मेरो दुःख बिर्सने ठाउँ कक्षाकोठा

मैले थुप्रै विद्यार्थी कमाएकी छु। उनीहरूको प्रेम र सम्मान कमाएकी छु। यस्तो सम्पत्ति, यस्तो खुशी र सन्तुष्टि शिक्षण पेशामै मात्र मिल्छ। भौतिक सम्पत्तिले दिने सुखसयलसँग यसको तुलना हुनै सक्दैन । त्यसैले, यसमै रमाएकी छु, रमाइरहन्छु।

महेन्द्र माध्यमिक विद्यालय, भीमफेदी, मकवानपुरमा कुनै दिन शिक्षक अनुपस्थित हुनुभयो भने उहाँको ठाउँमा म पढाउँथें । आफ्नै साथीहरूलाई अनुशासनमा राख्थें । यो देखेर होला शिक्षकहरू ममा कक्षाकोठा व्यवस्थापन गर्न सक्ने क्षमता छ भन्नुहुन्थ्यो। यो २०५८ सालतिरको कुरा हो । म १४/१५ वर्षकी थिएँ।

कक्षा-१२ को पढाइको सिलसिलामा म शिक्षण अभ्यासका लागि हेटौंडाको आधुनिक राष्ट्रिय माविमा गएँ । कक्षा ६-७ मा पढाउन दिइयो। मैले पढाएको देखेर त्यहाँका प्रधानाध्यापक तथा शिक्षकले पनि प्रशंसा गर्नुहुन्थ्यो। म विद्यार्थीसँग मजाले घुलमिल भएर सिकाउँथें। विद्यार्थीले मेरो कक्षा मन पराए जस्तो लाग्थ्यो। उनीहरू मलाई आदर गर्थे। शायद, ममा शिक्षण पेशाप्रतिको आकर्षण यसरी नै शुरू भएको थियो।

२०६२ सालमा स्नातक गर्दै थिएँ। सरस्वती निमावि, हेटौंडामा निजी स्रोत शिक्षकका लागि छानिएँ । पाँच जनाले आवेदन दिएका थियौं। प्रअ र व्यवस्थापन समितिका पदाधिकारीले मेरो कक्षा अवलोकन गर्नुभएको थियो। ३५०० रुपैयाँ तलब थियो।

२०६३ सालमा हेटौंडा क्याम्पसबाट स्नातक पूरा गरें। त्यसपछि बुढीचौर गाविसको माविमा अंग्रेजी शिक्षकका लागि छनोट भएँ। मेरो घर (भीमफेदी)बाट तीन घण्टा हिंडेर विद्यालय जानुपथ्र्यो। आउन-जान ६ घण्टा लाग्थ्यो। गाह्रो भएपछि म त्यहीं कोठा लिएर बस्न थालें। त्यतिबेला बुढीचौरमा बिजुली थिएन। टुकी बाल्नुपथ्र्यो। मेरो राहत दरबन्दी थियो । शिक्षक सेवा आयोग खुलेको थिएन।

बुढीचौरका कक्षामा प्रायः सबै तामाङभाषी विद्यार्थी थिए। कक्षामा पनि तामाङ भाषा नै बोल्थे। गाउँमा कसैको बिहे भयो भने उनीहरू विद्यालय आउँदैनथे। खाने र रमाइलो गर्नेमा मस्त हुन्थे । पढ्नुपर्छ भन्ने सोच कमजोर नै थियो । प्रायः विद्यार्थी अंग्रेजी, विज्ञान र गणितमा फेल हुने गरेका रहेछन्।

म पनि तामाङ हो, पढाइका कारण शिक्षक बनें, पढ्नुपर्छ भनेर उनीहरूलाई प्रेरित गर्न थालें । विद्यालय समयपछि अतिरिक्त कक्षा लिन शुरू गरें । उनीहरूले ‘हामीले पढ्नुपर्छ’ भन्ने महसूस गरे,  नियमित कक्षामा आउने सबै विद्यार्थी अर्को वर्ष अंग्रेजीमा पास भए । शिक्षकको भूमिका कति ठूलो र अर्थपूर्ण हुँदोरहेछ, यो मेरो लागि ठूलो सिकाइ थियो । त्यतिबेलाका कति विद्यार्थी त शिक्षक नै भएका छन्। भेट हुँदा ‘तपाईंले पढाउनुभएको थियो नि, हौसला दिनुभएको थियो नि’ भन्छन्।

