कुरा निजी स्कूलका फर्मानको

गत सालको मंसीर र पुस महीना । फूटबलको विश्वकप चलिरहेको थियो । त्यतिबेला काठमाडौंका स–साना नानीबाबुका बाबुआमालाई एउटा खुशी प्राप्त भयो । शहरमा खुशी पातलिएको बेलामा पाएको एउटा खुशीको महत्व पनि ठूलै हुँदो रहेछ । खासगरी निजी स्कूलमा पढ्ने साना बालबालिकाका अभिभावकले यसपटक नानीबाबुलाई फूटबलको जर्सी किनिदिनु परेन । जर्सी लिएर आउन चार वर्षअघि जस्तो स्कूलले फर्मान जारी गरेका थिएनन्।

एकजना कक्षा–६ मा पढ्ने बाबुको अभिभावकले आफ्नो खुशी यसरी प्रकट गर्नुभएको थियो; “नत्र, स्कूलले जर्सी किनेर पठाउन भन्थ्यो र हामीले टार्नै सक्दैनथ्यौं। बच्चाको रुचि होस् वा नहोस्; लगाउनैपर्ने अनिवार्य भनेर हुकुम सरह उर्दी आउँथ्यो।” फूटबल खेल हेरियो, चर्चा भयो । जर्सी किन्नु नपरेपछि त्यसको भार अभिभावकको खल्तीमा परेन। जाडोको ज्याकेट वा स्वेटरभित्र जर्सी लगाएर देखाउन मिल्ने भएन । विदेशबाटै आउने यो जर्सी किन्नका लागि राज्यबाट विदेशी मुद्रा बाहिरिएन। मौसमले ल्याएको अप्रत्यक्ष फाइदा हो यो मुलुकलाई ।
म यहाँ मुसा बनेर अभिभावकको खल्तीभित्र पस्न सक्ने स्कूलका मालिक, प्रशासक र शिक्षकका कतिपय ताज्जुब लाग्दा कुरा पस्किंदै छु । गुनासोको पोको खोल्नुअघि निजी स्कूलका सर, हेडसर, म्याम र सञ्चालकहरूसँग माफ पनि माग्छु । कृपया व्यक्तिगत रूपमा नलिइदिनुहोला।

मेरो छोरी कक्षा–२ मा छँदा स्कूलले जर्सी किनेर ल्याउन फर्मान जारी ग¥यो । बच्चालाई ‘अनिवार्य’ भनेर पठाएपछि के चाहियो ? हामी अभिभावकले आवश्यकता हो÷होइन भन्ने विवेक प्रयोग गर्न पनि पाउँदैनौं । आज आदेश जारी हुन्छ, भोलिपल्टै चाहिन्छ । अभिभावकको क्षमता र समय छ कि छैन भन्ने पनि विचार गरिंदैन । अभिभावककोे पनि सोचाइ हुन्छ, विवेक हुन्छ भन्ने कुरा स्कूलले बुझन खोजेको पाइँदैन । मैले छोरी पढ्ने स्कूलका कोअर्डिनेटर अलि कुरा बुझने खालको हुनुहुन्छ भन्ने लागेर आफैंले फोन गरेर त्यसरी जर्सी किन्न लगाउनुको तुक नभएको जिकिर गरें । तर ती कोअर्डिनेटरको इगोमै प्रहार ग¥योे शायद मेरो कुराले । ‘जर्सी लगाएपछि बच्चाले रंग चिन्छन् अनि विभिन्न देशका खेलाडीका जर्सी पहिचान गर्न सक्छन्’ भनेर कुतर्क समेत गरे । मेरो केही सीप लागेन । तैपनि मैले भने मेरो छोरीलाई जर्सी बोकाएर पठाइनँ । उसलाई सम्झाई–बुझाई गरेर स्कूल भने पठाइरहें ।
त्यतिबेला मेरो मनमा चाहिं विश्वकप चलिरहँदा जर्सी किन्न लगाउनुको सट्टा फूटबल खेलको बारेमा केही कुरा सिकाएको भए कति राम्रो हुन्थ्यो होला भन्ने लागिरहन्थ्यो । मैले सोचें; हाम्रा स्कूलले फूटबल खेल पेशा पनि हुन्छ र विद्यार्थीको रुचि छ भने फूटबल खेल खेल्नु पनि महत्वपूर्ण कुरा हो भनेर सिकाइदिए कति राम्रो हुन्थ्यो होला ! यस्ता कुरा बुझ्ने हेडमास्टर भइदिए कति सुन्दर हुन्थ्यो होला ? विश्वकप भइरहँदा ग्राउण्डमै लगेर हरेक बच्चालाई फूटबल खेलाएको भए झनै राम्रो हुन्थ्यो होला ! यो मेरो मनोवाद मात्र थियो ।

