नेपालमा कन्या शिक्षाः आरोह-अवरोहका ९८ वर्ष

२००७ सालको परिवर्तनपछि मात्र सर्वसाधारणका छोराछोरीले खुला रूपमा पढ्ने मौका पाएका हुन् । त्यसअघि राणा परिवारका सदस्यहरूलाई मात्र पढाउन दरबार हाईस्कूल खोलिएको थियो । त्यस्तो अवस्थामा महिलालाई पढाउनुपर्छ भन्ने चेतना नेपाली समाजमा हुने कुरै भएन । चन्द्रशमशेरका पालामा यदाकदा सार्वजनिक स्कूल खुल्न थालेका हुन् । तर त्यस्ता स्कूलहरू पनि एकाध बाहेक सबै केटाहरूकै लागि थिए । समय बित्दै जाँदा छोरीलाई पनि पढाउनुपर्छ भन्ने आवश्यकताको क्रमशः महसूस हुँदै गयो । तर उनीहरूलाई केटा पढेको स्कूलमा नभई छुट्टैमा पढाउनुपर्ने अभिभावकको चाहना थियो । त्यही चाहना अनुसार कन्या स्कूल खुल्न थालेका थिए ।

चन्द्रशमशेर प्रधानमन्त्री रहेकै बेला २२ असार १९८० मा चार श्रेणीसम्म पढाउन दुई जना पण्डित र एक जना टहलुवा दरबन्दी कायम गरी काठमाडौंको ढोकाटोलमा एउटा कन्या पाठशाला खुलेको इतिहास भेटिन्छ । त्यसपछि काठमाडौं, पाटन र भादगाउँमा पनि एक–एक जना शिक्षिकाको दरबन्दी सहित कन्या पाठशाला स्थापना गरिए । त्यसबेला किताबका विषय भन्दा पनि छात्राहरूलाई खासगरी बुनाई, कताई आदि सिकाउने गरिएको र ललितपुर कन्या पाठशालामा शिल्प सिकाउने शिक्षिका चुनु श्रेष्टिनी र भक्तपुर कन्या पाठशालामा शिल्प विद्या सिकाउने ललिताकुमारीको नाम गोपीनाथ शर्माको नेपालको शैक्षिक इतिहास किताबमा उल्लेख छ ।

जुद्धशमशेरका पालामा वि.सं. १९९० मा एसएलसी परीक्षा बोर्ड गठन गरियो । पहिलो वर्ष दरबार हाईस्कूलबाट ३४ जनाले परीक्षा फारम भरेकोमा एक्ली छात्रा सुवर्णकुमारी देवी परीक्षामा सहभागी नभएको परीक्षा नियन्त्रण कार्यालयको रेकर्डमा उल्लेख छ । पछि २००२ सालमा जनरल ब्रह्मशमशेरकी छोरी लेखराज्यलक्ष्मीले पहिलो श्रेणीमा एसएलसी पास गरेकी थिइन् । नेपालको एसएलसीमा जाँच दिने सर्वप्रथम एउटी महिलाको नाम प्रथम श्रेणीमा देख्दा खुशी लागेको भनी गोरखापत्रमा २००३ साल वैशाख १८ गते सम्पादकीय छापिएको थियो ।

त्यसपछिका दिनमा व्यक्तिगत पहलमा कन्या स्कूल स्थापनाको लहर चल्न थाल्यो । त्यसैक्रममा काठमाडौंको न्यौखामा १४ चैत २००३ मा कन्यामन्दिर स्कूल स्थापना गरियो । उक्त स्कूलको नामकरण लक्ष्मीप्रसाद देवकोटाले गरेका थिए । राणाशासनको अन्त्यतिर मोहनशमशेरको पहलमा मोहन कन्या मिडिल स्कूल स्थापना गरियो । १६ भदौ २००७ मा स्कूल उद्घाटन कार्यक्रममा स्थानीय एक जना महिलाले पढाइमा नारीलाई हौसला दिन प्रत्येक वर्ष रु.१० पुरस्कार दिने कुरा सुनाएकी थिइन् ।

