सधैं झस्काइरहने स्कूले जीवनका तीता-मीठा भोगाइ

अहिले म ११ कक्षामा पढिरहेकी छु। यसबीचमा मैले निजी र सामुदायिक गरी आधा दर्जन जति स्कूल बदलिसकें । तर जीवनकै बिहानी मानिने शिशुकालमा विद्यालय प्रवेश गर्दादेखि हालसम्मका कक्षामा बटुलेका नमीठा अनुभवहरू खासै बदलिन पाएका छैनन्। त्यस्ता भोगाइहरूमध्येका केही प्रतिनिधिमूलक घटना यहाँ उल्लेख गर्दैछु। 

सबैभन्दा पहिले म आफ्नै केही बिज्याइँहरूको चर्चा गर्छु। सामान्यतया हामी सबैजसो विद्यार्थी केही चकचक गरिनै हाल्छौं। म पनि अपवाद थिइनँ। स्कूलमा अफिसबाट चक चोर्नु, थाहा नदिई साथीको पछाडि कागजको पुच्छर गाँसिदिनु; साथीलाई भन्न मन लागेका कुरा कागजको टुक्रामा लेखेर त्यही वेला आदानप्रदान गर्नु अनि त्यसमै रमाउनु, आदि इत्यादि। यी विद्यार्थीका धेरै पुस्ता अघिदेखिका र पछिसम्मकाले पनि बोकिरहने साझ बदमासीका शृंखला भइहाले। म आफैं जिम्मेवार रहेका केही घटना पनि अहिले सम्झ्ँदैछु।

कक्षा-३ मा पढ्दाको कुरा हो, एकजना म्याडमले दिनुभएको गृहकार्य गर्न मैले भुसुक्कै बिर्सिएछु। भोलिपल्ट एक घण्टी अगाडि मात्र याद भयो । त्यसपछि अंग्रेजी पिरियडमा साथीको कापी मागेर हतार हतारमा सार्न थालें। सबै अभ्यास सारेर भ्याउन सम्भव नदेखेपछि आफैंले नबुझने अक्षरमा बीच बीचका अंशहरू छोड्दै लटरपटर पारामा सारिरहें। अरू सबैले पढिरहँदा म चाहिं एकोहोरो लेखिरहेको देखेर अङ्ग्रेजी पढाउँदै गर्नुभएको सरले सोध्नु पनि भयो। तर मैले इमानदार देखिने गरी कुरा मिलाएर जोगिएँ। 

केही समयपछि अर्को घण्टी शुरू भयो। म्याडमले गृहकार्य खोज्नुभयो। मैले त्यही अघि सारेको कापी देखाएँ। तर त्यसदिनको मेरो लेखाइ देखेर उहाँ छक्क पर्नुभयो र मैले लेखेका प्रश्नोत्तर पढेर सबैलाई सुनाउनुभयो। उत्तरहरू अधुरा र अस्पष्ट मात्र होइन, जे पायो त्यही लेखेका कारण हाँसो उठ्दा पनि थिए। त्यसबेला सबै साथी हाँसिरहेका थिए तर मेरो शिर निहुरेको निहुरेकै भयो- शिक्षकबाट पाएको दुःखदायी सजायको कारण होइन, आफ्नै लापरबाहीको गल्ती महसूस र पश्चात्तापले।

कक्षा-८ मा छँदा हामी बेलाबखत साथीसाथी बीच आँखा जुधाइ खेल खेल्थ्यौं। खेलमा जो पहिले थाकेर आँखाको ढकनी बन्द गर्छ उसले हारेको मानिन्थ्यो। त्यो खेलमा सकेसम्म जित्ने नै प्रयास गरिन्थ्यो। एकदिन नेपाली पिरियडमा साथी सुमी र मैले त्यही प्रतिस्पर्धा गर्‍यौं। यो कुरा हामी दुई जना बाहेक अरू कसैलाई पनि थाहा थिएन। म्याडमले पाठ पढाइसकेर कक्षाकार्य दिनुभएछ। सबैजना कक्षकार्य गर्नतिर लागेछन् तर हामी चाहिं हारिने डरले अन्यत्र कतै ध्यान नदिई एक अर्कालाई हराउन आँखा जुधाउँदै बस्यौं । म्याडमले हाम्रो पारा देखेर चकित मान्दै भन्नुभयो, “केटा र केटी आँखा जुधाउनु त सामान्य नै थियो तर यहाँ त केटी-केटी पो आँखा जुधाउँदै छन् त हँ, के अचम्म हो !” सबै साथीहरू गलल्ल हाँसे तर हामी हार्ने डरले हाँस्दा पनि हाँसेनौं। केवल आपसमा आँखा जुधाई नै रह्यौं। जति भन्दा पनि नलागेपछि अन्तिममा म्याडमले सुमीलाई झ्क्झ्क्याउनुभयो र त्यहीबेला उनको आँखा झ्मििक्क भइहाल्यो। त्यसरी हार्नुपरेकोमा सुमी म्याडमसँग खूबसँग रिसाइन्। त्यो समयमा किन हो कुन्नि, हामीलाई पढ्ने विषयवस्तुभन्दा हाम्रै खेल्ने संसार त्यति साह्रै प्यारो लाग्थ्यो !

