दुनियाँ अटाएको 'देश देशावर'

संसार घुम्ने कोही व्यक्ति होला ? शायद नहोला पनि । पृथ्वीमा मानिसको पाइला नपरेको स्थान धेरै हुन सक्छन् । एउटा व्यक्तिले नटेकेका स्थान त कति होलान् कति । स्थानको कुरा त छोडौं धेरै घुम्ने व्यक्ति पनि सबै मुलुकमा नपुगेको हुन सक्छ । हामीकहाँ खान पुग्नेले मात्र घुम्ने हो, अरूले काम पो गर्नुपर्छ भन्ने सोच पनि छ । घुम्ने र कहीं कतै नघुम्ने व्यक्तिको सोचमा के कति फरक होला ?

हजार शब्दले व्याख्या गर्न नसक्ने घटना वा स्थान एउटा चित्रबाट हुनसक्छ भन्ने गरिन्छ । त्यसैगरी शब्दमा व्यक्त गर्न नसकिने अनुभव भ्रमण वा घुमघामबाट प्राप्त गर्न सकिन्छ । फेरि अनुभव गरेका सबै पक्षलाई शब्द वा अक्षरमा उतार्न पनि सकिंदैन होला । दार्शनिक डेरिडाले ‘स्पीच आर नियरर देन राइटिङ’ भने । उनको भनाइलाई आधार मान्दा बोल्न सक्ने सबै अनुभवलाई कागजमा वा कम्प्युटरको स्क्रिनमा उतार्न नसकिने रहेछ । यसको अर्थ घुम्ने सबैका अनुभव लेखाइमा प्रतिबिम्बन हुन पनि कठिन हुन्छ होला । शब्द शिल्पीले आफ्ना अनुभवलाई लिपिबद्ध गर्न पनि सक्छन् होला । भ्रमणमा के देखियो भन्दा पनि के अनुभव हासिल गरियो, के सिकाइ भयो भन्ने विषयले आमजनलाई लाभ पुर्‍याउन सक्छ ।

जीवा लामिछाने, मुलुक बाहिर रही उद्योग व्यवसाय र आर्थिक क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्ने मध्येका एक सफल व्यक्ति हुन् भन्दा फरक पर्दैन । उनी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय व्यवसायमा विगत २५ वर्षदेखि क्रियाशील छन् । लामिछाने गैरआवासीय नेपाली संघ (एनआरएन)का संस्थापक सदस्यका साथै यस संस्थाका अध्यक्ष समेत बने । उनले आफ्नो बाल्यकाल चितवनमा बिताए तर उनका पुर्खा कास्कीबाट चितवन बसाइँ सरेका रहेछन् । विद्यालय शिक्षासम्म नेपालमै अध्ययन गरेका लामिछाने रुसको मस्को स्टेट युनिभर्सिटी अफ सिभिल इन्जिनियरिङबाट स्नातकोत्तर उत्तीर्ण रहेछन् ।

लामिछानेको अध्ययन मात्र नभएर व्यावसायिक यात्राको शुरूवात पनि रुसको मस्कोबाट भएको देखिन्छ । हाल उनले विदेश र नेपालमा गरी धेरै व्यवसाय सम्हालेको पढ्न पाइन्छ । व्यवसायका विषयमा उनको भित्री पाटो के कस्तो छ, बाहिर आएको छैन तर बाहिरबाट अर्थात् ‘एज एन आउटसाइडर’को आँखाबाट हेर्दा उनी सफल व्यवसायी हुन् भन्न सकिन्छ ।

जोसेफ स्टिगलिट्जले पुअर पिपुल एण्ड प्रोफिट पुस्तक (सन् २०१९) मा वेल्थ अर्थात् सम्पत्तिले व्यक्तिलाई कसरी पावर अर्थात् शक्तिमा पुर्‍याउँछ र राजनीति गर्नेहरू (पोलिटिसिएन)लाई कसरी प्रभावित (इन्फ्ल्यूएन्स) गर्न सक्छ भनेर विश्लेषण गरेका छन् । शायद यसैको प्रभाव हो कि अन्य खुबीकै कारण हो, लामिछाने सन् २०११ मा नेपालका प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषद् सदस्यमा नियुक्त भए । अथवा ल्याइएको पनि हुन सक्छ । यति मात्र नभएर उनी अहिले पनि पुन: प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषद्को टीममा आबद्ध रहेको व्यहोरा पढ्न र सुन्न पाइन्छ ।

