शिक्षकको पेशागत विकास सिद्धान्त, अभ्यास र चुनौती

सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रत्येक नागरिकको नैसर्गिक अधिकार भित्र पर्छ । यसको सुनिश्चितता गर्ने दायित्व सरकारको हुन्छ । गुणस्तरीय शिक्षाको सन्दर्भमा शिक्षकको भूमिका अहम् हुने गर्दछ ।

गुणस्तरीय शिक्षाका लागि शिक्षक योग्य, सक्षम, शैक्षणिक कलाकौशलले निपुण हुनु जरूरी हुन्छ । शिक्षक आफ्ना विद्यार्थीमा हुने विविधता अनुसार शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न सक्षम हुनुपर्छ । यसका लागि विभिन्न उपाय अवलम्बन गरिंदै आइएको छ । शिक्षकलाई सुयोग्य बनाउनका लागि योग्यतामा आधारित पूर्व सेवाकालीन शिक्षक– शिक्षा, अनुभव तथा सिकाइ आवश्यकतामा आधारित सेवाकालीन तालिम, अनुसन्धानमा आधारित शिक्षण सिकाइ अवसर, सूचना सञ्चार तथा प्रविधिमा आधारित अन्य वैकल्पिक कार्यक्रम आदि सञ्चालन हुँदै आएका छन् । यी सबैलाई शिक्षकको पेशागत क्षमता विकासका रूपमा लिने गरिन्छ ।

नेपालमा शिक्षकको पेशागत विकास कार्यक्रम वि.सं. २०२८ को नयाँ शिक्षा योजनाको कार्यान्वयनदेखि नै निरन्तर रूपमा सञ्चालन गरिंदै आइएको छ । औपचारिक, अनौपचारिक, पूर्व सेवाकालीन, सेवाकालीन, खुला तथा दूर सिकाइमा आधारित, सक्षमतामा आधारित र योग्यता अभिवृद्धिमा आधारित कार्यक्रमहरू मार्फत शिक्षकको पेशागत विकास कार्यक्रम सञ्चालन हुँदै आएका छन् । हाल कार्यान्वयनमा रहेको विद्यालय क्षेत्र विकास कार्यक्रमले पनि यसलाई महत्वका साथ अग्रसारित गरी पेशागत विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

नेपालमा सरकारले शिक्षकको पेशागत विकासलाई महत्वका साथ कार्यान्वयन गर्दै आएको भए तापनि यो फलदायी भइरहेको छैन । तालिमप्राप्त शिक्षकहरूबाट समग्र शिक्षाको गुणस्तर कायम हुनसकेको छैन । हालै मात्र शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट सम्पन्न कक्षा–५ को विद्यार्थी मूल्याङ्कनको नतिजाले पनि यसलाई पुष्ट्याइँ गरेको छ । यसबाट शिक्षकको पेशागत विकासलाई किन निरन्तरता दिने ? सिकाइमा सुधार हुन नसक्ने, तर निरन्तर रूपमा शिक्षकको पेशागत विकासमा लगानी गरिरहनुको के औचित्य छ ? लगानी किन खेर फाल्ने ? पाठ्यक्रमको सफल कार्यान्वयनका लागि हालको शिक्षकको पेशागत विकास कार्यक्रमलाई कसरी व्यवस्थित गर्ने ? जस्ता अनुत्तरित प्रश्नहरू हाम्रासामु रहेका छन् ।

शिक्षक–शिक्षा सन्दर्भको सैद्धान्तिक पक्ष
शिक्षकको पेशागत विकास भनेको विद्यालयको कार्यसम्पादनमा सुधार गर्नु हो । शिक्षकमा विषयगत तथा शैक्षणिक विधिमा आधारित ज्ञान तथा सीप विकास गर्नु हो । शिक्षकमा भएको ज्ञान, सीप तथा शिक्षण समुदायमा आदान–प्रदान गर्ने कार्य हो । शिक्षण सम्बन्धी ज्ञान तथा सीपमा पुनःसंरचना विकास गर्ने कार्य हो । शिक्षकहरूबीच सम्बन्ध र सहकार्य विकास गरी शिक्षण सिकाइमा सुधार ल्याउने कार्य हो (Darling-Hammond, 1994) । त्यसैगरी, शिक्षकको पेशागत विकासलाई शिक्षक आफैंले आफ्नो शिक्षण अभ्यासको स्वप्रत्यावर्तन गर्ने कार्यका रूपमा लिने गरिन्छ । आफ्नो शैक्षणिक सिद्धान्त प्रतिपादन शिक्षक आफैंले गर्ने कार्य पनि हो यो (Keiny, 1994) । शिक्षकलाई शिक्षण सिकाइ कार्यमा विकास गरी, सक्षम तथा दक्ष बनाई कक्षाकोठामा हुने शिक्षण सिकाइ क्रियाकलापमा सुधार गर्ने कार्य नै शिक्षकको पेशागत विकास हो (Grossman, 1994) । समग्रमा शिक्षकको पेशागत विकास भनेको– शिक्षण कलाकौशलको विकास, योग्यता अभिवृद्धि र विकसित सक्षमताको प्रभावकारी प्रयोग गरी शिक्षण तथा सिकाइ उपलब्धिमा अपेक्षित सुधार गर्ने कार्य हो ।


