शिक्षण पेशामा महिलाको विश्वव्यापी अवस्था

विश्वमा, विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षण पेशामा पुरुषको तुलनामा महिलाको संख्या धेरै छ र त्यो संख्या दु्रत गतिमा बढ्दै गएको छ । तर नेपालमा विद्यालय र विश्वविद्यालय तहमा महिला शिक्षकको सहभागिता कमजोर छ । यस सन्दर्भमा हामीकहाँ शिक्षण पेशामा महिला सहभागिताको सवालमा गहन नीतिगत विमर्श जरूरी देखिएको छ ।

बढ्दो संख्या

शिक्षा तथा मानव स्रोत विकास केन्द्र (साविकको शिक्षा विभाग) को २०७७ को तथ्याङ्क अनुसार नेपालका निजी, सामुदायिकलगायत सबै प्रकारका आधारभूत विद्यालयमा महिला शिक्षक ४४.२ प्रतिशत र पुरुष शिक्षक ५५.८ प्रतिशत छन् । त्यस्तै माध्यमिक तहमा महिला शिक्षक २०.८ प्रतिशत र पुरुष शिक्षक ७९.२ प्रतिशत छन् । विद्यालय शिक्षाको सबै तहमा महिला शिक्षकको संख्या पुरुष शिक्षकको तुलनामा ११.६ प्रतिशतले कम छ । अझ आधारभूत तहको तुलनामा माध्यमिक तहमा महिला शिक्षकको संख्या ज्यादै कम (५८.४ प्रतिशत) छ । यो तथ्याङ्कले नेपालका सार्वजनिक विद्यालयमा महिला शिक्षकको संख्या निकै न्यून देखाउँछ । नेपालका निजी र सामुदायिक विद्यालयको बीच तुलना गर्दा सामुदायिक विद्यालयको आधारभूत तहमा महिला शिक्षक ४०.३ प्रतिशत छन् भने पुरुष शिक्षक ५९.७ प्रतिशत । त्यस्तै, निजी विद्यालयको सोही तहमा महिला शिक्षकको हिस्सा ५४.७ प्रतिशत छ भने पुरुष शिक्षकको ४५.३ प्रतिशत छ । सामुदायिक विद्यालयको माध्यमिक तहमा महिलाको हिस्सा १९.० प्रतिशत मात्र छ भने पुरुष शिक्षकको ८१ प्रतिशत छ । त्यस्तै निजी विद्यालयतर्फ माध्यमिक तहमा महिला शिक्षक प्रतिशत २४.२ छ भने पुरुष प्रतिशत ७५.८ छ ।

समग्रमा नेपालका सार्वजनिक विद्यालयका सबै तहमा महिला शिक्षकको संख्या पुरुषको तुलनामा न्यून छ। निजी विद्यालयतर्फ आधारभूत तहमा महिला शिक्षकको संख्या पुरुषको तुलनामा ९.४ प्रतिशतले बढी छ भने निजी विद्यालयको माध्यमिक तहमा भने पुरुष शिक्षकको तुलनामा महिला शिक्षक ५१.६ प्रतिशतले कम छन् ।

तर छिमेक भारतलगायत विश्वका अन्य देशको अवस्था नेपालको भन्दा विल्कुल फरक छ । ५ जुलाई, २०२१ मा टाइम्स अफ इन्डिया मा प्रकाशित समाचार अनुसार भारतमा महिला शिक्षकको संख्याले पुरुष शिक्षकको संख्यालाई उछिनेको छ । भारतका कुल ९६ लाख ८० हजार शिक्षकमध्ये ४९ लाख २० हजार महिला शिक्षक छन् । तर त्यहाँ पनि ६–७ वर्षअघि महिला शिक्षकको संख्या पुरुष शिक्षकको तुलनामा धेरै कम थियो । सन् २०१२/१३ मा भारतमा पुरुष शिक्षक ४२ लाख ४० हजार थिए भने महिला शिक्षक ३५ लाख ८० हजार मात्र थिए । यो तथ्याङ्क अनुसार सात वर्षको अन्तरालमा भारतमा ३७ प्रतिशतले महिला शिक्षकमा वृद्धि भएको देखिन्छ । यसैगरी माल्दिभ्स र श्रीलंकामा पनि महिला शिक्षकको संख्या ज्यादा छ । भारतको केरलालगायत दक्षिणी राज्यमा महिला शिक्षकको संख्या अन्य प्रदेशभन्दा ज्यादा छ । दक्षिण एशियाली मुलुकहरूमध्ये नेपाल, अफगानिस्तान, पाकिस्तान र भारतका उत्तरी राज्यहरूमा महिला शिक्षकको संख्या पुरुष शिक्षकको दाँजोमा न्यून छ ।