घुम्नका लागि मन र धन चाहिन्छ । धनको त जोहो गर्न सकिएला तर मनलाई तयार गर्नु पहिलो शर्त हो । पुस्तक अध्ययन गर्दा के देखिन्छ भने लामिछानेको हकमा दुवै चिज उनीसँग छन्– घुम्नका लागि अत्यन्त लालायित छन्, धनको त उनलाई खाँचो हुने कुरै भएन । उनी घुम्न मात्र नभइ त्यसक्रममा देखिएका, भेटिएका घटना र स्थान तिथिमितिसहित लिपिबद्ध गर्न पनि उत्तिकै कुशल देखिन्छन् । उनका अनुसार उनी हालसम्म १३० भन्दा बढी मुलुक घुमिसकेका छन् । यही क्रममा उनले यसअघि नियात्रा संग्रह सरसर्ती संसार प्रकाशित गरिसकेका छन् । पुस्तकका हिसाबले देश देशावर उनको दोस्रो कृति हो ।

देश देशावर पुस्तकमा जम्मा २० वटा शीर्षक छन् जसमा सबै घुमघामका घटनाहरू उल्लेख गरिएको छ । यी घटना २० वटा मुलुकका पनि होइनन् । कुनै शीर्षकमा एकभन्दा बढी मुलुकको बारेमा उल्लेख गरिएको छ भने कतिपय अवस्थामा एउटै मुलुकका अनुभवलाई फरक-फरक शीर्षकमा समेत समावेश गरिएको छ । पुस्तकका शीर्षकको कसरी निर्धारण गरियो भन्ने बारेमा लेखकले कतै उल्लेख गरेका छैनन्, तर समयको क्रममा मिलाएको भए पाठकलाई समयसँगै वहन पक्कै पनि सजिलो हुन्थ्यो ।

व्यक्ति स्वयंका लागि कतिवटा मुलुक घुमियो भन्ने विषयले पक्कै पनि केही अर्थ राख्छ होला । यो एउटा बायोडाटा बढाउने विषय बन्न सक्ला । तर पाठकका लागि घुमेका स्थानको इतिहास, रहन-सहन, मानव व्यवहार, समाज, संस्कृति आदिमा उल्लेख गरिएको सन्दर्भ र सिकाइ एवं अनुभव महत्वपूर्ण हुन्छ । समाजमा मानिसको जीवनशैली कस्तो रहेछ भनेर बुझ्न र त्यसलाई आफूसँग तुलना गरेर आफ्नो अवस्था यकिन गर्न सहयोग पुग्छ । पूर्वीय दर्शनमा मान्छेमा दु:खको कारण नै एकले अर्कोसँग तुलना गर्नु हो भनिन्छ । वि. के. शिवानी जस्ता विदुषी पनि व्यक्तिले आफूलाई अरूसँग तुलना गरेर दु:खी बनाउनुहुन्न भन्नुहुन्छ । ऋषिमुनिदेखि बुद्धसम्मका आदर्श नै व्यक्ति स्वयंले आफूलाई चिन्नु हो । तर व्यवहारमा एक अर्काको बीचको तुलना आवश्यक देखिन्छ, गर्नु पनि पर्छ । शासन प्रणाली र समाज सञ्चालनमा यो आवश्यक मात्र नभएर अनिवार्य पनि हुन्छ । लामिछाने जहाँ जहाँ पुगे त्यहाँका घटनासँग नेपाल र यहाँको समाजको बीचमा तुलना गरेका छन् जसलाई असान्दर्भिक भन्न नमिल्ला ।


देश देशावर नितान्त रूपमा एक व्यक्ति र निजको परिवारको घुमघामको कथा हो । कास्कीबाट चितवन बसाइँ सरी त्यहाँबाट मस्कोमा अध्ययन गर्दै उद्यममा हाम फालेको व्यक्तिको सफलताको कथा आफैंमा लोभलाग्दो त छ नै, लेखक आफैं पनि धेरैका लागि मोडल हुन सक्छन् ।


