हामी कामसाँचाहरू

यो लेख जतिवेला सम्पादकको हातमा पुर्याउने वचन दिएको थिएँ, त्यसवेला मात्र लेख्न थालियो। खासमा लेख्नुपर्ने त अघिल्लै साता थियो। ढिलो गर्ने नियत थिएन, तैपनि भयो। यस्तै हुन्छ, मेरो मात्र होइन, सम्भवतः तपाईंको पनि !
तर तपाईं जस्तै, म पनि ढिलै गर्ने खालको मान्छे चाहिं होइन र यो ढिलाइ अकारण भएको होइन। शुरूमा म एउटा तालीम सञ्चालन गर्दैथिएँ, लेख्न भ्याइनँ । फर्किंदा एउटा साहित्यिक कार्यक्रममा उपस्थित ‘हुनैपर्ने’ थियो, त्यता अल्मलिएँ । घर आइपुग्दा घनघोर वर्षाले बिजुलीबत्ती बिगारेको थियो, कम्प्युटर खोल्ने कुरै भएन।
बिजुली आएपछि “बिहान एकैछिनको काम त हो, लेखिहालिन्छ नि !” भनेर गफगाफमा लागियो। बिहान गाउँका इष्टमित्र भेट्न आए। ढिलो भएरै छाड्यो।
ढिलाइका ‘कारण’ र ‘निहुँ’ का बीचको रेखा अनौठो गरी पातलो छ। कहिलेकाहीं त कुन चैं कारण हो र कुन चाहिं निहुँ हो, त्यो हामी आफैंलाई नै थाहा हुँदैन।
तर यति चाहिं पक्का हो, यदि म मासिक पत्रिकाका लागि नभएर दैनिक पत्रिकाका लागि लेखिरहेको हुँदो हुँ त, यो लेख वेलैमा सकिने थियो। वा, म रेडियो वा टेलिभिजनमा कार्यक्रम चलाउँदो हुँ त मसित त्यस्तो फुर्मायसी समय हुँदैनथ्यो र गर्नुपर्ने काम समयमा सकिने थियो।
त्यसो भए दोषी म कि समयको लचिलोपन ?
‘पार्किन्सन्स ल’ ९एबचपष्लकयल’क ीबध० ले भन्छ. “कुनै पनि कामले उपलब्ध भएसम्मको सबै समय ढाक्छ ।” तर समय ढाकेको कामले होइन, मान्छेले हो।
बेलायत, जहाँ रेल चलेको हेरेर घडी मिलाइन्छ भनिन्थ्यो, त्यहाँका लेखक र इतिहासकार सिरल नर्थकोट पार्किन्सनले ‘कामसाँचापन’ का बारेमा ‘सिद्धान्त’ नै प्रतिपादन गरे भने, हरेक ढिलाइका लागि ‘नेपाली टाइम’ को निर्लज्ज निहुँ देखाउने हामी के कम ?
‘पार्किन्सन्स ल’ को शैली सापटी लिएर भन्ने हो भने भन्न सकिन्छ, “जुन काम ढिलो हुँदा पनि हुने हो, त्यो मात्र ढिलो हुन्छ” तर सधैंभरि भने यस्ता गफले धान्दैन।
खासमा यो लेख मात्र ढिलो भएको होइन । म जस्तै तपाईं पनि कति काममा ढिलो हुनुभएको होला र ढिलै भए पनि काम गरिसकेपछि पछुतो लागेको कुरा बिर्सिनुभएको छैन होला— “यति सजिलै सकिने काम बेकारमा ढिलो गरिएछ !” भनेर।
मलाई जस्तै तपाईंलाई पनि धेरै पटक त्यस्तो भएको होला र पनि त्यस्तो हुन छाडेको छैन होला ! (सामाजिक सञ्जालमा भए कथाले यहाँ एउटा रुन्चे हाँसोको इमोजी माग्थ्यो !)