२०७७ को तथ्याङ्क अनुसार नेपालका निजी, सामुदायिकलगायत सबै प्रकारका आधारभूत विद्यालयमा महिला शिक्षक ४४.२ प्रतिशत र पुरुष शिक्षक ५५.८ प्रतिशत छन् । त्यस्तै माध्यमिक तहमा महिला शिक्षक २०.८ प्रतिशत र पुरुष शिक्षक ७९.२ प्रतिशत छन् ।

अष्ट्रिया, अष्ट्रेलिया, बेल्जियम, क्यानाडा, चिली, कोलम्बिया, कोष्टारिका, चेक–रिपब्लिक, डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, हंगेरी, आइसल्याण्ड, आयरल्याण्ड, इजरायल, इटाली, जापान, कोरिया, लाट्भिया, लक्जेम्बर्ग, मेक्सिको, नेदरल्याण्ड, न्यूजिल्याण्ड, नर्वे, पोल्याण्ड, पोर्चुगल, स्लोभाक रिपब्लिक, स्लोभेनिया, स्पेन, स्वीडेन, स्विट्जरल्याण्ड, टर्की, बेलायत र अमेरिका लगायत ३८ वटा देशमा महिला शिक्षकको अवस्था नेपालको भन्दा विल्कुल फरक देखा पर्छ । यी देशहरूमा महिला शिक्षकको संख्या सन् २००५ मा औसतमा ६१ प्रतिशत थियो । सन् २०१० मा त्यो संख्या ६५ प्रतिशत पुग्यो भने सन् २०१४ मा ६८ प्रतिशत । यसरी सन् २००५ देखि २०१४ को १० वर्षको अवधिमा ती देशहरूमा महिला शिक्षकको संख्या ७ प्रतिशतले वृद्धि भएको देखिन्छ । अमेरिकामा कुल शिक्षकमध्ये ७४.३ प्रतिशत महिला छन् भने २५.७ प्रतिशत मात्र पुरुष छन् । अमेरिकामा महिला शिक्षकको संख्या वार्षिक १ प्रतिशतका दरले वृद्धि भइरहेको देखिन्छ भने जापानमा सबभन्दा बढी वार्षिक १५ प्रतिशतका दरले महिलाहरू शिक्षण पेशामा प्रवेश गरेको देखिन्छ । माथिका ३८ वटा देशको तथ्याङ्कले भने औसतमा पूर्व प्राथमिक तहदेखि उच्च शिक्षासम्म महिला शिक्षकको हिस्सा दुई तिहाइ देखाउँछ ।

युरोपियन युनियनमा आवद्ध २७ वटा देशको मात्रै स्थिति हेर्दा माथिका ३८ वटा देशहरूको भन्दा फरक चित्र छैन । युरोपियन युनियनमा पनि पुरुषको तुलनामा महिला शिक्षकको संख्या ज्यादा छ । २०१७ को तथ्याङ्क अनुसार युरोपियन युनियनका ६० लाख शिक्षकमध्ये ७२ प्रतिशत शिक्षक महिला थिए । युरोपको लाट्भियामा १० जना शिक्षकमध्ये आठ जना महिला (८७ प्रतिशत) छन् । लिथुआनियामा ८५ प्रतिशत र बुल्गेरिया र इस्टोनियामा ८३ प्रतिशत महिला शिक्षक छन् । युरोपका कतिपय देशमा महिला शिक्षकको तुलनामा पुरुष शिक्षकको संख्या अत्यन्त न्यून छ । उदाहरणको लागि रसियामा पाँच जना शिक्षकमध्ये चार जना महिला छन् अर्थात् त्यहाँका ८० प्रतिशत शिक्षक महिला छन् । प्रायः विकसित देशहरूमा महिला शिक्षकको संख्या धेरै भए पनि जापानमा अलि फरक स्थिति छ । जापानमा महिला शिक्षक ४८ प्रतिशत छन् भने पुरुष ५२ प्रतिशत । जापानमा महिला शिक्षक कम हुनुमा त्यहाँ पुरुषको तुलनामा महिलाहरू श्रमबजारमै कम आउनुलाई कारण ठानिएको छ ।