केटीहरूलाई सामान्यतया कक्षा-७ बाट माथि लागेपछि आफ्नो रूप र सौन्दर्यप्रति खूब चासो हुँदो रहेछ। कक्षा-८ मा पढ्दा एकदिन टिफिनको समयमा साथीसँग मागेको गाजल र पाउडरको सानो डिब्बा बोकेर म शौचालयतिर दौडिएँ। ऐनामा आँखा तन्क्याउँदै आँखाको तल र माथि गाजल पोतें। म फर्किनुअघि नै सर कक्षामा पसिसक्नुभएको रहेछ। टाढैबाट देखेर स्याँ स्याँ हुने गरी दौडँदै कक्षातिर लागें। ढोकामा पुगेर भित्र हेर्दै उभिएकी मात्र के थिएँ, सर लगायत सबै साथीहरू मलाई देखेर जोडसँग हाँसे। म पनि उनीहरू सँगसँगै हाँसें र ‘अब मेरो गाजलको प्रशंसा गर्लान्’ भन्ने सोचेर मख्ख परें। 

त्यसपछि सरले हाँस्दै मलाई झयालको सिसामा हेर्न भन्नुभयो। त्यसपछि पो थाहा पाएँ-गाजल त आँखाभरि लतपतिएर गालातिर समेत बगेछ। म लाजले भुतुक्क भएँ। अनि, दुवै हत्केलाले आफ्नो अनुहार छोपेर धारातिर दगुरें।

मसँग त्यस्ता अप्रिय अनुभवहरू पनि छन् जसमा मभन्दा बढी मेरा गुरु-गुरुआमाहरू जिम्मेवार थिए। बालमस्तिष्कमा बसेका त्यस्ता यावत् छापहरूमध्ये केहीले निरन्तर तर्साइरहन्छन्। 

म एलकेजीमा हुँदा एक दिन कक्षामा मिस आउनुभयो। उहाँको अनुहार रिसले चूर भए जस्तो थियो। आउँदाआउँदै मलाई तानेर नर्सरी कक्षामा लैजानुभयो। त्यहाँ मलाई ‘दिदी’ भन्ने साना-साना भाइबहिनीहरू गीत गाउँदै र खेल्दै थिए। मिसले मलाई कक्षाको अगाडि उभ्याउनुभएसँगै त्यहाँको गुञ्जायमान वातावरण शान्त भयो । अनि सबै भाइबहिनीहरू जिज्ञासु भएर मतिर हेर्न थाले । ठीक त्यही बेला मिसले मलाई दुई हात र दुवै खुट्टा टेकेर पशुले झैं भुईंमा हिंड्न लगाउनुभयो। मभन्दा साना अबोध भाइबहिनीहरू बेस्सरी हाँसे।

त्यसपछि मिसले मलाई उभिन लगाउनुभयो। म उभिन त उभिएँ तर किन हो कुन्नि, कसैको मुखमा पनि हेर्न सकिनँ। मुन्टो भुईंतिरै फर्काएर घ्वाँ घ्वाँ रुँदै हातले दुवै आँखा छोपिरहें। मलाई असाध्यै लाज लागिरहेको थियो। अनि मिसले डो‍र्‍याउँदै मेरो आफ्नै कक्षामा लिएर जानुभयो। म धेरै बेरसम्म भुईंतिरै हेरेर रोइरहें। मिसले चुपचाप अरू साथीहरूलाई पढाएर जानुभयो । उहाँले मलाई किन त्यसो गर्नुभएको थियो त्यो कहिल्यै भन्नुभएन । मलाई आजसम्म पनि मिसको त्यो व्यवहार सम्बन्धी अनुत्तरित प्रश्नले सताइरहन्छ।