‘पार्किन्सन्स ल’ जस्तै खालको, बीसौं शताब्दीका अमेरिकी एरोस्पेश इन्जिनियर एडवार्ड ए मर्फीका नाममा प्रसिद्ध भएको ‘मर्फिज् ल’ भनिने व्यंग्यात्मक कथनले भन्छ- “कुरा बिग्रिने खालको छ भने नबिग्रिएर सक्दैन ।” (‘ल’ भनिए पनि ‘मर्फिज् ल’ सिद्धान्त होइन, कहावत वा उखानकै एउटा रूप हो) । कामसाँचापनलाई ‘मर्फिज् ल’ को भाषामा भन्ने हो भने ‘ढिलो हुनु नहुने काम कहिल्यै ढिलो हुँदैन ।’
अंग्रेजीमा कामसाँचापनलाई ‘प्रोक्रास्टिनेशन’ ९एचयअचबकतष्लबतष्यल० भन्छन् । प्रोक्रास्टिनेशन भनेको ढिलो गर्नु हो, तर ढिलो गर्नु मात्र होइन, विभिन्न निहुँमा काम साँचेको साँच्यै गर्नु हो । अंग्रेजी–नेपाली शब्दकोशहरूले दिएका प्रोक्रास्टिनेशनका अर्थ चित्तबुझदा लागेनन्, त्यसैले एउटा उखान ‘काम साँची आफूलाई खान साँची अर्कालाई’ बाट एउटा शब्द तानियो– कामसाँचापन ।
सानैदेखि सुनेको उखान भए पनि हामीले आधा मात्र आत्मसात् गरेको उखान हो यो । खान कहिल्यै साँचिएन, काम साँच्न कहिल्यै छाडिएन ।
अरू कार्यक्रममा सधैं ढिलो गरेर पुग्ने कुनै नेता वा कलाकारलाई ‘लाइभ’ कार्यक्रम छ भनेर बोलाउनुहोस्, एकदमै समयमा पुग्छन्। सधैं एकदमै ठीक समयमा रेडियो, टेलिभिजन समाचार पढ्ने पत्रकारलाई कुनै अर्को कार्यक्रममा बोलाउनुहोस् र उनीहरूलाई ठीक समयमा आइपुग्नमा परेको कठिनाइबारे तिनका कारण र बहाना सुन्नुहोस् ।
के होला त कारण ? एउटा कथा छ, एउटा छोराले बाबुलाई सोधेछ– “बा, रकेटको पखेटा हुँदैन र पनि कसरी उड्छ ?”
बाबुको जवाफ मार्मिक छ– “पुच्छरमा आगो लागेपछि विना पखेटा नै उडिन्छ छोरा !”
यो ‘आगो’ ऊर्जा हो, हुटहुटी हो र हो कुनै काम नगरी नहुने परिस्थिति ।
अर्को कथा छ, प्रश्नोत्तरमाः
प्रश्न– “मान्छे अधिकतम कुन गतिमा दौडिन सक्छ ?”
जवाफ– “मान्छेको दौडको गति उसलाई पछाडिबाट केले खेदेको छ भन्नेमा भरपर्छ। चितुवाले लखेटेको छ भने मान्छे एकछिन भए पनि चितुवाभन्दा छिटो दौडिन्छ।”
अर्थात्, कर नलागेसम्म पार्किन्सनले भने जस्तै भइरहन्छ । मर्फीकै आदेश चलिरहन्छ।
समय व्यवस्थापन गर्न नसक्नु, जाँगर नचल्नु आदि आफ्ना कुरा हुन् । तर कामसाँचापनले आफूलाई मात्र हानि गर्दैन, आफूसित भर परेकालाई पनि अभर पार्छ।
इन्टरनेटमा कामसाँचापनको आत्ममूल्याङ्कन गर्ने अनेक विधि छन् र तिनले हामीलाई आफू कहाँ छु भनेर थाहा पाउने र अलिअलि भए पनि आफ्नो कामसाँचापनलाई सुधार्ने तरीका सिकाउँछन्।
तर पछि खोजौंला है, भनेर साँचिएन भने मात्र!