थपिंदो चुनौती

अमेरिका, युरोपियन युनियनमा आवद्ध देश तथा हाम्रै छिमेक भारतमा महिला शिक्षकको बढ्दो ग्राफलाई हेर्दा शिक्षण पेशामा महिलाहरूको आकर्षण र वर्चस्व सुदृढ हुँदै गएको देख्न सकिन्छ । यसरी शिक्षण पेशामा लैङ्गिक अन्तराल घट्नु आफैंमा सकारात्मक हुँदाहुँदै पनि यससँग जोडिएका अन्य कैयौं पेचिला प्रश्न र जटिलताप्रति आँखा चिम्लिन मिल्ने अवस्था छैन । विद्यालय शिक्षाका तल्ला तहमा महिला शिक्षकको संख्या धेरै अनि माथिल्ला तह र उच्च शिक्षामा महिला शिक्षकको संख्या ज्यादै न्यून रहेको अवस्था देखिन्छ । पूर्वप्राथमिकदेखि विश्वविद्यालय तहमा प्रतिनिधित्वको अवस्था हेर्दा माथिल्ला तहमा महिला शिक्षकको संख्या घट्दै गएको पाइन्छ । माथि उल्लिखित ३८ वटा देशको अवस्था हेर्दा पूर्वप्राथमिक तहमा महिला शिक्षकको हिस्सा अधिकतम (९७ प्रतिशत) देखिन्छ भने प्राइमरी तहमा ८२ प्रतिशत छ । मावि तहमा महिला शिक्षक ६३ प्रतिशत छन् भने उच्च शिक्षामा ४३ प्रतिशत छन् । रसियामा चाहिं प्राथमिकदेखि उच्च शिक्षासम्मै महिला शिक्षकको संख्या ठूलो छ ।

विकसित देशहरूमा यसरी महिला शिक्षकको संख्या बढ्ने र पुरुषको घट्ने प्रवृत्तिले शिक्षण पेशामा लैङ्गिक अन्तरालको नयाँ चिन्ता पैदा गरेको छ । त्यहाँ शिक्षण पेशामा पुरुषको न्यून प्रवेश अनि कार्यरत पुरुष शिक्षकहरू उमेरका कारण सेवानिवृत्त हुँदै जाँदा निकट भविष्यमा पुरुष शिक्षकको संख्या अनपेक्षित मात्रामा घट्न सक्ने देखिएको छ । तुलनात्मक रूपमा महिला–पुरुष शिक्षक बीच थोरै अन्तराल भएका जापान जस्तो देशमा पनि पछिल्लो समयमा पुरुष शिक्षक कम सेवा प्रवेश गरेको देखिन्छ ।

शिक्षण पेशामा महिला र पुरुषको महत्व र प्रभाव तथा व्यक्तिको पेशा छनोटको सोचलाई प्रभाव पार्ने पक्षहरूका बारेमा विश्वमा अनुसन्धान हुन थालेका छन् । शिक्षण पेशामा पुरुषहरूको संख्या किन घट्दै गइरहेको छ भन्ने बारे आयरल्याण्डमा भएको एक अध्ययनले ‘महिलाको बच्चासँग प्राकृतिक आकर्षण हुन्छ र महिलाहरू नै पुरुषको तुलनामा राम्रो प्राथमिक शिक्षक बन्न सक्छन्’ भन्ने आम धारणाका कारण पुरुषहरू शिक्षण पेशाको मूल प्रवेश विन्दु (प्राथमिक तहको शिक्षक हुन) बाटै तर्किएको देखाएको छ । ‘शिक्षण पेशामा पुरुषको संख्या किन कम छ ?’ भन्ने प्रश्नलाई केन्द्रमा राखेर अध्ययन गरिएका विद्यार्थीमध्ये ४२ प्रतिशत र शिक्षकमध्ये ४५ प्रतिशतबाट आएको पहिलो जवाफ, ‘विद्यालय तहको शिक्षण आमाको भूमिकासँग सम्बन्धित क्षेत्र भएकाले महिलालाई उपयुक्त हुने काम हो’ भन्ने थियो । उनीहरूको दोस्रो उत्तर, ‘शिक्षण पेशाप्रति आकर्षण नभएका कारणले’ भन्ने थियो । तेस्रो जवाफ ‘विद्यालय तहको शिक्षण, अझ विशेषगरी प्रावि तहको शिक्षण कार्य धेरै तनावपूर्ण हुने र यो पेशामा धेरै धैर्य चाहिने हुँदा शिक्षक हुन आकर्षण नभएको’ भन्ने थियो । शिक्षण पेशामा कम सेवा–सुविधा हुनु यसप्रतिको न्यून आकर्षणको कारक हो भन्ने गरिन्छ । तर उक्त अनुसन्धानमा पुरुषहरूले शिक्षण पेशालाई न्यून आकर्षक मान्नुको चौथो कारणका रूपमा मात्र तलब सुविधालाई उल्लेख गरेका थिए ।


