एउटा शिक्षकको मनोवाद

विस्तारामा पल्टिएका अभिषेक निदाउन खोज्दछन् तर उनको मनमा आएका विचारहरूको आँधीको वेग सँगै उनको निद्रा पनि उडिरहेको छ । दिनमा भएका सवै घटनाहरू उनको मन–मस्तिष्क हुँदै आँखामा आउँछन् । आज साथीहरूले गरेको अपमानजनक व्यवहारले गर्दा उनको मन अस्थिर भएको छ । आफ्नो मनमा भएको वैचैनी र छट्पटीले गर्दा उनलाई खान पनि म लागेन । उनी त्यसै विस्तारामा पल्टेर निदाउने कोशिश गर्दैछन् ।

“शिक्षक” अनायासै उनको मुखबाट आवाज निस्कन्छ र विचारको बाढी बग्न थाल्छ । के शिक्षक हुनु मेरो गल्ती हो ? कमजोरी हो ? के शिक्षण पेशा अपमानजनक पेशा हो ? शिक्षण पेशा जस्तो पवित्र र सेवामुखी पेशालाई किन हेय दृष्टिले हेरिन्छ ? के शिक्षण पेशा अँगालेर जीवन जिउनु अपराध हो ?

फेरि शिक्षकहरू गरीब हुन्छन् रे ! शिक्षकलाई गरीब कस्ले बनाइरहेको छ ? किन समान स्तरको शिक्षक र अन्य पेशाकर्मीबीच विभेद छ ? किन शिक्षकहरूले अन्य पेशाको तुलनामा कम सेवा÷सुविधा प्राप्त गर्नुका साथै समान जीवन स्तर यापन गर्न सकिरहेका छैनन् । शिक्षणमा मेहनत बढी छ तर सेवा–सुविधा कम छ भन्दैमा शिक्षक भएर जिउनु र सम्पतिका लागि चोरी, ठगी, दलाली, भ्रष्टचार, कु–राजनीति गर्नु एउटै हो भन्नु पनि त भएन नि ! “खबरदार ! मलाई चोर, ठग, दलाल, भ्रष्टचारी, कु–नेता तथा अन्य खराबहरूसँग सम्पतिको वाहानामा तुलना नगरियोस् । म अतुलनीय छु । सक्छौ भने तुलना पेशा र परिश्रमसँग गर, पैसा सँग होइन ।” उनी अनायासै बर्बराउन पुग्छन् ।

धनी बन्ने र पैसा कमाउने लालचमा म गलत बाटो लाग्ने र अनैतिक कार्य गर्ने छैन चाहे जतिसुकै अभाव वा कष्ट झेल्न किन नपरोस् । मनमनै उनी अठोट गर्छन् । कोल्टे फर्किएर निदाउने कोशिश गरिरहेता पनि विचारको बाढी अझै रोकिएको छैन ।

फेरि पल्लो गाउँका प्रधानाध्यापकले विद्यार्थीको खाजाको पैसा, भर्ना शुल्क, विद्यालयमा परेको योजनाको रकम हिनामिना गरे रे ! त्यस्तै गाउँका केही शिक्षकहरू राजनैतिक आडमा विद्यालयमा कम जाने तर नेताका लागि पार्टीको भोट माग्दै हिड्छन् रे ! त्यसैले शिक्षक ठग हुन्छन्, नेताका झोले कार्यकर्ता हुन्छन रे !

हो; सबै पेशामा सवै इमान्दार हुँदैनन् । केही कलङकित, कु–पात्रहरू यस पेशामा पनि नभएका होइनन्, तर पनि अन्य पेशामा भन्दा धेरै कम छन् । फेरि केही व्यक्तिहरूलाई देखाएर पुरै शिक्षकको वदनाम गर्न पनि त भएन नि ! दाग त चन्द्रमामा पनि छ नि ! चन्द्रमामा दाग छ भनेर चन्द्रमाले उज्यालो नै दिंदैन भनेर भन्न मिल्छ र ? उनी फेरि कोल्टो फर्किएर निदाउने कोशिस गर्छन् ।

साच्चै भन्नु हो भने शिक्षण पेशा जस्तो गरिमामय र महान पेशा अरू कुनै छैन । शिक्षकलाई राज्य देखि लिएर सबै क्षेत्रबाट हेलाको दृष्टिले हेरियता पनि, सेवा–सुविधा कम उपलब्ध गराएता पनि सबै पेशाको जननी शिक्षक (गुरु) नै हुन् । शिक्षण र तालीम बिना सवै पेशाहरू अधुरा–अपूरा नै रहन्छन् । सवै पेशा सिक्न वा जान्नका लागि शिक्षक (गुरु) को आवश्यक पर्ने भएकाले शिक्षकलाई– ‘गुरु ब्रह्मा गुरु विष्णु ‘।’ भनेर सम्मानित गरिन्छ । त्यसैले शिक्षक र शिक्षणको महत्व बुझी शिक्षकलाई अपमान गर्ने तथा अपमानित हुने कार्य कोही कसैबाट नभएको राम्रो !!

उनको मनमा थोरै मात्र भएपनि सन्तोष महसूस हुन्छ । रात धेरै बितिसकेको हुनाले उनी फेरि कोल्टो फेर्छन् र विस्तारै निदाउँछन् ।

श्री सावित्रा आधारभूत विद्यालय, खोटाङ

 

 

commercial commercial commercial commercial