यूकेजीमा पढ्दाको कुरा हो। उही मिसले साथी अञ्जली र मलाई एउटै टाईले बाँधेर हलगोरु झैं एउटै चालमा हिंड्न लगाउनुभयो र बाँकी कक्षालाई मनोरञ्जन दिलाउनुभयो । सबै साथीहरूसँगै मिस पनि मरी-मरी हाँस्नुभयो । त्यो देखेर अञ्जली र म मूर्ति जसरी उभिइरह्यौं। मैले फुकाइदिनुहुन्छ कि भन्ने आशाले मिसको अनुहार नियालेर मौन भाषामा उहाँलाई गुहारें तर उहाँ आफैं खित्का छाडेर हाँसिरहनुभएको थियो।

निकै बेरपछि मिसले टाई फुकाएर आ-आफ्नो ठाउँमा बसाउनुभयो । मैले भने कतिबेला स्कूल छुट्टी भएर घर जान पाइन्छ र साथीहरूलाई अनुहार देखाउनुपर्दैन भन्ने कुरा मनमा खेलाउँदै दिन बिताएँ। हामीलाई त्यसरी एउटै टाईमा बाँधेर हिंड्न लगाउनुको कारण के थियो त्यो कुरा पनि मैले थाहा पाउन सकिनँ। मलाई त्यस घटनाले कस्तो असर पा‍र्‍यो, त्यो शायद उहाँले आजसम्म सोच्नु पनि भएको छैन होला। त्योभन्दा पनि खतरनाक अर्को सम्भावना पनि छ- मपछिका थुप्रै भाइबहिनीलाई पनि मिसले त्यसरी नै कक्षालाई मनोरञ्जन दिलाउने पात्र बनाएर जीवनभर नमेटिने मानसिक चोटको छाप बसाल्ने काम गर्वका साथ निरन्तर गरिरहनुभएको हुनसक्छ !

यूकेजीमै छँदाका अन्य दुई दृश्य म कहिल्यै भुल्न सक्दिनँ। मिस हामीतिर पिठ्युँ फर्काएर सेतोपाटीमा केही लेखिरहनुभएको थियो। अगाडिको बेञ्चमा मसँगै बसेकी साथी सन्ध्याले कागज डल्लो पारेको सानो गुजुल्टो मिस भएतिर फ्याँकी। त्यो कागज मिसको टाउको पछाडि लाग्यो र कपालमा अड्कियो। मिसले थाहा पाइहाल्नुभयो। अनि फरक्क फर्केर रिसले भरिएका आँखा तर्दै र दाह्रा किट्दै सरासर आएर मेरो टाउकोमा डस्टरले हान्नुभयो। दुखेको टाउको सुम्सुम्याउँदै म निकै बेरसम्म सुँक्कसुँक्क रोइरहें तर बोल्न सकिनँ। उता गल्ती गर्ने साथी मुसुमुसु हाँस्दै मलाई खिसी गरिरहेकी थिई । मलाई एउटा प्रश्नले त्यस दिनदेखि धेरै पछिसम्म सताइरह्योे- कागज फ्याँक्ने को हो भनेर देख्दै नदेखी, केही नसोची किन मिसले मलाई सरासर आएर पिट्नुभएको होला ?

