सतही ज्ञान र सूचनाको गहिरिंदो प्रकोप

वि.सं. २०७६ को हिउँद । संसारभरि चैते डढेलो जसरी फैलिंदो कोरोना समाजमा कुराकानीको प्रमुख विषय बन्यो। स्कूलमा भेला हुनासाथ कोरोनाबारे केही मिनेट कुरा गर्नु शिक्षक-कर्मचारीको दैनिक तालिका जस्तै बन्यो। स्कूलहरूमा कतै अन्तिम परीक्षा भइसकेको थियो, कतै तयारीमा थिए। २०७६ चैत ११ गतेबाट देशव्यापी बन्दाबन्दी भयो । एसईई पनि स्थगित भयो। 

हात धोइरहनुपर्ने, हात नमिलाउने, भौतिक दूरी कायम गर्नुपर्ने, पोषिलो झोलिलो खानुपर्ने, शारीरिक श्रममा जोड दिनुपर्ने र चिसोबाट बच्नुपर्ने जस्ता कुराहरू व्यवहारमा लागू गर्नुपर्ने भयो । त्यसो गर्दागर्दै त्यसपछिको शैक्षिक वर्ष पनि शुरू हुँदाहुँदै थन्कियो। कोरोनाको कहरमा कमी आएन, ‘लकडाउन’ दुई÷दुई महीना गर्दै लम्बियो । लामो समय त्रास र अन्योलमै बित्यो। 

वैकल्पिक माध्यमबाट शिक्षण गर्नुपर्ने निर्देशन आयो। विद्यार्थीलाई पाँच समूहमा छुट्याउनुपर्नेः इन्टरनेट सहित कम्प्युटर भएका, विना इन्टरनेट कम्प्युटर भएका, स्मार्ट फोन भएका, रेडियो भएका र केही पनि नभएका। जोसँग जे छ त्यसै माध्यमबाट शिक्षण सिकाइ गर्ने। केही नहुनेहरूको लागि समुदायमा सिकाइ केन्द्र चलाउने। यस्ता केन्द्र कक्षाकोठा जस्तै भए पनि टोलटोलमा गर्नुपर्ने हुनाले सम्भावना न्यून रह्यो। एकातिर कोरोना अर्कोतिर स्कूलहरू नचल्नु तथा पढाइ नहुनुलाई अन्त्यमा शिक्षककै कमजोरी जसरी प्रश्नहरूको प्रहारले शिक्षकहरू दोहोरो तनावमा रहे।

यसरी कोरोनाले सम्पूर्ण शिक्षा प्रणालीलाई संक्रमणकालीन अवस्थामा पुर्‍यायो। दुर्गम स्थानहरूमा झन् कठिन परिस्थिति सिर्जना भयो। परम्परागत सामग्री र प्रणालीले युगलाई धान्न नसक्ने प्रष्ट देखियो । नियमित तालिका अनुसार कक्षाकोठा सञ्चालन गर्न संक्रमणको जोखिमले सम्भव भएन तर आधुनिक सूचनाप्रविधि सबै विद्यार्थीसामु पुगेन। स्कूलहरू प्रविधिमुक्त भइसकेका थिएनन्। शिक्षकमा पनि आवश्यक ज्ञान र सीपको अभाव छँदै थियो। आफ्नो कमजोरी चुनौतीसँगको पौंठेजोरीबाट भाग्ने बहाना बन्यो। डिजिटल तथा भर्चुअल माध्यम रुमानी कथा जस्तो सावित भयो।  

तर पनि राज्यले प्रविधिमैत्री शिक्षामा जोड दिएको बताइरह्यो। प्रविधि स्कूलहरूमा पुग्न थाले पनि एकातिर ती पर्याप्त भएनन् अर्कोतिर भरपर्दो ऊर्जाको अभाव भइरह्यो । स्कूलहरूमा कम्प्युटर विज्ञ नभइदिंदा कम्प्युटरमा सामान्य समस्या आउँदा पनि शहरबाट प्राविधिक झिकाउनु पर्दा समय र बजेटको हिसाबले महँगा साबित भए। 

