पब्लिक माविका विद्यार्थी पढ्दै, माछा पाल्दै

रूपन्देहीको सियारी गाउँपालिका-४ छपियाँमा रहेको पब्लिक माध्यमिक विद्यालयले सिकाइमा कमजोर बालबालिकालाई निःशुल्क अतिरिक्त कक्षा सञ्चालन शुरू गरेको छ। त्यस्ता अतिरिक्त कक्षामा हाल ५, ८ र १० कक्षाका बालबालिका सहभागी छन्। विद्यालयको नियमित भन्दा थप समयमा उक्त कक्षा चल्ने गरेको छ। विद्यालयले पाँच वटा मुख्य विषय नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिकको अपेक्षित उपलब्धि समेत तोकेर शिक्षकहरूलाई सिकाइ क्रियाकलापमा जोडेको छ।  

सो विद्यालयमा अध्ययनरत ७० जना बालबालिकाले विद्यालयको पोखरीमा माछापालन पनि गरिरहेका छन्। करीब दुई बिघा क्षेत्रफलका तीन वटा पोखरीमा विद्यार्थीले ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत माछा पालेका हुन्। उक्त कार्यक्रमबाट यो पटक करीब रु.४ लाख आम्दानी हुने लक्ष्य राखिएको छ।

विद्यालयमा विद्यार्थीकेन्द्रित यी र यस्ता दर्जन बढी अभ्यास छन्। यस्तै अभ्यासले पब्लिक मावि अरू विद्यालयभन्दा फरक भएर अभिभावकको मन जित्दै गएको छ। पाँच वर्ष अगाडि करीब ५०० को हाराहारीमा विद्यार्थी रहेको यसको विद्यार्थी संख्या अहिले २ हजार ३५० र शिक्षक-कर्मचारी ६९ जना पुगेको छ। रूपन्देहीको ग्रामीण क्षेत्रमा रहेको यो विद्यालयको पठनपाठन र सार्वजनिक छवि सुध्रिएर गएपछि नजिकका निजी विद्यालयलाई विद्यार्थी टिकाउन हम्मेहम्मे परेको देखिन्छ। 

पब्लिक माविको शिक्षक-अभिभावक संघका अध्यक्ष गोपालप्रसाद ज्ञवाली भन्छन्, विद्यालयको पठनपाठन, नतिजा र भौतिक पूर्वाधारमा देखिएको परिवर्तनले हामी जस्ता अभिभावकको पनि मन तान्यो। विशेषतः सिकाउनका लागि अपनाइएको ‘विद्यार्थीकेन्द्रित’ क्रियाकलाप र अतिरिक्त क्रियाकलापका कारण विद्यालयले अभिभावकको मन जित्दै गएको ज्ञवालीको कथन थियो। 

विद्यालयको वातावरण हरियाली र रमणीय बनाउनका लागि आफूहरूले बिरुवा रोप्ने, गोडमेल गर्ने र जोगाउने काम गरिरहेको विद्यालयको वातावरण (ईको) क्लबका अध्यक्ष शिवशंकर गुप्ता बताउँछन् । त्यस्तै विद्यालयमा शुक्रवासरीय अतिरिक्त क्रियाकलापमा अग्रसर भएर कार्यक्रमको आयोजना गरिरहेको बालक्लबकी अध्यक्ष विपिशा ज्ञवाली बताउँछिन्। अध्यक्ष गुप्त र ज्ञवाली दुवै मावि तहका छात्रछात्रा हुन्। 

विद्यालयको ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत कक्षा ६ देखि १० सम्मका ७० जना विद्यार्थीले माछापालन कार्यक्रममा भाग लिइरहेको कक्षा १० की विद्यार्थी सरिता यादव बताउँछिन्। तीन वटा पोखरीमा करीब ८ हजार माछाका भुरा राखेको र त्यसबाट यो वर्ष रु.४ लाख आम्दानी गर्ने लक्ष्य रहेको अर्का विद्यार्थी दीपक मौर्यले बताए। उनका अनुसार उक्त आम्दानीको ८० प्रतिशत रकम कार्यक्रममा सहभागी विद्यार्थी बीच बाँडिनेछ भने २० प्रतिशत रकम विद्यालयमा रहेको ‘उद्यम कोष’मा जम्मा हुनेछ। विद्यार्थीको आर्थिक अवस्थालाई समेत विचार गरी सो आयआर्जन कार्यक्रममा सहभागी गराइएको कार्यक्रम संयोजक शिक्षक दीपक गौतमले जानकारी दिए।  