देश देशावर मा उल्लेख भएअनुसार लेखकको घुमाइ गैरआवासीय संघका कार्यक्रमसँग तादात्म्य कायम गर्दै भएको  देखिन्छ । पुस्तकमा बिदाको समयलाई सदुपयोग गर्न र निश्चित स्थान एवं घटनाका बारेमा जानकारी राख्न सपरिवार घुमेका घटनाहरू  पनि छन् । यस्ता भ्रमणको क्रममा एउटा प्रसंग उल्लेख गर्न उपयुक्त नै हुन्छ जस्तो लाग्छ । नेपालका युवा पुस्तामा घुम्ने बानी विकसित हुँदै गरेको देखिन्छ । पुराना पुस्ताका कुरा गर्ने हो भने घुम्ने व्यक्तिको संख्या अत्यन्त न्यून छ । सरकारी कर्मचारीको अवस्था भने फरक छ । सरकारी खर्चमा घुमेर यतिवटा जिल्ला पुगें भनेर गर्व गर्नेहरूको संख्या मनग्यै भेटिन्छ तर यी सबै ‘व्यक्तिगत घुमाइ’ सरकारी नाममा भने अनुगमनसम्बन्धी कार्यका उपज हुन् ।  सरकारी खर्चमा अनुगमन नाम दिइ घुम्ने र सामाजिक संजालमा फोटो पोष्ट्याउने क्रम बहुदल, लोकतन्त्र र गणतन्त्रमा बढ्दो क्रममा छ । यसको ग्राफ निरन्तर चढ्दो छ । यसो भनेर सबैले यसै गर्छन् भन्ने पनि होइन । केही राम्रा कर्मचारी नभएका पनि होइनन् । अनुगमनका लागि काज माग्न जाँदा घर ठेगाना सोध्ने र घरपायकभन्दा अन्यत्र जाने भए काज हुन्छ भन्ने हाकिम पनि भेटिन्छन् । अर्काका लागि यसो गर्नेले आफ्ना लागि के गरे भन्ने विषय पनि मननीय छ ।

पुस्तकमा उल्लेख गरिएअनुसार लामिछानेले पनि गैरआवासीय संघको कार्यक्रममा भाग लिन जाँदा छिमेकमा पर्ने थुप्रै मुलुक घुमेको देखिन्छ । संस्थाको कार्यक्रममा जाँदा व्यक्ति स्वयंले खर्च गर्नुपरेको भए त यस्तो घुमाइ साँच्चै घुम्नका लागि भएको मान्नै पर्छ । तर यस्तो खर्च संस्थाको तर्फबाट भएमा यसलाई पनि सरकारी अनुगमन शीर्षकको घुमाइभन्दा फरक कोटीमा राख्न मिलेन । मलाई विश्वास छ लामिछानेको घुमाइ दोस्रो प्रकारमा परेको छैन ।

लेखक संसारका १३० भन्दा बढी मुलुक घुमिसकेको व्यहोरा माथि नै उल्लेख भइसक्यो । नेपाल आउँदा–जाँदा बाटोमा पर्ने मुलुक र ट्रान्जिटको यसमा हिसाब भएको छैन होला । आखिर यतिका मुलुक घुम्नको लागि केले लोभ्यायो होला ? लेखक आफ्नो घुमाइको औचित्य यसरी उल्लेख गर्छन्– “कतै कुनै दृश्यले लोभ्याएर पुगियो होला भने कतै छुट्टी मनाउने उद्देश्यले । अनि कतै साथीभाइको लहैलहैमा लागेर गइयो भने कतै व्यवसायको सिलसिलामा ।” तर लेखक घुम्नका लागि मात्र घुमेनन्, पुगेका स्थानको संसार चिनाए, त्यहाँका भोगाइलाई महसूस गरे, जीवनशैलीलाई बुझ्ने प्रयास गरे र हरेक घटनाबाट सिक्न सकिने कुराहरूलाई टिपेर जतन साथ राखे । उनकै भाषामा भन्ने हो भने आफ्ना अनेकन् स्मृतिलाई जतनका साथ ‘मस्तिष्कको फोल्डर’मा राखे । लेखकका शब्दअनुसार पहिलो पुस्तक केही रहर अनि केही लहडले जन्मियो । तर दोस्रो पुस्तक लेखकको डायरी लेख्ने बानीका कारण आएको देखिन्छ ।