कोरोना महामारीको अन्त्य भएको घोषणा र जनजीवन सामान्य भएको एक वर्ष बितिसक्दा पनि गाउँका स्कूलको अवस्था फेरिएको छैन। कक्षाहरू परम्परागत तरिकामै चलेका छन्। कम्प्युटर सिकाइको साधन र माध्यमको सट्टा बेलाबखतको मनोरञ्जनको साधनमा सीमित भएका छन्। बिजुली र इन्टरनेट दैनिक औसतमा आधादर्जन पटक जति गइरहने हुनाले हाम्रो स्कूलको एउटा स्मार्टबोर्ड पनि कामयाबी हुनसकेको छैन। अधिकांश शिक्षकमा स्मार्टबोर्ड प्रयोग गर्ने आधारभूत सीप छैन।

प्रविधिले सूचनामा सबैको पहुँच पुगेको छ। योसँगै सतही समाचार, जानकारी र सूचनामा रमाउने प्रवृत्ति व्यापक भएको छ। गम्भीर खाले पढाइ लोप भइरहेको छ। सरकारको ‘स्कूल–पुस्तकालय कार्यक्रम’ अन्तर्गत बनेका पुस्तकालयमा स्कूलको आवश्यकता अनुसारका कम, व्यापारीको इच्छाका पुस्तक अर्थात् ‘जंक बुक’ धेरै छन्। ‘आमा, भूमि र पुस्तक खराब हुँदैनन्’ भन्ने भनाइलाई मान्ने हो भने पुस्तकालयमा आएका कुनै पनि किताब खराब छैनन्। तर जीवन र जगतलाई गहिराइबाट बुझने बुझउने पुस्तकहरू विद्यालयमा खासै आएका छैनन् । स्कूलमा भर्खरै पाइला टेक्न थालेकादेखि साठी वर्ष उमेर पुग्न लागेकाहरू समेत हुन्छन् तर उमेर, विषय र विधागत हिसाबले सुहाउँदा पुस्तक पुस्तकालयमा आएनन्। पसलेले गोदामबाट ह्वार्र खन्याएका छन्; स्कूलले सुतुतु थापेर ल्याएर एउटा कोठामा थुपारेका छन्। एउटै किताब २०-२५ प्रतिसम्म छन्। त्यसमा धुलो कट्कटिएको छ । जागिरको परीक्षा दिनुपर्ने बाहेकका पुस्तक पढ्ने शिक्षक भेटिंदैनन्। पुस्तकालयको अवस्था र शिक्षकको व्यवहार ठ्याक्कै मिलेका छन् । सतही सूचनाबाट क्षणिक प्रभावित हुने मनोविज्ञान विकसित हुँदै गएको छ। आम शिक्षकले कुनै पनि विषयवस्तुलाई गहिराइमा पुगेर विश्लेषण गर्ने क्षमता गुमाउँदै गएका छन्।

प्रथम विश्वयुद्धपछि संसारभर रेडियोको प्रभाव तीव्र रूपमा विस्तार भयो तर नेपालमा दोस्रो विश्वयुद्धपछि बल्ल रेडियो स्टेशन खुल्यो, जतिखेर विश्वमा रेडियोको ठाउँ क्रमशः टेलिभिजनले लिन थालेको थियो। सन् १९९० को दशकमा विश्वमा इन्टरनेट विस्तार हुँदै गर्दा नेपालमा बल्ल टेलिभिजन विस्तार हुन थालेको थियो । सबैको पहुँचमा टेलिभिजन पुगिनसक्दै कोरोना आइपुग्यो जसले दुर्गम स्थानहरू पनि एकाएक इन्टरनेटको दुनियाँमा प्रवेश गर्न थाले । स्मार्ट फोनको पहुँचले मोबाइल डाटा मार्फत इन्टरनेट सम्भव भयो । अपर्याप्त, भरनहुँदो र महँगो भए पनि इन्टनेट सञ्जालमा मानिसहरू छिटोछिटो जोडिन थाले।

जुन रफ्तारमा व्यक्तिगत स्तरमा इन्टरनेटको पहुँच विस्तार भयो र हुँदैछ; संस्थागत हुनसकिरहेको छैन। अहिलेको जमानामा इन्टरनेट भए रेडियो टेलिभिजन सबै छ, इन्टरनेट नभए केही छैन भन्ने कुरा नीतिनिर्माताहरूले नबुझया हो कि ! अझ् पनि रेडियो हुने र नहुने, टेलिभिजन सेट हुने र नहुने, इन्टरनेट हुने र नहुनेको तथ्यांक निकाल्न निर्देशन गर्छन्।