हाम्रा शिक्षकहरू विना दक्षता, विना तालिम र पर्याप्त पेशागत ज्ञान तथा सीपको अभाव बीच नै पठनपाठन गर्न बाध्य हुने गरेका छन्। यसको प्रत्यक्ष असर सिकारुको सिकाइ उपलब्धिमा पर्ने गरेको छ।

शिक्षकको पेशागत विकास शिक्षण सिकाइसँग सम्बन्धित ज्ञान तथा सीप हासिल गर्ने कार्य मात्र नभई, सिकेका ज्ञान, सीपको दक्षतापूर्ण रूपमा कक्षाकोठामा उपयोग गर्ने कार्य पनि हो (Avalos, 2011)। अर्थात् सिकाइमा विविधता ल्याउने, सिकारुको विविध सिकाइका चाहना सम्बोधन गर्ने र पाठ्यक्रमले तय गरेका सिकाइ उपलब्धि सुनिश्चित गर्ने कार्य समेत हो । यसका लागि शिक्षक प्रतिबद्ध हुनुपर्छ । विभिन्नि प्रकारका पेशागत विकास कार्यक्रममा अर्थपूर्ण सहभागिता जनाउनुपर्छ । स्वयं योग्यता वृद्धि तथा सिकाइमा लागि पर्नुपर्छ । पेशागत विकास तथा विकसित सीप कार्यान्वयन योजना विकास गरी कार्यान्वयनमा ल्याउनुपर्छ । भिगोस्की (Vigostky, 1978) ले बताए झैं सामाजिक अन्तरक्रिया, स्वप्रत्यावर्तन र यसका आधारमा सुधारिएको शिक्षण गर्ने अभ्यासमा शिक्षकहरू तल्लीन हुनुपर्छ । (Dwey (1916)  ले सुझाए अनुसारको प्रजातान्त्रिक अभ्यास मार्फत सिकारुको सक्रिय सहभागिता बढाई सिकाइ उपलब्धिमा सुधार गर्नुपर्छ । यसबाट पेशागत विकासका लागि सबै पक्षहरू जिम्मेवार हुनुपर्ने अवस्था देखिन्छ ।

शिक्षकको पेशागत विकास मार्फत सिकाइमा सुधार गर्न केही विशिष्ट कार्यहरू सम्पादन गर्नुपर्छ । शिक्षकले शिक्षण सिकाइमा सुधार गर्ने योजना तयार गरी कार्यान्वयनमा जानुपर्छ (Fullan & Miles, 1992; Spillane, 1999) । शैक्षिक व्यवस्थापनले शिक्षकलाई पर्याप्त मात्रामा सरसल्लाह र सहयोग प्रदान गर्नुपर्छ (Ball & Cohen, 1999) । शिक्षकले सम्पादन गरेको शिक्षण सिकाइबाट सिकारुको सिकाइ उपलब्धिमा के कस्तो प्रभाव पर्‍यो भनेर लेखा–जोखा गर्नुपर्छ (Fishman, Marx, Best, & Tal, 2003) । एक आपसमा मिलेर सहकार्य र समन्वयमा सिकाइ गर्ने र अनुभव आदान–प्रदान गरी शैक्षणिक समस्या समाधान गर्ने वातावरण विकास गर्नुपर्छ (Dwey, 1916, Vigtosky, 1978) । शिक्षामा शिक्षण सिकाइ प्रति उत्प्रेरणा र सहभागिता बढाउने प्रयत्न गर्नुपर्छ (Rocard, 2007) । शिक्षक निर्दिष्ट शिक्षकको पेशागत विकास कार्यक्रम सञ्चालन गर्नुपर्छ (Ofsted, 2012) ।