सर्वसाधारणका तर्फबाट कन्या पाठशाला स्थापनाका लागि चासो देखाउनेमा चन्द्रकान्ता मल्लको नाम अगाडि आउँछ । उनले १९८० सालमा काठमाडौंमा अनौपचारिक पाठशाला स्थापना गरी कन्यालाई अक्षर चिनाउनेदेखि इलमसम्मका कुरा सिकाएकी थिइन् । त्यसैक्रममा जावलाखेलमा मानशमशेरसँग चन्द्रकान्ताले पिछडिएका, निसहाय, विद्या र इलम नभएका महिलालाई शिक्षा दिन सके आफ्नै खुट्टामा उभिन सक्ने थिए भनेर बिन्ती बिसाएकी थिइन् । बिन्तीपत्र लेखेर ल्याउनु, म जाहेर गरी दिउँला भनेपछि मोहनशमशेरमार्फत जुद्धशमशेरसमक्ष बिन्तीपत्र पेश गरियो । त्यसपछि १९९० साल वैशाखमा कन्या पाठशालाले अनुमति पाएको हो । हनुमानढोका दरबारको उत्तरी लङको मखनटोलमा खुलेको सो पाठशालामा भेडासिंका जोशी परिवारका छोरीहरू भर्ना भएका थिए । चन्द्रकान्ताकी फुपूकी नातिनी रामप्यारी र मणिकलालकी छोरी लक्ष्मी पनि सोही स्कूलमा भर्ना भएका थिए ।

सहशिक्षाः हट्यो लैंगिक विभेद

छात्रालाई पनि पढाउनुपर्छ भन्ने चेतना राणाशासनको अन्त्यपछि बल्ल आएको हो । तर पनि छात्र र छात्रालाई अलग्गै राखेर पढाउनुपर्छ भन्ने परम्परावादी सोच कायमै थियो । राणाकाल र पंचायतकालमा खुलेका अधिकांश छात्रा स्कूल पछिल्लो समय सहशिक्षामा बदलिएका छन् । सहशिक्षामा गएपछि ती स्कूलले फड्को मारेका छन् । वि.सं. २००७ मा काठमाडौंको प्याफलमा कन्या शिक्षाकै लागि कान्ति ईश्वरी राज्यलक्ष्मी मावि स्थापना भएको थियो । राजा त्रिभुवनकी पत्नीको नाममा खुलेको यो स्कूलमा २०७० सालपछि छात्रले भर्ना पाएका हुन् । २०११ सालमा खुलेको ललितपुरको पुल्चोकस्थित मदन मेमोरियल गल्र्स हाईस्कूल कन्या शिक्षाको प्रवद्र्धनकै लागि थियो । २०२८ सालमा नयाँ शिक्षा लागू भएसँगै स्कूलको नाम मदन स्मारक मावि राखियो । छात्राकै लागि खोलिएको यो स्कूलमा विद्यार्थी कम भएपछि २०६५ सालदेखि छात्रका लागि पनि खुला गरियो । काठमाडौंको यट्खामा रहेको कन्या माविमा २०३० सालदेखि छात्रले पनि पढ्न पाए तर स्कूलको नाम भने फेरिएको छैन ।

भक्तपुरको टेखापुखुमा शान्तिभक्त विद्यालय छात्रालाई पढाउनकै लागि विष्णुभक्त भुजु लगायतको पहलमा २००४ सालमा खुलेको थियो । आठ वर्षपछि कन्या प्राइमरी, २०२७ सालमा कन्या मिडिल स्कूल हुँदै २०३१ सालमा कन्या मावि बन्यो । २०६० सालमा विद्यार्थी संख्या घटेर ८० भयो । विद्यार्थी संख्या घटेकाले मात्र होइन पढाइमा लैंगिक विभेद गर्नुहुँदैन भनेर यो स्कूल कन्या सहशिक्षा मावि बन्यो । २०६४ सालदेखि यहाँ छात्र पनि पढ्छन् । कन्या माविलाई २०७१ सालमा मेधा विद्यालय बनाइएको प्रअ गंगा हाडाले जानकारी दिए । छात्रहरूलाई कन्या स्कूलमा आउन असहज लागेपछि अभिभावककै सल्लाहमा सहशिक्षा बनाइएको हो । हिजोका दिनमा केटीहरू सबैका अगाडि आफ्ना कुरा भन्न अप्ठेरो मान्थे । हाडाको अनुभवले भन्छ, सहशिक्षामा पढेपछि छात्राहरू निर्धक्कसँग कुरा राख्न सक्ने भएका छन् । सहशिक्षाले छात्रछात्रामा संकोच हटेसँगै आपसमा नजिकबाट बुझ्ने मौका मिलेको छ ।