देश देशावर पुस्तकमा जीवाले विदेशका राम्रा पक्षहरू नेपालमा ल्याउन पाए कार्यान्वयन गर्न कस्तो हुँदो हो भनेर मातृभूमिप्रतिको अथाह प्रेम पनि दर्शाएकै छन् । यस क्रममा थुप्रै ठाउँमा शंका पनि व्यक्त गरेका छन् । विदेशी भूमिमा पासपोर्टका कारण भोग्नुपर्ने भोगाइलाई पनि सुक्ष्म ढंगबाट बताउन भ्याएका छन् । पुस्तकमा अफ्रिकी देश सेसल्स र टापु नै टापुको माला माल्दिभ्स पनि घुमेको प्रसंग आउँछ । तर त्यहाँको घुमाइको घटनाक्रम उल्लेख भएको छैन । पुस्तकमा लेखक घुम्दा हेरेका-देखेका घटनालाई सुन्दर ढंगबाट व्याख्या गरेका छन् । मुलुकभित्र रहेका जातजातिबीचको सम्बन्ध बिग्रँदा रुवाण्डामा देखिएको कहालीलाग्दो घटनालाई मार्मिक ढंगबाट उल्लेख गरेका छन् । साथै मिडियाको भूमिका कति सकारात्मक र नकारात्मक हुनसक्ने रहेछ भन्ने विषय पनि यस लेखले देखाउँछ । त्यस्तो जर्जर मुलुकलाई पुन: नियमिततातर्फ फर्काइ सुशासन कायम गरेको पक्ष पनि वास्तवमै सिक्नलायक छ । रुवाण्डाको ट्राफिक प्रहरी र ड्राइभरको विवादमा नियम पालना नगरेकोले ड्राइभरले जरिवाना तिर्नु र मोजाम्विकको त्यस्तै घटनामा ड्राइभरले राष्ट्रपति कार्यालयमा रहेकी आफ्नी दिदीलाई फोन गरेर ट्राफिक भगाएको घटनाले सुशासनका बारेमा धेरै कुरा बताउँछ । सुशासन ठूला-ठूला सिद्धान्त मात्र होइन यो त दिनानुदिन व्यवहारमा अनुभव गरिने विषय पनि हो ।

विकासका पूर्वाधारमध्ये भौतिक पूर्वाधार एउटा महत्वपूर्ण पक्ष हो । भौतिक पूर्वाधारका लागि प्रविधि र पूँजी दुवैको आवश्यकता पर्छ । अफ्रिकामा चीनको बढ्दो लगानी यी नै पूर्वाधार विकासमा खर्च र प्रयोग भइरहेको र यसबाट नागरिकले लाभ लिन सकेको घटना उनले उल्लेख गरेका छन् । यो लाभको मात्रा मुलुकको सुशासनमा निर्भर रहेको पाइन्छ । जुन मुलुकमा सुशासन छ, त्यहाँ वैदेशिक लगानीबाट गुणात्मक विकास भएको देखिन्छ । तर इमिग्रेशनमा खुलेआम रकम माग गर्ने मुलुकमा के सुशासनको कुरा गर्नु ? कतै हामीकहाँ पनि यस्ता घटना भइरहेका त छैनन् ? भनेर सोच्न बाध्य बनाउँछ पाठकलाई यस पुस्तकले । लेखकले युगान्डाका इदि अमिन र जर्मनीका हिटलरका मानवताविरोधी कार्यलाई सविस्तार व्याख्या गरेका छन् । यिनीहरूका कार्य कुनै ढंगबाट औचित्यपूर्ण बन्न सक्दैनन् । हरेक तानाशाह एक दिन न एक दिन सकिन्छन्, त्यसपछि या त गुमनाम हुन्छन् या घृणित पात्रको रूपमा दर्ज भएर रहन्छन् भन्ने उदाहरण इदि अमिन र हिटलरलाई लिंदा पुग्छ । जर्मनी त विकसित मुलुक भएकोले अवस्था फरक होला । तर तेस्रो विश्वको प्रतिनिधि मुलुकको रूपमा युगान्डाको प्रगति लोभलाग्दो नै देखिन्छ ।