शिक्षकको निरन्तर पेशागत विकासको आफ्नै औचित्य रहेको छ । समाज परिवर्तन भए अनुसार शैक्षिक क्रियाकलापहरू परिवर्तन हुने गर्छन् । शैक्षिक परिवर्तन अनुसारको शिक्षण सिकाइका लागि शिक्षाको पेशागत विकास निरन्तर रूपमा हुनु जरूरी हुन्छ । शिक्षण सिकाइको विधि तथा प्रक्रियालाई स्तरीकरण गर्नु अत्यावश्यक हुन्छ । यसका लागि शिक्षकमा नयाँ–नयाँ शैक्षणिक ज्ञान तथा सीप अत्यावश्यक पर्छ (Day, and  Sachs, 2004) । आधुनिक समाज तथा ज्ञानमा आधारित समाजको आवश्यकता अनुसार शिक्षण सिकाइका लागि नयाँ–नयाँ ज्ञान तथा सीपको अभ्यास जरूरी छ । त्यस्तो ज्ञान र सीप पेशागत विकास मार्फत नै सम्भव हुन्छ (Goodson and Hargreaves, 2002) । शिक्षा तथा शिक्षक स्वयं सामाजिक परिवर्तनको संवाहकका रूपमा रहन्छन् । यसका लागि पनि शिक्षक योग्य, दक्ष, सक्षम र प्रभावी हुनुपर्छ (Sikes, 2013) । शैक्षिक व्यवस्थापनलाई बढी जिम्मेवार बनाई शैक्षिक परिवर्तनको अभीष्ट पूरा गर्नका लागि पनि पेशागत विकास जरूरी हुन्छ (Dillon, 2000) । त्यसै गरी शिक्षण सिकाइ क्रियाकलाप तथा शैक्षिक व्यवस्थापनलाई बढी प्रवर्तनात्मक तथा खोजमुखी बनाई शिक्षालाई समसामयिक बनाउन निरन्तर रूपमा शिक्षकको पेशागत विकास गर्नुपर्छ (Fullan, & Hargreaves, 2013) ।

शैक्षिक परिवर्तन र पेशागत विकास बीचको तालमेलमा समस्या/चुनौती
नेपालमा शिक्षकको पेशागत विकासको विकासक्रम केलाउँदा शैक्षिक परिवर्तन अनुसार शिक्षकको पेशागत विकासका कार्यक्रमहरू व्यवस्थित हुनसकेको पाइँदैन । शैक्षिक परिवर्तनका योजना तथा कार्यक्रमले अपेक्षा गरिए अनुसारका सिकाइ उपलब्धि हासिल गर्न सक्ने गरी शिक्षक व्यवस्थापन गर्न सकिन्छ वा सकिंदैन ? उनीहरूमा भएको पेशागत सक्षमता परिवर्तित योजना अनुसार शिक्षण गर्न पर्याप्त छ वा छैन ? परिवर्तनलाई सफल बनाउन शिक्षक तयारी कार्यक्रममा समसामयिक परिवर्तन गरी गुणस्तरीय शिक्षणका लागि योग्य जनशक्ति आपूर्ति हुन सक्छ वा सक्दैन ? र; भइरहेको शिक्षक समुदायलाई परिवर्तित योजनाको प्रारम्भबाट नै शिक्षण सिकाइ सञ्चालन गर्ने गरी सक्षम बनाउन सकिन्छ वा सकिंदैन ? हामीकहाँ यस्ता प्रश्नहरूको यथार्थ विश्लेषण गरी शिक्षक तयारी योजना एकसाथ कार्यान्वयन भएको अवस्था देखिंदैन ।

नयाँ शिक्षा पद्धतिको योजना (२०२८) ले व्यावसायिक तथा रोजगारमूलक शिक्षालाई प्राथमिकता दिए अनुसार पाठ्यक्रममा परिवर्तन गरियो । तर परिवर्तित ती पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक शिक्षकको पेशागत विकास गरी कार्यान्वयनमा जान सकिएन । फलतः सो शिक्षा योजनाले अपेक्षित उपलब्धि हासिल गर्न सकेन । यसैगरी प्रतिनिधिमूलक उदाहरणका रूपमा २०५६ सालको माध्यमिक शिक्षाको परिमार्जित पाठ्यक्रमलाई लिन सकिन्छ । त्यस वर्ष माध्यमिक तहमा स्वास्थ्य, जनसंख्या र वातावरण शिक्षालाई अनिवार्य विषयका रूपमा कार्यान्वयनमा ल्याइयो । तर विषयगत शिक्षक तथा भइरहेका शिक्षकको आवश्यक पेशागत विकास गर्ने कार्यक्रम आएन ।

