विद्यार्थीका निजी कथा सुन्छु

मेरो बुवा, शिक्षक। शिक्षासँग बुवाको यति धेरै लगाव थियो कि गाउँ (काभ्रे) मा एउटा विद्यालय पनि स्थापना गर्नुभएको थियो। बुवाले सानैदेखि मेरो दिमागमा ‘शिक्षक हुने सपना’ भरिदिनुभएको थियो । त्यसैले मेरो कल्पनामा शिक्षण पेशा भन्दा बाहेक अरू कुरा कहिल्यै आएनन्। विद्यालयमा पनि म केही शिक्षकहरूबाट प्रभावित थिएँ। कडा तर एकदमै बुझएर पढाउने हेडसर, विद्यार्थीको गल्तीलाई सम्झाई-बुझाई  गरी प्रोत्साहन गर्ने शिक्षक र साथी जस्तै भइदिने अर्को शिक्षक-मलाई पढाउने तीन जना शिक्षकको छाप ममा परेको थियो । उहाँहरू तीन जनाको संयोजन आफूमा गर्न पाए म कति राम्रो शिक्षक बन्थें होला भन्ने लाग्थ्यो। 

प्लस टु सकिएलगत्तै प्राइभेट स्कूलहरूमा पढाउन थालें । शिक्षकको रूपमा विद्यार्थीले मात्रै होइन अभिभावकले पनि रुचाएको पाएँ। शिक्षण पेशा ‘रिवार्डिङ’ लाग्न थाल्यो । ९ वर्ष निजीमा पढाएपछि २०७२ सालमा शिक्षक सेवा आयोगमा नाम निकालेर यो विद्यालयमा आएँ। 

सरकारी विद्यालयमा शिक्षकले राम्ररी पढाउँदैनन् भन्ने भाष्य सुनिराखेको थिएँ। आफू प्राइभेटको कडिकडाउ नियममा खटिइराखेको बानी। त्यसमाथि अंग्रेजी विषय। कस्तो होला भन्ने मनमा लागिरहेको थियो। नभन्दै, यहाँ आएपछि पहिलो वर्ष म अलिक आत्तिएँ । एसेम्बली पनि नहुने, विद्यार्थी शिक्षकसँग घुलमिलै हुन नसक्ने, कहिले आउने, कहिले नआउने, आफूखुशी निस्केर हिंड्ने ! कतिपटक लाग्यो पनि– ‘प्राइभेट छोडेर म किन सरकारी विद्यालय आएँ ?’

एकदिनको कुरा हो– अन्तिम घन्टी पढाउँदै थिएँ । पानी पर्ला जस्तै भइरहेको थियो । एक जना नानी जुरुक्क उठेर घर जान्छु भनिन्। ‘यो अन्तिम घन्टी हो, यो सकेर त तिमी जान पाइहाल्छौ’ भनेर उनलाई भनें । उनले तुरुन्तै भनिन्– ‘लुगा सुकाएको छु सर, म जसरी पनि जानुपर्छ, लुगा भिज्यो भने राति कुटाइ खाइन्छ।’ म के भनौं, के नभनौं भएँ । उनी अर्काको घरमा काम गरेर पढ्न बसेकी रहिछिन्। त्यति थाहा पाएपछि मैले उनलाई घर पठाइदिएँ । त्यसपछि उनले मलाई आफ्ना समस्या भन्न थालिन् । उनमा मैले ऊर्जा देख्न थालें । नभन्दै एसएलसीमा उनले ‘फस्र्ट डिभिजन’ ल्याइन्।

कोही बुबाले छोडेका, कोही आमाले छोडेका, कोही रक्सी खाएर झ्गडा गर्ने अभिभावक... ! सरकारी विद्यालयमा विद्यार्थीको भिन्नभिन्न पृष्ठभूमि हुँदारहेछन्। उनीहरूका कथा सुन्दा हाम्रा पनि आँखा रसाउँछन्। त्यसैले विद्यार्थीको रिजल्ट मात्रै हेरेर उसको व्यक्तित्व मूल्यांकन गर्नु न्यायोचित हुँदैन । कहिलेकाहीं विद्यार्थी पढ्नका लागि विद्यालयसम्म आइदिनु पनि उपलब्धि हुँदोरहेछ। सरकारी विद्यालयमा शिक्षकले राम्ररी पढाउँदैनन् भन्ने आरोप आउँछ । तर वास्तविकता हेर्ने हो भने शिक्षकको मात्रै दोष नहुने रहेछ। शिक्षा भन्दा पहिला विद्यार्थीको बाध्यता र मनोसामाजिक अवस्था समस्या बनेर उभिंदोरहेछ। त्यसैले म हिजोआज विद्यार्थीका समस्या सुन्न थालेको छु । म यहाँ आउँदा एसएलसीमा १०० जनामा ८५ जना अंग्रेजीमा फेल हुने गर्थे । अहिले यो दर ३५ मा झ्रेको छ।

फरक–फरक पृष्ठभूमि भएका विद्यार्थीको समस्या सुल्झउन अभिभावक–शिक्षक मिटिङ पनि नराखेका होइनौं । तर विडम्बना, प्राइभेटका अभिभावकहरू जस्तो उत्साह यहाँ हुँदैन । खासमा धेरै अभिभावक आउँदैनन् । उनीहरूको उपस्थिति नहुँदा त्यस्ता मिटिङ प्रभावकारी हुने कुरै भएन।

म त बच्चाहरूलाई व्यक्तिगत रूपमा पनि भन्छु– ‘तिमीहरूको अनुहारमा आफ्नो छोरा देख्छु । तिमीहरू पनि मलाई अभिभावक ठान, समस्या सुनाऊ ।’

शिक्षक आफू अध्ययनशील हुनुपर्छ भन्ने कुरा मनन गरेको छु। कहिलेकाहीं आफूले खत्रा पढाए झैं लाग्छ तर भोलिपल्ट सोध्दा विद्यार्थीले बुझेको छैन भनिदिंदा मेरो औकात सम्झइदिएको जस्तो हुन्छ । के कति पढाएँ भन्दा पनि कसरी पढाएँ भन्ने महत्वपूर्ण हुने रहेछ। 

शिक्षक भएर पैसा त कमाइँदैन, कमाउने नाम र इज्जत नै हो । विद्यालयबाट छुटेर गइसकेको विद्यार्थीले वर्षौंपछि भेट हुँदा पनि कृतज्ञ भएर आफूलाई सम्झ्ेको देख्दा ठूलो सन्तुष्टि मिल्छ। यही नै हो, हाम्रो कमाइ । भन्दा बढी आदर्शवादी सुनिएला, तर यही नै शिक्षकले पाउने ‘रिवार्ड’ हो। 
आदर्श माध्यमिक विद्यालय, सानोठिमी भक्तपुर

(शिक्षक  मासिक, २०८० असोज अंकमा प्रकाशित ।)

commercial commercial commercial commercial