पुस्तकको अर्को राम्रो पक्ष भनेको लेखकले आफू घुमेको स्थान र मुलुकमा काम गरेका वा उद्यम गरेका केही नेपालीको नाम उल्लेख गर्नु पनि रहेको छ । यसबाट धेरै जानकारी पाउन त सकिंदैन तर नेपालीहरू विदेशी मुलुकमा रही रोजगारी तथा विभिन्न व्यवसायमा संलग्न छन् है भन्ने जानकारी भने दिन्छ । उनले बताएअनुसार अफ्रिकन मुलुकले विदेशी लगानी भित्र्याउन चालेका कदमहरू पनि सिक्नलायक नै देखिन्छन् । भनिन्छ; सबैसँग लगानी गर्ने खुबी हुँदैन र जोखिम वहन गर्ने क्षमता पनि हुँदैन, जोसँग यी दुवै हुन्छ राज्यका निकायले यिनलाई प्रोत्साहन दिनुपर्छ । व्यवसाय गर्न प्रोत्साहन गर्दा मुलुकको कच्चा पदार्थ प्रयोग हुने, रोजगारी सृजना हुने, करको दायरा फराकिलो हुने गर्दछ । यसको असर मुलुक विकासमा पर्छ । हामीले यसबाट सिक्नैपर्ने देखिन्छ जसलाई उद्यमी लेखकले पटक-पटक इङ्गित गरेका छन् । उद्यमी देख्नेबित्तिकै शोषक-सामन्त ठान्ने र ट्रेड युनियनले बखेडा झिक्ने कार्यले लगानीकर्ता निरुत्साहित हुने निश्चित छ । हामीकहाँ भएको पनि यही हो । सरकारको काम आफ्ना नियमक निकायलाई बलियो बनाइ बेथिति रोक्नु र राम्रो गर्नेलाई प्रोत्साहन गर्नु पनि हो । अफ्रिकन मुलुकबाट यस्ता सिकाइ लिंदा पनि मुलुकलाई फाइदा नै हुने देखिन्छ ।

पुस्तक अध्ययन गर्दा नेपालजस्ता मुलुकले पर्यटनका पूर्वाधार संरक्षण, पूर्वाधार निर्माण, मार्केटिङ र आवश्यक जनशक्त्ति तयार गर्नुपर्छ भन्ने देखिन्छ । लेखकका अनुसार नेपालजस्तो विविधतायुक्त मुलुकले पर्यटन क्षेत्रबाट जे-जति लाभ लिन सक्नुपर्ने थियो सो हुन सकेको छैन । पर्यटक आउ, हाम्रो मुलुक घुम्न आउ भनेर मात्र पुग्दैन, यसका लागि दीर्घकालीन सोचको आवश्यकता पर्छ । मुलुक बाहिर रही नेपाललाई माया गर्नेहरूलाई चिनेर सम्मान गर्न सके मात्र पनि यसमा सुधार आउन सक्छ भन्ने मत लेखकमा देखिन्छ ।

देश देशावर नितान्त रूपमा एक व्यक्ति र निजको परिवारको घुमघामको कथा हो । कास्कीबाट चितवन बसाइँ सरी त्यहाँबाट मस्कोमा अध्ययन गर्दै उद्यममा हाम फालेको व्यक्तिको सफलताको कथा आफैंमा लोभलाग्दो त छ नै, लेखक आफैं पनि धेरैका लागि मोडल हुन सक्छन् । तर पुस्तक पढ्दै गर्दा कताकता आफ्नो मार्केटिङ आफैं गरिरहे जस्तो पनि लाग्छ ।