२०७० सालमा शिक्षक सेवा आयोग खुल्यो। परीक्षा पास भई निमावि स्थायी शिक्षक भएँ। २०७२ मा फेरि आयोग पास गरी माध्यमिक तह अंग्रेजी विषय शिक्षकमा नाम निकालें । र, ज्ञानोदय मावि, काठमाडौंमा आएँ।

आफूलाई दुःख परेको छ वा कुनै तनाव छ भने, कक्षामा विद्यार्थीसँग अन्तरक्रिया गरेपछि म सबै बिर्सन्छु। सिकाउने क्रममा पाठ बुझेपछि जब उनीहरू प्रशन्न हुन्छन्, उज्यालो मुहार बनाएर जुन भाव प्रकट गर्छन् त्यो शब्दमा व्यक्त गर्न सक्दिनँ म, त्यसबेला म पनि आफ्ना दुःख-पीर सबै बिर्सन्छु । मान्छेले तनाव भए कम गर्न ध्यान गर्नुपर्छ भनेर सल्लाह-सुझाव दिन्छन् । तर मेरा लागि कक्षाकोठा नै रमाउने, आनन्द अनुभूति गर्ने ठाउँ हो। १८ वर्ष भयो शिक्षणमा। आज पनि पूरा तयारी, जिम्मेवारी र ऊर्जाका साथ म कक्षाकोठामा जान्छु।

स्थायी भएको ९ वर्ष भइसक्यो। अहिलेसम्म एकपटक मात्र सेवाकालीन तालीम पाएकी छु । तर गुगलबाट खोजेर हुन्छ कि अरू विद्यालयका शिक्षकहरूसँग सम्पर्क गरेर हुन्छ, कसरी नयाँ ढंगबाट राम्ररी पढाउन-सिकाउन सकिन्छ भनेर सोधखोज गरिरहन्छु। विद्यार्थीलाई विभिन्न क्रियाकलाप गराउँछु। यो मेरो कर्तव्य पनि हो। र म स्वप्रेरित (सेल्फ मोटिभेटेड) छु भन्ने पनि लाग्छ । पेशाले सधैं अद्यावधिक (अपडेट) भइरहन प्रेरित गर्छ। 

शिक्षकले कमजोर विद्यार्थीलाई अलि बढी ‘फोकस’ गर्नुपर्छ भन्ने लाग्छ। एक-दुई वटा विषयमा कमजोर सिकाइ भएका विद्यार्थी पनि अरू क्षेत्रमा राम्रो हुनसक्छन् । उनीहरूलाई त्यसमा सहभागी गराई प्रोत्साहित गर्न सकिन्छ। जस्तो, केही विद्यार्थीलाई मैले पाककला सम्बन्धी परियोजना कार्य दिएँ । उनीहरूले यति राम्रो गरे कि, पढाइ र परीक्षामा राम्रो अंक ल्याउने विद्यार्थीले पनि उनीहरूको सीपको प्रशंसा गरे। ‘फलानो शिक्षकले आफ्ना राम्रा पक्ष अरूसामु ल्याइदिनुहुन्छ’ भनेर उनीहरू खुशी हुन्छन्। शिक्षकप्रति सकारात्मक हुनु भनेको उसले पढाउने विषयप्रति पनि विद्यार्थी उत्सुक हुनु हो। उनीहरू क्रमशः ‘लाइब्रेरी जाऊँ जाऊँ लाग्छ’ भन्न थाले। यसले गर्दा पठन सीपमा थप सकारात्मक प्रभाव प¥यो । विद्यार्थीको हौसला बढाउनु र विषयगत सिकाइका लागि प्रेरित गर्नु शिक्षकको शिक्षण–कर्म भित्रकै काम मानिनुपर्छ।