उही कक्षामा अर्को एक दिन मिसले प्रश्नोत्तर कण्ठ गरेर सुनाउने गृहकार्य दिनुभएको थियो। मैले घरमा गएपछि राति अबेरसम्म र बिहान पनि सबेरै उठेर पढें । मिसले दिएकामध्ये शुरूका आधा जति प्रश्नको उत्तर कण्ठ बनाएँ। बाँकी सम्झ्न सकिनँ । स्कूलमा गृहकार्य बुझउने बेला भयो । मिसले बेञ्चको पल्लो छेउबाट पालैसँग सोध्दै आउँदा मलाई आउने जति सबै प्रश्न साथीहरूलाई सोधेर सकिइसकेका थिए। मेरो पालोमा जुन जुन प्रश्नको उत्तर कण्ठ गर्न सकेको थिइनँ त्यही त्यही मात्र सोध्नुभयो तर मलाई आउने एउटै पनि सोध्नुभएन। अनि हत्केलामा लठ्ठीले हान्दै मिसले मलाई भन्नुभयो, “घर गएर नपढेपछि यसरी पिटाइ खानुपर्छ, थाहा पाइस् ?” त्यस दिन मेरो बालमस्तिष्कमा खेलिरहेको पुरानो प्रश्नको जवाफ भेट्टायो- यी मिसले जे सत्य हो त्यसको उल्टो देख्नुहुँदोरहेछ। नत्र मैले घरमा पढेको चाहिं किन देख्नुभएन ?

अर्को घटना म एक कक्षामा पढ्दाको हो। घन्टी बजेपछि नेपाली विषयकी गुरुआमा कक्षामा पस्नुभयो । हामीले गरेको अभिवादनको जवाफ फर्काउन नपाउँदै उहाँको आँखा बेन्चमुनि फ्याँकिएको बिस्कुटको खोलमा परेछ। निधार खुम्च्याउँदै सोध्नुभयो, “बिस्कुट खाएर बेन्चमुनि खोल फ्याँक्ने काम कसको हो ?” प्रश्न फुट्न नपाउँदै कक्षाको एउटा केटाले जवाफ दियो “परीक्षाको काम हो म्याम !” 

उसले त्यो भन्नासाथ म अकमक्क परें किनकि मैले बिस्कुट खाएर खोल डस्टबिनमा फ्याँकेकी थिएँ। मेरी साथी सृष्टिले र मैले एकैखाले बिस्कुट खाएका थियौं । खासमा त्यो खोल उसैले फ्याँकेकी थिई। सत्य कुरा भन्न खोज्दै थिएँ तर मेरो वाक्य नसुनिकनै गुरुआमाले सबैको अगाडि कान निमोठ्नुभयो अनि गालामा बेस्सरी झपड हान्नुभयो। मेरो बोली फुट्नै सकेन। आँखाबाट आँसु झ्रे । फ्याँकिएको खोल टिपेर डस्टबिनमा हाल्न पनि मलाई नै लगाउनुभयो। निर्दोषमै त्यति सजाय पाइसक्दा ‘मैले फ्याँकेको होइन म्याम’ भनेर सत्य कुरा छर्लङ्ग पार्ने आँट हराइसकेको थियो । केही नभनी चुपचाप नगरेको गल्तीको सजाय स्वीकारें । त्यसो गरेको पश्चात्तापले मलाई अहिले पनि पोल्न छाडेको छैन।


बाँदर, गधा, किचकन्नी, भालु जस्ता शब्दहरू सरले त सधैंजसो बोल्नुहुन्छ। उहाँबाटै सिकेको एउटा शब्द एक पटक निकाल्दा किन त्यत्रो सजाय ? यदि त्यो शब्द उच्चारण गर्नु नै अपराध थियो भने मैले भन्दा अगाडि सरले पो सजाय पाउनुपर्ने !

बालबालिकाले नगरेको गल्तीमा पनि प्रष्ट कुरै नबुझी सजाय दिने भुल कुनै अबोध उमेरका साथीहरूले गरेका भए ‘बुझन सक्ने हुन बाँकी छ’ भनेर चित्त बुझाउन सकिन्थ्यो होला। तर वर्षौंदेखि विद्यालयमा पढाएर हाम्रो उमेर भन्दा लामो समयको अनुभव बटुलिसकेका गुरु-गुरुमाहरूलाई त्यस्तो गल्ती गर्न कसरी सुहाउला ? उहाँहरूलाई सामान्य सजाय दिएँ भन्ने लाग्न सक्छ। तर बाल मस्तिष्कमा शिक्षकले दिएका त्यस्ता छाप जिन्दगीभरि नमेटिने गरी सताइरहन पर्याप्त हुँदारहेछन्। मेरो दिमागमा बसेको अर्को छाप त्यस्तै खालको छ।
कक्षा २ मा पढ्ने बेलाको एक रात घरमा भित्ते घडीको टिकटिक आवाज कानमा गुञ्जिएको सुन्दासुन्दै मध्यरात भइसकेको थियो । जति निदाउन खोजे पनि निदाउन सकिरहेकी थिइनँ। निद्राबाट ब्युँझ्एिकी आमाले सोध्नुभयो, “अहिलेसम्म किन ननिदाएकी ?”
म केही बोलिनँ । “के भयो तिमीलाई ?” फेरि सोध्नुभयो।

