कखरा : हाम्रो शिक्षाको एक झलक

‘कक्षामा सबैले भन्दा धेरै नम्बर ल्याउनु, परीक्षामा सधैं प्रथम हुनु राम्रो हो’ भन्ने सोचाइ अभिभावकको मात्र होइन शिक्षकमा पनि पाइन्छ । छिमेकीले पनि त्यही अंकमा दाँज्छन् छोराछोरीको पढाइ । किताबमा जे छ त्यही मात्रै पढ्ने । हामी शिक्षकले पनि त्यही मात्रै सोध्ने गर्छौं । विद्यार्थीले पनि जे पढेको छ त्यही मात्रै उत्तर लेख्ने । अर्को शब्दमा भन्दा सुगाले झैं सुनेको कुरा फरर्र भनेपछि पास भइने, राम्रो अंक पाउने । हाम्रो शिक्षाबारे बुझाइ लगभग त्यस्तै छ । यही विकृत बुझाइलाई बुनेर उपन्यास कखरा तयार पारेका छन् लेखकले। उपन्यासकार हरिहर तिमिल्सिना आफैं शिक्षक हुन् । उनका आफ्नै शिक्षण सिकाइ र भोगाइका कथाहरू छन् यसमा । कक्षा आठमा पढ्ने विद्यार्थीको कथा हो कखरा । सफलसँगै पढ्ने साधु, सानु, मोनिका र अन्य पात्रहरू छन् । सफल मुख्य पात्र हो ।

घरै नजिकैको सरकारी स्कूलमा पढ्ने सफलले रटेर राम्रो अंक ल्याउन सक्दैन । नमूना स्कूलको लहर चलेको छ आजभोलि । सफलले पढ्ने स्कूल पनि नमूना स्कूल बनेको छ । स्कूलको रूप फेरिएको छ । बाहिरबाट हेर्दा सबैले स्कूल राम्रो भएको देख्छन् । देख्नको लागि चिटिक्क पारिएको स्कूलमा सिकाइ भने पुरानै छ । शिक्षालाई व्यावहारिक बनाउन न शिक्षकलाई चासो छ न त विद्यालयका हेडमास्टरलाई । अभिभावक जो आफैं थोरै मात्र शिक्षित छन्, उनीहरूले शिक्षालाई कसरी सुधार्ने भन्ने सोच अघि सार्ने कुरै भएन ।

हामी शिक्षकमा पनि ठूलै समस्या छ । सोधेका प्रश्नको जवाफ खरर्र दिन सक्नेलाई जान्ने, जेहेन्दार विद्यार्थीको पगरी गुताइदिन्छौं । आफूले पढाएको विषयमा सबैले धेरै नम्बर ल्याउन् । पढाउँदा दायाँ-बायाँ नगरुन्; सकेसम्म कोर्सभन्दा बाहिरका प्रश्न नसोधिदिउन् भन्ने सोच्छौं । हामीलाई ती बाहिरका प्रश्नको उत्तर खोज्ने मिहिनेत र अध्ययन गर्न कहाँ मन लाग्छ र ?

हाम्रो स्कूले शिक्षाको मिहिन चित्रण छ कखरा  मा। कोर्सभन्दा बाहिरका प्रश्न सोधेकै निहुँमा धेरै पटक हेडमास्टरकहाँ लगिन्छ सफललाई । अहिलेका बालबालिका शिक्षक भन्दा चौगुणा चलाख छन्। विद्यार्थीले हामी शिक्षक अभिभावकभन्दा बढ्तै सूचनाप्रविधिमा दक्खल राख्छन्। उनीहरूको तार्किक क्षमता हाम्रोभन्दा राम्रो हुन सक्छ । तर उनीहरूलाई हामी इँटा बनाउने साँचोमा राखिने माटोको डल्लो जस्तो ठान्दछौं । अनि सबै एकैखालको बनाउन खोज्दछौं । विद्यार्थीको एउटै विषयलाई हेर्ने नजर फरक हुन्छ । तर हामीले त्यस कुरालाई कहिल्यै सम्मान गर्न जानेनौं ।

शान्त, सुनसान कक्षा नै व्यवस्थित कक्षा मानिन्छ । ‘फलानो शिक्षकको कक्षा त कस्तो शान्त’ भन्ने आम मानसिकता व्यापक छ। कक्षामा छलफल, वादविवाद गर्दै सिकाइएको सिकाइलाई अन्तरक्रियात्मक कक्षा राम्रो भयो भन्न सकिएको छैन अझै पनि । हल्ला भएमा शिक्षकले कन्ट्रोल गर्न नसकेको भन्दै शिक्षकलाई नै दोष लगाउन पछि नपर्ने प्रशासन छ । हामी कसैको पनि मानसिकता फेरिएको छैन । अक्षराङ्कन प्रणालीबाट ग्रेडिङ सिस्टममा गएतापनि प्रतिशत र पोजिसनकै पछिलागेका छौं सबै । प्रतिशत र नम्बर मात्र होइन अनुशासनलाई पनि विद्यार्थीको गहनाकै रूपमा हेर्ने प्रवृत्ति छ ।