जात, धर्म, क्षेत्र, लिङ्ग आदि सबैलाई समेट्ने उद्देश्यले खुलेको बूढानीलकण्ठ स्कूलले छात्र मात्र पढाएर यो उद्देश्य पूरा गर्न नसकिने भएपछि सहशिक्षाको ढोका खोलेको बताउँछन् प्राचार्य होमनाथ आचार्य । पूर्व राजपरिवारका सदस्य दीपेन्द्र र निराजनले यही स्कूलमा पढे पनि सहशिक्षा नहुँदा श्रुतिले पढ्न पाइनन् । पूर्णतः आवासीय यो स्कूलमा छात्राहरूलाई पढाउन अभिभावक तयार थिएनन् । तर पछिल्लो समय छात्र र छात्रालाई स्कूलमा सँगै पढाउन मात्र होइन आवासगृहमा राख्न पनि अभिभावकहरू तयार भएपछि बूढानीलकण्ठमा वि.सं. २०४७ देखि सहशिक्षाको ढोका खुलेको हो । प्राचार्य होमनाथ आचार्यको भनाइमा छात्रहरू स्कूल बाहिर छात्र देख्ने बित्तिकै लजाउने गर्दथे । जबकि सहशिक्षामा पढेका छात्रछात्राले परियोजनाका काम मिलेर गरेको पाइएको अभिभावकले पनि महसूस गर्न थाले । त्यसपछि छात्र र छात्रालाई एकैठाउँमा पढाउनुपर्छ भन्ने मान्यतासँगै बूढानीलकण्ठले सहशिक्षा शुरू गरेको हो । सहशिक्षाको पहिलो वर्ष १४ जना छात्रा भर्ना भएका थिए । तर पछिल्लो समय छात्रा संख्या बढेको छ । बूढानीलकण्ठका एक हजार १५० विद्यार्थीमध्ये ४२ प्रतिशत छात्रा छन् । सहशिक्षामा लैजानुको अर्को कारण लैंगिक भेदभाव हटाउनु हो भन्छन् आचार्य । उनको बुझाइमा छात्र र छात्रा एउटै स्कूलमा पढाउँदा लैंगिक भेदभाव हटेको र यसले सामाजिक रूपान्तरणमा उल्लेख्य काम गरेको छ ।

ललितपुरको जावलाखेलमा रहेको सेन्टजेभियर्स स्कूलमा पनि शुरूमा छात्राले पढ्न पाउँदैनथे । २०११ सालमा स्थापना भएको स्कूलमा २३ वर्षदेखि छात्रछात्राहरू सँगै पढ्छन् ।

राणा प्रधानमन्त्री पद्मशमशेरको पहलमा काठमाडौंको रामशाह पथस्थित पद्मोदय हाईस्कूलको स्थापना वि.सं. २००३ फागुन २९ गते भएको हो । राणाशासनको उत्तराद्र्धमा खुलेको यो स्कूलमा पनि शुरूमा छात्राहरू पढ्न पाउँदैनथे । वि.सं. २०४५ देखि बल्ल छात्राले भर्ना पाएका हुन् ।

त्रिभुवन विश्वविद्यालय लैंगिक अध्ययन केन्द्रीय विभागका प्रमुख डा. जया प्रधान विद्यार्थीबीच प्रतिस्पर्धा बढाउन सहशिक्षा आवश्यक ठान्छिन् । पछिल्लो समय भर्नाको कुरा आउनासाथ विद्यार्थीले सहशिक्षा हो कि होइन भनेर पहिलो सरोकार राख्ने गरेको बताउँदै प्रधान भन्छिन्, यसो हुँदा स्कूलमा विद्यार्थी संख्या बढेको छ । तर संख्या बढ्नु नै ठूलो कुरा नभएको बताउने डा. प्रधान कुनै पनि शैक्षिक संस्थाको प्रमुख सवाल गुणस्तरीय शिक्षा नै भएको बताउँछिन् । सहशिक्षाले लैंगिक विभेद हटाउनमा मद्दत गरेको उनी बताउँछिन् ।


