सम्बन्धन नपाउँदा कन्या कलेज सञ्चालनमा ढिलाइ

नेपालगञ्ज उपमहानगरपालिकाले मुस्लिम र मधेशी समुदायका छात्राहरूको उच्च शिक्षामा पहुँच बढाउने उद्देश्यले शुरू गर्न लागेको कन्या कलेजले विश्वविद्यालयबाट सम्बन्धन पाउन नसक्दा सञ्चालनमा ढिलाइ भएको छ । कलेजका लागि सो उपमहानगरपालिकाले स्थानीय मंगलप्रसाद माविको परिसरमा करीब रु.१० करोडको लागतमा ४२ कोठाको भवन निर्माण गरिसकेको छ । साथै कलेज सञ्चालनका लागि वार्षिक रु.५० लाख बजेट दिने सुनिश्चितता पनि उपमहानगरपालिकाले गरेको छ । 

बीएस्सी, बीएड, बीबीए र एलएलबी तहको पढाइ संचालन गर्नका लागि उपमहानगरपालिकाले ६ महीनाअघि मध्य–पश्चिम विश्वविद्यालय सुर्खेतमा आवेदन दिएको थियो । तर सो विश्वविद्यालयले त्यस सम्बन्धमा अहिलेसम्म केही निर्णय गरेको छैन । मध्यपश्चिम विश्वविद्यालयले सम्बन्धन दिन ढिलाइ गरेपछि त्यसका लागि पूर्वाञ्चल विश्वविद्यालयसँग प्रक्रिया शुरू गरेको नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा. धवलशमशेर राणाले बताएका छन् ।

नेपालगञ्जमा मधेशी तथा मुस्लिम समुदायको बाहुल्य छ । त्यहाँ माध्यामिक तहको पठनपाठन हुने दुईवटा कन्या विद्यालय भए पनि कन्या कलेज छैनन् । पछिल्ला वर्षमा मुस्लिम र मधेशी समुदायमा पनि छोरीहरूलाई उच्च शिक्षा दिलाउने चलन बढ्दै गएको छ । ती समुदायका अभिभावकहरू आफ्ना छोरीहरूलाई सकेसम्म कन्या विद्यालय र कन्या कलेजमै पढाउन चाहन्छन् । मुस्लिम समुदायका छोरीहरू स्कूल जाँदा प्रायः ‘स्कार्प’ (टाउको ढाक्ने पछ्यौरा) ओढ्ने गर्छन् भने मधेशी समुदायमा छोरीहरू घुम्टो ओढ्ने गर्छन् ।


 पछिल्ला वर्षमा मुस्लिम र मधेशी समुदायमा पनि छोरीहरूलाई उच्च शिक्षा दिलाउने चलन बढ्दै गएको छ । ती समुदायका अभिभावकहरू आफ्ना छोरीहरूलाई सकेसम्म कन्या विद्यालय र कन्या कलेजमै पढाउन चाहन्छन् ।


१ लाख ६६ हजार २५८ जनसंख्या भएको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा मदरसा सहित ३९ वटा विद्यालयमध्ये कन्या विद्यालय दुई वटा छन् ।

‘आफ्नो विश्वविद्यालयका प्राध्यापक र विद्यार्थी संगठनले १० वटा आंगिक र सम्बन्धन पाएको एउटा कलेज नै व्यवस्थित रूपमा सञ्चालन हुन नसकेको स्थितिमा थप कलेजलाई सम्बन्धन दिन नहुने भन्दै अवरोध गरेका कारण’ आफूले आबद्धता दिन नसकेको जानकारी मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले दिएका छन् । 

नयाँ कन्या विद्यालय

२०७६ सालदेखि नेपालगञ्ज उपमहानगरपालिकाले नै मुस्लिम र मधेशी समुदायका छात्रालाई लक्ष्य गरी नयाँ कन्या विद्यालय शुरू गरेको थियो । सो विद्यालय नेपालगञ्जको सल्यानीबागमा रहेको छ । विद्यार्थी संख्या न्यून र भौतिक संरचना जीर्ण भएर बन्द हुने अवस्थामा पुगेको सल्यानीबागस्थित साविकको आधारभूत विद्यालयलाई करीब रु.९० लाखको लागतमा जीर्णाेद्धार गरेर त्यसमा कन्या विद्यालय संचालन गरिएको हो । सो आधारभूत विद्यालयमा अध्ययनरत छात्रहरू नजिकका पायक पर्ने अन्य विद्यालय (सह–शिक्षालय) मा गएका छन् भने छात्राहरू त्यहीं रहेका छन् । नयाँ कक्षाकोठा, पुरानो भवनको मर्मत–सम्भार, विषयगत शिक्षकको व्यवस्था र विद्यालयको व्यवस्थापनमा सुधार गरिएपछि कन्या विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण र विश्वास बढ्दै गएको छ ।