यी सबै घेरामा बाँधिएर पढ्न मन नपराउने पात्र हो सफल । स्वतन्त्रता मनपर्छ उसलाई । कोर्स बाहिरका किताब बढी पढ्न मन पराउँछ । पढेर पनि परीक्षामा फेल हुन्छ । कोर्सका किताब पढ्न मन नगर्नुले कतै हाम्रो कोर्सका किताब नै रुचिपूर्ण भएनन् कि ? भन्ने प्रश्न उठ्नु स्वाभाविक लाग्छ पाठकलाई । परीक्षामा मौलिक उत्तर लेख्न मन पराउँछ उसले। निर्धारित समयमा लेखिएको उत्तरबाट विद्यार्थीको क्षमता जाँच्नुहुँदैन । यो प्रणाली ठीक छैन भन्ने लागेतापनि यसै माध्यमलाई मापक बनाइएको ज्वलन्त उदाहरण पाउन सकिन्छ कखरा  मा ।

पढाउँदा कक्षामा छलफल गर्दै मनमा लागेका द्विविधा छर्लङ्ग पार्दै पढेमा सिकाइ दीर्घकालीन हुन्छ । कक्षामा नरमाएको बच्चा वन-जङ्गल घुम्न पाउँदा रमाउँछ । चराका गुँड हेर्न रमाइलो लाग्छ । केको रूखमा कुन चराका बचेरा कोरल्दै छन् उसलाई कण्ठै छ । उपन्यासकारले यहाँनेर मानव र चराचुरुङ्गीको आत्मीयता पनि देखाउन खोजेका छन् । यसबाट सिकाइ कक्षाकोठामा मात्र सीमित राखिनुहुँदैन भन्ने लाग्छ ।

सफल पढ्दा पनि त्रैमासिक परीक्षामा फेल भएको हुन्छ । पढाइ भनेको केवल कोर्सका किताब खरर्र पढ्न जान्नु हो । कोर्सभन्दा बाहिरका किताब पढ्नु भनेको ज्ञानको तह अझ फराकिलो पार्नु हो । साहित्यमा प्रखर हुनु हो भन्ने बुझ्न नसक्नु नै प्रमुख कारण हो भनेर बुझाउन खोजेको छ उपन्यासले । सफलले स्कूलमा भेटे जतिका कथा, उपन्यास, कविताका किताब पढिसकेको छ । शायद पढाइले नै होला उसले शिक्षा र सिकाइलाई फराकिलो दृष्टिले हेर्ने क्षमता राख्दछ ।

अभिभावकको भावना एकातिर बालबालिकाको मनोभावना अर्कातिर भएको छ । बाबालाई छोराले पढेन भन्ने लाग्यो । गरीब परिवारको बाबाले पनि राम्रो पढाउनकै लागि छोरालाई पढिरहेको स्कूलबाट छुटाएर घरभन्दा टाढाको शिक्षा शिविरमा हालेको प्रसङ्ग छ । शिक्षा शिविरको शुल्क निकै बढी छ उनीहरूको परिवारको लागि । तर पनि बाबाले छोराको भविष्यको लागि आफू मरिमेटेर भए पनि पढाउन खोजेका छन् । 

छोरालाई राम्रो शिक्षा दिनको लागि भौतारिंदै गरेका अभिभावकका प्रतिनिधि पात्र हुन् सफलका बुवा । हाम्रो समाजका यस्ता थुप्रै अभिभावकको कथा बोकेको छ कखरा  ले ।

नयाँ स्कूलको खाना सफललाई निकै मीठो लाग्यो । निम्नवर्गीय परिवारको केटाको मनोभावना देखाइएको छ । कति खानाका परिकारको नाम सुनेको मात्र थियो सफलले । त्यहाँ खाएर स्वाद लिन पाउँदा उसले आफूलाई उच्च वर्गमा गनिएको अनुभूति गरेको पनि छ । खानाका साथै कोर्स बाहिरका धेरै किताब पढ्ने अवसर पाएर ऊ बाबाप्रति कृतज्ञ भएको देखिन्छ ।

भौतिक रूपमा पहिलेको स्कूल भन्दा राम्रो थियो शिक्षा शिविर । कक्षाभित्र सिकाइका तौरतरिकामा कुनै फरक थिएन त्यहाँ पनि । अरू बेला खासै पढाइमा मतलब नगर्ने । परीक्षा आउन लागेपछि रटेर पढ्न लगाउने हाम्रो बानी देखाउन खोजेका छन् लेखकले । अझ कतिपय स्कूलमा परीक्षा तयारी बिदा नै दिइन्छ । नमूना प्रश्नोत्तर भनेर परीक्षामा दिइएको प्रश्नैलाई उल्टोपाल्टो पारेर अभ्यास गराइन्छ ।