आदर्श बालिकाले जुरायो गिरिजाप्रसादको प्रेमविवाह

महिलाहरूलाई समाजका हरेक क्षेत्रमा अगाडि बढाउने उद्देश्यले सुशीला कोइराला (बीपीकी पत्नी) को अग्रसरतामा विराटनगरमा साना नानीहरूलाई तालिम र शिक्षा दिन भनेर एउटा क्लब शुरू गरिएको थियो । विराटनगरमै कृष्णप्रसाद कोइराला (बीपीका पिता) ले १९८६ सालमा आदर्श स्कूल स्थापना गरेका थिए । यो नै विराटनगरको पहिलो स्कूल हो । सुशीलाले क्लबका नानीहरूलाई सोही स्कूलको एउटा कोठामा राखेर पढाउने व्यवस्था मिलाएकी थिइन् ।

नारी शिक्षामा सुशीलाको विशेष चासो थियो । यसै क्रममा २००८ सालमा सुशीलाको पहलमा शहीद मैदानमा बालकृष्ण समको ‘म’ नाटक प्रदर्शन गरियो । महिलाले प्रदर्शन गरेको पहिलो नाटकको नायिका सुशीला स्वयं थिइन् भने नायक शैलजा आचार्यकी आमा । नाटक हेर्न टिकटको व्यवस्था थियो । नाटक प्रदर्शनको उद्देश्य नै टिकट बिक्रीबाट आएको पैसाबाट स्कूल चलाउनु थियो । नभन्दै सोही वर्ष बालिका स्कूल खुल्यो । कांग्रेस नेतृ शैलजाले त्यही स्कूलमा पढेकी हुन् ।

त्यतिबेला बालिका स्कूलमा सुष्मा हेडमास्टर थिइन् । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइराला त्यही स्कूलमा काम गर्थे । विराटनगरका नागरिक अगुवा दधिराम सुवेदीका अनुसार गिरिजाप्रसादले सुष्मालाई अति नै मन पराएर प्रेमविवाह भएको थियो ।


पद्मकन्या विद्याश्रम, डिल्लीबजार काठमाडौं

७०–८० वर्ष पहिले महिलाकै लागि भनी खोलिएका विद्यालयमध्ये अधिकांश यताका दिनमा सहशिक्षामा परिणत भइसकेका छन् । आफ्नो इतिहास र अस्तित्व जोगाउँदै नारी शिक्षामा योगदान दिंदै आएका थोरैमध्येको एउटा हो, डिल्लीबजारमा अवस्थित पद्मकन्या विद्याश्रम मावि ।

तत्कालीन शिक्षा विभागले ८ जेठ २००४ मा सार्वजनिक सूचना जारी गरी काठमाडौंमा निःशुल्क कन्या (गल्र्स) विद्यालय चाँडै खुल्ने जनाउ दिएको थियो । विभागले सो विद्यालयमा भर्ना हुन चाहने विद्यार्थीका संरक्षकले इन्स्पेक्टर अफ स्कूलको कार्यालय सरस्वती सदन (त्रिचन्द्र कलेज परिसर) मा सात दिनभित्र दरखास्त दिन भनेको थियो । काठमाडौंका महिलाका लागि पाठशाला खुलेको सुनेपछि सुश्री भद्राकुमारी घले काठमाडौं आएकी थिइन् । सिन्धुली जिल्लाको त्रिभुवन अम्बोटेबाट पाँचजना भरियालाई सामल, खाजा बोकाएर घलेलाई काठमाडौं आइपुग्न सात दिन लागेको थियो ।

समाज विकासका लागि नारी शिक्षित अनिवार्य भन्दै राणा प्रधानमन्त्री श्री ३ पद्मशमशेरले २००४ सालमा श्रीपञ्चमीका दिन पद्मकन्या विद्याश्रमको उद्घाटन गरे । शुरूका दिनमा सो विद्यालय रानीपोखरीस्थित दरबार हाईस्कूलको माथिल्लो तलामा संचालन गरिएको पद्मकन्याको दस्तावेजमा उल्लेख छ । त्यतिबेला बिहान ६ देखि ९ बजेसम्म पढाइ हुन्थ्यो । त्यहाँ दिउँसो केटाहरू मात्र पढ्न आउँथे । शुरूमा यो स्कूलमा ३०० छात्रा भर्ना भएका थिए । कन्या स्कूलको हेडमास्टर महिला नै हुनुपर्छ भनेर म्याट्रिक पास गरेकी बानी हजारालाई प्रअ बनाइएको थियो । हजारा पद्मकन्याको पहिलो प्रअ हुन् । उनका श्रीमान् डा. हजारा वीर अस्पतालका प्याथोलोजिष्ट थिए ।