जवाफ नदिई सुखै पाइनँ, “भोलि मलाई १ देखि ९ सम्मको दुनोट पूरै आएन भने म्यामले पङ्‌खामा झुन्ड्याइदिने रे !” 
“मैले स्कूलबाट आएदेखि कति पढेको पढ्‌यै गर्दा पनि पूरै दुनोट कण्ठ गर्न सकिनँ। अब भोलि स्कूल जान्नँ । एकैदिनमा त्यत्रो कसरी घोक्नु ?”
मेरो कुरा सुनेर आमाको अनुहार पनि मलिन भयो । तैपनि मलाई सम्झउने कोशिश गर्नुभयो, “ल ल... अहिले सुत, म भोलि तिम्रो मिससँग कुरा गरौंला ।”
म घरी घरी निदाए पनि रातभर आरामले सुत्न सकिनँ। आमा पनि पटक–पटक ब्युँझ्इिरहनुभयो। बिहान उज्यालो हुनासाथ उहाँले गणित विषयकी मिसलाई फोन गरेर कलिलो उमेरका कुनै पनि केटाकेटीलाई त्यसरी नतर्साउन र सम्झ्निुपर्ने विषयलाई माया र प्रोत्साहन दिएर घोक्न लगाउन आग्रह गर्नुभयो।

आमाको आग्रहपश्चात् म ढुक्कसँग विद्यालय गएँ। साथीहरू पनि म जस्तै दुनोट कण्ठ नभएकै कारण निकै आत्तिएका रहेछन्। उनीहरूलाई पनि मैले केही हुँदैन; नडराऊ भनें।
आमाले फोन गरेर सम्झएका कारण त्यस दिन म्यामले म लगायतका सबै साथीहरूलाई माया गर्नुहुन्छ भन्ने सोचेकी थिएँ । तर उहाँले कक्षाभित्र पस्नासाथ मलाई आँखा तरेर ‘कुरौटी’ उपनामले सम्बोधन गर्नुभयो अनि धेरै बेरसम्म ठूल्ठूला आँखाले घुर्नुभयो । त्यसबेला म आफ्नो सामु उभिएको कुनै भूतलाई देखे जसरी नै मिससँग डराएर थर्थरी कामिरहेकी थिएँ। त्यसबेला मेरो तालुदेखि पैतालासम्म तातेर पसिना बगेको थियो । ढकढक सुनिने गरी आवाज निकालेर धड्किएको मुटु पनि भत्भती पोलिरहेको थियो। मिसले दुनोट सोध्ने र सजाय दिने योजना अर्को दिनलाई सार्नुभयो तर पनि त्यस दिनको त्रासदीले खलबलिएको मुटु त्यो घटना सम्झ्ँदा अहिले पनि हल्लिएको महसूस हुन्छ।

मलाई त्योभन्दा बढी कहाली यसकारण लाग्छ कि ज्ञान र सीप आर्जन गर्ने ठाउँ भनेर अभिभावकले फकाएर वा कर लगाएर हरेक दिन आफ्ना बालबालिका पठाइरहेका विद्यालय र तिनका कक्षाकोठाहरू कतिपय अविवेकी शिक्षकका कारण आज पनि उसैगरी कलिला शिशुहरूको सातो लिने भूतघर भइरहेका छन्।

एक दिन कक्षा-९ को तेस्रो त्रैमासिक परीक्षा चलिरहेको बेला हलमा हाम्रो गणित विषयको जाँच हुँदैथियो । मलाई प्रश्न सजिलै लागेका थिए। ध्यानपूर्वक लेखिरहेकी पनि थिएँ । परीक्षामा गार्ड बसेका दुई जना सरहरू चिया पिउँदै मस्तले गफ गरिरहनुभएको मौका छोपी मेरै छेउकी एउटी साथीले ठूलो स्वरमा अरूसँग सोध्न थाली । आपसमा गफ गरेर विद्यार्थीलाई ‘डिस्टर्ब’ गरिरहेका गुरुहरूले पनि हल्ला भएको सुन्नुभएछ। तर कसले होहल्ला गर्दैछ त्यो उहाँहरूले हेर्नुभएको थिएन। दुईमध्ये एउटा सरले सत्य के हो भनेर विचारै नगरी हत्त न पत्त आएर मेरो पेपर थुतेर लिनुभयो।