विद्यालयमा ‘राम्रा अभ्यास’ अन्तर्गत दैनिक पाठ, एकाइ र वार्षिक पाठयोजना अनुसार शिक्षण, कक्षा १-३ मा पाठ्यक्रममा तोकिएको एकीकृत विद्यार्थी सिकाइ उपलब्धिको मूल्यांकन, ‘हाम्रो विद्यालय राम्रो विद्यालय’ नारासँगै बालक्लब र ईको क्लबबाट अतिरिक्त क्रियाकलापको आयोजना गरी विद्यालय हाताको सौन्दर्यकरण गर्ने गरिएको छ । त्यसैगरी छात्राहरूका लागि गुनासो सुनुवाइ, विषयगत शिक्षकको संयोजकबाट अभ्यास र समस्यामा छलफल, हरेक शिक्षकसँग कार्य सम्पादन करार, प्रधानाध्यापक र संयोजकबाट कक्षा अवलोकन गरी पृष्ठपोषण, नतिजा तथा अधिकतम उपस्थितिको आधारमा विद्यार्थी प्रोत्साहनका क्रियाकलाप पनि यहाँ सञ्चालनमा छन्। विद्यालयमा नर्सको व्यवस्था गरिनुको साथै नियमित रूपमा अभिभावक, शिक्षक तथा सरोकारवालासँग अन्तरक्रिया, शिक्षक र कर्मचारीलाई समेत दिवा खाजाको व्यवस्था विद्यालयले गरिरहेको छ। 

टाढा-टाढाबाट पढ्न आउने विद्यार्थीलाई सहजताको लागि कम्तीमा ५०/५० जना राख्न सकिने छात्रावासको निर्माण र शैक्षिक सत्र २०८२ सम्ममा ३ हजार विद्यार्थी अटाउने भौतिक पूर्वाधारको काम चलिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ बताउँछन्। विद्यार्थीको चाप वर्षेनि बढिरहेको हुँदा पनि भौतिक पूर्वाधारमा जोड दिनुपरेको उनको भनाइ छ। श्रेष्ठ भन्छन्, “विद्यालयका शिक्षक र कर्मचारीहरूले शैक्षिक क्रियाकलापमा मिहिनेत गरिरहनुभएको छ, यता हाम्रो ध्यान अभिभावक सचेतना र भौतिक पूर्वाधारको काममा केन्द्रित छ।” 

पब्लिक माविका प्रधानाध्यापक डिलाराम खनालले सिकाइ क्रियाकलापमा आईसीटी, प्रयोगात्मक र परियोजना कार्यलाई सँगसँगै लैजान खोजिएको बताए। उनका अनुसार अहिले सिकाइमा आईसीटी प्रयोगको पहुँच बढाउन तीन वर्षभित्रमा सम्पूर्ण शिक्षकहरूलाई सक्षम बनाउने गरी काम अगाडि बढाइएको छ । कक्षा ४ देखि १० सम्म विभिन्न विषयमा पाठ्यक्रमले तोके अनुसारको प्रयोगात्मक मूल्याङ्कनलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउन प्रयोगात्मक विषयवस्तुको विवरण सम्बन्धित कक्षामा देख्ने गरी राख्ने कामको थालनी गरिएको छ। 

विद्यार्थीको स्वास्थ्य र अनुशासनको लागि योग अभ्यासलाई कार्यपात्रोमै राखी कार्यान्वयनमा ल्याइएको छ । सामाजिक दायित्व वहन गर्न तथा माध्यमिक तहका विद्यार्थीलाई आफ्नो समुदायको सरसफाइ, विकास र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने कार्यमा संलग्न गराउने अभ्यास शुरू गरिएको प्रधानाध्यापक खनालले जानकारी दिए। 

यस विद्यालयमा प्राविधिक धारतर्फ सीटीईभीटीको तीनवर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ, डिप्लोमा इन जिओमेट्रिक, डिप्लोमा इन हाइड्रोपावर इन्जिनियरिङका साथै २४ महिने प्रि-डिप्लोमा इन विल्डिड कन्स्ट्रक्सन, प्रि-डिप्लोमा इन पीसीवीएफ कोर्सका कार्यक्रम पनि सञ्चालनमा रहेका छन्। 

तस्वीरहरू

 

 


 

commercial commercial commercial commercial