२००५ सालमा पद्मकन्या स्कूल पद्मशमशेरका छोरा बसन्त शमशेरको दरबार डिल्लीबजारमा सारियो । बसन्त शमशेरले दरबारसहित १३ रोपनी जग्गा विद्यालयका नाममा दान दिएको विद्यालयको दस्तावेजमा उल्लेख छ । पद्मकन्या विद्याश्रमबाट वि.सं. २००५ को प्रवेशिका परीक्षामा ४ जनाले फारम भरेकोमा दुईजना पास भएका थिए । त्यतिबेला १२ वर्ष उमेरका विद्यार्थीले पनि प्रवेशिका परीक्षा दिन पाउने चलन थियो ।

पद्मकन्या विद्याश्रम खुल्नुअघि महिलाले अंग्रेजी शिक्षा पढ्न चाहेर पनि उपलब्ध थिएन । पद्मकन्या विद्याश्रमसँगै नेपालका महिलाका लागि अंग्रेजी शिक्षाको ढोका खुलेको हो । शुरूका वर्षमा अंग्रेजी इच्छाधीन विषयका रूपमा थियो । र गार्हस्थ्य शास्त्र तथा इलमका विषयहरू अनिवार्य थिए । त्यतिबेला नारी शिक्षाको प्रमुख बाधक भनेकै नारी शिक्षिकाको अभाव थियो । पद्मकन्या स्कूलमा समेत त्रिचन्द्र कलेजका प्राध्यापकलाई बोलाएर पढाउन लगाइन्थ्यो । साहित्यकार पारिजातले १७ वर्षको उमेरमा वि.सं. २०११ मा पद्मकन्या विद्यालयबाट एसएलसी पास गरेकी थिइन् । कन्या शिक्षाप्रति धेरै पछिसम्म पनि ठूलो आकर्षण थियो । २०४९ सालमा पद्मकन्यामा पढ्ने छात्राको संख्या १६०० थियो ।

मोहनकन्या मावि सिलखान टोल, पाल्पा

पाल्पामा २००७ साल भदौ १६ गते मोहनकन्या मावि स्थापना भएको हो । राणा प्रधानमन्त्री मोहनशमशेरको नामबाट खुलेको यो स्कूलमा शुरूका दिनमा छिमेकी जिल्ला स्याङ्जा, गुल्मी, पाल्पा, कास्की र तनहुँबाट समेत २० छात्राहरू छनोट गरी ल्याएर पढाउने गरिन्थ्यो । बाहिरी जिल्लाबाट आएर बस्ने छात्राहरूको पढाइमा सहज होस् भनेर सरकारले मासिक वृत्ति पनि दिन्थ्यो । अहिले यो स्कूलमा ३१५ जना छात्रा छन् । शिक्षकहरूमा पनि ७० प्रतिशत जति महिला नै छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झपेन्द्र गैह्रेका अनुसार उमेरका कारण पुराना शिक्षक अवकाश भएपछि नयाँ शिक्षक नियुक्ति गर्दा महिलालाई प्राथमिकता दिइएको छ ।

मोहन कन्या स्कूलको नाममा अहिले पनि प्रशस्त जग्गा–जमीन छ । यो स्कूल हातामा पाल्पा अस्पतालका दुई वटा भवन छन् । अस्पताललाई ७ रोपनी जग्गा दिएर त्यस बापत स्कूल हाताका दुईवटा भवन विद्यालयलाई दिने सर्वदलीय सहमति भएको अध्यक्ष गैह्रेले जानकारी दिए । उनका अनुसार यस सम्बन्धी आवश्यक कागजपत्र शिक्षा मन्त्रालयमा पेश गरिसकिएको छ ।