परीक्षा एक दिन मात्र नभएर उनीहरूको कामको सधैं मूल्याङ्कन गर्ने परिपाटी नभएको स्कूलको उदाहरण हो यो । अझ पनि धेरै शिक्षक तथा अभिभावक निरन्तर मूल्याङ्कन प्रणालीको बारेमा अनभिज्ञ नै छन् । जसरी परीक्षाबाट आउने नम्बरमा अभिभावकको आँखा पुग्छ । निरन्तर मूल्याङ्कनको नतिजालाई कसैले मतलब गर्दैनन् । विद्यार्थीको उपलब्धि मापन गर्ने आधार लिखित परीक्षा मात्र होइन । यो बुझेपछि मात्र सिकाइ सुधार गर्न सकिन्छ ।    

उपन्यासकारले कतै हुनै नसक्ने कुरालाई पनि जोडेको देखिन्छ । प्रेमकुमार राईले ‘गड पार्क’ स्थापना गरेको र एकै ठाउँमा सबै धर्मका देवी देवताहरू राखिएको प्रसङ्ग अलि बढी काल्पनिकता भएको हो कि जस्तो लाग्छ । यस्तै मुस्लिम धर्म मान्ने प्रधानाध्यापकले दशैंको टीका लगाएको देखाइएको छ । सफल यसै पनि जिज्ञासु विद्यार्थी हो । उसको जिज्ञासा कहिल्यै अन्त्य हुने छैन । उनीहरूको परिवारमा दशैंको कुनै रौनकता थिएन यो सफललाई पनि थाहा थियो । कसरी केही नबोली टीका थाप्न पुग्यो भन्ने कुरा अस्वाभाविक लाग्दछ ।

शिक्षा शिविरका भित्तामा प्रेम सरका भनाइहरू टाँसिएका थिए । प्रेम सरले शिक्षा परिवर्तन गर्ने प्रेम धुन जपिरहन्थे । उनलाई त्यहाँको शैक्षिक गतिविधि मन नपरेर शिक्षा शिविर छोडेको कुरा सफलले थाहा पायो । उसले पनि यस्तै अभियन्ता खोजिरहेको थियो ।

 उनैको शिक्षारूपी प्रेम वाणीले शिक्षा शिविर छोड्न बाध्य बनायो सफललाई । शिक्षा शिविरबाट भागेर काठमाडौं आएको छ । काठमाडौं जस्तो ठूलो शहरमा कतै रुमलिएको हुन्छ होला ? भन्ने लागे पनि त्यसो हुँदैन । गन्तव्यमा पुगेरै छोड्छ । त्यहाँ कक्षामा सिकेका कुरालाई व्यवहारमा उतारेर देखाउनुपर्ने थियो । सिकाइ कक्षामा मात्र सीमित थिएन । प्रकृतिमा लगेर प्रत्यक्ष हेरेर, छोएर सिक्ने अवसर थियो । सिकाइलाई माटोमा जोडेर सिकाइएको थियो । खेतीपाती, पशुपालन, गाई दुहुनेदेखि लिएर गोबर फाल्नेसम्मका काम गर्नैपर्ने थियो । सिकाइलाई व्यवहारसँग जोडेर सिकाइएको उसलाई साह्रै मन पर्‍यो ।

कखरा उपन्यास पढ्दा कता कता अमर न्यौपानेको करोडौं कस्तूरीको शुरू भागसँग मिल्दोजुल्दो लाग्दछ । यसमा हरिवंश नाम गरेको मुख्य पात्र छ । उसले पनि पढ्न मन गर्दैनथ्यो । जङ्गल घुमेर हिंड्ने बानी थियो । आफ्नो रुचि अनुसारको काम गर्दा बाबु तथा शिक्षकबाट गाली खानु परेका कुराहरू मिल्दाजुल्दा देखिन्छन् ।

सफललाई प्रेम शिविरमा पुगेको देखाएका छन् उपन्यासकारले । युवा वर्गको लागि राम्रो सन्देश हो यो । एक्लै आफ्नो गन्तव्य पत्ता लगाउने काम सजिलो थिएन । कैयौं हन्डरलाई छिचोलेर त्यहाँ पुगेको देखाउनु कथाको सकारात्मक सन्देश हो । राम्रो काम गर्नको लागि पछि हटेन सफल । योजना सफल पारेरै छोडेको छ । यस अर्थमा उसको नाम सफल राखिएको जायज लाग्दछ ।

शिक्षालाई जीवन-जगतसँग जोड्न नसकिएकै कारण हाम्रो पढाइ पढाइमै सीमित रहेको छ । प्रमाणपत्र थन्क्याएर खाडी मुलुकको ४५ डिग्री तापक्रममा काम गरेर हातमुख जोर्न बाध्य भएको तीतो यथार्थ छ । हाम्रो देशको शिक्षा प्रणाली परिवर्तन गर्न चाहेमा सरोकारवाला तथा शिक्षकको साझा सहयोगले सम्भव छ भन्ने सन्देश पनि दिन खोजिएको छ ।

(नेपाली भाषा शिक्षक, युलेन्स स्कूल, ललितपुर)

 

commercial commercial commercial commercial