मैले ‘हल्ला गरेको छैन सर, पेपर फिर्ता दिनुहोस्’ भनेर अनेकौं बिन्ती बिसाउँदा पनि उहाँले मान्नुभएन। आखिरमा मैले आधा लेखेको पेपर छाडेर आँसुले भरिएको आँखा लिई विना गल्ती परीक्षा हल छाड्नुप‍र्‍यो।

विद्यार्थीसँग रिसाएको बेला गुरुहरूले गोरु, गधा, स्याल, बाँदर्नी, भालु जस्ता नराम्रा शब्द प्रयोग गरेर गाली गर्ने कुरा मलाई सामान्य लाग्दथे। म कक्षा–५ मा पढ्दा एक दिन एउटी साथीले मलाई असाध्यै, जिस्क्याई। मलाई पनि साह्रै रिस उठ्यो र एकजना सरले सधैं ‘भालुु’ भनी गाली गर्ने गरेको सम्झेर मैले पनि रिस फेर्न ‘भालु...’ भनेर उसलाई चिच्याएँ ।
त्यसपछि त्यो साथी रिसले चूर भएर हेडसरको अफिस पुगी। मलाई हेडसरले तुरुन्तै बोलाएर बेस्सरी गाली गर्नुभयो र पिट्नुभयो। मैले कुरा बुझनै सकिनँ। बाँदर, गधा, किचकन्नी, भालु जस्ता शब्दहरू सरले त सधैंजसो बोल्नुहुन्छ । उहाँबाटै सिकेको मैले त्यसमध्येको एउटा शब्द एक पटक निकाल्दा मात्र किन त्यत्रो सजाय ? यदि त्यो शब्द उच्चारण गर्नु नै अपराध थियो भने मैले भन्दा अगाडि सरले पो सजाय पाउनुपर्ने ! सिकाउने गुरुलाई छुट दिएर उहाँबाट सिक्ने विद्यार्थीलाई दण्डित गर्न पाइन्छ ?

त्यस दिन मेरो मनमा यस्तै यस्तै अनेक प्रश्न खेलिरहे। तर मैले कुनै कोणबाट पनि आफ्नो गल्ती देखिनँ । त्यसपछि मलाई झन् बढी पीडा भयो। विद्यालय अवधिभरि एक मिनेट पनि एकाग्र हुन सकिनँ। घर फर्किनासाथ आमालाई पिटाइ खाएको कुरा रुँदै बताएँ । त्यसपछि आमाले मलाई ‘भालु’ शब्दका विभिन्न अर्थहरू खुलाइदिनुभयो । त्यो सुनेपछि मात्र मलाई थाहा भयो– तीमध्ये नराम्रो आशय लाग्ने एउटा अर्थको कारण मैले हेडसरको पिटाइ खानुपरेको रहेछ।

अर्को दिन म पश्चात्तापले जल्दै स्कूल पुगें । सरासर हेडसरको कोठामा गएर ‘भालु’ शब्दको अर्थ नबुझेर आफूले अघिल्लो दिन गल्ती गरेको स्पष्टीकरण दिंदै ‘एक्सट्रिम्ली सरी सर’ भनें। अनि मेरो त्यो शब्दप्रहार भोगेकी साथीसँग पनि अँगालो हालेर दुई पटकसम्म माफी मागें।

त्यसरी मैले नजानेर गरेको आफ्नो गल्ती पखालेर हलुङ्गो हुने प्रयत्न त गरें तर जानीजानी बेपर्वाहसँग दिनदिनै हामीमाथि त्यस्ता अपशब्द बजार्ने सरलाई कहिले र कसले सजाय गर्ने ? मेरो दिमागमा गह्रुँगो भएर गडेको यो प्रश्न अझ्सम्म पनि गएको छैन। 

(शिक्षक  मासिक, २०८० असार-साउन अंकमा  प्रकाशित।)

commercial commercial commercial commercial