शिक्षा क्षेत्रमा महिला शिक्षकको सहभागिता पुरुष बराबरी हुनु राम्रो भए पनि महिलाको संख्या अधिक हुनु र त्यो दिनदिनै बढ्दै जानु अनि पुरुषको अनुपात घट्नु विश्वव्यापी चिन्ता र चासोको विषय बनेको छ । यसले लैङ्गिक समता, समानता र सामाजिक न्याय व्यवस्थालाई खलल पुर्‍याउँछ नै, साथै विद्यार्थी र शैक्षिक संस्थाको गुणस्तरमा समेत प्रभाव पार्छ ।

विश्वव्यापी रूपमा महिला शिक्षकको संख्या बढ्ने प्रवृत्ति तीव्र भए पनि महिला शिक्षकहरू ज्यादा प्राथमिक तहमा केन्द्रित हुनु र माथिल्ला कक्षाहरूमा उनीहरूको संख्या अद्यापि कम रहनु सबैका निम्ति सोचनीय विषय बनेको छ । त्यस्तै शिक्षण संस्थाको नेतृत्व गर्ने सवालमा पनि महिला शिक्षकहरू पछि हट्ने गरेको अध्ययनहरूले देखाएका छन् । माथिका ३८ वटा देशमा सन् २०१६ मा कुल शिक्षकमध्ये ६८ प्रतिशत महिला थिए भने प्रअ चाहिं ४५ प्रतिशत मात्रै थिए । युरोपियन पार्लियामेन्ट्री रिसर्च सर्भिसको प्रतिवेदन अनुसार हाल भएका अध्ययनहरूले पुरुषको तुलनामा महिला शिक्षकले प्रअ हुने र शिक्षालयको नेतृत्व गर्ने कम चाहना राख्ने गरेको देखाएको छ । नेपालमा महिला प्रअको संख्या अत्यन्तै न्यून रहेको सन्दर्भमा पनि यो निष्कर्ष सान्दर्भिक देखिन्छ ।

पेशा छनोट र वृत्ति–विकासको सन्दर्भ सामाजिक तथा ऐतिहासिक प्रक्रियामार्फत आएको पितृसत्ता तथा मातृ सत्तात्मक सोचबाट प्रभावित भएको देखिन्छ । विकसित देशमा महिलाहरूको जीवनचर्या घरायसी कामबाट ‘शिक्षण पेशामा महिलाकरण’ तर्फ उन्मुख छ भने नेपाल, अफगानिस्तान, पाकिस्तान जस्ता मुलुकका महिला सामाजिक, सांस्कृतिक, आर्थिक कारणले गर्दा यो सन्दर्भमा अझै पछाडि छन् । 

युरोपियन इन्ष्टिच्यूट फर जेन्डर इक्वालिटीको लैङ्गिक विभेद सम्बन्धी एक प्रतिवेदनले, युरोपियन युनियनका सदस्य देशमा पूर्वप्राथमिक विद्यालयको शिक्षक, नर्स, सुँडेनी, घरायसी तथा व्यक्तिगत हेरचाहका कामहरू ‘महिलाको मात्रै’ ठान्न थालिएको र इन्जिनियरिङ र प्रविधिगत क्षेत्रमा पुरुषहरूको प्रभुत्व स्वीकारिएको देखाएको छ । यस्तो सोचले नेपाल लगायत दक्षिणएशियाका देशहरूमा पनि गहिरोसँग जरा गाडेको छ ।