२०५९ सालमा सरकारले कक्षा–१ देखि नै अंग्रेजी भाषालाई अनिवार्य विषयका रूपमा राख्यो । तर यसका लागि शिक्षक तयारी गरिएन । यही प्रकारको उदाहरण वि.सं. २०६८ मा गरिएको आधारभूत तह कक्षा–६ देखि ८ सम्मको पाठ्यक्रमलाई पनि लिन सकिन्छ । यसले कक्षा–६ देखि नै साधारण व्यावसायिक सीप विकासका लागि पेशा, व्यवसाय र सम्बन्धित पाठ्यक्रमको व्यवस्था ग¥यो । तर कक्षा–६ देखि ८ सम्म यो विषय पठनपाठन गर्ने शिक्षकको तालिम कार्यक्रम संस्थागत गरिएन । कक्षा–९ देखि १२ सम्म साधारण शिक्षा अन्तर्गत सञ्चालित प्राविधिक धारतर्फको पाठ्यक्रमको व्यवस्था गरियो । यो पाठ्यक्रम कार्र्यान्वयन गर्ने शिक्षकहरूको पेशागत सक्षमता विकासका लागि पनि व्यवस्थित योजना तथा पाठ्यक्रम आएन ।

हालै मात्र सरकारले कक्षा–९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन गरी रोजगारमूलक व्यवसायमा आधारित पाठ्यक्रमको व्यवस्था गरेको छ । तर नेपालभर कक्षा–९ देखि १२ सम्म रोजगारमूलक विषय पठनपाठन गर्ने शिक्षकको पेशागत विकासको कुनै पाठ्यक्रम तय भएको देखिंदैन । पाठ्यक्रम कार्यान्वयनमा पहिला जाने र शिक्षकको पेशागत विकासको योजना पछि बन्ने अनि सबै विद्यालयका शिक्षकको पेशागत विकास गर्न तीनदेखि चार वर्षसम्म लाग्ने गरेको अनुभव छ । यसले शिक्षकहरू विना दक्षता, विना तालिम र पर्याप्त पेशागत ज्ञान तथा सीपको अभाव बीच नै पठनपाठन गर्न बाध्य हुने गरेका छन् । यसको प्रत्यक्ष असर सिकारुको सिकाइ उपलब्धिमा पर्ने गरेको छ ।

आधारभूत तहका कक्षा–१ देखि ५ सम्म एकीकृत पाठ्यक्रमको अवधारणा अनुसारको नयाँ पाठ्यक्रम स्वीकृत भएको समाचार बाहिर आएका छन् । पाठ्यपुस्तकहरू पनि विकास भएका छन् । तर उक्त पाठ्यक्रम कार्यान्वयन गर्ने शिक्षक तयारी गर्ने योजना अझ्सम्म आउन सकेको छैन । यो पाठ्यक्रम एक वर्ष परीक्षण गरी मुलुकभर कार्यान्वयन गर्ने योजनामा सरकार रहेको छ । तर शिक्षक तयारीको पाठ्यक्रम भने आएकै छैन । यस प्रकारको बेमेल शैक्षिक परिवर्तन सबै विषयहरूमा देखिंदै र भोगिंदै आइएको छ । यस पटकको परिवर्तनमा पनि शिक्षकले विना तालिम एकीकृत पाठ्यक्रम कार्यान्वयन गर्नुपर्ने अवस्था देखिन्छ, जुन एकीकृत पाठ्यक्रमको सिद्धान्त अनुसार सम्भव छैन ।

हाम्रो पाठ्यक्रम तथा पाठ्यपुस्तकको विकास केन्द्रीकृत छ । विद्यालय र शिक्षकको सक्रिय सहभागितामा आधारित भई पाठ्यक्रम निर्माण तथा शिक्षक तालिम सञ्चालन हुनसकेको छैन । शिक्षकको पेशागत विकास पनि विद्यालयमा र कक्षा शिक्षणमा आधारित हुनसकेको छैन । शिक्षकको पेशागत विकास तालिम परम्परागत स्वरुपको र बढी विषयवस्तु अर्थात् संज्ञानात्मक पक्षमा आधारित छ । शिक्षण अभ्यासमा आधारित हुनसकेको छैन । शिक्षक सहयोग पद्धति अत्यन्त कमजोर छ । शैक्षिक परिवर्तनको विषयमा शिक्षकको अत्यन्त न्यून सहभागिता रहने गरेको छ ।