गत पुसकै कुरा हो । मेरो साथीको छोरी पढ्ने स्कूलले त्यस्तै फर्मान जारी गरेको रहेछ; क्रिसमसको ड्रेस लगाएर आउनैपर्ने ! ती नानी युकेजीमा पढ्छिन् । यो फर्मान जारी गर्ने स्कूलका शिक्षक र कर्मचारी के सोच्दा हुन् थाहा छैन । तर मेरो साथीको श्रीमती फोन गर्दै आफन्त कसैकोमा त्यस्तो ड्रेस छ कि भनेर खोज्दै हुनुहुन्थ्यो । त्यस्तो ड्रेस एकदिनका लागि किन्नु भन्दा सापटी पाए हुन्थ्यो भनेर त्यसो गर्दै हुनुहुन्थ्यो । आफू क्रिसमस नमनाउने परिवारको भए पनि स्कूलको त्यो फर्मान अभिभावकले पालना गर्नैप¥यो ! अचम्मको दादागिरी ! स्कूलले अभिभावकहरूसँग सल्लाह गरेर ‘क्रिसमस पर्व मनाउन गइरहेका छौं; तपार्इंसँग उपलब्ध छ भने क्रिसमसको पोशाक लगाएर पठाइदिनु’ भनेको भए पनि ठीकै मान्न सकिन्थ्यो । तर त्यसो गरिंदैन । 

स्कूलका फर्मान क्रिसमसमा मात्रै होइन कृष्णजन्माष्टमीमा पनि आउने गरेका छन् । मेरो घरछेवैको सानो मन्टेसरी स्कूलले त्यसै ग¥यो गत भदौमा । साना बाबुहरूलाई कृष्णको र नानीहरूलाई राधाको बस्त्र लगाएर पठाउन ‘हुकुम’ जारी ग¥यो । अभिभावकले किन्नैपर्ने यस्ता बस्त्र लगाएर; देखाएर हुने उपलब्धि कसले मापन गरिदिने होला ? स्कूल साहुहरूका संस्था ‘प्याब्सन’ ले यस्ता फजुल र अनावश्यक व्यवहार सम्हाल्न आचारसंहिता बनाउन सक्थे होलान्; तर त्यसो गरेका छैनन् । 

हुन त आडम्बरको संस्कृतिले हामीलाई छपक्कै छोेपेको छ । बोलबम भन्दै साउनमा पहेंलो बस्त्र लगाउने लहर नै चल्छ । तर बोलबम र शिवशक्तिका बारेमा थोरै ज्ञान लिने फुर्सद भने तिनलाई हुँदैन । हामी व्यक्तिको खल्तीमा मात्रै होइन राज्यकै विदेशी मुद्राको ढुकुटी सिध्याउने कुरामा समेत हचुवाका भरमा हिंडेका छौं । गत वर्ष श्रीलंकाली जनताले विदेशी मुद्राको अभावमा भोगेको इन्धन र औषधि अभावका घटनाबाट पाठ सिक्ने हो भने व्यर्थका र फजुल खर्च गर्ने÷गराउने स्कूलदेखि सबैतिर वित्तीय शिक्षा अत्यावश्यक छ । त्यस्तो पाठ सिकाउन थालेमा एउटै स्कूलले पनि ठूलो योगदान दिन सक्छ । नेपालमा वा विदेशमा बनेका गुणस्तरीय सामान पसलमै गएर खरीद गर्दा हुने फाइदाका बारेको शिक्षा विद्यालयमै दिइनु आवश्यक छ । 

(लेखक स्वतन्त्र पत्रकार हुन् ।)

(शिक्षक मासिक, २०८० असार-साउनमा प्रकाशित । 

commercial commercial commercial commercial