भुईंको एउटा मान्छेले यस पुस्तकबाट सिक्ने कुरा के होला ? मनमनै विचार गरें । सो सिकाइ यस्तो होला भनेर अनुमान गर्न सकिनँ  । भनाइको मतलब देश देशावर भुईं मान्छेका लागि भन्दा पनि उच्च मध्यम वर्गका लागि बढी प्रेमिल लाग्न सक्छ । हुनत एउटा पुस्तक सबैका लागि प्रिय कसरी बन्न सक्ला र ? तर पुस्तकले कसलाई केन्द्रमा राख्न खोजेको छ भन्ने विषय महत्वपूर्ण  हुन सक्छ । यही पुस्तकमा पनि स्थानको बारेमा घुमें, यो गरें भन्दा पनि उक्त स्थानलाई महत्व दिइ व्याख्या गरेको भए बढी उपयोगी हुन सक्थ्यो कि ? दैनिक डायरीबाट माथि उठी पुस्तक नै बनाएपछि ‘म’ पात्रको व्याख्या कम गरेको भए लेखकको सालिनता थप हुने नै थियो । साथै ‘मैले घुम्न सकें’ भन्ने भावबाट बाहिर निस्कन पनि सहयोग पुग्थ्यो ।

पुस्तकमा कतिपय सन्दर्भमा विषयको छनोटमा पनि त्यति ध्यान दिन नसकेजस्तो देखिन्छ । “म्यूनिखमा बियरको खोलो” भन्ने विषयवस्तुलाई एउटा छुट्टै शीर्षक दिइराख्नु के जरूरी थियो र ? बियर खान जम्मा भए, रमाइलो गरे, उनीहरूको भाषामा त यही होला तर अरूको भाषामा यो होहल्ला हुन पनि सक्छ । बस, यही विषयबाट लेखकले के सन्देश प्रवाह गर्न खोजेका हुन् प्रष्ट भएन । बरू यसको सट्टामा लियो टाल्स्टायकै जस्तै अल्वर्ट आइन्सटाइनको बारेमा उल्लेख गर्न सकेको भए अझ बढी उपयोगी हुन सक्थ्यो ।

एउटै घटना र परिवेशलाई हेर्ने, बुझ्ने, व्याख्या र विश्लेषण गर्ने दृष्टिकोण व्यक्तिपिच्छे फरक-फरक हुन पनि सक्छ । पुस्तकमा देखे-भोगेका कुरालाई एउटा उद्यमीका आँखाबाट हेरिएको छ । एउटा उद्यमी, सुखसयलमा रहेको व्यक्ति, अनेकौं भेटघाट, बैठक, अन्तरक्रियासहित लन्च, डिनर र ककटेल्समा सहभागी हुनुपर्ने व्यक्तिबाट आफ्ना अनुभव सँगालेर पुस्तकको रूपमा प्रकाशमा आउनु आफैंमा सराहनीय पक्ष हो । यसबाट अरूले पनि सिक्दा हुन्छ ।

पुस्तकको साजसज्जा आकर्षक छ, मोटाइको हिसाबमा पनि उपयुक्त नै छ । भाषा सलल बगेको छ । पुगेको मुलुकको स्थानका बारेमा चर्चा गर्नुपूर्व पृष्ठभूमि उल्लेख गरिएको पनि छ । घटना विशेषका सिकाइलाई मुलुकको सन्दर्भसँग जोडेर केही विषय सुझाइएका पनि छन् । यतिका मुलुक घुम्दा लेखक स्वयंबाट केही पनि कमजोरी नभएका हुन् कि त्यसलाई  बाहिर ल्याउन नचाहेको हो, सो भने प्रष्ट भएन । भए/गरेका कमजोरी र त्यसबाट सिकिएका पाठ उल्लेख गर्न सकेको भए पाठकलाई अझ थप उपयोगी हुनसक्ने थियो ।

पुस्तकको मूल्य बारकोडले जनाउने हुँदा नराखेको भन्न नसकिएला । तर यसले पुस्तक पसलमा सोध्नैपर्ने बाध्यता सिर्जना गर्ने देखिन्छ । फाइन प्रिन्ट जस्तो प्रकाशन गृहले प्रथम संस्करण के-कति प्रति छपाइ गरियो भनेर उल्लेख नगर्नु चाहिं आफैंमा अचम्मलाग्दो पक्ष लाग्यो ।

(डा. हरिप्रसाद लम्साल, सहसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, काठमाडौं)

commercial commercial commercial commercial