पेशागत विकासका सन्दर्भमा विगतको अनुभवबाट अझ् पनि सिक्न सकिएको छैन । विगतको सिकाइका आधारमा शिक्षकको पेशागत विकास कार्यक्रमलाई स्तरीकृत भएको छैन । शिक्षकको पेशागत तालिम निरन्तर सञ्चालन भइरहने तर विद्यार्थीको सिकाइ उपलब्धिमा चाहिं सकारात्मक परिवर्तन नहुने अवस्थाले निरन्तरता पाइरहेको छ । शिक्षकले तालिम माग्ने अवस्था भन्दा सरकारले शिक्षकको तालिम आपूर्ति गर्ने प्रणाली निरन्तर चलिरहेको छ ।


नेपालमा शिक्षकको पेशागत तालिम निरन्तर सञ्चालन भइरहने तर सिकारुको सिकाइ उपलब्धि चाहिं जस्ताको तस्तै रहने क्रम जारी छ। हाम्रा शिक्षक तालिम ‘माग्दैनन्’ तर पनि सरकार शिक्षक–तालिम आपूर्ति गरिरहेको छ।

शिक्षकको पेशागत विकासमा विविधता पनि आउन सकेको छैन । केवल सरकारले प्रदान गर्ने शिक्षक तालिम नै प्रमुख बन्दै आएको छ । कार्यमूलक अनुसन्धानमा आधारित शिक्षण सिकाइ, पाठ्यकम तथा पाठ्यवस्तु विकास, प्रवर्तनात्मक सीप विकास, सूचना सञ्चार तथा प्रविधिको प्रयोग, शैक्षिक सामग्री विकास र प्रयोग, विद्यार्थी मूल्याङ्कन जस्ता विषयमा आवश्यक दक्षता विकास केन्द्रित शिक्षक तालिम सञ्चालन हुनसकेका छैनन् । शिक्षक समुदायहरू बीच निरन्तर पेशागत छलफलको अभ्यास गर्ने वातावरण सिर्जना भएको छैन । शिक्षकले स्वअध्ययन तथा विद्युतीय पाठ्यक्रममा आधारित (Online Course)  विकास कार्यक्रममा सहभागी हुने पर्याप्त अवसर प्राप्त गर्न सकेका छैनन् ।