कुनै पनि पेशामा महिलाको संख्या उच्च हुँदा अथवा त्यो पेशाको ‘महिलाकरण’ भयो भने त्यहाँ सेवा–सुविधा कम (लो पे) हुने सम्भावना बढ्छ । उन्नाइसौं शताब्दीको अन्त्य र बीसौं शताब्दीको शुरूआतमा बेलायत र फ्रान्समा महिलालाई पुरुषको तुलनामा थोरै ज्याला दिंदा हुने भएको कारण त्यहाँको शिक्षण पेशामा महिलाको संख्या धेरै हुन पुगेको थियो । त्यसले समग्र शिक्षण पेशामै नकारात्मक प्रभाव पारेको थियो । सोभियतकालीन समयमा पूर्वी युरोपका कम्युनिष्ट सरकार भएका देशमा डाक्टरी पेशामा पनि महिला संख्या अत्यधिक हुने गर्दथ्यो र त्यहाँ कार्यरत महिला डाक्टरहरूले थोरै तलब पाउँथे । अहिले पनि नेपाल जस्ता विकासशीलदेखि विकसित देशमा समेत थोरै तलब तथा सेवा–सुविधा दिंदा हुने, महिलाका लागि विद्यालयमा समय बिताउन उपयुक्त हुने आदि कारणले निजी विद्यालयहरूमा महिला शिक्षकको संख्या अधिक छ । यस्ता देशका महिला शिक्षकले निजी विद्यालयमा राज्यले तोकेको मापदण्डभन्दा कम र बाँच्नै कठिन पर्ने तलब तथा सेवा–सुविधा पाउँदै आएका छन् । यो सन्दर्भमा नेपाल जस्ता विकासोन्मुख देशमा मात्र नभएर विकसित देशमा समेत विभेद भेटिन्छ । जिप्पिया डट कम का अनुसार अमेरिकाका पुरुष शिक्षकको तुलनामा महिला शिक्षकले ९५ प्रतिशत मात्रै तलब तथा सेवा–सुविधा पाउँछन् । यो न्याय तथा शिक्षाको गुणस्तर प्रवद्र्धन गर्ने दृष्टिले चिन्ताको विषय हो ।

शिक्षा क्षेत्रमा महिला शिक्षकको सहभागिता पुरुष बराबरी हुनु राम्रो भए पनि महिलाको संख्या अधिक हुनु र त्यो दिनदिनै बढ्दै जानु अनि पुरुषको अनुपात घट्नु विश्वव्यापी चिन्ता र चासोको विषय बनेको छ । यसले लैङ्गिक समता, समानता र सामाजिक न्याय व्यवस्थालाई खलल पु¥याउँछ नै, साथै विद्यार्थी र शैक्षिक संस्थाको गुणस्तरमा समेत प्रभाव पार्छ । तथापि नेपालले शिक्षण पेशामा महिला शिक्षकलाई अझै आकर्षित गर्नु जरूरी छ । साथसाथै शिक्षण पेशामा समान लैङ्गिक सहभागिता, निरन्तरको पेशागत अथवा विषयगत सबलीकरण र प्रोत्साहन कार्यक्रमहरू समेत अघि सार्नु जरूरी छ । 

(शिक्षक मासिक र स्टोरी किचनको सहकार्य)

सन्दर्भ सामग्री

Dr Brendan Burchell, Mr Vincent Hardy, Professor Jill Rubery and Dr Mark Smith. (2014). A New Method to Understand Occupational Gender Segregation in European Labour Markets. European Commission - Directorate-General for Justice.

Ivana Katsarova; Graphics: Samy Chahri.(2020).TEACHING: A WOMAN'S WORLD. European Parliamentary Research Service, European Parliament

Jha, J., Minni, P. & Ahmed, M. (2020). Teachers and Teaching Profession in South Asia. Working Paper. Centre for Budget and Policy Studies (CBPS). January 2020. Bangalore

MoF.(2021).Economic Survey 2077/78. Nepal Government, Ministry of Finance, Singhadurbar, Kathmandu. 

OECD.(2021). Education at a Glance 2021 OECD Indicators. Author

https://timesofindia.indiatimes.com/city/bengaluru/for-1st-time-morewomen-teachers-inschools-than-men/articleshow/84129488.cms¿utm_source=contentofinterest&utm_medium=text&utm_campaign=cppst

https://www.zippia.com/teacher-jobs/demographics/

 

commercial commercial commercial commercial