कोरोनाकालको शिक्षा एउटा विषय हो भने कोरोना आफैंमा एउटा शिक्षा । कोरोनाले विद्यार्थीको किताबी सिकाइलाई बाधा पारेकै हो तर स्वास्थ्य सतर्कताहरूबारे त्यसले सिकाएको व्यावहारिक सिकाइ अमूल्य छ। ‘जीवन रहे सबै सम्भव’ भन्ने सिकाइ सबैभन्दा महत्वपूर्ण हो । कोरोनाकै कारण विश्वको इतिहासप्रति मानिसहरूको चासो बढ्यो, सामाजिक व्यवहारहरूमा सतर्कता अपनाउने कुरा बानीको रूपमा विकास भयो, इन्टरनेटमा जबर्जस्त रूपमा डोरिए । तर त्यो शिक्षणको साधन बनिसकेको छैन । कक्षाकोठामा सीधै प्रवेश गरेको छैन । इन्टरनेट स्रोत सामग्रीको रूपमा भने प्रमुख बनेको छ। पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिकाहरू खोज्न पसल भौंतारिनु परेको छैन । यसमा पनि सम्बन्धित निकायले ती सामग्री समयमा नराख्ने पुरानो प्रचलन भने हटेको छैन।

सबै विद्यार्थी मोबाइल चलाउँछन् । तर उनीहरूलाई मोबाइल सिकाइको प्रभावकारी साधन हो भन्ने बुझउन सकिएको छैन । उनीहरूलाई गेम र मनोरञ्जनात्मक भिडियोहरूमा डुब्ने, पढाइतिर फर्केर नहेर्ने बानीबाट बाहिर निकाल्न सकिएको छैन । स्कूलहरूमा विद्यार्थीलाई मोबाइल निषेध हटाइएको छैन। 

शिक्षामा सूचनाप्रविधिको प्रयोगलाई विश्वव्यापी मान्यता र प्रचलन अनुसार यहाँ गर्न नसक्ने भन्ने कुरा छैन । त्यसको लागि केही काम भने गर्नै पर्छ । पहिलो, कम्तीमा हरेक कक्षामा प्रोजेक्टर या स्मार्टबोर्ड हुनैपर्छ । दोस्रो, नियमित बिजुली र तीव्र गतिको इन्टरनेट हुनैपर्छ । तेस्रोे, हरेक स्कूलमा एक जना कम्प्युटर विज्ञ हुनैपर्छ । चौथो, शिक्षकहरूले आफू डाइनोसर नबन्नको लागि प्रयत्न गर्र्नै पर्छ । पाँचांै, उपलब्ध साधन, स्रोत र जनशक्ति पूरा प्रयोग हुनुपर्छ ।

संयुक्त अरब इमिरेट्सका शासक शेख महम्मद बिन रशिद अल मरकतौमको एउटा भनाइ कोरोनाकालमा सामाजिक सञ्जालमा खूबै चल्यो । उनले भनेका थिए, “कठिन समयले बलियो मानिस सिर्जना गर्छ, बलियो मानिसले सजिलो समय सिर्जना गर्छ, सजिलो समयले कमजोर मानिस सिर्जना गर्छ र कमजोर मानिसले कठिनाइपूर्ण समय सिर्जना गर्छ ।” 

कोरोनाकाल कठिन समयको रूपमा गुज्रियो । यसले सूचनाप्रविधिको क्षेत्रमा ठूलो फड्को मारेको देखिन्छ, महसुस गर्न सकिन्छ । कोरोना नभएको भए यो रफ्तारमा वाईफाई प्रविधि कुनाकाप्चासम्म पुग्न सक्थ्यो भन्ने विश्वास गर्न सकिंदैन तर विश्वव्यापी लहर (ट्रेन्ड) र सरकारको नीति अनुरूप शिक्षण सिकाइको प्रमुख माध्यम बन्न भने अझै समय लाग्ने देखिन्छ। 
वाणी मावि, सिध्राहा, मोरङ

(शिक्षक मासिक, २०८० असार–साउन अंकमा प्रकाशित)

commercial commercial commercial commercial