सरस्वती मावि, नेपालगञ्ज, बाँके

१९९८ सालमा स्थापना भएको श्री सरस्वती मावि नेपालगञ्ज क्षेत्रकै पुरानो विद्यालय हो । यस क्षेत्रका बालिकाहरूलाई उच्च शिक्षा प्रदान गरी आधुनिक समाजमा महिलाको भूमिका बढाउने उद्देश्यले स्कूल स्थापना गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका १० सदरलाइनमा रहेको यो स्कूलमा शुरूमा प्रावि तहसम्मको मात्र पढाइ हुन्थ्यो । २०१६ सालदेखि मावि तह शुरू भएको हो । २८ वर्षदेखि पढाउँदै आएका सुरेश परसौला २०६५ देखि प्रअ छन् । परसौलाका अनुसार अहिले स्कूलमा ७८६ जना बालिका छन् ।

सुन्दरमल रामकुमार कन्या मावि, वीरगञ्ज पर्सा

वीरगञ्ज महानगरपालिका वडा नं ४ बिर्तामा रहेको सुन्दरमल रामकुमार कन्या माविको स्थापना २०१० सालमा भएको हो । नारीहरूलाई शिक्षामा अगाडि बढाउनका लागि छुट्टै विद्यालय खोल्नुपर्छ भनेर स्थानीय दुर्गा श्रेष्ठको पहलमा स्थापना गरिएको हो । छोरीलाई बाहिर पढाउनुहुँदैन भन्ने सोचाइ भएको तराईमा कन्या स्कूल खोलेर तान्न सकिन्छ भन्ने सोचका साथ विद्यालय स्थापना गरिएको प्रअ अनिता साहले बताइन् ।

राजस्थानबाट आएका गणेशदास मारवाडीका छोरा सुन्दरमल तथा रामकुमारले भवन बनाएपछि उनीहरूकै स्मरणमा विद्यालयको नामकरण गरिएको हो । केही वर्षअघिसम्म कक्षा ५ सम्म छात्रहरूलाई भर्ना गर्ने गरिएको भए पनि अहिले छात्रा मात्र पढ्छन् । प्रअ साहका अनुसार यहाँ ८०० छात्रा पढिरहेका छन् । कन्या मात्र पढ्ने व्यवस्थाका कारण विशेषगरी मुस्लिम समुदायका छात्राहरू लाभान्वित भएको उनले जानकारी दिइन् । 

स्कूलको पठनपाठनदेखि व्यवस्थापनसम्मका सबै क्षेत्रमा महिला नै छन् । महानगरपालिकाको पहलमा २०७८ असारदेखि यस्तो व्यवस्था गरिएको हो । महिलालाई जिम्मेवार बनाउने महानगरपालिकाको यो निर्णयले हौसलासँगै आफूहरूमा जिम्मेवारी थपिएको बताउने प्रअ साह भन्छिन्, हामी यी चुनौती पार लगाएरै छाड्छौं ।

प्रअ अनिता साह कक्षामा कन्या मात्र भएपछि उनीहरूले खुलेर आफ्ना कुरा निर्धक्क गरी राख्न सकेको बताउँछिन् । सामाजिक मूल्य, मान्यताका कारण छोरीलाई घर बाहिर जान बन्देज लगाउने मुस्लिम समुदायका सदस्यहरूले ढुक्क भएर स्कूलमा पठाउने गरेको उनको भनाइ छ ।


१०० वर्षअघिको नेपाली समाजमा छोरीहरू स्कूल जानु कल्पना बाहिरको विषय थियो । तर सामाजिक चेतनाको विश्वव्यापी लहरसँगै नेपालमा पनि छोरीलाई पढाउनुपर्छ भन्ने भावना जागृत हुन थाल्यो र त्यसकै प्रभावस्वरुप राणा प्रधानमन्त्री पद्मशमशेरको पालामा पद्मकन्या विद्याश्रम नामक छात्रा मात्र पढ्ने विद्यालय खुल्यो ।

शारदा नमूना मावि, धरान

सुनसरी जिल्लाको धरान उपमहानगरपालिका १६ जनपथ मार्गमा छ, शारदा नमूना मावि । २००५ सालमा स्थापना भएको यो स्कूल धरानकै दोस्रो पुरानो हो । यसअघि २००३ सालमा धरान पब्लिक स्कूल खुलेको थियो । धरान पब्लिक स्कूलको ढोका छात्राका लागि तीन दशकसम्म बन्द रह्यो । २०३३ सालपछि मात्रै यो स्कूलमा सहशिक्षा शुरू भएको हो ।

