केटी के हो ? केटा के हो ?

बच्चा जब जन्मन्छ, कि त केटा हुन्छ, कि त केटी हुन्छे ।

केटी के हो त ?

कोही भन्छन् जसको लामो कपाल हुन्छ उनी केटी हुन् ।

कुलदीपको लामो कपाल छ तर ऊ त केटा हो ।

कोही भन्छन् जसले गहना लगाउँछ उनी केटी हुन् ।

मेघराजले घाँटीमा माला र कानमा मुन्द्री पनि लगाउँछ तर ऊ केटा हो ।

केटा के हो त ?

कोही भन्छन् जसले शर्ट, हाफ पाईन्ट लगाउँछ र रूखमा चढ्न सक्छ ऊ केटा हो ।

शान्ति हाफ पाईन्ट लगाउँछिन् र रूख पनि चढ्न सक्छिन् तर उनी केटी हुन् ।

कोही भन्छन् जो बलियो छ र गह्रौं भारी बोक्न सक्छ ऊ केटा हो ।

ललिता र नफीसा एकैपल्ट दुई गाग्री पानी वा दुई भारी दाउरा बोक्छन् तर उनीहरू केटी हुन् ।

केही व्यक्तिहरूको भनाइ छ जसले घरको काममा मदत गर्छिन् उनी केटी हुन् ।

जीतबहादुर खाना पकाउन, सफाइ गर्नमा मदत गर्दछ तर ऊ केटा हो ।

केही व्यक्तिहरूको भनाइ छ खेतमा काम गर्नेहरू केटा हुन् ।

विष्णुकुमारी र उनकी आमा खेतमा काम गर्छन् तर उनीहरू केटी र स्वास्नी मान्छे हुन् ।

केही व्यक्तिहरूको भनाइ छ जो हाट–बजारमा सामान बेच्दछ ऊ केटा हो ।

रेखा माछा बेच्न बजार जान्छिन् तर उनी केटी हुन् ।

केही व्यक्तिहरूको भनाइ छ जो कोमल हुन्छ, जसमा ममता हुन्छ, उनी केटी हुन् ।

कवीर कोमल छ र ममताले भरिएको छ, दिनभरि सानी बहिनीको हेरविचार गर्छ तर ऊ केटा हो ।

केही व्यक्तिहरूको भनाइ छ जसले समाजमा राम्रोसँग व्यवस्था मिलाउन सक्छ ऊ केटा हो ।

अरुणा डीएसपी हुन् र जिल्लाको शान्ति सुरक्षा तथा सुव्यवस्था मिलाउँछिन् तर उनी महिला हुन् ।

त्यसो भए,

केटा के हो ?

केटी के हो ?

केटा त्यसलाई भनिन्छ जसको लिङ्ग र अण्डग्रन्थी हुन्छ ।

केटी त्यसलाई भनिन्छ जसको योनी हुन्छ ।

प्रत्येक केटा ठूलो भएर पुरुष बन्दछ, प्रत्येक पुरुषको अण्डग्रन्थी र लिङ्ग हुन्छ ।

प्रत्येक केटी ठूली भएर स्त्री बन्दछिन् । प्रत्येक स्त्रीको योनी, पाठेघर र स्तन हुन्छ । महिलाको शरीरमा बच्चा बन्दछ, बढ्दछ, उनी बच्चालाई जन्मदिन्छिन् र दूध खुवाउँछिन् ।

शरीरका यी भिन्नता बाहेक केटा र केटीबीचमा अन्य भिन्नता पाइँदैन । शारीरिक बनावटमा पनि धेरैजसो समानता पाइन्छ । फरक धेरै कम छन् । लिङ्ग र सन्तान जन्माउने अंग बाहेक अरू अंगहरू समान छन्।

यो शारीरिक वा जैविक बनावटलाई ‘प्राकृतिक लिङ्ग’ भनिन्छ । शरीरको बनावट अनुसार केटाको लिङ्ग पुरुष र केटीको लिङ्ग स्त्री हुन्छ ।

यो प्राकृतिक लिङ्ग भेद प्रकृतिले बनाएको हो र यस्तो विभेद प्रत्येक परिवार, समाज र मुलुकमा एउटै हुन्छ अथवा शारीरिक रूपले केटा र केटी जहाँ पनि केटा र केटी नै हुन्छन् ।

शारीरिक भिन्नता बाहेक केटाकेटीबीच जुन अन्य भिन्नताहरू पाइन्छ जस्तैः उनीहरूको लुगा लगाई, व्यवहार, शिक्षा र समाजको दृष्टिकोण यी सबै सामाजिक विभेदहरू हुन्, प्राकृतिक होइनन् । त्यसैले यस्तो भिन्नता प्रत्येक परिवार र समाजमा एकै किसिमको हुँदैन ।

जस्तोस हामीले देख्यौं, कुनै केटीको कपाल लामो हुन सक्छ, कुनैको छोटो, कुनै परिवारमा केटाले घरको काम गर्छ, कुनैमा गर्दैन, कुनै महिलाले घरपरिवारमा नै काम गर्छिन्, कुनैले हाट–बजारमा सामान पनि बेच्दछिन् आदि ।

(महिला अभियन्ता एवं जेन्डर विज्ञ भसीनको ‘लड्का क्या है, लडकी क्या है र ?’ पुस्तकबाट ।)

(शिक्षक मासिक र स्टोरी किचनको सहकार्य)

commercial commercial commercial commercial