यस्तै, कमजोरलाई जान्ने विद्यार्थीसँगै राखेर उनीहरूलाई सहयोग गर्ने जिम्मेवारी दिंदा पनि प्रभावकारी हुनेरहेछ। म अरूलाई ‘कमजोर’ भन्नेलाई होइन, सिकाइमा प्रगति गर्न साथीलाई मद्दत गर्नुपर्छ भन्ने सोचाइ भएका जान्ने विद्यार्थीलाई त्यस्तो काम लगाउँछु। शिक्षकलाई सोध्न धक मान्नेहरू पनि साथीसँग चाहिं खुलेर सोध्छन्।

राम्रा विद्यार्थीको पनि कहिलेकाहीं पढाइ बिग्रन सक्छ। एक जना विद्यार्थी कक्षा-१० मा आएपछि उनको पढाइ निकै खस्कन थाल्यो। बुझदै जाँदा ‘अनलाइन गेम’मा धेरै समय बिताउन थालेपछि उनको पढाइ कमजोर हुन थालेको रहेछ । निकै सम्झाई-बुझाई गरेपछि अहिले उनले पहिले जस्तै पढाइमा ध्यान दिन थालेका छन्।

अभिभावक र विद्यालयबीचको सम्बन्ध पनि महत्वपूर्ण पाटो रहेछ। जुन विद्यार्थीका अभिभावक निरन्तर विद्यालय आइरहनुहुन्छ, आफ्ना सन्तानको कमी–कमजोरी वा सुधारका बारेमा चासो राखिरहनुहुन्छ, ती विद्यार्थीबारे हामी पनि अलि बढी सचेत भइने रहेछ । ती पहिले कस्ता थिए, अहिले पढाइमा वा अन्य क्षेत्रमा कस्ता छन्, विद्यालय वा शिक्षकबाट के सहयोग पुगेको छ जस्ता विषयमा आफू तयार भएर बस्नुपर्ने हुन्छ। अभिभावक नियमित रूपमा विद्यालय आई आफ्ना सन्तानको पढाइ बारे राख्ने चासोले शिक्षकलाई थप जिम्मेवार बनाउँदो रहेछ।

राज्यले शिक्षकलाई उत्साहित गर्न तालीमदेखि सेवा-सुविधाका लागि नीतिगत व्यवस्था गर्नु आवश्यक छ। शिक्षक सक्रिय र उत्साहित भएमा मात्र गुणस्तरीय शिक्षा सम्भव छ। शिक्षकले नचाहने हो भने सरकारले जे गरे पनि हुँदैन। विद्यालयमा व्यवस्थापन समितिले सुधारका लागि के आवश्यक छ भनेर छलफल गर्ने र प्रशासनबाट फलानो शिक्षकले मिहिनेत गरिरहनुभएको छ भनेर मौखिक रूपमा प्रशंसा गर्दा पनि ठूलो अर्थ राख्छ।

मलाई धेरैले एमफिल गरिसकेको मान्छे, किन शिक्षक भएर बसिरहेको, अरूतिर जानुस् पनि भन्ने गरेका छन्। तर कतै जाने सोचाइ छैन। देश–विदेशबाट विद्यार्थीले ‘तपाईंलाई कहिल्यै बिर्सन सक्दिनँ’ भनेर सन्देश पठाउँछन्। मैले यस्ता थुप्रै विद्यार्थी कमाएकी छु । उनीहरूको प्रेम र सम्मान कमाएकी छु । यो सम्पत्ति, यो खुशी र सन्तुष्टि शिक्षण पेशामै मात्र मिल्छ । भौतिक सम्पत्तिले दिने सुखसयलसँग यसको तुलना हुनै सक्दैन । त्यसैले, यसमै रमाएकी छु, रमाइरहन्छु ! 

ज्ञानोदय मावि, वाफल, काठमाडौं

प्रस्तुतिः रोश्ना सुब्बा

(शिक्षक मासिक, २०८० असोज अंकमा प्रकाशित ।)

commercial commercial commercial commercial