सुधारको पाटो
१. शैक्षिक परिवर्तन र शिक्षकको पेशागत विकास समानान्तर रूपमा लैजानु अत्यावश्यक छ । शिक्षक तयारी विनाको शैक्षिक परिवर्तन गर्ने अभ्यास तत्काल बन्द गर्नुपर्छ । हालसम्म हुँदै आएका पेशागत विकासका अभ्यासमा तत्काल परिमार्जन अत्यावश्यक छ ।
२. शैक्षिक परिवर्तनमा (पाठ्यक्रम तथा पाठ्यपुस्तक विकास) शिक्षकको भूमिका वृद्धि गरी परिवर्तनका लागि उनीहरूलाई नै बढी जिम्मेवार बनाउनु जरूरी छ ।
३. शिक्षकले चाहेको, शिक्षक स्वयंले नेतृत्व गर्ने गरी शिक्षकको पेशागत विकास कार्यक्रम सञ्चालन गर्ने पद्धति स्थापित हुनुपर्छ ।
४. शिक्षकलाई शैक्षिक परिवर्तनको योजना तयार गर्न, पाठ्यक्रम तथा पाठ्यसामग्री विकास गर्न, शिक्षण सिकाइ सामग्री विकास गर्न, कार्यमूलक अनुसन्धानमा आधारित शिक्षण सिकाइ सञ्चालन गर्न, सूचना सञ्चार तथा प्रविधिमा आधारित शिक्षण सिकाइ क्रियाकलाप व्यवस्थित गर्न अत्यावश्यक ज्ञान तथा सीप प्राप्त हुने गरी शिक्षकको पेशागत विकास कार्यक्रमलाई व्यवस्थित गर्नुपर्छ ।
५. परम्परागत शैलीको हालको शिक्षक तालिमको सट्टा वैकल्पिक विधिहरू उपयोग गर्ने गरी पेशागत विकासका कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । स्वअध्ययनमा आधारित, निरन्तर पेशागत छलफल तथा अन्तरक्रियामा आधारित, अनुसन्धानमा आधारित, सूचना सञ्चार तथा प्रविधिमा आधारित अनलाइन कोर्सहरूको व्यवस्था गरी पेशागत विकास गर्ने र हुने अवस्था सिर्जना गर्नुपर्छ ।
६. शिक्षकको पेशागत विकासले मात्र गुणस्तरीय शिक्षण सिकाइ सुनिश्चित गर्दैन । विकसित सीप तथा दक्षताको सही सदुपयोग हुने वातावरण सिर्जना गर्नु पनि अत्यावश्यक छ । यसका लागि कक्षाकोठामा आधारित शिक्षण सहयोग पद्धति विकास गरी कार्यान्वयनमा ल्याउनुपर्छ ।
७. हाम्रा विद्यालय तथा कक्षाकोठा आधुनिक शिक्षणका लागि उपयुक्त छैनन् । तिनमा पर्याप्त शैक्षिक सामग्रीको व्यवस्था र शिक्षकले चाहे अनुसारको शिक्षण सिकाइका लागि आवश्यक पर्याप्त बजेट व्यवस्था हुनु जरूरी छ । यसका लागि विद्यालय व्यवस्थापन तयार हुनुपर्छ ।
८. शिक्षकले चाहेमा गर्न सक्छन् । उनीहरूलाई उत्प्रेरणा र प्रवर्तनात्मक अनुदानको व्यवस्था आवश्यक छ । निरन्तर अनुगमन तथा सहयोग पनि जरूरी छ ।

निचोड
प्रत्येक शिक्षकको मनमष्तिष्कबाट नै शैक्षिक परिवर्तनको अभ्यास शुरू हुनुपर्छ । निरन्तरको परिवर्तित सोच तथा अभ्यासले मात्र शैक्षिक परिवर्तन सम्भव हुन्छ । व्यक्तिगत शिक्षक तथा विद्यालयको आवश्यकतामा आधारित भई पेशागत विकास गर्न सकेमा मात्र विकसित दक्षताको सही सदुपयोग हुन्छ । कार्य थलोमा आधारित पेशागत विकासबाट नै शैक्षिक सुधार सम्भव छ । सिकाइको दिगोपना कायम हुने गरी शिक्षकको पेशागत विकास कार्यक्रम तय गरिनुपर्छ । यसमा विविधता दिनुपर्छ । हालको जस्तो तालिम केन्द्रमा आधारित पेशागत विकास कार्यले अब काम गर्दैन । यसमा सुधार अत्यावश्यक छ ।

कक्षाकोठामा आधारित कार्यमूलक अनुसन्धानलाई पेशागत विकासको प्रमुख आधारका रूपमा विकसित गरिनुपर्छ । शिक्षकहरू बीचको सहकार्य, समन्वय र साझेदारीमा आधारित पेशागत विकास गर्ने अवस्था सिर्जना हुन अत्यावश्यक छ । विद्यालयलाई सिकाइ थलोका रूपमा विकास गर्ने गरी सिकाइ कार्य संस्कार विकास हुनुपर्छ । विद्यालयको नेतृत्वले शैक्षणिक नेतृत्व प्रदान गर्न सक्नुपर्छ । पाठ्यक्रम परिवर्तनको एजेण्डा शिक्षकको हो भन्ने कुरालाई आत्मसात् गरी परिवर्तनका कार्यहरू अग्रसारित गर्नुपर्छ । परिवर्तनका लागि आवश्यक शैक्षणिक दक्षता र सीप पहिचान गरी शिक्षकको पेशागत विकासलाई निरन्तरता दिनु अत्यावश्यक छ । यसतर्फ शिक्षाको राजनीतिक, शैक्षिक नेतृत्व स्पष्ट हुन जरूरी छ । अन्यथा; आजकै जस्तो शिक्षकको पेशागत विकासबाट गुणस्तरीय शिक्षा सुनिश्चित हुनसक्ने देखिंदैन ।

कार्यक्रम प्रमुख, समावेशी शिक्षा, भीएसओ नेपाल

शिक्षक मासिक, २०७६ कात्तिक अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial