरूले भाउ दिएनन् ।


पोथी देखेपछि भाले पुतलीले उसलाई रिझााउने प्रयास गर्छ। अर्को भाले पहिलेदेखि नै त्यो पोथीका पछाडि लागेको देख्यो भने नयाँ भाले लडाईं गर्नतिर लाग्दैन। पुतलीमा भालेहरूले पोथीका लागि कहिल्यै लडाईं गर्दैनन्।

पुतलीका स्वस्थ र युवा भालेका पखेटाको रंग असाध्यै गाढा, चम्किलो र आकर्षक हुन्छ । उमेर बढ्दै जाँदा त्यो गाढापन, चमक र आकर्षण घट्दै जान्छ । पोथीले गाढा, चम्किला र आकर्षक पखेटा भएका भाले छान्नुको अर्थ स्वस्थ र युवा जोडी छान्नु हो, जसबाट जति उमेर बढ्दै जान्छ, भालेको पखेटाबाट पराबैजनी किरण परावर्तित गर्ने ‘स्केल’ उति उति घट्दै जान्छ । त्यस्ता भालेप्रति पोथीको आकर्षण कम हुँदै जान्छ । वयस्क पोथीहरूले यदाकदा तिनलाई भाउ दिए पनि कुमारी पोथीले तिनीहरूतिर फर्केर पनि हेर्दैनन् । 

थकाउने मैथुन
भाले र पोथी पुतलीले एकअर्कालाई मन पराएपछि तिनको प्रणय–क्रीडा शुरू हुन्छ । भाले पुतलीको लक्ष्य मैथुन–कार्य सम्पन्न नभएसम्म पोथीलाई उत्तेजित र प्रेरित बनाइराख्नु हुन्छ । यो प्रक्रिया निकै लामो र असाध्यै थकाउने खालको हुन्छ; कहिलेकाहीं त एक घण्टाभन्दा लामो चल्छ तिनको प्रणय–क्रिया । पुतलीका कतिपय प्रजातिमा भालेलाई मैथुनमा सजिलो होस् भनेर पोथीले आफ्नो भुँडी पछिल्ला पखेटा भन्दा मुनि झुकाएर राख्नुपर्ने हुन्छ । 

प्रणय–निवेदन सँगसँगै भालेमा उत्पन्न रसायन, जसलाई ‘फेरोमोन्स’ भनिन्छ, ले पनि पोथीलाई मैथुनका निम्ति आतुर बनाउँछ । ‘क्वीन बटरफ्लाई’ मा गरिएको प्रयोगबाट के देखिएको छ भने, भालेले पोथीमा यौन उत्तेजना बढाउन भुँडीको फेदमा रहेको ब्रश जस्तो संरचना ‘हेयर पेन्सिल’ बाट फेरोमोन्स उत्पन्न गर्छ र त्यसलाई पोथीसम्म पुर्‍याउँछ । 

गौंडा ढुक्ने चलन
दुनियाँमा पुतलीका झ्ण्डै २० हजार प्रजाति पाइन्छन् । अधिकांश प्रजातिमा भालेले पोथी खोज्न दुइटा तरीका अपनाउँछन्— क. पोथी आउन सक्ने ठाउँमा गएर ढुक्ने (पर्चिङ), ख. पोथी खोज्दै हिंड्ने (पेट्रोलिङ) ।

‘पर्चिङ’ अर्थात् बाटो ढुक्नका लागि भाले पुतली प्रायः प्रशस्त फूलहरूले भरिएका हाँगामा, जहाँ पर्याप्त पराग होस्, पुगेका हुन्छन् । त्यहाँ आएका पोथीको रूप–रंग र रासायनिक पहिचान उप्रान्त प्रणय–निवेदन गर्छन् । यस्ता भालेले फूलकै छेउछाउमा र दिउसोको निश्चित समयमा मात्र मैथुन गर्छन् । चारचौरास उडेर ऊर्जा खर्च गर्नु नपरेकाले उनीहरू मैथुनमा निक्कै ऊर्जावान र फूर्तिला रहन्छन् । 


रमाइलो कुरा के भने, सबै जीवजन्तुमा झैं पुतलीमा पनि भालेले नै आफ्नो गुण, योग्यता, विशेषता र कलाले पोथीलाई रिझाउनुपर्छ र मैथुनका निम्ति सहमत गराउनुपर्छ।

पोथीका निम्ति ढुकुवा (‘पर्चिङ’) शैली अपनाउने कतिपय भाले चाहिं पोथीमा विकसित हुँदै गरेको ‘प्युपा’ को नजिकै बसेर नयाँ पोथी कतिखेर जन्मेली भनेर पर्खन्छन् । कहिलेकाहीं त उनीहरू पोथीलाई प्युपाबाट बाहिर निस्कन पनि सघाउँछन् । जन्मन लागेको ‘शिशु’ खोलबाट निस्कनुभन्दा २४ घण्टा अघि प्युपा अर्धपारदर्शी हुन्छ । त्यसवेला माउको शरीरबाट निस्कने विशिष्ट रसायन (मोनोटर्पेन्स)को गन्ध र प्युपाको परिवर्तनलाई बुझेर भाले पुतलीले पोथी जन्मन लागेको थाहा पाउँछ । प्युपाको खोलबाट निस्कनासाथ, वा भनौं जन्मनासाथ, पोथी वयस्क हुन्छे र तत्काल भालेले मैथुनको मौका छोपिहाल्छ । पोथीले आफ्नो जोडी खोज्न वा छान्ने मौकै पाउँदिन ।

‘पेट्रोलिङ’ मा भने भालेले निरन्तर उडेर पोथी खोज्नुपर्ने हुन्छ । चारचौरास उड्नुपर्दा उसको ऊर्जा प्रशस्त खर्च हुन्छ र लखतरान भइसक्दा पनि जोडी बाँध्न लायक पोथी भेटिने कुनै ग्यारेन्टी हुँदैन । गर्मीको तुलनामा जाडोको पेट्रोलिङ अलिक सजिलो हुन्छ । यसरी उड्ने भालेले पोथीलाई तिनको शरीरको आकार, चालढाल, पखेटाको रंग र बुट्टा अनि पराबैजनी किरणको परावर्तनका आधारमा खुट्याउँछन् । 

फकाउने चक्करमा
प्रणय–निवेदनका क्रममा कतिपय प्रजातिका भालेले पोथीको ‘एन्टिना’ लाई आफ्ना पछिल्ला पखेटाले च्यापेर तिनमा ‘फेरोमोन्स’ टाँसिदिन्छन् । केही प्रजातिमा भने भालेले पोथीका सामुन्ने वा सँगै बसेर आफ्ना अघिल्ला पखेटालाई पोथीको एन्टिनामा दल्छन् । पोथीको एन्टिनामा फेरोमोन्स टाँस्न भाले पुतलीहरू प्रायः पोथीको तल–माथि उडिरहन्छन् । पोथीलाई मैथुनका निम्ति तयार पार्ने यो रसायन तिनको एन्टिनामा दल्ने/टाँस्ने काम केवल ३० सेकेन्डभित्रै सम्पन्न भइसक्छ । यसपछि उनीहरू दुनियाँ बिर्सेर मैथुन–कार्यमा संलग्न हुन्छन् । 

कहिलेकाहीं भने भालेले फेरोमोन्स दल्ने काम भ्याइसक्दा पनि पोथी उत्तेजित हुँदैनन् । यी त्यस्ता पोथी हुन्छन्, जसले केही दिन अघि अर्को भालेसँग मैथुन गरिसकेका हुन्छन् । यस्ता पोथीले नयाँ भालेलाई हतोत्साहित गर्छन् र रक्षात्मक उपाय अपनाउँछन् । भालेले मैथुनका निम्ति दबाब दिंदा स्थिर रहेर सहयोग गर्नुको सट्टा जोडले पखेटा फटफटाउँछन् र उडेर भाग्ने प्रयास गर्छन् । यदाकदा खुट्टा बजारेर तिरस्कार पनि गर्छन् । तैपनि ‘तम्तयार’ भइसकेको भालेले मैथुनका लागि जोड गरिरहन्छ । यस्तो अवस्थामा भालेको प्रणय–निवेदन र पोथीको अस्वीकार नाटकीय तवरले निकैवेर चलिरहन्छ । उनीहरूको यस्तो यौन–झगडा हेर्न यदाकदा अन्य पुतलीहरू त्यसैगरी भेला हुन्छन्, जसरी सडकमा तमाशा हेर्ने मानिस ।  

व्यवस्थित रणनीति
इम्प्रेस लिलिया नामक पुतलीको प्रजातिले निकै व्यवस्थित रणनीति अनुसार काम गर्छ । अमेरिकाका टेक्सास, एरिजोना राज्य र मेक्सिकोमा पाइने यस प्रजातिका भाले पुतली ‘ह्याक बेरी’ को बोटमा पोथीको खोजीमा उडिरहेका भेटिन्छन्, किनभने यसका पोथीले आफ्नो जीवनकालमा एकपल्ट मात्र मैथुन गर्छन् । बिहान घाम झुल्केको केही समयपछि, जुनवेला नवजात तर वयस्क पोथी ‘ककून’ बाट बाहिर निस्केर पहिलो पटक उड्ने तयारी गर्छन्, त्यसैवेलादेखि भालेले तिनको गतिविधिको निगरानी गरिरहेका हुन्छन् । न्यानो घामको आनन्द लिंदै, पोथीको पछि लाग्न आफ्नो जीउ तताइरहन्छन् । घाम चढ्दै गएपछि जमीन भन्दा लगभग एक मीटर माथि कुनै ठाउँमा गएर बस्छन् किनभने पोथीको उडानको उँचाइ त्यति नै हुन्छ । जहाँ बसे पनि, तिनले एक छिनका लागि पनि पोथीलाई आफ्नो आँखाबाट ओझेल  पर्न दिंदैनन् । आफ्नो ‘इलाका’ को रक्षाका निम्ति भालेले सम्पूर्ण शक्ति प्रयोग गर्छन्; त्यहाँबाट गुज्रिने प्रत्येक कीट–पतंग र चरा मात्र होइन, कसैले फ्याकेको ढुंगामाथि पनि आक्रमण गर्न हिचकिचाउँदैनन् । अरू प्रजाति जस्तै, पोथीलाई आकर्षित गर्न यिनले पनि अत्यन्त आकर्षक रंगका पखेटा, बुट्टा र उत्तेजक फेरोमोन्सको उपयोग गर्छन् । 

आफूले पट्याएकी पोथीलाई अरू भालेसँग नलाग्ने बनाउन यिनले दुईखाले उपाय अपनाउँछन् । पहिलो हो— मैथुनका क्रममा पोथीको जननांगमा पोषक तत्व  पनि हालिदिनु । यसरी पोथीमा हालिने पोषक तत्व  र आनुवंशिक पदार्थलाई संयुक्त रूपमा ‘स्परमेटोफोर’ भनिन्छ जसको तौल भालेको वजनको ६ देखि १० प्रतिशतसम्म हुन्छ । यसले पोथीलाई अन्य भालेसँग मैथुन गर्न उदासीन बनाइदिन्छ । वैज्ञानिकहरूले गरेका शोधबाट पनि के देखिएको छ भने कृत्रिम तरीकाले पोथीको जननांगमा ‘स्परमेटोफोर’ हालियो भने पनि उनीहरू मैथुनका लागि अनिच्छुक हुन पुग्छन् । आफ्नी पोथीलाई अरू भालेसँग लाग्न नदिन यो जातको भाले पुतलीले अपनाउने अर्को उपाय हो— पोथीको जननांगको ढोकालाई ठेडी राखेर (‘प्लग’) बन्द गरिदिनु । यो काम पनि उनीहरू बडो कुशलतापूर्वक गर्ने गर्छन् ।

आफ्नो जीवनकालमा एकपल्ट मात्र मैथुन गर्ने र सन्तान जन्माउने भएकाले यस प्रजातिका पोथीले भालेको चयन बडो सतर्कतापूर्वक गर्छन् । त्यस्ता भाले पहिचान गर्ने आधार चाहिं फेरि पनि पखेटाको चम्किलो र गाढा रंग, आकर्षक बुट्टा, फेरोमोन्स र प्रणय–निवेदनका लचकदार भंगिमाहरू नै हुन् । यस्ता भालेबाटै उच्च गुणस्तरको वंशाणु (जीन), बढी अन्डा र स्वास्थ्य राम्रो बनाउने पोषक तत्व  प्राप्त हुने तिनको बुझइ हुन्छ । रमाइलो कुरा के भने, सबै जीवजन्तुमा झैं  पुतलीमा पनि भालेले नै आफ्नो गुण, योग्यता, विशेषता र कलाले पोथीलाई रिझाउनुपर्छ र मैथुनका निम्ति सहमत गराउनुपर्छ । 

अनि, ट्याटू ?
तपाईंले पनि पुतलीहरूको व्यवहार अवलोकन गरेर तिनलाई बुझन सक्नुहुन्छ । यसका लागि आफ्नो करेसाबारीमा त्यस्ता बिरुवा लगाए पुग्छ, जसमा पुतलीहरू खाना खोज्न आउन्, जसबाट तिनका लार्भालाई भोजन प्राप्त होस् । जंगली लेन्टाना यस्तै एउटा बिरुवा हो । म आजभोलिका युवामा विपरीतलिंगीलाई आकर्षित गर्न ट्याटू बनाउने चलन बढ्दै गएको देख्छु । सोच्तैछु, केही प्रयोग पुतलीमा ट्याटू बनाएरै गरूँ । हेरूँ, पोथी पुतलीले पनि ट्याटू मन पराउँछन् कि ?  

प्राणिशास्त्रका वरिष्ठ प्राध्यापक लेखक हाल आफ्ना विद्यार्थीहरूसँग मिलेर माकुरामाथि अनुसन्धान गर्दैछन् । 
साभारः शैक्षणिक सन्दर्भ, पूर्णाङ्क ११६ 
सम्पादन तथा भाषान्तरः शरच्चन्द्र वस्ती

शिक्षक  मासिक, २०७६ चैत अंकमा प्रकाशित । 



 

commercial commercial commercial commercial