धरान पब्लिक स्कूल खुलेको दुई वर्षपछि शारदा नमूना मावि स्थापना भएको हो । पूर्वाञ्चलका तत्कालीन बडाहाकिम शारदाशमशेर जबराको नाममा २००५ सालमा यो स्कूल स्थापना गरिएको हो । छात्राहरूलाई पढाउन छुट्टै स्कूलको आवश्यकता महसूस भएको कुरा बडाहाकिमको कानमा पुगेपछि उनकै आदेशमा शारदा स्कूल खुलेको हो । स्थापनाताका यो स्कूल छाता चोकमा रहेको विद्यालयका प्रअ इन्द्र राईले जानकारी दिए । राई दुई वर्षदेखि यहाँका प्रअ छन् । प्रअ राईको भनाइमा पाँच जना विद्यार्थीबाट शुरू भएको यो स्कूलमा अहिले ५०० विद्यार्थी छन् ।

श्री कन्या मावि यट्खा, काठमाडौं

चन्द्रशमशेरका पालामा काठमाडौंको बसन्तपुरमा वि.सं. १९८० मा श्री कन्या मावि यट्खा स्कूल स्थापना भएको हो । कन्या शिक्षालाई अगाडि बढाउनका लागि स्थापना गरिएको स्कूल पछिल्लो समय बेवारिसे अवस्थामा पुगेको छ । सम्पदा क्षेत्र रहेको बसन्तपुरबाट अन्यत्र सार्ने नाममा अहिले स्कूलको अस्तित्व नै समाप्त भएको छ । सो ठाउँमा स्कूल बन्द भएपछि कार्यरत शिक्षकहरूलाई नजिकैका विभिन्न स्कूलमा काज सरुवा गरिएको छ । २५० जना छात्राहरू पढिरहेकोमा २०७७ साउनदेखि तितरबितर भएका छन् । उपयुक्त स्थान पाएपछि पुनः कन्या स्कूलकै रूपमा संचालन गर्ने काठमाडौं महानगरपालिकाको योजना रहेको महानगर शिक्षा शाखाका रामप्रसाद सुवेदीले जानकारी दिए । काज सरुवा भएर कुलेश्वर माविमा पढाउँदै आएका अंग्रेजी शिक्षक भानुभक्त स्कूल संचालनमा आएपछि पुनः काज फिर्ता गर्ने भनेर आफूहरूलाई जानकारी गराइएको बताउँछन् ।

कन्या मन्दिर मावि न्यौखा, काठमाडौं

कन्या मन्दिर मावि न्यौखाको स्थापना २००३ सालमा भएको हो । स्थापनाको ७५ वर्ष पूरा गरेको यो स्कूलले हालै हिरक जयन्ती मनाएको छ । प्रअ घनश्याम न्यौपानेका अनुसार समुदायस्तरबाट संचालित यो पहिलो स्कूल हो । २८ रोपनी क्षेत्रफलमा फैलिएको यो स्कूलका ४२ जना शिक्षक, कर्मचारीमध्ये २४ जना महिला नै छन् ।

कन्या स्कूलप्रतिको आकर्षण यति बढेको थियो कि २०५० सालमा २५०० विद्यार्थी नाघेका थिए । तर अहिले कक्षा १ देखि १२ सम्म ८५० विद्यार्थी छन् । प्रारम्भिक बाल विकास केन्द्रमा केटाकेटी दुवै राखेर पढाउने गरिएको भए पनि कक्षा १ देखि केटा भर्ना गरिंदैन ।

केटी मात्र कक्षामा हुँदा वातावरण शान्त हुने हुँदा स्कूलमा द्वन्द्वको अवस्था नभएको प्रअ न्यौपानेको अनुभव छ । कन्या स्कूलका धेरै राम्रा पक्ष भए पनि केही कमजोरी छन् । सहशिक्षा लिन पाउने बालबालिकाको अधिकार हनन भएको बताउने प्रअ न्यौपाने समानताको हकमाथि विभेद भएको बताउँछन्। अर्कातिर कक्षाकोठाबाट बाहिर निस्कँदा  केटीहरूमा पिंजडाबाट छुटेको चरा जस्तो कतिपय अवस्थामा अराजक हुने पनि देखिएको उनको बुझाइ छ ।

(शिक्षक मासिक र स्टोरी किचनको सहकार्य)

 

commercial commercial commercial commercial