कन्या मावि, नेपालगञ्ज

यस विद्यालयमा २०७६ सालमा कक्षा–८ शुरू हुँदा मुस्लिम र मधेशी समुदायका २४७ जना छात्रछात्राहरू भर्ना भएका थिए । त्यसपछिका वर्षहरूमा कक्षाहरू थपिंदै गएर अहिले कक्षा १ देखि १० सम्म नै पढाइ भइरहेको छ र जम्मा ५८५ जना छात्रा अध्ययनरत छन् । यो वर्ष सो कन्या माविका १४ जना विद्यार्थीले पहिलोपटक एसईई परीक्षा दिंदैछन् ।

आगामी वर्षदेखि यस माविमा कक्षा–१२ सम्म पठनपाठन सञ्चालन गर्ने तयारी छ । त्यसनिम्ति करीब रु.३ करोडको लागतमा १८ कोठाको तीनतले नयाँ भवन निर्माण गरिएको छ । यो वर्ष यस माविको कक्षा–८ मा ४५ र कक्षा–९ मा २७ जना विद्यार्थी अध्ययनरत छन् । तल्ला कक्षाहरूमा छात्राहरूको चाप धेरै छ । विद्यालयको रेकर्ड अनुसार बाल विकासमा १०५ जना र कक्षा–१ मा ४२ जना विद्यार्थी अध्ययनरत छन् । नेपालगञ्जका विभिन्न सरकारी विद्यालय र बोर्डिङ स्कूल छाडेर कन्या माविमा भर्ना हुने छात्राहरूको संख्या बढ्दै गएको छ । यस विद्यालयमा भर्ना हुने छात्रामध्ये करीब ८० प्रतिशत मुस्लिम समुदायका छन् । 

कन्या विद्यालय शुरू भएपछि पढ्ने चाहना हुँदाहुँदै पढाइ छोडेका, मदरसामा पढ्दै आएका, गरीब तथा विपन्न परिवारका छोरीहरू यस विद्यालयमा भर्ना भएर आफ्नो पढाइलाई निरन्तरता दिन थालेका छन् । अहिलेसम्म ८० जना छात्रा विभिन्न निजी स्कूल छाडेर यस स्कूलमा भर्ना भएका छन् । 

विगतमा कन्या विद्यालय र मदरसा कम हुँदा मुस्लिम छात्राहरू पढ्ने चाहना भएर पनि घर बस्न बाध्य थिए । लामो समयदेखि पढाइ छाडेका तर पढ्ने रहर भएका कैयौं छोरीले कन्या विद्यालयमा भर्ना भएर आफ्नो पढाइलाई निरन्तरता दिइरहेको सो विद्यालयकी परामर्शदाता किरण आचार्यले बताइन् ।

कन्या माविमा हाल १९ जना शिक्षक छन् । यीमध्ये अधिकांश प्रावि र निमावि तहका छन् । मावि तहका एक जना मात्रै शिक्षक छन् । प्रावि तहका शिक्षकले निमावि र निमावि तहकाले मावि तहमा पढाइरहेका छन् । यहाँ विषयगत र दक्ष शिक्षकको अभाव टड्कारो देखिन्छ ।

विद्यालयमा विज्ञान प्रयोगशाला र कम्प्युटर कक्षाको व्यवस्था गरिएको छ । उर्दू भाषा सिक्न चाहने मुस्लिम छात्राहरूलाई अलग शिक्षकको व्यवस्था गरिएको छ । विद्यालयमा ८५ प्रतिशत भन्दा बढी उपस्थित हुने छात्रालाई प्रोत्साहन स्वरुप एक वर्षसम्म मासिक २ लिटर तोरीको तेल दिने गरिएको थियो भने १२ वर्षभन्दा बढी उमेरका १७५ जना छात्राहरूलाई पढाइप्रति प्रोत्साहित गर्न निःशुल्क साइकल वितरण गरिएको छ ।

यस बाहेक नेपालगञ्जमा झण्डै आठ दशकअघि स्थापना भएको सरस्वती कन्या मावि संचालनमा रहेको छ ।

(शिक्षक मासिक र स्टोरी किचनको सहकार्य)

commercial commercial commercial commercial